Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Tuesday, July 1, 2025

ब्रह्माण्ड मेरो घर

ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित)

सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड  मेरो घर ।१।

खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।

गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।

साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।

आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्‍यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।

सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ जगमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।

[रारा ताल मुगु, २०७३]

Tuesday, June 24, 2025

अकण्टक भावना (शिखरिणी छन्द)


झुलेका बाला झैँ लहलह खुला केश शिरको 
गुलाफी ज्योत्स्नामा नभ घनघटा लेक तिरको ।
हर्‍यो निद्रा मेरो चयन मनको शान्ति सजिलै 
कहाँ भेट्ने होला मन भ्रमित भो आज अति नै ।।१

म तड्पेँ त्यो तिम्रो खबर जब मिल्दैन छिनमा 
डुबायौ प्यारीले अतुल गहिरो प्रेम ऋणमा ।
यसै सोच्तासोच्तै टिलपिल भई बग्छ नयन 
म मात्रै भड्केँ या विचलित तिमी छौ अब भन ।।२

अहा अङ्गालोमा अनवरत आलिङ्गन गरी
लजाएकी हल्का सलल सरिताकी जलपरी ।
फिता भै झोलाको सहज तनमा टाँसिन सकूँ
तिमी हिँड्दा तिम्रै पदयुगलको चाल म बनूँ ।।३

तिमी प्रज्ञा आभा सुललित कला ए सहचरी 
धुरी खम्बे माया ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।।४

तिमी हाँस्ता मात्रै झलमल हुने सूर्य किरण 
तिमी रुन्छ्यौ जैले जल बनिदिनन् बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भए पुष्पतरु ती 
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।५

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी 
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
दियौ ऊर्जा रातो रगत सरि बग्दैछ धमनी 
दगुर्छन् छातीमा लहर प्रियका स्पन्दन बनी।।६

तिमी सायंसन्ध्या समचर सधै शान्त प्रहर 
तिमीमै गाभिन्छन् चपल मनका तिव्र रहर ।।
म थोपा मात्रै हो अखिल जलकी सागर तिमी 
भएँ सारै अल्छी भर न मनमा जाँगर तिमी ।।७

तिमी साथी मेरी प्रणय रथकी सारथि तिमी 
तिमी पूजा मेरी शुभ समयकी आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै 
तिमी माया मीठो मधुररमणी मोज छ सधै ।।८


[ प्यारीलाई दाम्पत्य वर्षगाँठको अनन्त शुभकामना सहित 😍 ]

Saturday, June 21, 2025

प्रेम

(छन्द : शार्दूलवीक्रीडित)

आँखा बन्द हुँदा तिमी हृदयमा आँखा खुलामा पनि ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा पनि ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती  ।
चोखो प्रेम अमोघ भित्र मनमा पीडा कतै छट्पटी ?? 

वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित श्वास धड्कनसँगै चढ्दैछ नौलो रव ।
साँच्चै प्रेम अचम्मको चिज छ यो के गर्व के गौरव ।।

पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लीरहेछन् ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल मुखै नखोल कहिले बिर्सेर आफ्नोपन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****



घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउँला जगतमा यो प्रेम यैँ भक्ति हो ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहजमा पूरा गरौँला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द)

[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]


Friday, December 30, 2022

हेरेर हाँस्छ्यौ किन ( शार्दूलवीक्रीडित)

तारा झिल्मिल छन् खुला गगनमा मुस्काउँछे चन्द्रमा ।
हावा सिर्सिर मन्दमन्द गतिले मस्ती भरोस् प्रेममा ।।
छैनन् स्वार्थ घमण्ड द्वेष मनकी प्यारी सँगै छिन् अब ।
साँच्चै प्रेमिल बन्छ मौसम अहा हेरेर हाँस्छ्यौ जब ।।

फूलेका नवमञ्जरी कुसुममा संवेग भै आउने।
बन्छन् भैरव-भैरवी प्रणयका संकोच बिर्साउने ।।
चढ्दा यौवन पत्र नालहरुमा आधार खोज्छिन् लता ।
मायाले वन-वाटिका बनिदिने प्रेमी खुशी छन् जता ।।

फक्रेको नवपालुवा भ्रमरले चुम्दै गरेको पल ।
हाँस्दै प्रेम भरेर पुष्पतरुले फैलाउँछिन् आँचल ।।
यो माया कसिलो र बैँस रसिलो आयो गयो तड्पिन ?
साँची राख्न सकिन्छ झैं जतनले हेरेर हाँस्छ्यौ किन ।।

तिम्रा पाउजु झन्किए हृदयको झङ्कार मेरै लिई ।
तिम्रा गाजलु नेत्रबाट सपना देखेँ स्वयं बिर्सिई ।।
पछ्याई मन दौडियो अघि तिमी छायाँ म रातोदिन ।
चौबाटो सरि अल्मले नजरले हेरेर हाँस्छौ किन ।।

तिम्रा हात समाउदै अघि बढूँ गन्तव्य यौटै गरी ।
थुम्का लेक सँगै चढेर कहिले मैदान बेशी झरी ।।
त्यैं काली तटमा रमेर गहिरो माया दिऊँ झाँगिन ।
आँखा जुध्न नपाउँदै पर बसी हेरेर हाँस्छौ किन ।।

छन्द :- "शार्दूलवीक्रीडित"




रारा ताल मुगु- २०७३ मंशिर 

Friday, April 29, 2022

तिमी

तिमी (छन्द शार्दुलवीक्रीडित)

