Monday, February 2, 2026

पर्ख न पर्ख राधिका (रोइला भजन)

 🕉️ जाग्रत् स्वप्न सुषुप्तिषु…

कहिले हाँस्ने कहिले रुने, कहिले गाला छुने । २

तिम्रो दर्शन बिना राधा, कृष्ण एक्लै हुने ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


स्निग्ध वदन प्रेमिल दृष्टि, आँखीभुइँ छन् ठूला ।२

तुलसीको बास्ना राम्रो, पछ्यौरीको झुला ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


केलीकुञ्ज वृन्दावनमा आउने कर गरेर ।२

कहिले वर्षा कहिले हिउँद यमुना तरेर ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


लुकाछिपी खेल्दै पुग्छ्यौ यमुनाको पारी ।२।

गोरो मुहार सुहाउने नीलो रङ्को सारी ।२।

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


ललिता छिन् - विशाखा छिन्, इन्दुलेखा चित्रा ।२

चक्पकलता - रङ्गदेवी, सुदेवी मनभित्र ।२

तुङ्गविद्या सहित तिम्रा अष्टसखी प्यारी ।२

एक नजरमै मुग्ध हुने छन् बाँकेविहारी ।२।

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


राधा-रम्या-रासेश्वरी, वृषभानुसुता ।२

तिम्रै पाउले पवित्र छन् वृन्दावनका बुटा ।२

पर्ख न पर्ख राधिका,

सँगै जाउँला पारी, पर्ख न पर्ख राधिका…


२०८२ माघ, हर्मन हिमालय

No comments:

Post a Comment