Showing posts with label भजन. Show all posts
Showing posts with label भजन. Show all posts

Tuesday, February 3, 2026

रोइला भजनहरू

हरि हरि…

साकेत धाममा रामचन्द्र, गोलोकमा मुरारी…२

कैलाशमा भोलेबाबा, वैकुण्ठमा हरि…२

रक्षा गर शंकर,

कसको परौँ भर, रक्षा गर शंकर ।।


मणिद्वपमा अम्बिका छिन्, रसातलमा बलि…२

सत्य त्रेता द्वापर गए,उर्ली आयो कलि…२

रक्षा गर शंकर,

कसको परौँ भर, रक्षा गर शंकर ।।।।


प्रारब्धका वश परी हाम्रो जन्म भयो…२

जन्म- मृत्यु- पुनर्जन्म, दुश्चक्रमा रह्यो…२

झुठो रैछ संसार,

हे हरि,

भवसागर तार, झुठो रैछ संसार ।।


माया मोह लालसामै अल्झिगयो जुनी…२

जिन्दगी यो सोँचेजस्तो कहिले नि नहुनी…२

झुठो रैछ संसार,

हे हरि,

भवसागर तार, झुठो रैछ संसार ।।।।


चौरासी लाख जुनि मध्ये, मनुष्यको चोला…२

यैं चोला नि यसै गयो, कस‍ो हुने होला…२

अब त राम् राम् जपेर

तर्ने हो एकैफेर,

अब त राम् राम् जपेर ।।


आँखाभरि लोभ लालच्, मनैभरि पाप…२

कस्तो गति होला मेरो, सम्झी लाग्छ ताप…२

अब त राम् राम् जपेर

तर्ने हो एकैफेर,

अब त राम् राम् जपेर ।।।।

🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

दर्शन देऊ शंकर

प्रायः सधै ध्यानमग्न शिव कैलाशैमा..

भक्तहरू भजन गाउने दर्शन्को आशैमा...

दर्शन देऊ शंकर…

डमरू बजाउँदै दर्शन देऊ शंकर ।१।


निधारमा बालचन्द्र, गंगाजी छन् माथमा,

गणेश कुमार दुई पुत्र, पार्वती छन् साथमा ।

दर्शन देउ शंकर…

डमरू बजाउँदै दर्शन देऊ शंकर ।२।


नन्दी भृङ्गी चौषठ्ठी गण वरिपरि लाउने,

कहिले हो त भोलेबाबा, दर्शन हाम्ले पाउने ?

दर्शन देउ शंकर… 

डमरू बजाउँदै दर्शन देऊ शंकर ।३।


कामदेवलाई भस्म पार्ने, त्रिपुर दाह गर्ने…

नरिवल र वेलपत्र सारै मन पर्ने ।

दर्शन देउ शंकर… 

डमरू बजाउँदै दर्शन देऊ शंकर ।४।


चन्दननाथ, मुक्तिनाथ, पशुपतिनाथ,

आखिर् जाँदा धनसम्पत्ति को लैजान्छ साथ ?

दर्शन देउ शंकर… 

डमरू बजाउँदै दर्शन देऊ शंकर ।५।।


कहिले बस्ने मसानैमा, कहिले नन्दीमाथि,

कहिले हुन्छौ कैलासैमा रूपै नानाभाँति

दर्शन देउ शंकर… 

डमरू बजाउँदै दर्शन देऊ शंकर ।६।।


कतै रुद्र वीरभद्र, कतै हनुमान,

तिम्रो लीला अपार छ तिमी आफै जान ।

दर्शन देउ शंकर… 

डमरू बजाउँदै दर्शन देऊ शंकर ।७।

🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️


श्री राधादामोदर भगवानको जय 🙏

(विभ्रद्वेणुं जठरपटयो: …

गौराङ्गे मृदुमस्मिते…)

नाच न राधा छम् छम् छम्

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


हरिहरि…

धनु र बाँसको मुरली राम्रो सुनैले बेरेको (२)

कृष्ण बजाउने राधाले नाच्ने गोपीले हेरेको (२)

नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


हाम्रो घरमा आयौ भने मख्खन खान दिउँला (२)

माया गरुँला काखमा लिउँला मुरली बजाइदिउँला (२)

नाच न राधा छम् छम् छम् …

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…

तिम्रो दर्शन पाएपछि हट्छन् सबै बाधा (२)

