Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Friday, December 30, 2022

प्रेमी खुशी छन् जता

तारा झिल्मिल छन् सफा गगनमा मुस्काउँछे चन्द्रमा ।
हावा सिर्सिर मन्दमन्द गतिको मस्ती भरी प्रेममा ।।
छैनन् स्वार्थ घमण्ड द्वेष मनमा आत्मीय सामीप्यता ।
साँच्चै प्रेमिल बन्छ मौसम अहा प्रेमी खुशी छन् जता ।।



फक्रिन्छन् जब पुष्प प्रेम रुपमा वासन्ती संवेग भै ।
बन्छन् भैरव-भैरवी प्रणयका संकोच बिर्साउँदै ।।
चढ्दा यौवन पत्र नालहरुमा आधार खोज्दी लता ।
मायाले वन-वाटिका बनिदिने प्रेमी खुशी छन् जता ।।


फक्रेको नवपालुवा भ्रमरले चुम्दै गरेको पल ।
हाँस्दै प्रेम भरेर पुष्प तरुले फैलाउँछिन् आँचल ।।
यो माया रसिलो छ बैँस कसिलो खोजेर पाऊँ कता ?
साँची राख्न सकून् सधै जतनले प्रेमी खुशी छन् जता ।।





रारा ताल मुगु- २०७३ मंशिर 

Friday, December 24, 2021

अकण्टक भावना

तिमी हाँस्दाखेरी झलमल हुने सूर्य किरण ।
तिमी रुन्छ्यौ जैले जल बनिदिने बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भईन् पुष्प तरु ती ।
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।

तिमी आत्मा मेरी तन मन र यो जीवन तिमी ।
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
सधै ऊर्जादायी रगत सरि छौ स्नायुहरुमा ।
छ यो चाहा बेग्लै किन किन मनै जान्न अरुमा ।।




अहा अंगालोमा अमर म छु झैँ लाग्छ कहिले ।
र देख्दा सारीमा बनिदिउँ म सप्को कि अहिले ।।
जसै झोला भिर्छ्यौ म बनुँ कि फिता टाँसिन त्यहीँ !
तिमी हिंड्दा तिम्रो छमछम बजूँ पाउजु कहीँ ।।

तिमी प्रज्ञा आभा सुललित कला यैं वरिपरी ।
तिमी आस्था मेरी ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना ।
तिमी सारै प्यारी मधुर लयकी काव्य रचना ।।

तिमी सायं सन्ध्या समरुप सधै शान्त प्रहर ।
तिमीमै गाभिन्छन् सकल मनका तिव्र रहर ।।
म थोपा मात्रै पो अखिल जलकी सागर तिमी ।
हुँदा मैले अल्छी भर न मनमा जाँगर तिमी ।।

   (छन्द : शिखरिणी)

[ प्यारीलाई प्रथम दाम्पत्य वर्ष गाँठको अनन्त शुभकामना 😍 ]

Wednesday, May 6, 2020

प्रश्न

            (छन्द : शार्दूलवीक्रीडित)

कैयौंको बलिदान भो मुलुकमा नेपाल बन्ला भनी
उस्तै छन् मति सुध्रिएन दलमा संख्या र कुर्सी गनी ।
आशा भाषणमा दिएर नजुटी त्यो पूर्ण होला कहाँ
यस्तै हो कि बताउ ए प्रिय सखे नेपाल साँच्चै नयाँ ??

सारा देश रुँदै अभाव दुखमा भोको र विक्षिप्त भै
सीमाना पनि स्वस्थ छैन धरणी खुम्चीरहेकी सधै ।
राजा मात्र हटे हजार अझ छन् उस्तै रजौटा यहाँ
सामन्ती मतियारको छ अखडा नेपाल यो के नयाँ ??

बाढी या असिना, प्रकम्प पहिरो व्याधी विपत्ति हुँदा,
लुट्दैछन् किन राज्यकोष यसरी संसार सारा रुँदा ।
खाडीमा अलपत्र छन् कतिजना संघर्षका नाममा 
टुङ्गो छैन युवा पलायन नभै नेपाल यो के नयाँ ??


हत्या दैनिक हुन्छ मध्य दिनमै चोरी बलात्कार छन्
भोका यी निमुखा र निर्धन कठै गिर्दो अवस्था छ झन् ।
बाँझो खेत रह्यो भने लहलिदै खाद्यान्न फल्ला यहाँ ?
हामी ऐजरु झैं पराश्रृत बन्यौँ, नेपाल यो के नयाँ ??

कौवाको फुलबाट कोकिल कहीँ सप्रेर जन्मन्छ र
भ्रष्टाचार यसैगरी बढिरहे यो देश सप्रन्छ र ?
ज्यादा छन् अपराध रातदिनमा अन्याय उस्तै जहाँ
नेताले ढुकुटी सकाउँछ उसै नेपाल यो के नयाँ ??

