भैँसी
कुलचन्द्र पन्डितको घरमा भर्खर एउटा भैँसी ब्याएको थियो । त्यो भैँसीले पाएको सानो पाडि बल्लबल्ल १ २ पाइला हिंड्नसक्ने भएको थियो । बर्खाको समय थियो, वारिपारीको हरियाली र मनोरम बातावरण देख्दा सानो पाडि अत्यन्तै खुशी थियो । तर त्यो पाडिको खुशी धेरै बेर टिक्न पाएन केहीबेरमै कुल्चन्द्र पन्डितले दाम्लो ल्याएर पाडिलाई बाँधिदिए ।
समय बित्दै गयो । भर्खर ब्याएको भैंसि र पाडि दिनभरी किलामा बाँधिएर बस्थे । बिहान साँझ भैंसिले दिने दुध पनि पाढिले राम्ररी खान नपाउदै लतार्दै लगेर किलामा बाधिदिन्थे र सबै दुध मानिसले नै लैजाने गर्थे । त्यो देखेर एक दिन पाडीले आमा भैँसिलाइ मान्छेले किन हामीलाई एसरी बाँधेर राखेका अनी मेरो भागको दुध जबर्जस्ती लगेका भनेर सोधी । आमा भैंसिले पाडिलाई मानिसहरुले आफुहरुलाई घास खान दिएको अनी पालेको कारण त्यसो गरेको जवाफ दि ।
अर्को बर्ष भैँसीले फेरी पाडो पाइ । २ ४ दिन पछी पाडो पनि हुर्किदै गयो । पाडि र पाडो साह्रै मिल्ने गर्थे । दुबै नजिकै बाँधिनु पर्ने कारण मानिसले दिएको मिलिजुली खान्थे । करिब १ बर्ष पछीको कुरा हो कुलचन्द्र पन्डितले पाडो बेचिदिए । आफु भन्दा सानो आफ्नो भाईलाई आफुबाट छुटाएर लगेपछी १ २ दिन त पाडिले केही खाइन । तर कुलचन्द्र पन्डितकी पत्नी साह्रै कडा स्वभाबकी थिईन । एक साँझ उनले लठ्ठी ल्याएर पाडिलाई पिट्न थालिन । पिटाइ त पाडिले पहिले पनि खाएकी थीइ तर त्यस दिनको पिटाईले उसको ज्यानभरि चोट लाग्यो । त्यो रात उ धेरै रोइ तर उसको पिडा सम्झिने उसकी आमा मात्र थीइ जो आँफै असहाय थीइ ।
त्यै बर्ष कुल्चन्द्र पन्डितले आमा भैँसीलाई पनि बेचे । आमा भैँसी अब ब्याउन नसक्ने बुढी भैसकेकि थीइ । यस्तो थारो भैँसी पालेर के गर्नु ? पुर्नेलाई दिए पोखरा लैजान्छ , एक साँझ पन्डित दम्पतिले कुरा गरेको भैँसी र पाडिले सुने । त्यो रात दुबै आमा छोरिले केही खाएनन । भैँसीले त्यो घरमा धेरै बर्ष बिताएकी थीइ । कुलचन्द्र पन्डितले त्यो भैँसी किनेर ल्याउदा एउटा राम्रो गोठ सम्म थिएन । एक बर्ष सम्म टिनको पातोमुनी साह्रै कस्टपूर्ण समय बिताएकी थीइ भैंसिले । कहिले घामले पोल्थ्यो त कहिले जाडोले अत्याउँथ्यो । त्यै छाप्रोमा बस्दा बाघले उसको एउटा पाडो खाइदिएको थियो । ति सबै दु:ख कष्ट सहेर अनी धेरै पटक ब्याएर अाफ्ना मालिकहरुको सेवा गरेपनी अब बुढी भएपछी बेचिनु पर्ने भएपछी उसले मन थाम्न सकिन । अर्को दिन पुर्नेले पैसा दिएर भैँसिको दाम्लो फुकाउन लाग्यो । पन्डितले तलाई भैँसी सस्तै दिएँ है पुर्ने भन्दै नोठ गन्दै थिए । पुर्नेले दाम्लो फुकाएर बुढो भैँसिलाई लतार्दै लग्यो । एक अर्काले देखुन्जेल भैँसी र पाडि कराइरहे । अली पर मोढमा पुगेपछी पुर्नेले भैँसिलाइ एक पटक जोडले हान्यो , बिचरा बुढो भैँसी पुर्नेले जता जता लैजान्छ तेतै तेतै गयो ।