नीलो सारी लर्काएर छम् छम् नाच राधा (२)

नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


बसेका छन् १६ हजार गोपिनी वरिपरि (२)

राधालाई मात्रै नहेर काले हाँस्दै घरिघरि (२) नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


त्यैँ धनु बाँसको मुरली तिम्रो सुकेर गयो आधा (२)

सोह्र हजार एक शय आठमा मन परेकी राधा (२)

नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


मयूरपङ्खे मुकुट भित्र घुम्रिएको बाल (२)

बुझिन मैले तिम्रो त लीला गोविन्द गोपाल (२)

नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


हे कृष्ण…

सानोमा चोर्यौ दही र मखन् , अहिले चोर्यौ मन (२)

भक्तका प्रति दयाको भाव कहिले हो आउने भन (२)

नाच न राधा छम् छम् छम्…

मुरली बजाइदिउँला 

नाच न राधा छम् छम् छम्…


२०८२ माघ, हर्मन कम्प्लेक्स 


Monday, February 2, 2026

पर्ख न पर्ख राधिका (रोइला भजन)

 🕉️ जाग्रत् स्वप्न सुषुप्तिषु…

कहिले हाँस्ने कहिले रुने, कहिले गाला छुने । २

तिम्रो दर्शन बिना राधा, कृष्ण एक्लै हुने ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


स्निग्ध वदन प्रेमिल दृष्टि, आँखीभुइँ छन् ठूला ।२

तुलसीको बास्ना राम्रो, पछ्यौरीको झुला ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


केलीकुञ्ज वृन्दावनमा आउने कर गरेर ।२

कहिले वर्षा कहिले हिउँद यमुना तरेर ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


लुकाछिपी खेल्दै पुग्छ्यौ यमुनाको पारी ।२।

गोरो मुहार सुहाउने नीलो रङ्को सारी ।२।

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


ललिता छिन् - विशाखा छिन्, इन्दुलेखा चित्रा ।२

चक्पकलता - रङ्गदेवी, सुदेवी मनभित्र ।२

तुङ्गविद्या सहित तिम्रा अष्टसखी प्यारी ।२

एक नजरमै मुग्ध हुने छन् बाँकेविहारी ।२।

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


राधा-रम्या-रासेश्वरी, वृषभानुसुता ।२

तिम्रै पाउले पवित्र छन् वृन्दावनका बुटा ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


२०८२ माघ, हर्मन हिमालय

Wednesday, January 14, 2026

शिव-सती प्रसङ्ग (रोइला भजन)

 हरि हरि… 

बाँचुञ्जेली जिन्दगी हो, मरेपछि लास ।२

सारा संसार स्वार्थी रैछ, कस्को गर्नू आश ।२।

लैजाऊ शिव कैलास, 

हे,  प्रभु मलाई…

छैन केही आश,

लैजाऊ शिव कैलास…७


सत्ययुगमा दक्ष नामका प्रजापति थिए । २

तेत्तीस कोटि देवतालाई कन्यादान दिए ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


तेत्तीस कोटि कन्या गए देवताका साथ ।२

जेठी सती बाँकी थिइन् सम्पत्ति रक्षार्थ ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


विष्णुले छल् गरि मिलिन् शिवजीलाई सती ।२

यस्तो देख्दा क्रोधित भए दक्ष प्रजापति ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७

दक्षले,

कोटिहोम गर्न थाले धुमधामसंग । २

दुईजनालाई छुट्याएर अरू सबै दङ्ग ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


महादेवलाई पशुभन्दा पनि तुच्छ गने ।२

शिवजीको निन्दा गरे बौलाहा हो भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७

अग्निकुण्ड नजिक् गई प्राण त्यागिन् सती ।२

मेनकाको गर्भ रोजिन् बनेर पार्वती ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


सतीजीका अङ्गबाट कोटि पीठ बने ।२

दर्शन् गर्न पर्छ भक्त, मुक्ति खोज्छौ भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७



२०८२ पुस ३० बुधबार, हर्मन कम्प्लेक्स 



Tuesday, January 13, 2026

श्री स्वस्थानी आरति

चन्दन् फूल अक्षताले पूजा गर्ने थाली (२) 
नैवेद् प्रसाद चढाऊ भक्त कपूर-बत्ती- बाली…२ 
स्वस्थानीलाई आरति… 
कपूर-बत्ती बाली, स्वस्थानीलाई आरती …… (७)