कोही शासक छैन किन्तु अहिले सर्कार आफै पनि
सत्तालिप्त लिसो बनेर दुखमा लुट्दैछ लुट्दैछ नि ?
सुख्खा खेत मधेसमा फुटिसके जल्श्रोतका छौ धनी
माऊ स्याल परे भने त डमरु के बाघ बन्छन् त नि ??

फेँदैबाट उखेल्न भ्रष्ट लहरा संस्कार टुक्राउन
कोरोना अब जा विषाक्त बिरुवा ऐजेरु ती खुर्कन ।
को देला किन देश रुन्छ यसरी यो प्रश्नको उत्तर
खिर्‍राको रुखबाट काफल अहा चाहेर के फल्छ र ??


कलङ्की , काठमण्डौ ~ २०६६



Monday, May 4, 2020

लकडाउन

लकडाउन खुलेकै दिन मोबाइलमा आउनेछ , 
फोनको घन्टी,
नयाँ सम्बन्ध बन्दै गरेकाहरुको डेटिङ जाने प्लान बन्छ ,
हाम्रो पनि साथीभाई भेट्ने प्लान बन्छ ।

साच्चै...
कस्तो भयो होला है हाम्ले खाजा खाने गरेको त्यो बर्गर हाउस 
र,
कस्तो भए होला त्यो कट्टी रोल, 
चटपटे तथा पानीपुरी पसल, 
अनि कता गए होलान् चोकको चोपिलो चटपटेवाला खड्का जी ? 


त्यो भेज मम पसल अनि  
नयाँ पोखरीको मुखैमा झुन्डिएको 
चाट पसलकि चस्मिस साउनी 
चारजना अल्लारे च्वाँक केटी वेट्रेस राखेर
सधैं मिठो मम ख्वाउथिन् ।
खानेहरुले खाइरहेका हुन्थे त कोहि मोबाइल चलाईरहेका, 
कोही सरकार ढाल्ने र सत्ता परिवर्तन गर्नेदेखि 
युरोप र अमेरिकाका नवीनतम् प्रविधि सम्मका 
कुरा गर्नेहरु पनि । 

कस्तो भयो होला..
चक्रपथको वारपार गर्ने त्यो जेब्राक्रसिङ ?
कति कलेज स्टुडेन्टका क्रसहरु भेटिदा हुन् 
अनि 
कतिका साथिभाइ र आफन्त नै, 
के त्यो रिङरोड 
हाम्रो आगमनको प्रतीक्षामा पर्खीरहेको होला ?


साँच्चै अहिले खाली होला नि है "नेपाल यातायातको" पुरानो बस ?
कहाँ पुगे होलान् साझा यातायात अनि नगर बसहरु !
राम्रो ड्रेस लगाएर स्कुल जाने उमेरमा 
सल्लाघारी - ठिमी- कोटेश्वर -बानेश्वर - सुन्धारा -रत्नपार्क…
ठमेल - सोह्रखुट्टे - बसुन्धरा - नयाँबसपार्क भन्दै यात्रु बोलाउने  ती कलिला ओठले आजकल के भन्छन् होला ? 

कस्तो भयो होला 
हामीले अभ्यास गर्ने खेल मैदान 
अनि भुइचालोले भत्किएको त्यो मिनी स्टेडियम !

बिचरा… तिनकुनेको रोड
कौशलटारदेखि कोटेश्वर सम्म पट्यार लाग्दो 
जामको लाइनमा बस्ने सवारी साधनका मानिसहरु अनि 
अचम्म मान्दै होला अहिले, 
"हैन यी मानिसहरु कता गए ? 
मदेखि वाक्क भएर 
अर्कै बाटो रोजे कि क्या हो ?"
जसरी एउटा स्वार्थ पूरा भएपछि मान्छेले अर्को साथ रोज्छ ? 
उसै गरी अन्तै त गएनन्……!



वर्षौंपछि 
आफ्नो धुलाम्य अनुहार धोएको 
काठमाडौको आकाशले के सोचिरहेको होला ?
"आपविपत र खुशीमा मलाई सम्झने भक्तजनहरु कता गए ?" 
भन्ने प्रश्नचिह्नले कति पिर गर्दै होलान् हाम्रा पशुपतिनाथ ।

चोभार र कीर्तिपुरका ती डेटिङ स्पटहरु 
के सोच्दै होलान् ?
"कता गए युगल जोडिहरु ? जो हरेक साझ यहाँ आएर यौवनका क्षणिक मदहोशीमा सँगै जिउने र सँगै मर्ने झुटा कसम खान्थे…"

के सोच्दै होला..
गल्ली भित्रको लिक्वर पसले दाइ !
हरेक दिन यावत् पीडाहरु भुलाउन, 
यहाँ आउने त्यो अङ्ग्रेजी बोल्ने दाइ 
आजकल कता गए होला ?


