(छन्द : शार्दूलवीक्रीडित)
आँखा बन्द हुँदा तिमी हृदयमा आँखा खुलामा पनि ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा पनि ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती ।
चोखो प्रेम अमोघ भित्र मनमा पीडा कतै छट्पटी ??
वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित श्वास धड्कनसँगै चढ्दैछ नौलो रव ।
साँच्चै प्रेम अचम्मको चिज छ यो के गर्व के गौरव ।।
पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लीरहेछन् ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।
बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल मुखै नखोल कहिले बिर्सेर आफ्नोपन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****
घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउँला जगतमा यो प्रेम यैँ भक्ति हो ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहजमा पूरा गरौँला म नि ।।
*****
(शार्दूलवीक्रीडित छन्द)
[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]
No comments:
Post a Comment