कुलचन्द्र पण्डितको कान्छो छोरो कपिल पाडि भन्दा केही महिना पछी जन्मेको थियो । कपिलले सानोमा खान साह्रै दु:ख दिन्थ्यो । उसलाई खुवाउनु परेमा त्यै पाडि देखाउन लैजानु पर्थ्यो । उ आँफै पनि अली अली बोल्न सक्ने भएपछी आँय जाम भनेर भनिरहन्थ्यो । भैँसीको गोठमा गएपछी कपिलले पाडिलाई चलाई रहन्थ्यो । पाडि पनि कपिललले चलाऊदा आनन्द मान्थी । सानोमा ति दुई साथी नै थिए ।चार बर्ष पुगेपछी पाडि ब्याइ , अब उ भैँसी भै । पहिलो पटक ब्याउदा उसले पाडो पाइ । पहिलो पटक ब्याउदा पुसको रातिको समय थियो असाद्धै चिसो , साह्रै कस्टपूर्ण समय उसले बल्ल बल्ल बिताइ । ब्याउदाको शारिरिक पिडा र अत्यन्तै चिसो मौसमले उसलाई हरेक पल बिताउन बर्ष बिताएजस्तै हुन्थ्यो । यता कुलचन्द्र पण्डितको भने भैंसिले पाडो पाएकोमा खुशीको सिमा नै थिएन । 'जनावर पालेर मार्नलाई बेच्ने , मार्न लैजाने , मार्न सहयोग गर्ने , मार्ने , मासु पकाइदिने र मासु खाने सबैलाई हत्या गरे सरह नै पाप लाग्छ ' पन्डित जी प्रवचनमा यस्तै भन्थे तर उनी आँफैलाई त्यस्तो पाप कती लागेको छ त्यो उनलाई मतलव थिएन , उनलाई त पैसा सँग मात्र मतलब थियो ।
कपिल २ बर्षको नपुग्दै पन्डितनी आमै सार्है बिरामी भईन । आमा लामो समय सम्म बिरामी भएपछी कपिलले छोरी भैँसिकै दुध खाएर हुर्कियो । सानो कपिललाई देख्दा भैँसी साह्रै खुशी हुन्थी । अनी कपिल पनि भैँसी र पाडोलाई असाद्धै माया गर्थ्यो । करिब् १ बर्ष पालेपछि कुल्चन्द्र पन्डितले भैँसीको पाडो बेचिदिये । पुर्ने र राइँलो आएर पाडोलाई लतार्दै र पिट्दै लगे । भैँसी धेरैबेर रोइ कती दिन घास खाइन तर त्यँहा उसको पिडा बुझ्ने को थियो र ? भगवान ले मान्छेलाई दिमाग र मन दिएका छन ता कि संसार को सबैभन्दा बिकसित प्राणिले सजिलै सँग ठीक बेठिक, असल खराब छुट्टाउन सकोस र असहाय जीबहरुलाई माया र सुरक्षा प्रदान गरोस , तर मानिसले सधैं असहाय जीबहरुलाई यातना दिने तद्पाउने बाहेक अरु राम्रो केही गर्न सिकेकै छैन ।
त्यै भैँसीको दुध खाएर कपिल हुर्कियो । यतिसम्मकी
उसलाई तिर्खा लागेपनी पानी पिनुको सट्टा दुध नै खान्थ्यो । समय बित्दै गयो अनी कपिल पनि पढ्न जान थाल्यो । केही बर्षपछी भैँसी फेरी ब्याइ र अर्को पाडो पाइ । एक बर्षपछी धेरै दुध दिने भैँसी र पाडो कुल्चन्द्र पन्डितले खिमबहादुर लाई बेचे । दशै अाउनै लागेको समयमा राम्रो पैसा पार्न सकेकोमा पन्डित जी मख्ख भए । एउटा उजाड दिउसो खिमबहादुर र उसका साथीहरु आएर भैँसी र पाडो लगे । आफु