लकडाउन त केही समयको लागि न हो,
यी सबैकुराहरु पुनः दोहोरिदै जानेछन्,
फेरि साथीभाइ भेटिनेछन् ।
फेरि पनि जिब्रो पट्काएर मम खान पाइने छ,
फेरि मीठो बर्गर खान पाइने छ ।
आफ्नी प्रेमिकालाई बाइकको पछाडी राख्ने अल्लारे केटाहरु चोकहरुमा जाम खुल्नासाथ साठीको स्पिड नघाउने छन्  ।

फेरि उसै गरी टिप्परहरु..
मुटु नै थर्काउने गरि दौडिने छन्,
फेरि पनि नेपाल यातायातको गल्लीमा 
खुट्टा टेक्ने ठाउँसम्म हुने छैन,
काठमाडौको आकाश धमिलिने छ,
छिटै जडिबुटीको फराकिलो सडक पनि
भार बोक्न नसक्ने गरी लत्रने छ,
फेरि मन्दिरमा घन्टी बज्ने छ,
अनि ट्राफिक दाइहरु सिठ्ठी फुक्दै 
जाम खुलाउन व्यस्त हुनेछन्  ।।



फेरि.. पुरानै
१०-५ को ड्युटी दोहोरिने छ,
पहिले झैं  
हरेक दिन, हरेक बार अनि गतेहरु 
याद हुने छन् ।

फेरि वातावरण कैद अनि 
मानिसहरु स्वतन्त्र हुनेछन् ! 
अनि चल्नेछ उसैगरी 
तेरो-मेरो भन्ने लुछाचुडी भावना…
फेरि चल्नेछ चाकडी, नोकरी, बिजनेस र 
जागिरमा अडिएको 
अनवरत मानवीय जीजीविषा अनन्त कालसम्म ।।।



[साथी दिपेन्द्र ढकालको संस्मरणात्मक भावनाबाट बनेको कविता, यो कविताको सबै फोटोमा दिपेन्द्र ढकाल र म ]


मिति : २०७७/०१/२२ 
राँझा, नेपालगन्ज - बाँके 

अनुभुति शहरमा

( छन्द : शिखरिणी)

भुली प्यारो माटो शहर बिचमै अल्मल परेँ,
सधै खोक्रो आडम्बर रिस र पापी मन गरेँ !!
उछिन्ने धन्धामा झन - झन पछाडी परिरहेँ,
सके खुट्टा तान्ने प्रवृतिहरुमा चै अघि भएँ !!

जता हेर्‍यो पैसा नजर नजिकै नाच्दछ सधै,
समात्ने चाहाले हृदयहिन हुँदैछु म अझै !
म फोहोरी खाल्डो छिचलन नसक्ने अब भएँ
अरे आफ्ना छाडी परपर म एक्लै हुन गएँ !!



हरे बिग्र्यो भन्दै दुख पिर र चिन्ता लिई कठै,
म जन्मेको माटो हरदिन सराप्दै छ कि कतै !!
सबै बिर्सेँ संस्कार चलन थिए कर्म कुलका,
पिछा गर्दै हिंड्दा विकृत विष विभ्रान्त हुलका !!

अध्यारोमा बज्रेँ शहर झलमल्लै त छ तर ,
न सन्तुष्टी पाएँ अनुभव कहाँ सुन्दर छ र !!
म बाटो बिर्सेको पथिकसरि दिग्भ्रमित भएँ ,
निकै टाढा लम्क्यो समय म सधै अन्तिम रहेँ !!

मलाई त्यो गाउँ  रुख चउर पाखा वनहरु,
सधै सम्झिदा हुन् वरपर चिनेका जनहरु !!
कसो गर्ने निद्रा पनि सहज लाग्दैन किन हो ,
म तड्पेको तड्प्यै हरपल खुशी भो शहर यो !!


टि. यु. जङ्गल, किर्तिपुर २०६७




Friday, May 1, 2020

अस्तित्व

(स्रग्धरा छन्द)

डोको नाम्लो हलोमै तरुणवय गयो जिन्दगी आजसम्म
डाँडाँपाखा उकाली वनचउर सधैं लेकबेशी टम्म ।।
चिर्दै पुर्दै धर्ती दशथरि लहरा बिज्छ काँडा चिसिक्क
कर्मै खोटी भन्दै धुरुधुरु निमुखो रुन्छ हाँस्छ फिसिक्क ।। ।।

कैले हावा हूरी गढबढ असिना ठीक्क पर्दैन पानी
अन्यायी बन्छ द्यौता गरीब श्रमको ख्याल केही नमानी ।।
पुछ्दापुछ्दै बगेका खलखल पसिना झन् बढी बढ्छ सास
अर्काको खेतबारी मजदुर विचरा माटोमै हुन्छ बास ।। ।।

भुण्टे रोगी चमेली पनि परिछ थला, छैन कौडी फुटेको 
अर्काको खेत जोती कति बसुँ यसरी खान बस्नै पुगे पो ।।
चर्को आदेश आयो हुकुम यति कडा साहु आएर सस्तो
यस्तो पीडा चिन्ता दु: मनभरिको उफ् यो भाग्य कस्तो ।। ।।




कस्तो अस्तित्व हो के पलपल नमरी ज्युनु जीवन हैन ?
हेर्दै ऐजेरु जस्तो भर कति नभई सासमा प्राण छैन ।।
यस्तो अस्तित्व देख्दा मजदुर भरीया सर्वहारा सबैको
को फेर्ला शक्तिसत्ता मुलुक बुझिलिए हैन पेवा कसैको ।। ४।।



 
काठमाण्डौ , २०६५


Wednesday, April 29, 2020

अनुदित कविता

Tonight I can write the saddest lines.
Write, for example, 
'The night is starry and 
the stars are blue and shiver in the distance.'

