कोठा (शार्दूलवीक्रीडित)
यौटा खाट र बिस्तरा छ नजिकै भान्छा कुनामा सँगै
यौटै बल्ब बिजुली सब् मिटरले नापेछ छुट्टै अझै ।।
तीन्टा थाल गिलास डाडु पनियो एकेक छन् र्याकमा
मेरो विश्व समेटिएछ यतिमै धर्ती न आकाशमा ।।१।।
बाल्टीमा छ सुशुप्त झै प्रतिनिधी कोशी र नारायणी
चार् बित्ताविचमा सबै चिज छ है भेटिन्न तै हर्घडी ।।
यौटा टेबल थोत्रिदै छ सुरको आडेसले थामिने
कप्डा छन् असरल्ल काँटिहरुमा तान्दा यसै च्यातिने ।।२।।
पर्दा छन् नवयौवना शहरकी अर्धाङ्ग ढाकेसरि
आधा झ्याल खुला छ दर्पण भनौ ढाकिन्न केही गरी ।।
छन् कापी र किताब चाङ बढिया टक्रक्क खाटैमुनी
तिन्कै माथि निदाउने मनमनै सप्ना हजारौँ बुनी ।।३।।
वर्षामा जलको छ त्रास मनमा भेल् बग्छ भित्रै भनी
जाडोमा नकुरा गरौँ कति चिसो देखिन्न घामै पनि ।।
धोएको कपडा सुकेन अहिले कक्रक्क भो बार्दली
धारामा झगडा सधैं वरिपरी बेकारको खल्बली ।।४।।
वर्षौँसम्म बसेँ यहीँ तर अझै क्यै छैन बद्लाव यो
भाडा मात्र बढ्यो सबै अरु कुरा सामान्य उस्तै रह्यो ।।
यो सानो अनि साँघुरो किन नहोस् आत्मीयता यै हुने
यै कोठा छ र ढुक्क छु शहरमा थाक्दा म सुस्ताउने ।।५।।
सिन्धुली २०७१
No comments:
Post a Comment