Friday, April 25, 2014

प्रेम कहानी

BY Arun Gnawali

प्रेम कहानी ( शिखरिणी)
 

कहाँ पोखौँ मैले असफल कथा यो पिरतीको ।
मलाई दिन् रातै अति जलन पार्ने प्रियसीको ।
बनाउँला भन्थेँ शरद रितुको प्रेम अमर ।
तिमी बाटो मोड्यौ रहर बनिगो आज रहर ।१।

थियो कालो लामो चमक भरिलो केश शिरमा ।
सिधै घायल्  पार्थे नयन म्रिगकाझैँ ति दिनमा ।
 म पागल्  हुन्थेँ  हौ जब जब तिमी चुल्बुल गरी ।
लगाउँथ्यौ  आँखा म तिर परबाटै  घरिघरी । २ ।

तिमीले हाँस्दामा जगत सबयो उज्वल भयो ।
तिमीले रुँदामा कुटुकुटु भयो मन् जलन भो ।
प्रिये मेरो आफ्नो सुख दु:ख भनेकै सब थियौ ।
र पो साट्थेँ पीडा अब मकन एक्लो गरिदियौ ।३।       

तिमी जून्झैँ लाग्थ्यौ  मन शितल पार्ने गरममा ।
तिमी धुन्झैँ लाग्थ्यौ अति मधुर बोली बचनमा ।
तिमी फूल्झैँ लाग्थ्यौ  मगमग भरिन्थ्यौ पवनमा ।
तिमी मुल्झैँ लाग्थ्यौ बगर सरि यो जीवन महाँ ।४।

कमाउँला मैले अरब अरबौँ  सम्पति  अनी । 
बनाउँला अग्लो घर शहरमा भै अति धनी  ।
बसौँला  दिन्  रातै हरबखत पैसा गनिगनी ।
सधैं केही केही अपुग रहने भो तरपनी ।५।

 कुनै दिन् भेट् हुँदा अपरिचित जस्तै बनिकन ।
नहिँडे है प्यारी अझ हृदय पोल्ने गरिकन ।
कता छौ खै काली हरबखत तिम्रै छु जपमा ।
परानै हौ मेरो पलपल बहन्छौ रगतमा ।६। 

चखेवाका जोडी जब समिपमा देख्दछु म ता ।
तिनै दिन्को झल्को मनमगजमा फिर्दछ अहा ।
सधैं पार्थ्यौ आँखा पिलपिल  म जाँदा अलि पर ।
भएँ एक्लै भन्थ्यौ फिरफिर छिटो बेर नगर l 
( गराउँथ्यौ  फिर्ने  उहिपल  तिमी लौ   गरी कर ) ।७।

महीना माघै थ्यो समय अति ठन्डा वरपर  ।
पढाई सक्काई ल अब फिरुँ भन्दै सब घर ।
पुगेकाथ्यौँ हामी जब चउरमा त्यो बखतमा ।
तिमीलाई देखेँ उहिपल बसालेँ मगजमा ।८।

कुरेँ बोल्ने भन्दै बिसदिन कतै भेट् गरिकन ।
तिमी अन्तै अन्तै हरपल म कुर्दै झनझन ।
बिते धेरै दिन् रात् छटपट भयो हर बखतमा ।
अहा मौका मिल्यो उहि चउरमा एक् समयमा ।९।

अती काँपे खुट्टा ढुकढुक भयो यो मुटु पनि ।
कसोरी बोल्ने हो प्रथम पलमा लौ अब भनी । 
भनी जे जे होला सहज सँग बोलेँ उसदिन । 
बिताउँला भन्दै जनम भरि माया गरिकन ।१०।

दिई यौटा रातो अति चमकिलो फूल र अनी ।
तिमीलाई माया हरसमय गर्नेछु म भनी ।
मनैमा गुम्सेका भनि सब कुरा गद्गद बनी ।
बिदा माँगे छिट्टै शुभ खबर पाउँ ल म भनी ।११।

कुरेँ यौटा हप्ता समय अति लामो बनिदियो ।
चिठी पाएँ छिट्टै खबर म भनेझैँ शुभ थियो ।
पुगे मेरा सारा रहरहरु भन्दै अब छिटो ।
कतै टाढा जाऔँ बसि गफ गरौँला अति मिठो ।१२।


तिमीनै आउँथ्यौ प्रतिदिन म सुत्दा सपनिमा ।
उठे तिम्रै मायाँ  पलपल सताउने बिपनिमा ।
कती बेला देखौं भनि नयन यी ब्याकुल भए ।
यसै गर्दागर्दै दिन अनि महीना बितिगए ।। 
( यसै गर्दागर्दै कति दिन र हप्ता बितिगए ।१३l )

थिए डाँडा पाखा सकल हरिया भैकन सफा ।
न ता ठन्डा तातो खुशि फिरि गए जीवहरुका ।
बिते गर्मी बर्षा शरदरितुको आगमन भो ।
यता धेरै लामो समयपछि हाम्रो मिलन भो ।१४।

कतै टाढा पुग्यौँ घर शहर छाडीकन दुवै । 
(पुग्यौँ ज्यादै टाढा घर शहर छाडीकन दुवै)
छुँदै एक् अर्काका करकमल रोमान्चित हुँदै ।
चखेवा लाम्पुच्छ्रे मयुर पनि जोडी बनिकन ।
डुलेका देखिन्थे बहुत खुशि लाग्थ्यो मनमन ।l १५ ll

निकै राम्री जून् झैँ अझनयनमा गाजलु भरी ।
हरीयो कुर्तामा सजिइकन हाँस्दै घरिघरी ।
कुरा गर्दागर्दै जब चुनरि तान्थ्यौ तलतल ।
मलाई त्यो लाग्थ्यो जनम भरिकै सुन्दर पल ।l १६ ll    


तिमी जैले हेर्थ्यौ भुइँ तिर लजाई अलिकता ।
निकै थोरै बोल्थ्यौ उसपल नमानी सहजता । 
दुई मान्छे यौटै मन मुटु भएथ्यो उसघडी । 
नहोस् लाग्थ्यो राती बरु दिन बनोस यै अलिबढी ।l १७ ll


सधैं देख्दा लाग्थ्यो चिरिबिरि गरेकी चरि तिमी ।
कि ता स्वर्गै छाडीकन तल झरेकी परि तिमी ।
नझिम्काई आँखा गगनतल देखी सुर पनि ।
तिमीमै हेर्दा हुन् हरपल सबै पागल बनी ।l १८ ll 

निकै बढ्यो पैलो भ्रमणपछि माया दिनदिन ।
हुनै पर्थ्यो हाम्रो हरकिसिमले बात् छिनछिन ।
हराएका हुन्थ्यौँ मधुर सपनामा थरिथरी ।
सधैं राती रातीतक बसि मिठा बात् गरिगरी ।l १९ ll  

खनौँला खेत् बारी मिलिजुलि दुबैले दिनभरी ।
बसौँला रातीमा अतिमधुर मीठा गफ गरी ।
मकैको आटोमा दुधदहि घरैको अलिकति ।
मिलाई खाऊँला खुसिसित रहौँला हरघडि ।l २० ll     

मजाको चौपारी अनि समिपमा मन्दिर थियो ।
जहाँ यौटा राधा अनि किसनको तस्बिर थियो ।
गरुँ लाग्थ्यो माया युगयुग हजारौंँ युग भरी ।
गरेका थे राधा अनि किसन ले प्रेम जसरी ।l २१ ll


२०७१ बैशाख