Tuesday, April 28, 2020

श्रद्धाञ्जली


श्रद्धाञ्जली ( शार्दूलवीक्रीडित )

आँखामा जल बर्सियो जब सुने छैनौ तिमी विश्वमा,
रोकी रोक्न सकेन आँशु मनले निश्चिन्त रोऊँ कहाँ ?
यात्रा टुट्न गयो बिचैतिर हरे छोडेर भाग्यौ जब,
तिम्रो साथ कमी हुनेछ र सधै सम्झिरहन्छौँ सब ।१।

पत्यारै मनमा रहेन भ्रम झैँ यो नै तितो सत्य हो,
मैले मान्न तयार छैन तर हा रोएर टर्दैन यो ।। 
यौटा जीवन टुंगियो यति छिटै यात्रा यहीँसम्म भो,
छोटो भेट रहेछ जानु सबले पर्ने अवश्यै छ जो ।२।

तिम्रो चित्त दुखाउने यदि कुरा स्वार्थी गरेको भए,
माफी बक्सनु है बुझेनछ भनी ठट्टा थियो सम्झिए ।
तिम्रो मात्र छ तिर्सना वरिपरी झल्को उहीँ झल्झली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।३।

बाटो एक छ पाइला अघिपछि गन्तव्य त्यैँ आखिर ,
चाहेरै पनि बस्नु छैन जगमा संसार हो अस्थिर ।
राम्रो सुन्दर त्यो प्रभात जसरी रित्तिन्छ आभा ढली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।४।

तिम्रो देह त छैन याद छ उही बाँकी यहाँ छैन क्यै,
यो शालीन अदृश्य साथ अबको पक्कै म भुल्दैन है ।
मेरै आँगनमा म रोप्दछु छिटै फूल्नू बनी मख्मली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धाञ्जली ।५।


२०६९-०१-०७, लाजिम्पाट काठमाण्डौ