The night wind revolves in the sky and sings.

Tonight I can write the saddest lines.
I loved her, and sometimes she loved me too.

Through nights like this one I held her in my arms.
I kissed her again and again under the endless sky.

She loved me, sometimes I loved her too.
How could one not have loved her great still eyes.

Tonight I can write the saddest lines.
To think that I do not have her. To feel that I have lost her.

To hear the immense night, still more immense without her.
And the verse falls to the soul like dew to the pasture.

What does it matter that my love could not keep her.
The night is starry and she is not with me.

This is all. In the distance someone is singing. In the distance.
My soul is not satisfied that it has lost her.

My sight tries to find her as though to bring her closer.
My heart looks for her, and she is not with me.

The same night whitening the same trees.
We, of that time, are no longer the same.

I no longer love her, that's certain, but how I loved her.
My voice tried to find the wind to touch her hearing.

Another's. She will be another's. As she was before my kisses.
Her voice, her bright body. Her infinite eyes.

I no longer love her, that's certain, but maybe I love her.
Love is so short, forgetting is so long.....
…………………………………………………………………………

………………………………………………………………………

यो साँझ म केही हृदयविदारक हरफहरु लेख्न सक्छु,
जस्तो कि 
चकमन्न रातमा दूर नील आकाशका 
नीला ताराहरु चल्मलाइरहेका छन् ।

रात्रीकालीन सिर्सिरे बतास आफ्नै गुञ्जनभित्रै 
सुस्ताइरहेको छ ,
यो साँझ म मन छुने हरफहरु लेख्न सक्छु, 
जस्तो कि 
मैले उनलाई चोखो प्रेम गरेँ 
र उनलेे पनि सायद गरिन् कुनै बेला ।
यस्तै रातहरुमध्ये एकरात 
असीमित खुला आकाशमुनि 
मैले उनलाई अंगालोमा टाँसेर 
लगातार चुम्बन गरिरहेँ... गरिरहेँ.....

उनले मलाई निर्धक्क माया गरिन्, 
मैले पनि झन् बढी,
उनका रिठ्ठा जस्ता लजालु नयनलाई 
कसैले पनि प्रेम नगरोस्, 
यो कसरी सम्भव थियो ?
त्यसैले उनी बिनाको अधुरो म 
यो साँझ मन छुने केही 
दुखान्त हरफहरु लेख्न सक्छु, 
म महशुस गर्नसक्छु तर व्यक्त गर्न सक्दिन 
उनलाई गुमाएको बिचरा म....

यो सन्नाटामय चिसो लामो रात 
उनीबिना झन् लम्बेतान बन्छ, 
मानौ एकनासले मेरो स्पन्दनमा 
कविताको झन्कार सुनिन्छ 
दुबोमाथि शीत टप्किए जस्तो ।

के फरक पर्ला र ! 
जब मेरो मायाले उनलाई साथ राख्न सकिन, 
रातसंग त ताराहरु छन् तर उनी छैनन् मसंग । 

यत्ति हो कि, दूर नेपथ्यमा 
कोही गुन्गुनाइरहेछ दूर नेपथ्यमा 
यद्यपि,
पटक्कै मान्दैन यो मन गुमाएँ उनीलाई ।

यी आँखाहरुले उनलाई हर्पल 
समीपमा खोज्छन्, 
मनै त हो चाहन्छ उनैलाई जो छैनन् निकटमा ।

यो रात उस्तै छ,
साक्षी छन् ती स्वेतवृक्षहरु, 
तथापि 
उस्तै रहेनौँ हामी यो पृथक कालखण्डमा ।

निसन्देह, 
उनलाई किमार्थ माया गर्दिन म 
र पनि सधै माया गरिरहन्छु.. 
किनकि, क्षणिक प्रेमको बिर्साइ अनन्त जो छ ।

……………………………………………………

आमा

छन्द : शिखरिणी + शार्दूलवीक्रीडित 

शयौँ पीडा झेल्दै हरतरहका ती दुख गरी
सही थुप्रै बाधा नवजुनि दिलाई तनभरि ।
जली आफू प्यारो शिशुकन बचाई पिरतीले
सधै पूज्या देवी अतिशय महत्ता मन हुने ।१।

छ आमाको गाथा न त कथनले सक्छु म रति
"कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।"
नपुग्ने भो कापी अनि कलमले वर्णन गरी
कतै छैनन् आमासरि सुख दिने यो जगभरि ।२।

सबै धर्ती हेरेँ वरपर म संसार भरमा
न आमा जत्तिको सहन सकने क्वै छ जगमा ।
नसाटेरै मिल्ने न अरुहरुको स्थान पुगने
अहा आमा शब्दै सुमधुर छ मीठो रस हुने ।३।