मैले वर्णन गर्न सक्दिन तिमी छौ चन्द्रमा झैँ भनी
रातो फूल गुलाबको भनुभने काँडा त्यहाँ हुन्छ नि ।
आँखा सागररत्न हैन न रिठा आँखा सबैसङ्ग छ
तिम्रै मात्र विशेष लाग्छ किन हो हेरेर लोभिन्छु म ।।



तिम्रो दाँत अनार हैन तर त्यो उत्कृष्ट आफै छ है
तिम्रो वक्ष हिमाल हैन जल झैँ मुस्कान बग्दैन है ।
न्यानो काख म स्वर्ग भन्दिन खुबै आनन्द पाए पनि
तिम्रै साथ खुशी रहन्छु झगडा, गाली मिसाए पनि   ।।

राम्री छौ हर अंग चञ्चल बडा बेग्लै छ सौदामिनी ।
बोली झन् सुरिलो तथापि नभनौँ माधूर्य सम्मोहिनी ।
छोरी मानिस हौ प्रफुल्ल लयमा राम्री असाध्यै तर
चिच्याए मन खिन्न हुन्छ प्रियले दिक्दारको कर्कर ।।

तिम्रो दृष्टि नशालु लाग्छ मदिरा गाँजा म मान्दैन त्यो
गालामा न त स्याउ देख्छु न कुनै लालित्य रेखी बस्यो ।
राम्री छौ अझ सुन्दरी बनिदियौ श्रृङ्गार सज्जासँग ।
आँखा गाजलु चञ्चले अधरमा हल्का गुलाफी रङ  ।।



कालो केश त हैन बादल तिमी वर्षे झरी होइनौ
लाली होइन मिर्मिरे किरण त्यो आफै परी होइनौ ।
मान्छेको तुलना गरेेर सुनमा देदीप्य हुन्नन् जन । 
बुझ्नेले जसरी बुझुन् तर नहोस् तिम्रो झुठो वर्णन ।।

माया गर्छु सधै रहन्न तनको सौर्न्दर्य यो जान्दछौ
छोटो अस्थिर हुन्छ बैँस रसिलो यो भ्रम हो मान्दछौ ।
चोखो प्रेम छ अव्ययी हृदयको रफ्तारसङ्गै सधै
झुट्टा वर्णनले दिएर उपमा सस्तो बनाउन्न है ।।


William Shakespeare : "My Mistress' Eyes Are Nothing Like The Sun"




Sunday, November 7, 2021

I Dont Dignify Your God !!

Yes, I dont dignify your god and dont think god solely your own.
I dont respect stone, I praise soul you absorb labour ~ I admire the labours.
Watching crippled hateful squint ~ you make statue, imposing brutality ~ you expose pride.
You build temple with black money & corruption. You do evil & make Pooja .......







नवित्तेन तर्पणियो मनुष्य:

म तिम्रो भगवान मान्दिन


हो, म तिम्रो भगवान मान्दिन र भगवान तिम्रो निजी पनि ठान्दिन ।
म ढुङ्गा पूज्दिन, मनलाई पूजा गर्छु ।
तिमि श्रम चुसिलिन्छौ , म श्रमिकको आराधना गर्छु ।
अशक्तहरुलाई हेय द्रिष्टिले हेरेर मुर्ति बनाउछौ । निरंकुशता लादेर अभिमान देखाउछौ
भ्रष्टाचार र कालोधनले मन्दीर बनाउछौ । तिमी पाप गर्छौ ~ पूजा लगाउछौ ।
भिखारीलाई थुकेर मुर्तिमा पैसा चढाउछौ । छ दिन पाप गरेर एक दिन ब्रत गर्‍छौ ।
आत्मामा भगवान नदेखेर ढुङ्गामा खोजी हिड्छौ ।
अपवित्र मनले द्यौता खुशी बनाउने कुउद्यत गर्छौ तिमी ।
म तिम्रो भगवानको उपहास त गर्दिन तर तिम्रो भगवान मान्दिन ।।
शोषकको खुट्टा घसेर गरिबको खिल्ली उडाउछौ।
मान्छेलाई लात हानेर मुर्तिअगाडि झुक्छौ ।
निर्दोष पशुको वलि दिएर कलंकित बर माग्छौ , पसिना चुसेर भोज लगाउछौ तिमी ।।
अरुलाई मारेर आफू बाँच्छौ , अरुलाई लडाएर अघि बढ्छौ ।
म नास्तिक होइन तर तिम्रो भगवान मान्दिन !!

Wednesday, May 6, 2020

प्रश्न : नयाँ नेपालको

            (छन्द : शार्दूलवीक्रीडित)

हज्जारौं बलिदानबाट जनले यो देश बन्ला भने
भोका बाँदर झैँ दलाल दलले सत्ता र कुर्सी गने ।
खोक्रा भाषण छन् दुवै सदनमा खै योजना छन् कहाँ ?
भ्रष्टैभ्रष्ट मिलेर बन्छ कि सखे नेपाल चाँडै नयाँ ??

मेरो देश रुँदैछ आज विचरा भोको र विक्षिप्त भै
सीमामा पनि हर्ष छैन धरणी घट्दैछ हाम्रो सधै ।
राजा मात्र हटे हजार अझ छन् ब्वाँसे रजौटा यहाँ
मन्त्री रम्दछ भ्रष्टको भजनमा नेपाल यो के नयाँ ??

