ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित)
सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।१।
खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।
गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।
साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।
आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।
सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ जगमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।
[रारा ताल मुगु, २०७३]
No comments:
Post a Comment