जन्मेको र धेरै समय बिताएको घर छाड्ने बेलामा भैँसिलाइ साह्रै नरमाइलो लाग्यो उसलाई अन्तिम समयमा एकपटक कपिललाई देख्न मन लागेको थियो तर उ स्कुल गएको कारण भैँसीको अन्तिम इच्छा पनि पुरा हुन पाएन ।
खिमबहादुर दलित संघको नेता थियो । अधिकाम्स दलितहरुको
आर्थिक अवस्था अझै दयनिय रहेपनी खिमबहादुरको आर्थिक अवस्था अरुको तुलनामा मजबुत थियो । उसको जेठो छोरो दुबै ( UAE) थियो भने कान्छोले पढ्दै थियो ।भैँसिलाइ कुलचन्द्रकहाँको बसाइ त कस्टपूर्ण थियो नै खिमबहादुर कहाँको त्यसभन्दा पनि कयौँ गुणा कस्टपूर्ण थियो । खिमबहादुर आफु कुनै काम गर्दैनथ्यो । दिनभरी टक्सार बजार तिर गएर संगठनको काम गर्थ्यो वा त्यसै हल्लन्थ्यो र राती रक्सी पिएर आउँथ्यो । उसको घरमा झगडा नभएको कुनै रात हुँदैनथ्यो । कती पटक त झगडा पिटापिट मा पुगेर टुंगिन्थ्यो । रक्सिको नसामा खिमबहादुर कैयौँ पटक भैँसी काट्छु भन्दै खुकुरी लिएर हिड्थ्यो । छोरो र श्रीमती आएर उसलाई समाएर लैजान्थे ।
अगिल्लो बर्ष जन्मिएको पाडो निकै खाइलाग्दो भएको थियो । खिमबहादुरको
घरमा आउने हरेक मान्छे पाडो हेरेर छक्कै पर्थे । जाडो गर्मी र बर्षा बितेर फेरी दसैं अाउनै लागेको थियो । यो दशैको लागि भनेर खिमबहादुरको जेठो छोरो टिकाराम पनि दुबइबाट घर आएको थियो । अष्टमिको दिन बिहानै खिमबहादुरको घरमा वल्लो घरको नन्दे र पल्लो घरको झबे सम्मका मानिस जम्मा भएका थिए । खिमबहदुरको जेठो छोरो टिकाराम र कान्छो छोरो टेकबहादुर मिलेर आगनमा त्रिपाल बिछाए । नन्दे र झबे मिलेर १ डेप्ची पानी उमाले । खिमबहादुरले आगनको कुनापट्टी ठुलो हसिया उदाएको भैँसी र पाडोले देखेनन । टेकबहादुर आएर पाडोलाई फुकाएर लग्यो । पाडो र भैँसी आँय गर्दै कराए । उताबाट खिमबहादुरले उदाएको ठुलो हसिया लिएर आएपछी मात्र भैँसी र पाडोले कुरा बुझे । एकैछिन कस्ले काट्ने भनेर बिबाद चल्यो । अन्तत दशैकै लागि भनेर बिदेसबाट आएको टिकारामले काट्न पाउनुपर्ने तर्क बलबान ठहरीयो । नन्देले पाडाको दाम्लो बेसरी समाएर तान्यो, झबेले दुबै खुट्टा समाएर पछाडी तान्यो, टेकबहादुर रगत
थाप्ने भन्दै बाँटा लिएर आयो । पाडो त्यहाँबाट भाग्न अन्तिम बल लगायो तर उसको केही सिप चलेन । टिकारामले हसियाले मार हान्न ठीक्क पर्दा पाडोले दुबै आँखाबाट तररर आसुँ बगायो । तर उसले बगाएको आँसुको त्यहाँ कुनै मुल्य थिएन । जीवनको अन्तिम घडीमा उसलाई मानिसप्रति असाद्धै रिस उठ्यो । चरम निरासाले र डरले उसले अरु केही सम्झिएन । त्यत्तिकैमा पहिलो मार उसको घाँटिमा बज्रियो । यो मारले उसको घाँटी छिनिएन । पाडो पिडाले रन्थनिएर आँय आँय गर्दै उफ्रिन