बाढी दुर्घटना प्रकम्प पहिरो रोगी विसञ्चो हुँदा,
लुट्दैछन् किन राज्यकोष यसरी संसार सारा रुँदा ।
खाडीमा अलपत्र छन् कतिजना संघर्षका नाममा 
टुङ्गो छैन युवा पलायन नभै नेपाल यो के नयाँ ??


काला काण्ड र माफिया दल मिले चोरी बलात्कार छन्
भोका ती निमुखा कठै सडकमा गिर्दो अवस्था छ झन् ।
बाँझै खेत रहे भने त कसरी खाद्यान्न फल्ला यहाँ ?
पुर्खाको पहिचान संस्कृति भुल्यौँ नेपाल यो के नयाँ ??

कौवाको फुलबाट कोकिल कहीँ चाहेर जन्मन्छ र ?
भ्रष्टाचार यसैगरी चलिरहे यो देश सप्रन्छ र ?
बढ्दैछन् अपराध रातदिनमा अन्याय उस्तै जहाँ
रित्याए ढुकुटी विकास नगरी नेपाल यो के नयाँ ??

राम्रो शासन छैन किन्तु अहिले सम्भ्रान्त सत्ता पनि
नेता चंगुलमा फसेर अरबौँ लुट्दैछ लुट्दैछ नि ?
खै पानी जलस्रोत कागजतिरै सम्पन्न छौ तैपनि । 
माऊ स्याल र गिद्ध छन् शिशु बरा के बाघ बन्छन् त नि ??

जो गद्दार विषाक्त छन् मुलुकमा फाँसी चढाई सब
फेँदैबाट उखेल्नु पर्छ लहरो हाँगा नछाँटौँ अब ।
को देला किन देश रुन्छ यसरी यो प्रश्नको उत्तर ?
खिर्‍राको रुख रोपियो यदि भने अम्बा कहाँ फल्छ र ??


कलङ्की , काठमण्डौ ~ २०६६



Monday, May 4, 2020

लकडाउन

लकडाउन खुलेकै दिन मोबाइलमा आउनेछ , 
फोनको घन्टी,
नयाँ सम्बन्ध बन्दै गरेकाहरुको डेटिङ जाने प्लान बन्छ ,
हाम्रो पनि साथीभाई भेट्ने प्लान बन्छ ।

साच्चै...
कस्तो भयो होला है हाम्ले खाजा खाने गरेको त्यो बर्गर हाउस 
र,
कस्तो भए होला त्यो कट्टी रोल, 
चटपटे तथा पानीपुरी पसल, 
अनि कता गए होलान् चोकको चोपिलो चटपटेवाला खड्का जी ? 


त्यो भेज मम पसल अनि  
नयाँ पोखरीको मुखैमा झुन्डिएको 
चाट पसलकि चस्मिस साउनी 
चारजना अल्लारे च्वाँक केटी वेट्रेस राखेर
सधैं मिठो मम ख्वाउथिन् ।
खानेहरुले खाइरहेका हुन्थे त कोहि मोबाइल चलाईरहेका, 
कोही सरकार ढाल्ने र सत्ता परिवर्तन गर्नेदेखि 
युरोप र अमेरिकाका नवीनतम् प्रविधि सम्मका 
कुरा गर्नेहरु पनि । 

कस्तो भयो होला..
चक्रपथको वारपार गर्ने त्यो जेब्राक्रसिङ ?
कति कलेज स्टुडेन्टका क्रसहरु भेटिदा हुन् 
अनि 
कतिका साथिभाइ र आफन्त नै, 
के त्यो रिङरोड 
हाम्रो आगमनको प्रतीक्षामा पर्खीरहेको होला ?


साँच्चै अहिले खाली होला नि है "नेपाल यातायातको" पुरानो बस ?
कहाँ पुगे होलान् साझा यातायात अनि नगर बसहरु !
राम्रो ड्रेस लगाएर स्कुल जाने उमेरमा 
सल्लाघारी - ठिमी- कोटेश्वर -बानेश्वर - सुन्धारा -रत्नपार्क…
ठमेल - सोह्रखुट्टे - बसुन्धरा - नयाँबसपार्क भन्दै यात्रु बोलाउने  ती कलिला ओठले आजकल के भन्छन् होला ? 

कस्तो भयो होला 
हामीले अभ्यास गर्ने खेल मैदान 
अनि भुइचालोले भत्किएको त्यो मिनी स्टेडियम !

बिचरा… तिनकुनेको रोड
कौशलटारदेखि कोटेश्वर सम्म पट्यार लाग्दो 
जामको लाइनमा बस्ने सवारी साधनका मानिसहरु अनि 
अचम्म मान्दै होला अहिले, 
"हैन यी मानिसहरु कता गए ? 
मदेखि वाक्क भएर 
अर्कै बाटो रोजे कि क्या हो ?"
जसरी एउटा स्वार्थ पूरा भएपछि मान्छेले अर्को साथ रोज्छ ? 
उसै गरी अन्तै त गएनन्……!



वर्षौंपछि 
आफ्नो धुलाम्य अनुहार धोएको 
काठमाडौको आकाशले के सोचिरहेको होला ?
"आपविपत र खुशीमा मलाई सम्झने भक्तजनहरु कता गए ?" 
भन्ने प्रश्नचिह्नले कति पिर गर्दै होलान् हाम्रा पशुपतिनाथ ।

चोभार र कीर्तिपुरका ती डेटिङ स्पटहरु 
के सोच्दै होलान् ?
"कता गए युगल जोडिहरु ? जो हरेक साझ यहाँ आएर यौवनका क्षणिक मदहोशीमा सँगै जिउने र सँगै मर्ने झुटा कसम खान्थे…"

के सोच्दै होला..
गल्ली भित्रको लिक्वर पसले दाइ !
हरेक दिन यावत् पीडाहरु भुलाउन, 
यहाँ आउने त्यो अङ्ग्रेजी बोल्ने दाइ 
आजकल कता गए होला ?


