आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
चढाउँला वैजयन्ती फूलमाला गाँसेर - यो घरमा आइदेउ बाला एकचोटि हाँसेर ।।२।।
मयूरपंखी मुकुट छ, घुम्रिएको बाल - सारा संसार लठ्ठ पार्ने नटखटे चाल ।।३।।
लामालामा कालाकाला कमलपत्रे आँखा - सुनीरहूँ सधै लाग्ने मुरलीको भाका ।।४।।
कस्तुरीको टिकासंगै मुक्तावली हार - तिम्रो कृपा भए कृष्ण लाग्छ संसार पार ।। ५।।
गुञ्जमाला, वनमाला अर्को माला मोती - सारै राम्रो सुहाउने पिताम्वरको धोती ।। ६।।
बालभोग, मोहनभोग दही मखन प्यारो - मखनभन्दा कमलो मन् किन पार्यौ सारो ।।७।।
गोकुलमा गाई चराउने गोविन्द गोपाल - गोपिनीका लुगा लुकाई पारिहाल्यौ गाल ।।८।।
मुरलीको धुन सुनी आउँछिन् राधा प्यारी - छमछम नाचिहाल्छिन् लर्काएर सारी ।।९।।
राधाजीको निलाम्बरमा निलीमा हौ जाने - कार्य कारण कर्ता कर्म तिमी नै हौ माने ।।१० ।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
२०८२ जेष्ठ ०४ गते आइतबार,गोलान हाइट्स
No comments:
Post a Comment