स्वस्थानीको कथा सुन्दा जाग्छ भक्तिभाव २ 
भजन् गाए नाचे पनि मिल्ने नै छ लाभ २ 
स्वस्थानीलाई आरति… 
 कपूरै बाली, स्वस्थानीलाई आरती …… (७) 

लीला कथा अध्यायमा आउँछन् थरिथरी २ 
तिम्रो कृपा रहोस् माता यो जिन्दगीभरि २ 
स्वस्थानीलाई आरति… 
 कपूरबत्ती बाली, स्वस्थानीलाई आरती …… (७) 

स्वस्थानीको कथा सुन्दा पुस र माघैमा २ 
खुसी हुन्छन् गौरीशंकर हेर कैलासैमा २ 
स्वस्थानीलाई आरति… 
कपूरै बाली, स्वस्थानीलाई आरती …… (७) 

पार्वतीले व्रत गरी पाइन् शिव स्वामी २ 
चन्द्रावतीदेवी पनि बनिन् महारानी २ 
स्वस्थानीलाई आरति… 
कपूरबत्ती बाली, स्वस्थानीलाई आरती …… (७) 
कपूरै बाली, स्वस्थानीलाई आरती …… (७)


२०८२ पुष २७ गते आइतबार, हर्मन कम्पेक्स, गोलान हाइट्स 

Friday, October 24, 2025

रोइला भजन : काले कृष्ण मोराले

ठेका फोर्ने दही चोर्ने बाच्छा फुकाइदिने, 
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।

माटो निल्ने गोबर दल्ने, बाँदरलाई घिउ ख्वाउने -
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २। 
कालेकृष्ण मोराले……

राति उठ्ने, दु:ख दिने जे पायो त्यैं खाने ।
गाई छोडेर ग्वालबाल यमुनामा लाने ।३।
कालेकृष्ण मोराले…



पौडीमा छन् ग्वालबाला - धानको बीउ गाईलाई,
गाउँभरिका गुनासोले टाउको दुख्छ माईलाई ।।४।। 
कालेकृष्ण मोराले……

कालिय नाग भगाउने, गोवर्धन उठाउने -
सारा लीला आफू गर्ने, अरूलाई कुटाउने ।५।
काले कृष्ण मोराले…

वृन्दावनमा तिरिरिरी मुरली बजाउने ।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६। 
काले कृष्ण मोराले…

२०८२ कात्तिक ७ गते शुक्रबार, माउण्ट हर्मन


Tuesday, May 20, 2025

रोईला भजन : कोही नि छैनन् मेरा, राम जति पियारा

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…

पर, व्यूह, विभव छन् अर्चा - अन्तर्यामी ~ श्रीहरिका पाँचै स्वरुप अब बुझौं हामी ।।१।।

प्रभुको नाम, प्रभुको रुप, लीला अनि धाम ~ साक्षात् राम भन्दा ठूलो रैछ रामको नाम ।।२।।




चैत्र शुक्ल नवमीको अभिजित् मुहूर्त ~ श्रीरामको दर्शन मिल्यो अब के को सुर्ता ।।३।।

चतुर्व्यूह राम, भरत, लक्ष्मण र शत्रुघन् ~ अयोध्यामा जन्म लिँदा महोत्सव चल्छन् ।।४।।

धीर वीर गम्भीर छन् बालकैमा राम ~ लम्बबाहु मेघवर्ण सूर्यवंशी घाम ।।५।।

शिवधनु तोडी बिहे जानकीका साथ ~ हाम्लाई पनि शरण देऊ हे त्रीलोकीनाथ ।।६।।

कैकेयीको वचनले वनबास पाए ~ चौध वर्ष जंगलमा कन्दमूल खाए ।। ७।।

सीता लक्ष्मण साथै लिई वन लागे राम ~ कैकेयीको बुद्धि भुट्ने मन्थराको काम ।।८।।

प्राण गयो दशरथको रामको पिर मानी ~ श्रीरामको पितृआज्ञा पूरा गर्ने बानी ।।९।।

नियतीमा भ'को दशा लाग्न के को बेर ~ भिक्षु रुपमा रावणले सीता हर्यो हेर ।।१०।।

वानर सेना साथै लिई लंका सबै जिते, इन्द्रजीत, कुम्भकर्ण रावण आदि बिते ।।११।।

राक्षस मारी हरिदिए भार पृथिवीको ~ गौ ब्राह्मण वेद अनि सेवा अतिथिको ।।१२।।

पाउले गरून् तीर्थयात्रा, हातले गरून् दान ~ मुखमा रहोस् रामको नाम, मनमा रामकै ध्यान ।।१३।।