सबैभन्दा प्यारो जगत भरमा हुन्छ जननी
बिना आमा काहीँ पनि जगतमा सृष्टि नहुनी ।
मनै हो आमाको करुणरस जैले भरि हुने
सदा चिन्ता प्यारा शिशुहरु बनून् मा अडिदिने ।४।

आमाको ममता अपार सहसा पाइन्न काहीँ पनि
आमाको महिमा छ उच्च यशसा सर्वोच्चतामा अनि ।
आमाको तुलना कदापि अरु झै बन्दैन बह्माण्डमा
आमा ढोग हसाउ चित्त उनको ~ यात्रा सबै धाममा ।५।

जन्माई नवचेतना भरिदिने कस्तो छ है सिर्जना
आफ्नै प्राण भरेर सन्तति सबै हुर्काउने चाहना ।
हो मातृत्व महान विश्वभरमा वात्सल्यता सुन्दर
आमा धन्य विशाल उच्च रचना यो सृष्टि झैं के छ र ।६।

आमा बन्नु छ कष्ट ती प्रशवका पीडा कयौँ बिर्सिई
आफ्नो रोदन बिर्सदै नवपिढी सन्तान चिन्ता लिई ।
मायामा समता सबैमा ममता सन्तानका खातिर
पीडा प्यास र रोग भोक नभनी सन्तानकै हो पिर ।७।

यो नारीत्व अपूर्ण हुन्छ यसमा मातृत्व छैनन् भने
नारीको सुखसार भन्नु सब यैँ मातृत्वमा हुन्छ रे ।
आमाको हर देन हो भुवनकै उत्कृष्ट यो जिन्दगी
बिग्रेमा मन बिर्सिएर म कतै पुत्रत्व जाने छ कि ? ८?

लेखी लेख्न सकिन्न गानगुण यी आमा र मातृत्वका
हाम्रो जीवनका प्रगाढ रस यी सन्तोष आनन्दका ।
चिन्ता छन् मनमा खुशी तर सदा देखिन्न चिन्ता अनि
यो सन्तोष समान छैन अरु क्यै ब्रह्माण्ड भर्मा पनि । ९।

मात्री स्नेह समान शुद्ध रस यो पाइन्न धर्तीभरि 
ठूलो त्याग निस्वार्थ भाव शिशुका संताप सारा हरी ।
चिन्ता केवल सन्तती अघि बढून् बैरी सबै नष्ट भै
बाटोमा पदठेस सुन्नु नपरोस् सर्वोन्नती होस् सधै ।१०।

आमा काख समान आशन सुनै गद्दी कहाँ पो छ र
आमा गास कपास बास शिशुको सम्पूर्णताको घर ।
खानी हो ममता र स्नेहहरुको निस्वार्थ सर्वोपरी
आमाका गुण यी सकिन्न कहिलै लेखेर वर्णन् गरी । ११।

२०६५-११-१८ कलंकी काठमाण्डौ 


तिमी


     तिमी (शार्दुलवीक्रीडित)

मैले वर्णन गर्न सक्दिन तिमी छौ चन्द्रमा झैँ भनी
रातो फूल गुलाबको भनुभने काँडा त्यहाँ हुन्छ नि ।
आँखा सागर रत्न हैन न हिरा आँखा सबैसङ्ग छ
तिम्रै मात्र विशेष लाग्छ किन हो हेरेर लोभिन्छु म ।।



तिम्रो दाँत अनार हैन तर त्यो उत्कृष्ट आफै छ है
तिम्रो वक्ष हिमाल हैन जल झैँ मुस्कान बग्दैन है ।
तिम्रो काख म स्वर्ग भन्दिन खुबै आनन्द पाए पनि
तिम्रो साथ रहोस् सधै सँगसँगै छाया समानै बनी ।।

राम्री छौ हर अंग सुन्दर अहा लाग्दैन तै अप्सरा
बोली लाग्छ मधूर किन्तु नभनौ माधूर्य क्वैली चरा ।
केटी मानिस हौ प्रफुल्ल वयमा राम्री असाध्यै तर
झर्किँदा असिनासरी गडगडी दिक्दार त्यो कर्कर ।।

Tuesday, April 28, 2020

श्रद्धाञ्जली


श्रद्धाञ्जली ( शार्दूलवीक्रीडित )

आँखामा झरि बर्सियो जब सुने छैनौ तिमी विश्वमा,
रोकी रोक्न सकेन आँशु मनले निश्चिन्त रोऊँ कहाँ !
यात्रा टुट्न गयो बिचैतिर हरे छोडेर भाग्यौ जब,
तिम्रो साथ कमी हुनेछ र सधै सम्झिरहन्छौँ सब ।१।

पत्यारै न त लाग्छ किन्तु भ्रम झै यो नै तितो सत्य हो,
मैले मान्न तयार छैन तर हा रोएर टर्दैन यो ।। 
यौटा जीवन टुंगियो यति छिटै यात्रा यहीँसम्म भो,
छोटो भेट रहेछ जानु सबले पर्ने अवश्यै छ जो ।२।

