Showing posts with label निबन्ध (Essay). Show all posts
Showing posts with label निबन्ध (Essay). Show all posts

Friday, April 20, 2012

प्रगति


 'प्रगति' को परिभाषा मैले ठ्याक्कै परिभाषित गर्न सकेको छैन । म आफै अन्योलग्रस्त छु, खासमा केलाई प्रगति भन्ने । सबै कुराको वृृृद्धिलाई प्रगति भन्न सकिन्न, न त कमीलाई । साँच्चै जटिल छ प्रगतिको सिमाङ्कन ।
"फलानाले त क्या प्रगति गर्यो यार, खुब कमाएको छ ।" धेरैजसो मान्छेबाट सुनिने प्रगतिको परिभाषा हो यो । कमाइलाई केन्द्रमा राखेर परिभाषित गरिएको यो परिभाषा पनि सर्वसम्मत छैन । कमाउन त भरीया, कामदार, कुल्ली, डाक्टर, ब्रोकर , बैंकर सबैले कमाएकै छन् । कसको कति कमाइलाई प्रगति भन्ने ठ्याक्कै मापदण्ड छैन ।

एकपटक एकजना एस पि सापले भन्नुभयो, 'उमेरभर बन्दुकसित खेलेर बुढेसकालमा बीस हजार पेन्सन आउँँछ । अहिले यौटा सामान्य कुल्लीले अठार बिस हजार सजिलै कमाउछ । अनि मेरो कमाइ कहाँ म्याच भयो त !' मलाई सुझाव दिँदै उहाँले थप्नुभयो, 'त्यसैले भाइ यो सर्कारी जागिरको पछाडि धेरै नलाग । तिमीजस्तो मान्छेले त प्राइभेट सेक्टरमै धेरै प्रोग्रेस गर्न सक्छौ । फलानोले यता साठी हजार कमाउछ, उता फलानाले झन् महिनामै दुई लाख पठाउछ युकेतिरबाट …………….’

एकदिन बाटोमा अकस्मात मावलीतिरको भाइ भेटियो । उसले खासै पढेन क्यारे, पहिला इन्डिया पनि वर्ष चार बस्यो क्यारे, अहिले यही शहरमा रहेछ । ट्याक्सी ड्राइभर बनेछ । उसले भन्यो 'दाइले बरु प्रगति गर्नुभयो, आफूले त पढ्न नि सकिएन । यैँ ट्याक्सिले हातमुख जोर्न पुगिहाल्छ, ढाई वर्षमा ट्याक्सि आफ्नो बनाएँ' कुरा गर्दै जादा थाहा भो, उसले पनि मासिक तीस हजार बढी कमाउने रहेछ, शहरकि केटीसंग बिहे गरेर घरजम पनि गरिसकेछ । मैले भने 'भाइ प्रगति त तिम्रो पो भएछ ।'

मलाई आफूले पटक्कै प्रगति गर्न नसकेको त शतप्रतिशत नै थाहा छ, तैपनि अरुले फुर्काएर भन्ने शब्द 'पढेलेखेको मान्छे'मा केही पनि तुक देख्न छाडेको छु । मेरो पढाइलाई प्रगति भन्न मिल्दैन । अहिले शहरमा सबै पढेलेखेकै मान्छे त भेटिन्छन् छ्यापछ्यपी । अरु केही काम नपाएर मास्टर्स पढ्दैछु, त्यही त हो, कहिलै राम्रो नम्बर ल्याउन सकिएन । प्रगति भन्ने श्रेणीको पढाइ यो हुदै होइन । डिग्री सकाएपछि पनि कतै पढाउने काम पाइए त हो नत्र के गर्ने भन्ने ठोस बिचार पनि ममा केही थिएन । कहिलेकाही भविष्यको चिन्ता हुन्छ तर चिन्ता पनि त समस्याको समाधान होइन रहेछ । कहिलेकाही कोरियन वा जापानी भाषा पनि पढौ कि झैँ लाग्छ ।
गाउकै एकजना काकाको छोरा बल्लबल्ल एस् एल् सि पास गरेर पुलिसमा छिर्‍यो। पहिला धेरैले उसलाई गाली गरे । म आफैले पनि उसलाई क्याम्पस पढ्न सुझाएथेँ । अहिले दश बर्षपछि ऊ आर्मी हवल्दार बनेको छ । हुन त उसको भन्दा डेढगुणा बढी पैसा हुने नीजि क्षेत्रको राम्रै ग्रुपमा अन्तर्वार्ता पास गरेरै केही समय जागिर गरेँ गतिलै पदमा । त्यसलाई पनि कतिले प्रगतिको संज्ञा दिए यद्यपि मैले प्रगति ठानिन र फुर्किइन पनि । केही समयपछि म्यानेजरसंग टकराव परेपछि मैले जागिर छोड्नु पर्‍यो । नियम र सत्यतामा म अडिग हुनाले दुख मनाउ गर्न पनि आवश्यक ठानिन । मनमनै एउटा इख लिएँ मैले पनि प्रगति गर्नेछु ।