लकडाउन त केही समयको लागि न हो,
यी सबैकुराहरु पुनः दोहोरिदै जानेछन्,
फेरि साथीभाइ भेटिनेछन् ।
फेरि पनि जिब्रो पट्काएर मम खान पाइने छ,
फेरि मीठो बर्गर खान पाइने छ ।
आफ्नी प्रेमिकालाई बाइकको पछाडी राख्ने अल्लारे केटाहरु चोकहरुमा जाम खुल्नासाथ साठीको स्पिड नघाउने छन्  ।

फेरि उसै गरी टिप्परहरु..
मुटु नै थर्काउने गरि दौडिने छन्,
फेरि पनि नेपाल यातायातको गल्लीमा 
खुट्टा टेक्ने ठाउँसम्म हुने छैन,
काठमाडौको आकाश धमिलिने छ,
छिटै जडिबुटीको फराकिलो सडक पनि
भार बोक्न नसक्ने गरी लत्रने छ,
फेरि मन्दिरमा घन्टी बज्ने छ,
अनि ट्राफिक दाइहरु सिठ्ठी फुक्दै 
जाम खुलाउन व्यस्त हुनेछन्  ।।



फेरि.. पुरानै
१०-५ को ड्युटी दोहोरिने छ,
पहिले झैं  
हरेक दिन, हरेक बार अनि गतेहरु 
याद हुने छन् ।

फेरि वातावरण कैद अनि 
मानिसहरु स्वतन्त्र हुनेछन् ! 
अनि चल्नेछ उसैगरी 
तेरो-मेरो भन्ने लुछाचुडी भावना…
फेरि चल्नेछ चाकडी, नोकरी, बिजनेस र 
जागिरमा अडिएको 
अनवरत मानवीय जीजीविषा अनन्त कालसम्म ।।।



[साथी दिपेन्द्र ढकालको संस्मरणात्मक भावनाबाट बनेको कविता, यो कविताको सबै फोटोमा दिपेन्द्र ढकाल र म ]


मिति : २०७७/०१/२२ 
राँझा, नेपालगन्ज - बाँके 

Friday, May 1, 2020

अस्तित्व

(स्रग्धरा छन्द)

डोको नाम्लो हलोमै तरुणवय गयो जिन्दगी आजसम्म
डाँडाँपाखा उकाली वनचउर सधै लेकबेशी टम्म ।।
चिर्दै पुर्दै धर्ती दशथरि लहरा बिज्छ काँडा चसक्क
कर्मै खोटी भन्दै धुरुधुरु निमुखो रुन्छ हाँस्छ फुसुक्क ।। ।।

कैले हावा हूरी गढबढ असिना ठीक्क पर्दैन पानी
अन्यायी बन्छ साहू गरीब श्रमको ख्याल केही नमानी ।।
पुछ्दापुछ्दै बगेका खलखल पसिना पुछ्दा बढ्दोछ सास
भाडाको खेतबारी मजदुर विचरा माटोमै हुन्छ बास ।। ।।

भुण्टे रोगी चमेली पनि परिछ थला, छैन कौडी फुटेको 
अर्काको खेत जोती जुनिभर यसरी बस्न खानै पुगे पो ।।
ठाडो आदेशसंगै हुकुम अति कडा साहु आएर बस्दो
यस्तो पीडा चिन्ता दु: मन भरिको उफ् यो भाग्य कस्तो ।। ।।




हाम्रो अस्तित्व पापी पलपल नमरी ज्युनु जीवन हैन ?
हेर्दा ऐजेरु जस्तो भर कति नहुने श्वासमा प्राण छैन ।।
यस्तो अस्तित्व देख्दा मजदुर भरीया सर्वहारा सबैको
को फेर्ला शक्तिसत्ता मुलुक बुझिलिए हैन पेवा कसैको ।। ४।।



 
काठमाण्डौ , २०६५


Wednesday, April 29, 2020

अनुदित कविता

Tonight I can write the saddest lines.
Write, for example, 
'The night is starry and 
the stars are blue and shiver in the distance.'

The night wind revolves in the sky and sings.

Tonight I can write the saddest lines.
I loved her, and sometimes she loved me too.

Through nights like this one I held her in my arms.
I kissed her again and again under the endless sky.

She loved me, sometimes I loved her too.
How could one not have loved her great still eyes.

Tonight I can write the saddest lines.
To think that I do not have her. To feel that I have lost her.

To hear the immense night, still more immense without her.
And the verse falls to the soul like dew to the pasture.

What does it matter that my love could not keep her.
The night is starry and she is not with me.

This is all. In the distance someone is singing. In the distance.
My soul is not satisfied that it has lost her.

My sight tries to find her as though to bring her closer.
My heart looks for her, and she is not with me.

The same night whitening the same trees.
We, of that time, are no longer the same.

I no longer love her, that's certain, but how I loved her.
My voice tried to find the wind to touch her hearing.

Another's. She will be another's. As she was before my kisses.
Her voice, her bright body. Her infinite eyes.