तिम्रो चित्त दुखाउने यदि कुरा स्वार्थी गरेको भए,
माफी गर्दिनु है बुझेनछ भनी ठट्टा थियो सम्झिए ।
तिम्रो मात्र छ तिर्सना वरिपरी झल्को उहीँ झल्झली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।३।

बाटो एक छ जानु हो अघिपछि गन्तव्य हो एउटै,
चाहेरै पनि बस्नु छैन जगमा संसारको यो रितै ।
राम्रो सुन्दर त्यो उषा पछि निशा छिप्पिन्छ आभा ढली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।४।

तिम्रो देह त छैन याद छ उही बाँकी यहाँ छैन क्यै,
यो शालीन अदृश्य साथ अबको पक्कै म भुल्दैन है ।
मेरै आँगनमा म रोप्दछु छिटै फूल्नू बनी मख्मली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्दान्जली ।५।


२०६९-०१-०७, लाजिम्पाट काठमाण्डौ




Sunday, September 1, 2019

Dear Future Lady... एउटा छन्द कविता

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल कुरै नखोल कहिले भाँडा बजारीकन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****



घुम्तीबाट पछाडि हेर्छु जहिल्यै बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथी ।
भावावेश हुँदैन जीवन सधै निष्कर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउनू जगतमा यो प्रेम यैँ भक्ति हो ।।
केही चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझी निदान त्यसको ~ पूरा गरौंला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द क्रमश...)

Sunday, September 23, 2018

प्यारी रिसाएपछि

"प्यारी रिसाएपछि" (छन्द:- शार्दूलवीक्रीडित)

कालो बादल अँठ्ठियो मनभरी आकाश नीलो तर ।
मै आफू पनि बन्न सक्छु कसरी - आफै मभन्दा पर ??
मानौँ ढाक्दछ राहुले गगनमा सौर्न्दर्य छर्ने शशि ।
खै के को तुलना गरोस् र कविले प्यारी रिसाएपछि ।।

घुर्कीयुक्त कटाक्ष हान्छ उनको म्यासेजमा स्माइली ।
धन्यै हो प्रविधी छ मख्ख दुनियाँ संजालसंगै भुली ।।
यो सोझो किन अल्झियो प्रणयमा सोच्दैछु टुप्पी कसी ।
चिन्ता एक उपाय के छ अबको प्यारी रिसाएपछि ।।

को होला घरमा कदापि प्रियसी झर्कन्न भन्नेहरु ?
ज्ञानी छिन् सब बुझ्दछिन् रिस सधै अव्यक्त राख्छिन् बरु ।।
यो नारी अधिकार हो प्रकृतिको चुट्दैन जस्को रसी ।
के के को उपमा दिऊँ म विचरा प्यारी रिसाएपछि ।।
😂😃😂

भक्तपुर, २०७५ आश्विन

Monday, August 20, 2018

कविता (प्यारो रारा)

प्यारो रारा (छन्द: शार्दूलवीक्रीडित)

ओडी च्यादर मेघको हिमचुली मुस्काउछन् हर्षले ।
पैलैबाट अनन्त बैँस यसको फेरिन्न खै वर्षले ।।
हेरी सुन्दर छाल स्वच्छ जलको थाक्दैन आँखा कतै ।
टुक्रा हो कि प्रफुल्ल स्वर्गपुरको प्यारो छ रारा सधै ।।

मुर्मा शैल श्वेत टम्म हिउँले मीठो छ हावा अहा ।
डाँफे कालिज कस्तुरी वरिपरी उन्मत्त प्रमत्तका ।।
यो स्वर्गीय छटा अहो घनघटा बिर्सेर बिर्सिन्न है ।
यस्तै राग उनेर बन्छ कविता प्यारो छ रारा सधै ।।

ताल्चा स्वागत गर्छ हर्षित हुँदै सम्झ्यौ मलाई भनी ।
हुर्केकी छ पुछारमा गमगढी प्रफुल्ल जैले पनि ।।
धर्तीकी नव-वेहुली छ रसिली सौन्दर्य फैलाउँदै ।
त्यैं सौर्न्दर्य टिपेर छन्द भरियो प्यारो छ रारा सधै ।।

वाशन्ती मधुमास झैं हरघडी माधूर्यमा लिप्त यो ।
धेरैपल्ट पुगेँ पुगीरहुँ सधै यैं चाह - यैं घिट्किसो ।।
छाप्री मन्दिरले सुसेल्छ मुरली ती छाल नाच्छन् जसै।
त्यो खत्याड बगेछ स्नेह झरना प्यारो छ रारा सधै ।।

रारा ताल, मुगु - २०७४

Sunday, March 11, 2018

कविता

"आएर मागौँ कि म"

तिम्रा पाउजु झन्किए हृदयको झङ्कार मेरै लिई ।
तिम्रा गाजलु नेत्रबाट सपना देखेँ स्वयं बिर्सिई ।।
यो मेरो मन दौडियो वरिपरी छायाँ म रातोदिन ।
दोबाटो अब ढुक्नु छैन घरमा आएर मागौँ कि म ।।

तिम्रा हात समाउदै अघि बढूँ गन्तव्य यौटै गरी ।
थुम्का लेक सँगै चढेर कहिले मैदान बेशी झरी ।।
त्यैं काली तटमा रमेर गहिरो माया दिऊँ झाँगिन ।
दोबाटो अब ढुक्नु छैन घरमा आएर मागौँ कि म ।।

छन्द :- "शार्दूलवीक्रीडित"
क्रमश...

