भारी छ मस्तिष्क यो ( शार्दुलवीक्रीडित )
हुन्थ्यो शान्त,थिएन
सोच धमिलो चङ्गा थियो मन् पनि
प्यारो गाँउ वरिपरी
सुख थियो हास्दै टहल्थ्यौँ अनि ।
के के नै मिलिहाल्छ
हो शहरमा मेरो बडो भ्रम त्यो
चौतर्फी भ्रमजालको
लहरले भारी छ मस्तिष्क यो ।१।
मान्छेमा सुविचार छैन
धनको खेतीतिरै ब्यस्त छन्
सोझा निर्धन आत्मका
तर धनी अन्यायले त्रस्त छन् ।
ठग्ने वा घुसखोर गर्न
नसके अस्तित्व याहाँ गयो
मेरो लक्ष कता छ सोच्न
नसकी भारी छ मस्तिष्क यो ।२।
पानीको पनि तिर्नुपर्छ
रुपिया पाइन्न खै तै पनि
कोठामा कति ढाँड भाँड
बढिगो थुप्रिन्छ फोहोर नि ।
पानीको अघि मुल्य तिर्नु
अनि लौ तिर्नै छ शौचादिको
पैसाले लफडा गरेपछि
अहो भारी छ मस्तिष्क यो ।३।
भोकै छौँ तर छैन इन्धन
हरे खाना बनाऔँ कता,
साथीको पनि चाल यै
भइदिदा के हुन्छ आत्मीयता ??
सम्ब्रिद्धी अनि सुख्खको
रहरमा दिक्दार मात्रै भयो
सोच्दामा दुख कष्ट
यी शहरका भारी छ मस्तिष्क यो ।४।
तर्कारीहरु मंगिएर
सब यी किन्नै नसक्ने भए
कोठाको पनि मुल्य बढ्छ
महिना सात् आठ मात्रै गए ।
निद्रामा सपना म देख्छु
कहिले गाडी निजी बंगलो
जाग्दामा सब शुन्यता
वरिपरी भारी छ मस्तिष्क यो ।५।
सारै कष्ट सहेर क्याम्पस
सक्यो जागीर पाइन्न खै
आफ्नो भन्सुन सोर्सफोर्स
नचले बाँच्नै नि गाह्रो छ है ।
यस्तो नर्क समानको
शहरमा बुद्धीजती भ्रष्ट भो
अल्झिँदा दुख कष्टको
बगरमा भारी छ मस्तिष्क यो ।६।
पैसाको लफडा बुझेर
धनको सन्जालमा छन् सबै
चाहेको सुख मोज मस्त
दुनीया पाइन्छ पैसासगै ।
खल्ती टम्म भए सबै
र नहुदा केही न केही भयो
मैले टन्न कमाउदैन
कि भनी भारी छ मस्तिष्क यो ।७।
लाजिम्पाट काठमाण्डौ,
२०६८-११-१६