नयावर्षको शुभकामना
(शार्दूलवीक्रीडित)
आयो फेरि नयाँ वसन्त ऋतुले नौलो
लिई साल यो
आकांक्षा पनि तिव्र छन् मनमनै पुग्ला कहाँसम्मको ।
यो वैशाख नया बनेर ठडिई बर्षै
बितोस् हर्षमा
यैँ मेरो शुभकामना हृदयको लौ
है नयावर्षमा ।।
पात्रो मात्र नया छ जीर्ण घरको
भित्तो पुरानै भयो
ताजै छन् मनभित्र घाउ कतिका के
हुन्छ उल्लास त्यो ।
टाढासम्म विकासले गति लिई नेपाल
उत्कर्षमा
यैँ मेरो शुभकामना हृदयको लौ है नयावर्षमा ।।
पैलाको रिसराग स्वार्थ नभुले
खुल्दैन बाटो अब
साँच्चै देश बनाउने प्रण गरी
बाटो खुलाऔँ सब ।
माटोको अनि न्यायकै विजय होस्
सम्पूर्ण संघर्षमा
यैँ मेरो शुभकामना हृदयको लौ
है नयावर्षमा ।।
यो पाली शुभकामना छ अधुरो आधा
मनै चिन्तित
यो सन्त्रास हटी विकास पथमा
लम्के सबैको जित ।
चाँडै पुग्न सकोस् सबै जन मिली समृद्धि निष्कर्षमा
यैँ मेरो शुभकामना हृदयको लौ
है नयावर्षमा ।।
लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६