Sunday, March 19, 2017

अकण्टक भावना २

तिमी हाँस्दैखेरी झलमल छ यो सूर्य किरण ।
तिमी रुन्छ्यौ जैले जल बनिदिने बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भइन् पुष्पतरु ती ।
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी ।
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
सधै ऊर्जादायी रगत सरि छौ स्नायुहरुमा ।
छ यो चाहा बेग्लै किनकिन मनै जान्न अरुमा ।।

तिमी रात्री जस्तै अनुभव हुने शान्त प्रहर ।
तिमीमै गाभिन्छन् सकल मनका तिव्र रहर ।।
म थोपा मात्रै पो अखिल जलको सागर तिमी ।
म सारै नै अल्छी भर न मनमा जाँगर तिमी ।।

तिमी साथी मेरी प्रणय रथको सारथि तिमी ।
तिमी पूजा मेरी शुभ समयको आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै ।
तिमी माया मीठो मधुर प्रितमा रम्दछु सधै ।।

[कविता :- अकण्टक भावना]
[छन्द :- शिखरिणी]
रचना मिति :- २०७३/१२/०५

Tuesday, October 18, 2016

खाडीको क्रन्दन

खाडीको क्रन्दन (शार्दूलवीक्रीडित)

खाडीको धुपले बुझेन पिर यी घाँटी सुकाए पनि ।
हे प्यारी नचुहाउ आँसु घरमा आँखा रसाए पनि ।।
बेचिन्छन् सपना जहाँ रहरका सीमा बढाईकन ।
मान्छे मानवयन्त्र बन्छ बिचरा निर्धो र आकिञ्चन ।१।

आफ्नै ठाउँ बिरानिदैछ पसिना बेचेर भागेपछि ।
खाडीमा मन भड्कियो समयले टुंगो नलाएपछि ।।
छन् डल्ला सुनका टिपेर सजिलै फर्कन्छु झैं लाग्दथ्यो ।
छानो टाल्छु बनाउदै घर नयाँ इच्छा सधै जाग्दथ्यो ।२।

प्यारीको गहना गयो श्रम गयो गै गो जवानी पनि ।
आएनन् सुखका बहार कहिलै पीडा अचाक्ली छ नि ।।
आमाको मन रुन्छ सुक्छ गहमै शोकाश्रु रातै दिन ।
हाम्रो भाग्य यसैगरी रचिदियौ पापी विधाता किन ??

ताते हिड्न सिकाउथेँ थिरिथिरी छोरो दगुर्ने भयो ।
फड्क्यो वर्ष यसै यहाँ प्रगतिको गिन्ती पुरानै रह्यो ।।
टालेको फरिया त्यसै खुइलियो आमा र प्यारी कठै !
साँच्चै अन्त्य हुदैन हो कि घरमा यो दुर्दशाको कतै ??

ताजा याद अझै छ प्रेम रसिलो संकोच थोरै यता ।
तिम्रै तस्बिर बल्झदैछ मनमा प्यारी नरोऊ त्यता ।।
टिक्दैनन् शशि सूर्यमा ग्रहणका धर्सा अवस्यै पनि ।
कालो बादल फाट्छ हेर नभको आभा सुनौलो बनी ।५।

२०७३, राराताल मुगु
....

Monday, May 30, 2016

रुन्छ कविता

रुन्छ कविता (शिखरिणी छन्दमा)

सँगालेका सारा सुखहरु चुहिन्छन् जब जब
कसो गर्ने भन्ने मन - मगज घुम्छन् तिर तब ।
छ अौौँशीको कालो ग्रहणविचमा लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै माया खोज्दै रहरहरु बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजार्का गल्लीमा वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा माया जलन बनी दन्क्यो दनदनी
रिसाएकी हौ या मथिँगल घुमेको फनफनी ?
भएका छन् टाढा समय गतिले राम र सीता
नहाँसेरै हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी जस्तै आँसु अविरल बग्यो पृष्ठहरुमा
मुना छैनन् यौटै कुसुमकलीका शुष्क तरुमा ।
सिमा श्रेया सन्ध्या सब मलिन छन् अञ्जु अमिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………

सिन्धुली, २०७२

Tuesday, February 16, 2016

प्रेम :- हिजो र आज

( शार्दूलवीक्रीडित छन्दमा )

