Tuesday, February 9, 2016

नजुधी समस्या समाधान हुदैन

नजुधी समस्या समाधान हुदैन 
प्रेमको लागि प्रेमिका गुमाउने  प्रेमीहरुमा समर्पित  

वञ्जर खेत नजोतिए धान हुदैन, अध्यारो रात नबिते बिहान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्,
नजुधी समस्या समाधान हुदैन ।।

झर्छन् आँसु, चिप्लन्छन् खुट्टा,
कतै धर्ती भासिन्छ पनि ~
आवेशमा नआई अडिग बनी सम्हालिनै पर्छ शिष्ट बनी ।
जिन्दगीको निखार समस्याभित्रै छ,
ननिखारिएको मान्छे महान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।

त्यागभित्रको प्राप्ति होस् या प्राप्ति भित्रको त्याग ~ 
महत्त्व आफ्नै, अस्तित्व फरक छ ~ 
केही न केही त गुमाउनै पर्छ,
नगुमाएको बलिदान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।


२०७२ माघ २६ रातोपुल काठमाण्डौ


Wednesday, November 11, 2015

गजल

गजल


उर्ल्यो खस्यो समुद्रको छाल जस्तो भयो माया
पग्लिएको मन जम्यो ताल जस्तो भयो माया ।।

Rara Lake

कहाँ आउने कहाँ जाने पत्तै हुन्न पिरतिमा,
हेर्दाहेर्दै भूकम्पको चाल जस्तो भयो माया ।। 

पुग्दैन रे समय साथ अनि पैसा पनि,
नढाँटेर भन्दा अनिकाल जस्तो भयो माया ।।



विश्वास हो सबै तर शंका लाग्छ कहिलेकाँही,
कतै कालो मिसिएको दाल जस्तो भयो माया ।।

थाहा छैन कहाँनेर जेलिने हो जिन्दगी यो, 
अल्झाउने माकुराको जाल जस्तो भयो माया ।। 

धैर्यता संयमताको बाँध टुट्न थाल्छ जब,

खायो अनि त्यही चुठ्यो थाल जस्तो भयो माया ।।





रारा ताल मुगू २०७२/०७/२३ 




Sunday, September 20, 2015

कविता भोलीको

कविता भोलीको ( शार्दूलवीक्रीडित छन्दमा ) 

कालो यो इतिहासबाट धमिलो पाना छिटै पल्टियोस् ।
हाम्रो राष्ट्र विकासमा अघि बढी बाधा सबै सल्टियोस् ।।
साँच्चै सुन्दर शान्त उन्नत खुला नेपाल निर्माण होस् ।
आपस्मा हितभाव भै युगभरी आतङ्क हिंसा हटोस् ।।१।।

भोलीको कविता खुशी हृदयले आजै म लेखौं कि त ।
आशा यी मनका सबै जन जुटे साकार बन्छन् नि त ।।
पूरा भै सपना शहीदहरुका  संमृद्ध नेपालको ।
हाम्रो आर्थिक उन्नती अनि बनोस् कानूनको राज्य यो ।।२।।

हामीले बलियो बनाउन सके आधार बन्ने छ है ।
भावी सन्ततिको भविष्य गतिलो खाका सिगारौँ न है ।।
जिम्मेवार भएर हेर्नु सबले यो देश नै स्वर्ग छ ।
आहा यी हिमशैल जंगल नदी झर्ना - सुधाकै रस ।।३।।

खिर्राको बिरुवा छरेर जगमा फल्दैन हो काफल ।
फुट्दामा हित हुन्न हेर घरको, हो एकतामै बल ।।
हामीले अब ती विभेद कुरिती सारा हटाईकन ।
नौलो सभ्य समाजको जग खनौ ठूलो बनाई मन ।।४।।

कर्णाली झलमल्ल हुन्छ बिजुली निर्यात गर्दै धनी ।
डोल्पाको रुप फेरियोस् मुलुककै उत्कृष्ट ठाउँ बनी ।।
डाँफेको नवरंगले हिमचुली मुस्कान छर्छन् जहाँ ।
माटो स्वर्णलता छ उर्वर सधैं प्यारो तराई यहाँ ।।५।।



२०७२ साउन, रातोपुल काठमाण्डौ 



Wednesday, September 16, 2015

गजल

गजल 


तिमी भन, जिन्दगीको धार बदल्छु म ।
लेख्दालेख्दै कविताको सार बदल्छु म ।।

लठ्ठिएको मनलाई मात्तिएको नभन है,
मौनतामै आज वारपार बदल्छु म ।।

अनलाइन हुँदा तिमी चल्न छाड्यो वाइफाइ,
यस्तै भए एडीयस्यल तार बदल्छु म ।।

गरुंगो भो पर्खाइका पलहरु दिनदिनै,
यादसंगै प्रतिक्षाको भार बदल्छु म ।।

बुधवार, बिहीवार बिदा हुन्न भन्छ्यौ भने,
पात्रोमा नै महिनाका बार बदल्छु म ।।



२०७१-०५-२९ रातोपुल, काठमाण्डौ




Saturday, September 12, 2015

गजल

गजल (Parody) 

जवानीको गाढा रंग तिमीभित्र आको देखेँ ।
माछापुछ्रे छाती तिम्रो उचालिदै गाको देखेँ ।।

कागतीको दाना थियो सुन्तलाको रुप लियो,
त्यसैले त अन्तर्वस्त्र दुईदुईओटा लाको देखेँ ।।

त्यो मनको भावनाको भाव बुझ्न सक्छु कान्छी,
सोमबार सोमबार पशुपति धाको देखेँ ।।

ख्याल गर्छु हिजोआज टोलाउन थालेकि छौ,
खाना कम खान्छ्यौ अरे निकै दुब्ली भाको देखेँ ।।


२०७२ साउन, जनकपुर