कथा (किचकन्या)
राम्रो त म यसै पनि थिइन नै,त्यसमाथि झुस्स बढेको दारी र जिंग्रिङ्ग परेको कपालले कुनै दन्ते कथाको भुतभन्दा कम थिइन। धारामै पानी आउने भएपनि अल्छिले गर्दा ननुहाएको पनि थुप्रै दिन भैसकेको थियो, कपडाहरु नधोएको त कति भएको थियो म आफैलाई राम्रोसंग थाहा थिएन। तीनचार महिना गाँउ र छसात महिना शहरमा बस्ने मेरो स्वभावको कारण शहरको डेराका कपडाहरु वर्षको दुईतीनचोटि मात्रै धोइन्थे त्यै पनि ड्राइक्लिनर्सकोमा। म गाउँबाट शहर फर्कदा आफ्नो कोठा र कपडा सधै चिटिक्क होउन् भन्ने चाहन्थेँ,तर कहिलै त्यसो भएन। म शहर आउँदा कोठा व्यवस्थित गर्न पूरा एकदिन लाग्थ्यो र बिस्तारै घर फर्कने बेलासम्म पुन: भद्रगोल भइसक्थ्यो। कोठा व्यवस्थित गरेको दिन मलाई निकै आनन्द लाग्थ्यो आफैसंग। दिनभरको कपडा धुवाइ एवं सरसफाइले शरीर थकित हुन्थ्यो अनि सफा कोठामा मज्जाको निद्रा लाग्थ्यो - कलेजको नोट र थेसिस सार्न बाँकि नै रहन्थ्यो।
एकपटक सबै काम सकाएपछि डेरा नजिकैको चउरमा बसेर म चुरोट तान्दै विभिन्न तर्कना मनमा खेलाउदै थिएँ, साँझपख भएकोले बाटोमा मान्छेको चाप पटक्कै थिएन। छिटफुट एकदुई जना हिडिरहेका थिए। चुरोट तानेर आधाआधी पुराएको थिएँ,मेरो दृष्टि बाटोको पल्लोछेउबाट मतर्फ आइरहेकि अति राम्री नवयौवना स्त्रीमाथि पुग्यो। मबाट केही गजको मात्र दुरिमा ऊ आउदै थिई। उसका चम्किरहेका आँखाले अब चुरोट सधैको लागि मिल्काइदेउ भनिरहेको आभाष पाएँ। यद्यपि मैले थप एकसर्को लामो ताने। ऊ मेरो थप नजिक आई, उसको हिडाइमा मैले त्यति सहजता देखिन। उसले दाँया खुट्टो केही खोच्याइरहेकि थिई। हल्का सेतो पहिरनमा उसको चेहेरा निकै खुलेको थियो मानौ ऊ बेहुली हो ।
खोच्याउदै ऊ मेरो नजिकै आई, मैले वास्ता नगरेझैं गरी दृष्टि अर्कैतिर मोडेँ। ऊ मेरो अगाडि उभिएर मेरो हातबाट चुरोट खोसेर भनी "म कतिचोटि भनौ चुरोट नपिनु भनेर?" उसको आँखामा आँसु छचल्किएको थियो। मैले भईतिर हेरेर जवाफ दिएँ "मैले आफ्नैलागि चुरोट पिन्छु त तिमीलाई के असर गर्यो, आफ्नो बाटो नहिडेर किन चिन्नु न जान्नुको मान्छेसङ्ग झगडा गर्न आएकि !" "चिन्नु न जान्नुको मान्छे रे !" झर्केर उसले थपी "मेरो आँखामा हेरेर भन त चिन्नु न जान्नुको मान्छे !" विवश भएर मैले उसको आँखामा हेरेँ। उसको अनुहार केही परिचित लाग्यो, जति हेर्यो त्यति नै परिचित लाग्यो तर मैले ठ्याक्कै चिन्नभने सकिन। "खै मैले त राम्ररी चिनिन" भन्न मात्रै खोजेको थिएँ उसको खुट्टाबाट रगतको भेल बग्दै गरेको अचानक देखेपछि म बेसरि झस्किएँ 'हत्तेरि के भो त्यो' जोडले उसको खुट्टो छोपिदिन लागेको अवस्थामा मेरो निद्रा खुल्यो त्यहाँ ऊ थिइन, मेरो शरीर थर्र काँपिरहेको थियो। नजिकैको बोतलबाट पानी खाइसकेपछि बल्ल शरीरको कम्पन केही कम भयो। अलि होशमा वरिपरि नियालेँ, हिजैमात्र राम्ररी सफा गरेको शहरको डेरामा म थिएँ। आज फेरिपनि त्यही सपनाले झस्कायो। त्यो अनुहार निकै परिचित भएर पनि मैले ठम्याउन सकिन। झण्डै तीनवर्ष अघि यो घरमा डेरा सरेपछि यै खाले सपना मैले धेरैचोटि देखेँ। सपनाको कुरा अरुलाई के बताइरहनु भनेर अहिलेसम्म यसबारे म चुप थिएँ।
एकाबिहानै धारामा पानी आयो भनेर घरवेटी अन्टीले ढोका ढक्ढकाइन्, त्यै बेलामा अन्टीलाई ढोकामै पर्खाएर त्यो सपना सबै सुनाएँ। मेरो कुरा पूरा नहुदै अन्टीका आँखा टिलपिलाउन थाले र तप्पै आँसु चुहाइन् । "बाबु!" अन्टीको स्वर कारुणिक भयो- "मुटुको घाउ मैले बिर्सदै थिएँ, आज फेरि तपाईले उक्काइदिनु भयो। मेरी छोरी थिई सपना, गाँउमै बा आमासङ्ग बसेर SLC सकाएपछि ऊ यही पढ्न आई र बाह्रमा पढ्दैगर्दा एकदिन गाडिले हानेर…………….. अन्टी मन थाम्न नसकेर धर्धरी रोइन्।
