रुन्छ कविता (शिखरिणी छन्दमा)
सँगालेका सारा सुखसयल गुम्छन् जब जब
कसो गर्ने भन्दै मन - मगज घुल्छन् विष तब ।
छ अैाँशीको कालो ग्रहण नहटी लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै पैसा रोज्दै मृत रहर बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजारीया गल्ली वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा माया जलन बनी दन्क्यो दनदनी
रिसाएकी हौ या मथिँगल घुमेको फनफनी ?
भएका छन् टाढा समय गतिले पुत्र र पिता
नहाँसेरै हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी जस्तै आँसु अविरल बग्यो पृष्ठहरुमा
मुना पर्खी बस्दा कुसुमकलीका शुष्क तरुमा ।
सिमा श्रेया सन्ध्या अझ मलिन छन् अञ्जु अमिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
सिन्धुली, २०७२
No comments:
Post a Comment