I no longer love her, that's certain, but maybe I love her.
Love is so short, forgetting is so long.....
…………………………………………………………………………

………………………………………………………………………

यो साँझ म केही हृदयविदारक हरफहरु लेख्न सक्छु,
जस्तो कि 
चकमन्न रातमा दूर नील आकाशका 
नीला ताराहरु चल्मलाइरहेका छन् ।

रात्रीकालीन सिर्सिरे बतास आफ्नै गुञ्जनभित्रै 
सुस्ताइरहेको छ ,
यो साँझ म मन छुने हरफहरु लेख्न सक्छु, 
जस्तो कि 
मैले उनलाई चोखो प्रेम गरेँ 
र उनलेे पनि सायद गरिन् कुनै बेला ।
यस्तै रातहरुमध्ये एकरात 
असीमित खुला आकाशमुनि 
मैले उनलाई अंगालोमा टाँसेर 
लगातार चुम्बन गरिरहेँ... गरिरहेँ.....

उनले मलाई निर्धक्क माया गरिन्, 
मैले पनि झन् बढी,
उनका रिठ्ठा जस्ता लजालु नयनलाई 
कसैले पनि प्रेम नगरोस्, 
यो कसरी सम्भव थियो ?
त्यसैले उनी बिनाको अधुरो म 
यो साँझ मन छुने केही 
दुखान्त हरफहरु लेख्न सक्छु, 
म महशुस गर्नसक्छु तर व्यक्त गर्न सक्दिन 
उनलाई गुमाएको बिचरा म....

यो सन्नाटामय चिसो लामो रात 
उनीबिना झन् लम्बेतान बन्छ, 
मानौ एकनासले मेरो स्पन्दनमा 
कविताको झन्कार सुनिन्छ 
दुबोमाथि शीत टप्किए जस्तो ।

के फरक पर्ला र ! 
जब मेरो मायाले उनलाई साथ राख्न सकिन, 
रातसंग त ताराहरु छन् तर उनी छैनन् मसंग । 

यत्ति हो कि, दूर नेपथ्यमा 
कोही गुन्गुनाइरहेछ दूर नेपथ्यमा 
यद्यपि,
पटक्कै मान्दैन यो मन गुमाएँ उनीलाई ।

यी आँखाहरुले उनलाई हर्पल 
समीपमा खोज्छन्, 
मनै त हो चाहन्छ उनैलाई जो छैनन् निकटमा ।

यो रात उस्तै छ,
साक्षी छन् ती स्वेतवृक्षहरु, 
तथापि 
उस्तै रहेनौँ हामी यो पृथक कालखण्डमा ।

निसन्देह, 
उनलाई किमार्थ माया गर्दिन म 
र पनि सधै माया गरिरहन्छु.. 
किनकि, क्षणिक प्रेमको बिर्साइ अनन्त जो छ ।

……………………………………………………

आमा

छन्द : शिखरिणी + शार्दूलवीक्रीडित 

शयौँ पीडा झेल्दै हरतरहका संकट सही
कटे कैयौं बाधा प्रसव पलमा त्यो तनभरि ।
जली आफू प्यारो शिशुकन बचाएर सहसा
सदा पूज्या माता अतिशय महत्ता मन अहा ।१।

छ आमाको गाथा न त कथनले सक्छु म रति
"कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।"
नपुग्ने भो कापी अनि कलमले वर्णन गरी
कतै छैनन् आमासरि सुख दिने यो जगभरि ।२।

सबै धर्ती हेरेँ वरपर म संसार भरमा
न आमा जत्तिको सहन सकने क्वै छ जगमा ।
नसाटेरै मिल्ने न त अरु भए स्थान पुगने
अहा आमा शब्दै सुमधुर छ मीठो रस हुने ।३।

सबैभन्दा प्यारो जगत भरमा हुन्छ जननी
बिना आमा काहीँ पनि जगतमा सृष्टि नहुनी ।
मनै हो आमाको करुणरस जैले भरि हुने
सदा चिन्ता प्यारा शिशुहरु बनून् मा अडिदिने ।४।

आमाको ममता अपार सजिलै पाइन्न काहीँ पनि
आमाको महिमा छ उच्च यशसा सर्वोच्चतामा अनि ।
आमाको तुलना कदापि अरु झै बन्दैन बह्माण्डमा
आमा ढोग हँसाउ चित्त उनको ~ यात्रा सबै धाममा ।५।

जन्माई नवचेतना भरिदिने कस्तो छ है सिर्जना
आफ्नै प्राण भरेर सन्तति सबै हुर्काउने चाहना ।
हो मातृत्व महान विश्वभरमा वात्सल्य झन् सुन्दर
आमा धन्य अपूर्व शुद्ध रचना यो सृष्टि झैं के छ र ।६।

आमा बन्नु छ कष्ट ती प्रसवका पीडा कयौँ बिर्सिई
आफ्नो रोदन बिर्सदै नवपिढी सन्तान चिन्ता लिई ।
मायामा समता सबैमा ममता सन्तानका खातिर
पीडा प्यास र रोग भोक नभनी सन्तानकै हो पिर ।७।

यो नारीत्व अपूर्ण हुन्छ यसमा मातृत्व छैनन् भने
नारीको सुखसार भन्नु सब यैँ मातृत्वमा हुन्छ रे ।
आमाकै सब देन हो जगतमा उत्कृष्ट यो जिन्दगी
बिग्रेमा मन भड्किएर म कतै पुत्रत्व यो जान्छ कि ? ८?