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…


२०८२ जेष्ठ ०३ गते आइतबार, माउन्ट हर्मन


रोइला भजन : आउ न मनमोहन

आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…


त्रीभंगीलाल मनोहर हे मुरलीधर - 
तिमी बाहेक संसारमा मेरो को नै छ र ।। १ ।। 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

चढाउँला वैजयन्ती फूलमाला गाँसेर - 
यो घरमा आइदेउ बाला एकचोटि हाँसेर ।।२।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

मयूरपंखी मुकुट छ, घुम्रिएको बाल - 
सारा संसार लठ्ठ पार्ने नटखटे चाल ।।३।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



लामालामा कालाकाला कमलपत्रे आँखा - सुनीरहूँ सधै लाग्ने मुरलीको भाका ।।४।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

कस्तुरीको टिकासंगै मुक्तावली हार - 
तिम्रो कृपा भए कृष्ण लाग्छ संसार पार ।। ५।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

गुञ्जमाला, वनमाला अर्को माला मोती - 
सारै राम्रो सुहाउने पिताम्वरको धोती ।। ६।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

बालभोग, मोहनभोग दही मखन प्यारो - 
मखनभन्दा कमलो मन् किन पार्यौ सारो ।।७।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

गोकुलमा गाई चराउने गोविन्द गोपाल - 
गोपिनीका लुगा लुकाई पारिहाल्यौ गाल ।।८।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

मुरलीको धुन सुनी आउँछिन् राधा प्यारी - 
छमछम नाचिहाल्छिन् लर्काएर सारी ।।९।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

राधाजीको निलाम्बरमा निलीमा हौ जाने - 
कार्य कारण कर्ता कर्म तिमी नै हौ माने ।।१० ।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



२०८२ जेष्ठ ०४ गते आइतबार,गोलान हाइट्स 

Wednesday, April 9, 2025

रोइला भजन : कैलाशमा शिवले

शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले… 

पञ्चभूत, दश ईन्द्रीय, पाँचै छन् तन्मात्रा ~ 
माटो वा भष्म हुने हो देह, सजिलो छैन यात्रा ।।१।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…


मन, बुद्धि, चित्त, अहं अन्तस्करण चार - 
प्रभुका पाउमा चढाएर गरौँ नमस्कार ।।२।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

छत्तीस ३६/(छब्बीस २६) तत्व, तीनै गुण भन्दा शिव माथि - 
सत्कर्म हो मनुष्यको सँगै जाने साथी ।।३।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

सृष्टि, स्थिति, लय गर्ने हाम्रा तीन परमेश्वर - 
लीलामा हेर्दा अनेकौं रूप, एउटै हुन् महेश्वर ।।४।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

नीलकण्ठ, त्रिपुरारी, शशिशेखर, शम्भो - 
कलिको मान्छे दम्भै बढी, भक्ति ज्ञान कम् भो ।।५।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

गंगाधर, चन्द्रमौली हरहर भोला - 
मायाजालमा अल्झेर नै बित्न लायो चोला ।।६।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

डमरू त्रिशूल हातमा छ, कटिमा बाघको छाला - 
कपूर जस्तो गोरो वर्ण, वाशुकी नागको माला ।।७।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

गौरीकान्त, भूतनाथ, साम्वसदाशिव - 
तिम्रो कृपादृष्टि बिना मुक्त हुन्नन् जीव ।।८।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

चन्द्र सूर्य अग्नि तिम्रा आँखा छन् त्रिनेत्र -
भक्तिभाव जगाइदेऊ हाम्रो मनभित्र ।।९।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

नन्दि-भृङ्गी, रिट-श्रृङ्गी शिवगण धेरै -
आशुतोष भक्तसँग खुशी उत्तिखेरै ।।१०।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…




माउन्ट हर्मन, मध्यपूर्वी एसिया