थाल्यो । छिनिएन हा हा हा हा गरेको आवाज वरीपरी गुन्जियो । पाडोलाई काट्न लागेदेखिनै भैँसीका आसुँ आँखाबाट भुइसम्म चुहेका थिए । आफ्नो छोराको त्यो हालत देख्नासाथ उ भुइमा थचक्क बसी । टिकारामले पाडोलाई फेरी हान्यो तर पाडो फेरिपनी छिनिएन । पाडो र भैँसिको करुणाजनक आवाजले सायद ढुङ्गाको मन पग्लियो तर संसारको सबैभन्दा बुद्धिमानी प्राणी मानिसको मन पग्लिएन । नन्दे र झबेले पाडोलाई समाइरहे टिकारामले मार हानिरह्यो । पाँच पटकको पालिमा पाडो छिनियो । टेकबहादुरले देप्चीमा रगत थाप्यो अरु सबै गललल हाँसे । मानिस भनिने राक्षसहरुको हिम्श्रक नाङ्गो नाच देखेर भैँसी एकैछिन त आँय आँय गरेर कराइ त्यस पछी उ मुर्छा परी । मान्छे आफुलाइ एक थोपो रगत निकाल्न आँट आउँदैन । सियोले घोच्यो भने डाक्टरकहाँ गएर उपचार गराउनु पर्छ तर त्यै मान्छेले अरुलाई पनि त दुख्छ भन्ने कुरा सोच्न सक्दैन । के मान्छेले आफ्नो छोरा छोरी अरुले मारिदिएको सहन सक्छ त ? अब एउटा
गम्भिर प्रश्न भगवानको अगाडि तेर्सिएको थियो के मानिस साच्चै संसारको सबै भन्दा बुद्धिमान र सब्य प्राणी हो त ?
दशै
पछी टिकाराम फेरी बिदेस गयो । अरु पनि आ आफ्नो काममा ब्यस्त हुन थाले । जाडो महिनाको एक दिन खिमबहादुर नयाँ लुगा लगाएर कतै जान आँटेको थियो , उसले स्वास्निलाइ कोट ल्याइदिन अह्रायो । स्वास्निले
कोट ल्याएर लगाइदिएई र कहाँ जान लाग्नुभएको भनेर सोधी । 'सदरमुकाममा दलित संघको कार्यक्रम छ'
खिमबहादुरले जवाफ दियो । 'बाहुन छेत्रीहरुले हाम्लाई हेपे , एक्काइसौँ
शताब्दिमा पनि यो देशमा छुवाछुत हटेको छैन , हाम्ले छोएको पानी चल्दैन, हाम्लाई
कोठा भाडामा दिदैनन , के हाम्लाई
काट्दा रगत रातो आउँदैन ? के हाम्लाई
दुख्दैन ? हाम्ले फेर्ने सास र उनिहरुले फेर्ने सास फरक छ ? यो अन्याय
सहन हुँदैन संघर्स गर्नुपर्छ ।' खिमबहादुरले एकै सासमा भन्यो । गोठमा
बाँधिराखेको उसको कुरा सुनेर जोडले करायो । 'ए मान्छे
हामी जनावरलाई काट्दा पनि त रगत रातो आउँछ , तिमीहरुले अत्याचार गर्दा हाम्लाई पनि दुख्छ , हाम्ले
फेर्ने सास पनि तिमीहरुले फेर्ने जस्तै छ र अन्तिम कुरा तिमी मानिसहरुलाई अाफ्ना आफन्त मर्दा जती पिडा हुन्छ हामी जनावरहरुलाई पनि तिमीहरुले हाम्रो आफन्त मारिदिदा त्यतिनै पिडा हुन्छ , साच्चै छातीमा हात राखेर सोच त तिमीहरुले
हामी जनवरलाई कती अत्याचार गरेका छौ ? हामीले यो कहिले
सम्म सहनु पर्ने ?' भैँसीको आवाजमा यस्तै कुराहरु थिए तर खिमबहादुर
पनि एउटा अहंकारले ओतप्रोत मानिसको प्रतिनिधि पात्र न थियो । उसले भैँसी आयँ आयँ गरेको मात्र बुझ्यो उसको पुकार बुझेन ।
No comments:
Post a Comment