लेखी लेख्न सकिन्न गानगुण यी आमा र मातृत्वका
हाम्रो जीवनका प्रगाढ रस यी सन्तोष आनन्दका ।
चिन्ता छन् मनमा खुशी तर सदा देखिन्न चिन्ता अनि
यो सन्तोष समान छैन अरु क्यै ब्रह्माण्ड भर्मा पनि । ९।

माताको ममता समान रस यो पाइन्न धर्तीभरि 
ठूलो त्याग निस्वार्थ भाव शिशुका संताप सारा हरी ।
चिन्ता केवल सन्तती अघि बढून् बैरी सबै नष्ट भै
बाटोमा पदठेस सुन्नु नपरोस् सर्वोन्नती होस् सधै ।१०।

आमा काख समान आशन सुनै गद्दी कहाँ पो छ र
आमा गास कपास बास शिशुको सम्पूर्णताको घर ।
खानी हो ममता र स्नेहहरुको निस्वार्थ सर्वोपरी
आमाका गुण यी सकिन्न कहिलै लेखेर वर्णन् गरी । ११।

२०६५-११-१८ कलंकी काठमाण्डौ 

Tuesday, April 28, 2020

श्रद्धाञ्जली


श्रद्धाञ्जली ( शार्दूलवीक्रीडित )

आँखामा जल बर्सियो जब सुने छैनौ तिमी विश्वमा,
रोकी रोक्न सकेन आँशु मनले निश्चिन्त रोऊँ कहाँ ?
यात्रा टुट्न गयो बिचैतिर हरे छोडेर भाग्यौ जब,
तिम्रो साथ कमी हुनेछ र सधै सम्झिरहन्छौँ सब ।१।

पत्यारै मनमा रहेन भ्रम झैँ यो नै तितो सत्य हो,
मैले मान्न तयार छैन तर हा रोएर टर्दैन यो ।। 
यौटा जीवन टुंगियो यति छिटै यात्रा यहीँसम्म भो,
छोटो भेट रहेछ जानु सबले पर्ने अवश्यै छ जो ।२।

तिम्रो चित्त दुखाउने यदि कुरा स्वार्थी गरेको भए,
माफी बक्सनु है बुझेनछ भनी ठट्टा थियो सम्झिए ।
तिम्रो मात्र छ तिर्सना वरिपरी झल्को उहीँ झल्झली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।३।

बाटो एक छ पाइला अघिपछि गन्तव्य त्यैँ आखिर ,
चाहेरै पनि बस्नु छैन जगमा संसार हो अस्थिर ।
राम्रो सुन्दर त्यो प्रभात जसरी रित्तिन्छ आभा ढली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।४।

तिम्रो देह त छैन याद छ उही बाँकी यहाँ छैन क्यै,
यो शालीन अदृश्य साथ अबको पक्कै म भुल्दैन है ।
मेरै आँगनमा म रोप्दछु छिटै फूल्नू बनी मख्मली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धाञ्जली ।५।


२०६९-०१-०७, लाजिम्पाट काठमाण्डौ




Saturday, May 4, 2019

अनुभुति शहरमा

( छन्द : शिखरिणी)

भुली प्यारो माटो शहर बिचमा अल्मल परेँ,
सधै खोक्रो आडम्बर रिस र पापी मन गरेँ !!
उछिन्ने धन्धामा झन - झन पछाडी परिरहेँ,
सके खुट्टा तान्ने प्रवृतिहरुमा चै अघि भएँ !!

जता हेर्‍यो पैसा नजर नजिकै नाच्दछ सधै,
समात्ने चाहाले हृदयहिन हुँदैछु म अझै !
म फोहोरी खाल्डो छिचलन नसक्ने अब भएँ
सबै आफ्ना छाडी परपर म एक्लै हुन गएँ !!



हरे बिग्र्यो भन्दै दुख पिर र चिन्ता लिई कठै,
म जन्मेको माटो हरदिन सराप्दै छ कि कतै !!
सबै बिर्सेँ संस्कार चलन थिए कर्म कुलका,
पिछा गर्दै हिंड्दा विकृत विष विभ्रान्त हुलका !!

अध्यारोमा बज्रेँ शहर झलमल्लै त छ तर ,
न सन्तुष्टी पाएँ अनुभव कहाँ सुन्दर छ र !!
म बाटो बिर्सेको पथिकसरि दिग्भ्रमित भएँ ,
निकै टाढा लम्क्यो समय म सधै अन्तिम रहेँ !!

मलाई ती बस्ती रुख चउर पाखा वनहरु,
सधै सम्झिदा हुन् वरपर चिनेका जनहरु !!
कसो गर्ने निद्रा पनि सहज लाग्दैन किन हो ,
म तड्पेको तड्प्यै हरपल खुशी भो शहर यो !!