मेरो एउटा साथी अलि गजडी स्वभावको छ । बाउ बाजेको सम्पत्ती प्रशस्त भएकोले पनि उसले मिहिनेत नगरिकन खुला दिलले खर्च गर्छ । प्राय: सधै बिन्दास मुडमा देखिने ऊ हल्का तानेकै अवस्थामा बढी देखिन्छ । उसको प्रगतिको परिभाषा अलि फरक खालको छ । राम्री केटी बिहे गर्नु नै उसको लागि प्रगति हो । उसको सधै सुझाब रहन्छ ' हेर जोशमा आएर लव म्यारिज नगर्नु, बाजा बजाएर प्रकाशकि बुढी झै केटी बिहे गर्नुपर्छ ।' यद्यपि उसले बाजा बजाएर बिहे गर्नेछ भन्नेमा मलाई शंका नै लाग्छ ।

गाउमा संसारबाट बैरागिएका यौटा महात्मा बाबा छन् । प्राय वरिपरीका गाउँमा योग वाशिष्ठ भन्ने पुस्तक लिएर डुल्नु र ज्ञानगुनका कुरा गर्नु उनको विशेषता हो । उनी कसैको घरमा भिक्षा लिदैनन्, एक घरमा एकचोटिमा बढिमा एक छाक खाने अर्को घर वा गाउँतिर लागिहाल्छन् । कहिलेकाही मन्दिरतिर पनि देखिन्छन् । उनले हिन्दी र नेपाली बराबरीजसो मिसाएर कुरा गर्छन् । तत्वज्ञान पाउनु नै उनको लागि सर्वोत्तम प्रगति हो । 'देख बेटा, अगर तत्व ज्ञान छैनभने फिर संसारमा जन्मने र मर्ने चक्रमा आना पड्ता है ।' यस्तै हुन्छन् उनका उपदेशहरु ।  प्रगतिको परिभाषा ठम्याउन नसक्ने मेरो सानो दिमागले कहाँबाट तत्वज्ञान भेटाओस्, अहिले तत्वज्ञानतिर नसोचौँ होला ।

कतै दाम कमाउनुलाई भन्दा नाम कमाउनुलाई प्रगति मान्नेहरुको पनि सानो समूह छ । सच्चा कर्मठ एवं कर्तव्यनिष्ठ असल दर्जाका मान्छे नगन्य संख्यामा भेटिन्छन् । यो समूहमा शयकडा एक दुई जना मुस्किलले भेटिन्छन् । सच्चा दिलले विधानत: काम गर्ने र धन सम्पतिमा आफ्नो स्वाभिमान नदाँच्नेहरु लोपोन्मुख अवस्थामा छन् । कलियुगमा यो सिद्धान्तको ब्याबहारिकता शुन्यप्राय छ ।