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!>>>>>>>>>>>>>>>>>>>!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
सपना….! हामी एउटै कक्षामा पढ्थ्यौँ। ऊ पल्लो गाँउबाट आउथी। प्राय: अगाडिको बेन्चमा बस्ने ऊ र पुछारमा बस्ने मविच कमै मात्र बोलचाल हुन्थ्यो। स्कुलबाट फर्कदा पनि बाटो फरक दिशामा पर्थ्यो। कक्षा दशको अर्धवार्षिक परीक्षा सकिने दिन उसले मलाई भनी-"पछि पनि हामी एउटै प्लस टु पढौँ है।" "भैहाल्छ नि" मैले भनेको थिएँ "म एता पल्लो गाँउको नया खुलेको प्लस टु पढ्छु तिमी नि त्यै एडमिट गरन।" "नाइनाइ…" उसले भनी "मेरो मम्मीबाबा काठमाण्डौमै हुनुहुन्छ,हाम्रो घर नि उतै छ,शहरमा पढाइ पनि त राम्रो हुन्छ आफूले भनेकै विषय पढ्न पाइन्छ।" उसको कुरा विचैमा काटेर म बोलेँ "तिम्रो पो सबै उता हुनुहुन्छ र! मेरो त उता कोही नि हुनुहुन्न म यै पढ्छु।"
SLC को नतिजापछि पास भएका साथीहरु आफ्नो रोजाइका विषयहरु पढ्न थालिहाले। कतिपय साथी त शहरतिर पनि लागे। पल्लो गाँउमै पढ्ने हामीहरु पनि एक दर्जन बढी नै थियौँ। क्याम्पसमा थप नयाँ साथीहरुको भेटघाटले कतिपय पुराना साथीहरुको सम्झना विस्तारै कम हुदै गयो।
एक महिना जतिपछि मैले सपनाको चिठी पाएँ,चिठीभन्दा प्रेमपत्र बढी थियो त्यो। उसलेलेखेकि थिई--"संगै पढ्दा कहिलै मन खोलेर भन्न सकिन, शहर आएपछि तिम्रो याद र गाँउको सम्झनाले टोलाइरहने भएकि छु। कक्षामा पनि एक्ली हुन्छु कसैसंग पनि मिल्न सक्दिन। गाँउ फर्कौँभने नि अब त पढाइ आधाआधी भैसक्यो। म तिमीलाई कति चहान्छु- कसरि बताउँ ।। मेरो यो घरको नम्बरमा एकपटक जसरि पनि फोन गर न प्लिज………………… !!"
त्यतिबेला हातहातमा मोबाइल थिएन। गाँउको पिसिओबाट सबैले सुन्ने गरी केटीलाई फोन गर्न मलाई लाज लाग्यो। त्यो गाबिस भरिको एकमात्र पिसिओमा सधैजसो फोन गर्नेको भिडैभिड हुन्थ्यो। मैले उसको कलेजको ठेगानामा एउटा रजिष्ट्री चिठी पठाएँ। म अलि मुर्ख स्वभावको हुनाले उसको प्रेमलाई बुझ्न सकिन। म केटीहरुसंग असाध्यै लजाउथेँ, अरु कसैले हेरेको छभने बोल्दापनि निकै धक लाग्थ्यो।
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!>>>>>>>>>>>>>>>>>>>!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ओहो! आठ वर्ष बितिसकेछ, यो अवधीमा म निकै फेरिएछु। अलि बिग्रिएँ पनि साथीहरुको संगतले। जिल्ला सदरमुकामको क्याम्पसबाट ब्याचलर सकाएर डिग्री पढ्न राजधानी छिरेको पनि तीन वर्ष पुगिसकेछ। पल्लो गाँउतिरका घरबेटी भनेर म त्यो घरमा कोठा सरेको थिएँ र मलाई पूर्णत: घरकै आभाष मिल्थ्यो। त्यसैले पनि म घरमाजस्तै अल्छी थिएँ। हरेक दिनजसो अन्टीले मेरोलागि समेत तरकारी पकाएर राख्दिन्थिन्। यो तीन वर्षमा सपनाको कुनै पनि नाम निशान मैले त्यो घरमा देखिन- एउटा फोटोसम्म पनि।
"बाबु…." अन्टीको बोलिले म झस्किएँ। अन्टी आँखा पुछ्दै लटपटिएको बोलीमा ढोकाबाट बाहिरिइन् "त्यो दिन सपना पनि सेतो कुर्तासुरवाल लाएर निस्केकि थी घरबाट, पापी दैवले फर्कन दिएन घर नजिकै आएर बाटो काट्दा एक्सिडेन्ट भो। आजबाट तपाईले नयाँ कोठा खोज्नु है यो घरमा नबस्नु ।।।
१२ जेठ २०६९ लाजिम्पाट, काठमाण्डौ