Sunday, September 1, 2019

गजल


मन नरम भयो भने हुरीले नि डराइदिन्छ ।
कहिलेकाहीँ उसको चुरिफुरीले नि डराइदिन्छ ।।

धेरै टाढा होइन तर पहाड थियो हामीबीच,
जब बढ्न थाल्छ छोटो दुरीले नि डराइदिन्छ ।

विश्वासका बोलीहरु घात बने कयौंचोटि,
कशमका शब्दरुपी छुरीले नि डराइदिन्छ ।

सम्बन्धको धरातल कमजोर बन्छ जब,
किनकिन आफ्नै घरको धुरीले नि डराइदिन्छ ।




मुटु छेड्ने माया "राधा" रहर कि वाद्यता हो ?
नबजाऊ न कृष्ण त्यो बाँसुरीले नि डराइदिन्छ ।।

Dear Future Lady... एउटा छन्द कविता

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल कुरै नखोल कहिले भाँडा बजारीकन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****



घुम्तीबाट पछाडि हेर्छु जहिल्यै बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथी ।
भावावेश हुँदैन जीवन सधै निष्कर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउनू जगतमा यो प्रेम यैँ भक्ति हो ।।
केही चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझी निदान त्यसको ~ पूरा गरौंला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द क्रमश...)

Tuesday, August 27, 2019

गजल

गजल....

यता सिंहदरबारभन्दा मेरो गाउँ आत्मनिर्भर देखिन्छ ।
उता तिम्रो घरको छतैबाट परजीवी शहर देखिन्छ ।।

क्याफे, पार्लर र बारहरु शहरका चौतारी न हुन्,
हाम्रो गाउँको चौतारीमा पिपल र वर देखिन्छ ।।

गाउँको दृश्यले खुशी दिन्छ या दु:ख म भन्न सक्दिन,
आँसु खस्छ जब टालेको भित्तामाथि पुरानो खर देखिन्छ ।।

बुझाइ आ-आफ्नो, कोही माया भन्छन् कोही बैँशको आबेग,
तिमी के भन्छ्यौ ? फक्रदै गरेको कोपिलामा भ्रमर देखिन्छ ।।

प्यास साइली माइलीका फरियाको पनि उस्तै हो,
शहरमा अर्धनग्न शरीरको प्यासी अधर देखिन्छ ।।

भक्तपुर, २०७६ साउन

Sunday, September 23, 2018

प्यारी रिसाएपछि

"प्यारी रिसाएपछि" (छन्द:- शार्दूलवीक्रीडित)

कालो बादल अँठ्ठियो मनभरी आकाश नीलो तर ।
मै आफू पनि बन्न सक्छु कसरी - आफै मभन्दा पर ??
मानौँ ढाक्दछ राहुले गगनमा सौर्न्दर्य छर्ने शशि ।
खै के को तुलना गरोस् र कविले प्यारी रिसाएपछि ।।

घुर्कीयुक्त कटाक्ष हान्छ उनको म्यासेजमा स्माइली ।
धन्यै हो प्रविधी छ मख्ख दुनियाँ संजालसंगै भुली ।।
यो सोझो किन अल्झियो प्रणयमा सोच्दैछु टुप्पी कसी ।
चिन्ता एक उपाय के छ अबको प्यारी रिसाएपछि ।।

को होला घरमा कदापि प्रियसी झर्कन्न भन्नेहरु ?
ज्ञानी छिन् सब बुझ्दछिन् रिस सधै अव्यक्त राख्छिन् बरु ।।
यो नारी अधिकार हो प्रकृतिको चुट्दैन जस्को रसी ।
के के को उपमा दिऊँ म विचरा प्यारी रिसाएपछि ।।
😂😃😂

भक्तपुर, २०७५ आश्विन

Monday, August 20, 2018

कविता (प्यारो रारा)

प्यारो रारा (छन्द: शार्दूलवीक्रीडित)

ओडी च्यादर मेघको हिमचुली मुस्काउछन् हर्षले ।
पैलैबाट अनन्त बैँस यसको फेरिन्न खै वर्षले ।।
हेरी सुन्दर छाल स्वच्छ जलको थाक्दैन आँखा कतै ।
टुक्रा हो कि प्रफुल्ल स्वर्गपुरको प्यारो छ रारा सधै ।।

मुर्मा शैल श्वेत टम्म हिउँले मीठो छ हावा अहा ।
डाँफे कालिज कस्तुरी वरिपरी उन्मत्त प्रमत्तका ।।
यो स्वर्गीय छटा अहो घनघटा बिर्सेर बिर्सिन्न है ।
यस्तै राग उनेर बन्छ कविता प्यारो छ रारा सधै ।।

ताल्चा स्वागत गर्छ हर्षित हुँदै सम्झ्यौ मलाई भनी ।
हुर्केकी छ पुछारमा गमगढी प्रफुल्ल जैले पनि ।।
धर्तीकी नव-वेहुली छ रसिली सौन्दर्य फैलाउँदै ।
त्यैं सौर्न्दर्य टिपेर छन्द भरियो प्यारो छ रारा सधै ।।

वाशन्ती मधुमास झैं हरघडी माधूर्यमा लिप्त यो ।
धेरैपल्ट पुगेँ पुगीरहुँ सधै यैं चाह - यैं घिट्किसो ।।
छाप्री मन्दिरले सुसेल्छ मुरली ती छाल नाच्छन् जसै।
त्यो खत्याड बगेछ स्नेह झरना प्यारो छ रारा सधै ।।

रारा ताल, मुगु - २०७४