अर्कोतिर निकै बाक्लो समूह छ घर किन्नु वा कार किन्नुलाई प्रगति मान्नेहरुको । घडेरी जोड्नु, बैंक ब्यालेन्स बढाउनु, आफूलाई उच्च र व्यस्त देखाउनु यसो विदेशतिर पनि गइरहनु यो समूहका आम विशेषता हुन् । म आफै पनि कति कति बेला यो समूहतिर ढल्किन खोज्छु तर चाहेर पनि  मैले यस्तो हैसियत बनाउन सकिन, धेरै प्रयास गर्दा पनि मैले यो प्लेटफर्म पाउन सकिन । त्यसैले योगी बन्ने प्रवल संभावना रहेको आफ्नो कुण्डली सम्झेर त्यतातिरबाट चित्त मोड्न भने सकेको छु ।
दान धर्म र तिर्थव्रत गर्नुलाई प्रगतिमा सिमाङ्कन गर्नेहरुको पनि सानो समूह छ विशेष गरी अति आस्तिक र अलि बुढापाकाहरुको । हुन त बैश र उमेरमा पाप र कुकर्म गरेपनि, जस्तै कठोर बनेपनि उमेर घर्किएर पचास कटेपछि पूजा आजा तथा भजन कीर्तनतिर लागेको समूह पनि समाजमा कता कति देख्न पाइन्छ ।
 केही बर्ष पहिला मेरो उमेरका साथीहरुसंग मिलेर भगवान छैनन्, ढुंगो पूजा गर्न पर्दैन, नखाइ नखाई भोकै बस्नु पर्दैन भन्दै घरमा तहल्का गर्दा आमाले कुचाले हान्दै भगवान् छैनन् भन्ने पशु यो घराँ पस्न पर्दैन थुक्क ! यस्ता पशुले के प्रगति गर्लान् जिवना भनी एकछाक खानबाट समेत बन्चित गर्नु भएकोले हिजोआज मैले यस्तो हल्ला गर्न छोडेको छु । तर्क बितर्क र कुतर्क गरेर कुरालाई जतापनि मोड्न सकिन्छ । यसमा धेरै दिमाग नखियाऊँ । यो भयो यौटा नितान्त ब्यक्तिगत मामला । जे होस्, सबै भगवानको देन हो भन्दै अर्को जन्मका लागि समेत भनेर प्रगति गर्न खोज्नेहरुको समूह पनि समाजबाट लोप भैसकेको छैन ।

मेरो एकजना आफन्त हुनुहुन्छ निकै भुडी लागेको, सम्मानको जिन्दगि, गाडि, बंगलो, खेत र घडेरी पनि प्रसस्त । सम्मानपूर्ण जागिर र रियलस्टेट बिजनेश दश करोड बढी सम्पत्तिको मालिक । केही समय मैले पनि उहाको संगत गरेथेँ म अलि सोझो मनको छु क्यारे मैले कमाउने तरिका जानिन । पैसाकै पछि दगुर्ने स्वभावको पनि म परिन त्यसैले पैसाले मलाई घृणा गरे होला ।
गएको महिना एक्कासी पशुपति मन्दिर परिसरमा उहाँसंग भेट भो । खुट्टा ढोग्दै मैले भने 'हजुरको प्रगतिलाई मान्नै पर्छ ।' उनले शालीनतापूर्वक भने 'हेर बाबु कमाउन त खुब कमाइयो खान न खुट्नसित । मिहिनेत पनि कम्ता गरिएन तर अहिले याँ सुगर र प्रेशर बढेर खान क्यै हुन्न । दबाई खान बिर्से फुत्रु फुत्रु हुन्छु, बुढियालाई नि सुगर छ गरुङ्गो क्यै गर्न सक्दिने । छोराछोरी सबै आफ्नै धुनमा । जति कमाए नि मर्दा जानि रित्तै रैछ, निरोगी हुनुजस्तो प्रगति त के हुन्थ्यो !' बुढा फेरिएछन् अचेल भन्ने अनुमान मैले गरेँ, बुढा आफू रोगिएकोले होला आरोग्यतालाई प्रगति माने ।

कतै कतै राजनीति गर्नु , नेता बन्नु वा कुर्सीमा पुग्नुलाई प्रगति मान्ने मान्छेहरु पनि छन् । मलाई त्यता तर्फ खास रुची नभएकोले धेरै थाहा भएन ।
टन्न कमाएका ती आफन्तपछि म पल्लो गाँउका ज्यामी दाइको कुरा सुन्न पुगेँ जो निकै बलिया र निरोगीको रुपमा चिनिन्थे । उनले सुनाए ' के गर्नु बाबु मैले आजसम्म शहरीया औषधी खाको छैन । अलि पहिला एकफेर नराम्ररी कुखत परो (टाइफाइड भो) त्यै नि चार छाक रानीसिन्की र ज्वानाको झोल खाको स्वाट ठिक भो ।' 
उनको निरोगिपनाको तारिफ मैले गर्नै परो किनभने मलाई एकबर्ष बिराएर ज्वरो आउने बानी नै छ र एन्टिबायोटिक नखाइकन ठिक हुदैन पनि मलाई त । उनले थपे 'उमेरमा त अरु चार जनाले बोक्ने दार म भए दुई जनाले नै बोकिन्थ्यो, त्यसै नाइके बनाका होइनन् मलाई । तर के गर्नु, जति गरे पनि बजारतिर घर किन्न सकिएन यैँ झुप्राको झुप्रैमा आनन्द मान्दछु ।' घुम्दैफिर्दै उनको परिभाषा धन केन्द्रित भयो ।

