Monday, May 30, 2016

रुन्छ कविता

रुन्छ कविता (शिखरिणी छन्दमा)

सँगालेका सारा सुखहरु चुहिन्छन् जब जब
कसो गर्ने भन्ने मन - मगज घुम्छन् तिर तब ।
छ अौौँशीको कालो ग्रहणविचमा लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै माया खोज्दै रहरहरु बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजार्का गल्लीमा वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा माया जलन बनी दन्क्यो दनदनी
रिसाएकी हौ या मथिँगल घुमेको फनफनी ?
भएका छन् टाढा समय गतिले राम र सीता
नहाँसेरै हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी जस्तै आँसु अविरल बग्यो पृष्ठहरुमा
मुना छैनन् यौटै कुसुमकलीका शुष्क तरुमा ।
सिमा श्रेया सन्ध्या सब मलिन छन् अञ्जु अमिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………

सिन्धुली, २०७२

No comments:

Post a Comment