तिमी (शार्दुलवीक्रीडित)
मैले वर्णन गर्न सक्दिन तिमी छौ चन्द्रमा झैँ भनी
रातो फूल गुलाबको भनुभने काँडा त्यहाँ हुन्छ नि ।
आँखा सागर रत्न हैन न हिरा आँखा सबैसङ्ग छ
तिम्रै मात्र विशेष लाग्छ किन हो हेरेर लोभिन्छु म ।।
तिम्रो वक्ष हिमाल हैन जल झैँ मुस्कान बग्दैन है ।
तिम्रो काख म स्वर्ग भन्दिन खुबै आनन्द पाए पनि
तिम्रो साथ रहोस् सधै सँगसँगै छाया समानै बनी ।।
राम्री छौ हर अंग सुन्दर अहा लाग्दैन तै अप्सरा
बोली लाग्छ मधूर किन्तु नभनौ माधूर्य क्वैली चरा ।
केटी मानिस हौ प्रफुल्ल वयमा राम्री असाध्यै तर
झर्किँदा असिनासरी गडगडी दिक्दार त्यो कर्कर ।।
तिम्रो दृष्टि नशालु लाग्छ मदिरा गाँजा म मान्दैन त्यो
गालामा न त स्याउ देख्छु न कुनै रातो गुलाफै बस्यो ।
राम्री हौ अझ सुन्दरी बनु भनी बढ्ता गर्यौ नक्कल
आँखा गाजलु ओठ रक्तिम गरी फ्याकीदियौ आँचल ।।
कालो केश त हैन बादल तिमी वर्षे झरी होइनौ
लाली होइन मिर्मिरे किरण त्यो छुट्टै परी होइनौ ।
मान्छेको तुलना गरी जगतका फूल् चन्द्रमा कान्चन
केही प्राप्त हुदैन गर्दिन झुठो तिम्रो कुनै वर्णन ।।
माया गर्छु सधै रहन्न रुपको जाज्वल्यता जान्दछौ
छोटो अस्थिर हुन्छ बैस रुप यो यो भ्रम हो मान्दछौ ।
चोखो प्रेम छ अव्ययी हृदयको रफ्तारसङ्गै सधै
झुट्टा ती उपमा र वर्णन गरी सस्तो बनाउन्न है ।।
William Shakespeare : "My Mistress' Eyes Are Nothing Like The Sun"