टि. यु. जङ्गल, किर्तिपुर २०६७




Sunday, September 23, 2018

प्यारी रिसाएपछि

"प्यारी रिसाएपछि" (छन्द:- शार्दूलवीक्रीडित)

कालो बादल अँठ्ठियो मनभरी आकाश नीलो तर ।
मै आफू पनि बन्न सक्छु कसरी - आफै मभन्दा पर ??
मानौँ ढाक्दछ राहुले गगनमा सौर्न्दर्य छर्ने शशि ।
खै के को तुलना गरोस् र कविले प्यारी रिसाएपछि ।।

घुर्कीयुक्त कटाक्ष हान्छ उनको म्यासेजमा स्माइली ।
धन्यै हो प्रविधी छ मख्ख दुनियाँ संजालसंगै भुली ।।
यो सोझो किन अल्झियो प्रणयमा सोच्दैछु टुप्पी कसी ।
चिन्ता एक उपाय के छ अबको प्यारी रिसाएपछि ।।

को होला घरमा कदापि प्रियसी झर्कन्न भन्नेहरु ?
ज्ञानी छिन् सब बुझ्दछिन् रिस सधै अव्यक्त राख्छिन् बरु ।।
यो नारी अधिकार हो प्रकृतिको चुट्दैन जस्को रसी ।
के के को उपमा दिऊँ म विचरा प्यारी रिसाएपछि ।।
😂😃😂

भक्तपुर, २०७५ आश्विन

Monday, August 20, 2018

प्यारो रारा

प्यारो रारा (छन्द: शार्दूलवीक्रीडित)

ओडी च्यादर मेघको हिमचुली मुस्काउँछन् हर्षले ।
चोखो दिव्य अनन्त बैँस यसको फेरिन्न खै वर्षले ।।
हेरी सुन्दर छाल स्वच्छ जलको थाक्दैन आँखा कतै ।
टुक्रा हो कि प्रफुल्ल स्वर्गपुरको प्यारो छ रारा सधै ।।

मुर्मा शैल छ श्वेत टम्म हिउँले मीठो छ हावा अहा ।
डाँफे कालिज कस्तुरी मृगहरू उन्मत्त प्रमत्तका ।।
यो स्वर्गीय छटा अहो घनघटा बिर्सेर बिर्सिन्न है ।
ताजा भाव उनेर बन्छ कविता प्यारो छ रारा सधै ।।

ताल्चा स्वागत गर्छ हर्षित हुँदै सम्झ्यौ मलाई भनी ।
हाँसेकी छ पुछारमा गमगढी प्रफुल्ल जैले पनि ।।
धर्तीकी नव-वेहुली छ रसिली सौन्दर्य फैलाउँदै ।
त्यैं सौर्न्दर्य टिपेर छन्द भरियो प्यारो छ रारा सधै ।।

वाशन्ती मधुमास झैं हरघडी माधूर्यमा लिप्त यो ।
धेरैपल्ट पुगेँ पुगूँ अझ सधै यैं चाह - यैं घिट्किसो ।।
छाप्री मन्दिरले सुसेल्छ मुरली ती छाल नाच्छन् जसै।
त्यो खत्याड बगेछ स्नेह झरना प्यारो छ रारा सधै ।।

रारा ताल, मुगु - २०७४

Tuesday, October 18, 2016

खाडीको क्रन्दन

खाडीको क्रन्दन (शार्दूलवीक्रीडित) 

खाडीको धुपले बुझेन दुख यी घाँटी सुकाए पनि ।
ए प्यारी नचुहाउनू नयनमा बाढी लुकाए पनि ।।
बेचिन्छन् सपना शयौँ प्रहरका निद्रा जुटाईकन ।
मान्छे मानवयन्त्र बन्छ कि म झैँ बिर्सेर आफ्नोपन ।१।

पुर्खाले जति जे दिए नियतिले बेचेर खाएपछि ।
खाडीमा मन भड्कियो समयले टुंगो नलाएपछि ।।
छन् डल्ला सुनका टिपेर सजिलै फर्कन्छु झैं लाग्दथ्यो ।
छानो टाल्छु बनाउदै घर नयाँ इच्छा सधै जाग्दथ्यो ।२।

प्यारीको गहना गयो श्रम गयो गै गो जवानी पनि ।
आएनन् सुखका बहार कहिलै पीडा अचाक्ली छ नि ।।
आमाको मन दुख्छ सुक्छ गहमै शोकाश्रु रातै दिन ।
हाम्रो भाग्य कठै रचिस् रगतले पापी विधाता किन ??

ताते हिँड्न सिकाउथेँ थिरिथिरी छोरो दगुर्ने भयो ।
फड्क्यो वर्ष यसै यहाँ प्रगतिको गिन्ती पुरानै रह्यो ।।
साँचेका फरिया यतै खुइलिए आमा र प्यारी कठै !
साँच्चै अन्त्य हुँदैन हो कि घरमा यो दुर्दशाको कतै ??

ताजा याद अझै छ प्रेम रसिलो संकोच थोरै यता ।
तिम्रै तस्बिर बल्झँदैछ मनमा प्यारी नरोऊ त्यता ।।
टिक्दैनन् शशि सूर्यमा ग्रहणका धर्सा अवश्यै पनि ।
कालो बादल फाट्छ हेर नभको आभा सुनौलो बनी ।५।

२०७३, राराताल मुगु
....

Monday, May 30, 2016

रुन्छ कविता (शिखरिणी)

रुन्छ कविता (शिखरिणी छन्दमा)

सँगालेका सारा सुखसयल गुम्छन् जब जब
कसो गर्ने भन्दै मन - मगज घुल्छन् विष तब ।
छ अैाँशीको कालो ग्रहण नहटी लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै पैसा रोज्दै मृत रहर बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजारीया गल्ली वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा माया जलन बनी दन्क्यो दनदनी
रिसाएकी हौ या मथिँगल घुमेको फनफनी ?
भएका छन् टाढा समय गतिले पुत्र र पिता
नहाँसेरै हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी जस्तै आँसु अविरल बग्यो पृष्ठहरुमा
मुना पर्खी बस्दा कुसुमकलीका शुष्क तरुमा ।
सिमा श्रेया सन्ध्या अझ मलिन छन् अञ्जु अमिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………

