खाडीको क्रन्दन (शार्दूलवीक्रीडित)
खाडीको धुपले बुझेन पिर यी घाँटी सुकाए पनि ।
हे प्यारी नचुहाउ आँसु घरमा आँखा रसाए पनि ।।
बेचिन्छन् सपना जहाँ रहरका सीमा बढाईकन ।
मान्छे मानवयन्त्र बन्छ बिचरा निर्धो र आकिञ्चन ।१।
आफ्नै ठाउँ बिरानिदैछ पसिना बेचेर भागेपछि ।
खाडीमा मन भड्कियो समयले टुंगो नलाएपछि ।।
छन् डल्ला सुनका टिपेर सजिलै फर्कन्छु झैं लाग्दथ्यो ।
छानो टाल्छु बनाउदै घर नयाँ इच्छा सधै जाग्दथ्यो ।२।
प्यारीको गहना गयो श्रम गयो गै गो जवानी पनि ।
आएनन् सुखका बहार कहिलै पीडा अचाक्ली छ नि ।।
आमाको मन रुन्छ सुक्छ गहमै शोकाश्रु रातै दिन ।
हाम्रो भाग्य यसैगरी रचिदियौ पापी विधाता किन ??
ताते हिड्न सिकाउथेँ थिरिथिरी छोरो दगुर्ने भयो ।
फड्क्यो वर्ष यसै यहाँ प्रगतिको गिन्ती पुरानै रह्यो ।।
टालेको फरिया त्यसै खुइलियो आमा र प्यारी कठै !
साँच्चै अन्त्य हुदैन हो कि घरमा यो दुर्दशाको कतै ??
ताजा याद अझै छ प्रेम रसिलो संकोच थोरै यता ।
तिम्रै तस्बिर बल्झदैछ मनमा प्यारी नरोऊ त्यता ।।
टिक्दैनन् शशि सूर्यमा ग्रहणका धर्सा अवस्यै पनि ।
कालो बादल फाट्छ हेर नभको आभा सुनौलो बनी ।५।
२०७३, राराताल मुगु
....
No comments:
Post a Comment