छोटो थ्यो अवधी तथापि मन यो बन्दैन छोटो तर ।
कस्तो स्वार्थ रहेछ पृष्ठभूमिमा बस्दै गरेको घर ।।
कालो कल्मष तिक्तता हृदयमा पर्खाइ धेरै थियो ।
टाढाको ममता प्रगाढ गहिरो पासा कहा पल्टियो ।। १ ।।

ढाँटी ढाँट्न सकिन्न आत्म कहिलै संसार ढाँटे पनि ।
मायामा धनको महत्व कति हो देख्यौ त स्वार्थी बनी ।।
मैले त्याग्न तयार थेँ सबकुरा यैँ प्राण आफ्नै पनि ।
तिम्रो साथ नछोडियोस् कहिं कतै के भन्न सक्थेँ त नि ।। २ ।।

बाँकी छैन मसंग आँशु अहिले सुख्खा छ आँखा यता ।
अर्कै आड लियौ उतै लहरियौ स्वार्थी बनेकी लता ।।
आशा राख्नु हुँदैन रैछ अरुको विश्वास मानीकन ।
साटी जोवन भावना कशम ती यो घात कस्तो भन ।। ३ ।।

मेरो श्वास प्रश्वास गिन्ति कहिलै सम्झन्न बिर्सन्न म ।
आफ्नै ढुक्ढुकी सम्झदैन मुटुको यी चाल हुन्नन् कम ।।
सम्झेको नभए कतैतिर कठै बिर्सेंर बिर्सन्न यो ।
कायाबाट अलग्गिएर कसरी छाया पराई भयो ?? ४ ??

टाढा छौ तर लाग्छ किन्तु नजिकै हेर्छ्यौ लजाई लुकी ।
मैले के अब बिर्सुँला र रिसमा मेरो तिमी ढुक्ढुकी ।।
वर्षा बादलसंग छुट्छ र कतै ? या बोट धर्तीसँग ?
तिम्रो साथ मसंग छुट्नु पनि हो यो देह आत्मासँग ।। ५ ।।


रातोपुल, काठमाण्डौ ~ २०७२ फागुन
 



Tuesday, February 9, 2016

नजुधी समस्या समाधान हुदैन

नजुधी समस्या समाधान हुदैन 
प्रेमको लागि प्रेमिका गुमाउने  प्रेमीहरुमा समर्पित  

वञ्जर खेत नजोतिए धान हुदैन, अध्यारो रात नबिते बिहान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्,
नजुधी समस्या समाधान हुदैन ।।

झर्छन् आँसु, चिप्लन्छन् खुट्टा,
कतै धर्ती भासिन्छ पनि ~
आवेशमा नआई अडिग बनी सम्हालिनै पर्छ शिष्ट बनी ।
जिन्दगीको निखार समस्याभित्रै छ,
ननिखारिएको मान्छे महान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।

त्यागभित्रको प्राप्ति होस् या प्राप्ति भित्रको त्याग ~ 
महत्त्व आफ्नै, अस्तित्व फरक छ ~ 
केही न केही त गुमाउनै पर्छ,
नगुमाएको बलिदान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।


२०७२ माघ २६ रातोपुल काठमाण्डौ


Sunday, September 20, 2015

कविता भोलीको

कविता भोलीको ( शार्दूलवीक्रीडित छन्दमा ) 

कालो यो इतिहासबाट धमिलो पाना छिटै पल्टियोस् ।
हाम्रो राष्ट्र विकासमा अघि बढी बाधा सबै सल्टियोस् ।।
साँच्चै सुन्दर शान्त उन्नत खुला नेपाल निर्माण होस् ।
आपस्मा हितभाव भै युगभरी आतङ्क हिंसा हटोस् ।।१।।

भोलीको कविता खुशी हृदयले आजै म लेखौं कि त ।
आशा यी मनका सबै जन जुटे साकार बन्छन् नि त ।।
पूरा भै सपना शहीदहरुका  संमृद्ध नेपालको ।
हाम्रो आर्थिक उन्नती अनि बनोस् कानूनको राज्य यो ।।२।।

हामीले बलियो बनाउन सके आधार बन्ने छ है ।
भावी सन्ततिको भविष्य गतिलो खाका सिगारौँ न है ।।
जिम्मेवार भएर हेर्नु सबले यो देश नै स्वर्ग छ ।
आहा यी हिमशैल जंगल नदी झर्ना - सुधाकै रस ।।३।।

खिर्राको बिरुवा छरेर जगमा फल्दैन हो काफल ।
फुट्दामा हित हुन्न हेर घरको, हो एकतामै बल ।।
हामीले अब ती विभेद कुरिती सारा हटाईकन ।
नौलो सभ्य समाजको जग खनौ ठूलो बनाई मन ।।४।।

कर्णाली झलमल्ल हुन्छ बिजुली निर्यात गर्दै धनी ।
डोल्पाको रुप फेरियोस् मुलुककै उत्कृष्ट ठाउँ बनी ।।
डाँफेको नवरंगले हिमचुली मुस्कान छर्छन् जहाँ ।
माटो स्वर्णलता छ उर्वर सधैं प्यारो तराई यहाँ ।।५।।



२०७२ साउन, रातोपुल काठमाण्डौ