सिन्धुली, २०७२

Tuesday, February 16, 2016

प्रेम :- हिजो र आज

( शार्दूलवीक्रीडित छन्दमा )

छोटो थ्यो अवधी अबोध मन यो बन्दैन छोटो तर ।
कस्तो स्वार्थ रहेछ तिव्र गतिमा बस्दै गरेको घर ।।
तिम्रो चाह बुझेन यो हृदयले पर्खाइमै अल्झियो ।
देखेको सपना वयस्क नहुँदै पासा कहाँ पल्टियो ।। १ ।।

ढाँटी ढाँट्न सकिन्न आत्म कहिलै संसार ढाँटे पनि ।
मायामा धनको महत्व कति हो देख्यौ त स्वार्थी बनी ।।
मैले त्याग्न तयार थेँ सबकुरा यैँ प्राण आफ्नै पनि ।
तिम्रो साथ नछोडियोस् कहिँकतै के भन्न सक्थेँ त नि ।। २ ।।

बाँकी छैन मसंग आँशु अहिले सुख्खा छ आँखा यता ।
अर्कै आड लियौ उतै लहरियौ स्वार्थी बनेकी लता ।।
आशा राख्नु हुँदैन रैछ कपटी बन्छन् कयौं सज्जन ।
छोटो जीवन वेदनामय सधै आघात कस्तो भन ।। ३ ।।

मेरो श्वास प्रश्वास गिन्ति कहिलै सम्झन्न बिर्सन्न म ।
आफ्नै ढुक्ढुकी छामिदैन मुटुका यी चाल हुन्नन् कम ।।
बिर्सूँ भन्छु कठोर भै मनमनै बिर्सेर बिर्सन्न यो ।
कायाबाट अलग्गिएर कसरी छाँया पराई भयो ?? ४ ??

टाढा छौ तर लाग्छ किन्तु नजिकै हेर्छ्यौ लजाई लुकी ।
मैले के अब बिर्सुँला प्रियतमा मेरो तिमी ढुक्ढुकी ।।
वर्षा बादलसंग छुट्छ र कतै ? या बोट धर्तीसँग ?
तिम्रो साथ मसंग छुट्नु पनि हो यो देह आत्मासँग ।। ५ ।।


रातोपुल, काठमाण्डौ ~ २०७२ फागुन
 



Tuesday, February 9, 2016

नजुधी समस्या समाधान हुदैन

नजुधी समस्या समाधान हुदैन 
प्रेमको लागि प्रेमिका गुमाउने  प्रेमीहरुमा समर्पित  

वञ्जर खेत नजोतिए धान हुदैन, अध्यारो रात नबिते बिहान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्,
नजुधी समस्या समाधान हुदैन ।।

झर्छन् आँसु, चिप्लन्छन् खुट्टा,
कतै धर्ती भासिन्छ पनि ~
आवेशमा नआई अडिग बनी सम्हालिनै पर्छ शिष्ट बनी ।
जिन्दगीको निखार समस्याभित्रै छ,
ननिखारिएको मान्छे महान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।

त्यागभित्रको प्राप्ति होस् या प्राप्ति भित्रको त्याग ~ 
महत्त्व आफ्नै, अस्तित्व फरक छ ~ 
केही न केही त गुमाउनै पर्छ,
नगुमाएको बलिदान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।


२०७२ माघ २६ रातोपुल काठमाण्डौ


Sunday, September 20, 2015

कविता भोलीको

कविता भोलीको ( शार्दूलवीक्रीडित छन्दमा ) 

कालो यो इतिहासबाट धमिलो पाना छिटै पल्टियोस् ।
हाम्रो राष्ट्र विकासमा अघि बढी बाधा सबै सल्टियोस् ।।
साँच्चै सुन्दर शान्त उन्नत खुला नेपाल निर्माण होस् ।
आपस्मा हितभाव भै युगभरी आतङ्क हिंसा हटोस् ।।१।।

भोलीको कविता खुशी हृदयले आजै म लेखौं कि त ।
आशा यी मनका सबै जन जुटे साकार बन्छन् नि त ।।
पूरा भै सपना शहीदहरुका  संमृद्ध नेपालको ।
हाम्रो आर्थिक उन्नती अनि बनोस् कानूनको राज्य यो ।।२।।

हामीले बलियो बनाउन सके आधार बन्ने छ है ।
भावी सन्ततिको भविष्य गतिलो खाका सिगारौँ न है ।।
जिम्मेवार भएर हेर्नु सबले यो देश नै स्वर्ग छ ।
आहा यी हिमशैल जंगल नदी झर्ना - सुधाकै रस ।।३।।

खिर्राको बिरुवा छरेर जगमा फल्दैन हो काफल ।
फुट्दामा हित हुन्न हेर घरको, हो एकतामै बल ।।
हामीले अब ती विभेद कुरिती सारा हटाईकन ।
नौलो सभ्य समाजको जग खनौ ठूलो बनाई मन ।।४।।

कर्णाली झलमल्ल हुन्छ बिजुली निर्यात गर्दै धनी ।
डोल्पाको रुप फेरियोस् मुलुककै उत्कृष्ट ठाउँ बनी ।।
डाँफेको नवरंगले हिमचुली मुस्कान छर्छन् जहाँ ।
माटो स्वर्णलता छ उर्वर सधैं प्यारो तराई यहाँ ।।५।।



२०७२ साउन, रातोपुल काठमाण्डौ