कतै लोकसेवामा अधिकृत परीक्षा पास गर्नुलाई प्रगति मान्ने समूह पनि छ । यसमा अहिलेका बहुसंख्यक विद्यार्थीहरुलाई मैले भेटेको छु । प्राय: शिक्षित गाउलेहरु यो समूह अन्तर्गत पर्नेजस्तो लाग्छ मलाई । गतिलो मानिने स्थाई जागिरलाई प्रगतिको केन्द्र मान्नेहरु प्रशस्तै पाइन्छन् । मैले चाहि यो प्रगति पनि गर्न सकिन ।

दुई चारजना बुज्रुकहरुको पनि परिभाषा र मान्यता बुझेपछि मेरो निस्कर्ष रहेको छ, प्रगतिको खास परिभाषा मैले ठम्याउन सकिन । यसले व्यापक क्षेत्र ओगट्ने रहेछ र यसको मुख्य विशेषता भनेको यसको परिभाषालाई आफू अनुकुल वा प्रतिकुल ब्याख्या गर्न सकिन्छ । तथापि मैले आफूमा प्रगतिको कुनै गन्ध पाइन । भविष्यमा केही गरिएछ भने यौटा आफू अनुकुलको परिभाषा मैले पनि दिनेछु प्रगतिको !!!!!




लाजिम्पाट काठमाण्डौ, २ वैशाख २०६९


Tuesday, March 6, 2012

अभिलाषा


अभिलाषा

म अस्तिदेखि बिमारी परेँ। एकशयचार डिग्रीको काम ज्वरो आयो छ बर्षको अन्तरालपछि। सारै नमज्जासँग टाउको दुख्ने र घाँटि अवरुद्ध हुने पनि भयो। रगत ,भिडियो एक्सरे र पिसाब समेत जाँच गराइसकेपछि बल्ल म ढुक्क भएँ। चार हजार रुपिया ठ्याक्कै सकिएपनि नराम्रो रोग रहेनछ। सामान्य टन्सिल र रुघाखोकीको ज्वरो। तर सारै आर्थिक मन्दीको अवस्थामा काठमाण्डौजस्तो महङ्गो ठाउमा बिमारी पर्नु त बेकार नै हो। घरबाट ल्याएको दश बाह्र हजार रुपिया त कता जान्छ कता पत्तै नहुने।
कल्पना मानव मात्रको नभै प्राणी जगतकै एउटा मनोदशा हो। वास्तविकतामा अपर्याप्त वस्तुहरुको भरपुर आनन्द थुप्रै कल्पनाहरुमा लिनु नै मानव जगतको बिशेषता हो। कल्पनामा पनि आनन्द पुगेनभने सपना त छदैछ। कल्पना मानव जिवनको एक अभिन्न अङ्ग पाटो भएकोले कोहि पनि त्यसबाट अछुतो रहन सक्दैन। अत: म पनि सिरकमाथि कम्मल खापेर आँखा चिम्म गरी स्वर्णिम जगतको परिकल्पना गर्न थालेँ।
मैले स्नातक तह पढ्दै गर्दा आफ्नै जिवनप्रति वित्रिष्णा उत्पन्न हुन थालेको छ। मेरा अभिभावकको म प्रतिको आशा एवं अभिलाषाहरु पूरा गर्न म अक्षम हुने चिन्ताले गर्दा होला, बुवाको म माथिको लगानी पनि खेर जाने भयले गर्दा होला म हिजो आज अति चिन्तनशील बन्न थालेको छु। म जति जति बढी सोच्दछु त्यती नै बढी विचारशुन्यताको खाडलतर्फ उन्मुख भए झै लाग्दछ। विचार सबैका आ आफ्नै हुन सक्छन् तर अभावबाट गुज्रने प्राय नेपालीको बिचार मेरोजस्तै हुनु पनि अचम्मको विशेषेता हो।
गरिबी प्राय नेपालीको प्रयाय भएकोले म काठमाण्डौमा एउटा सर्वगुण सम्पन्न घरको परिकल्पना गर्न पुगेछु त्यो पनि सामान्य चाउचाउको चिठ्ठामा परेको, जसबाट मेरा आगामी दिनहरु उज्वल बन्न पुगुन्। म आफूले चाहेकै महङ्गो कलेज पढ्न सकुँ। वा साथी राजेश जस्तै राम्रो बाइक चढ्न सकुँ वा गोकुलले झैं कलेजको क्यान्टिनमा सबै साथीहरुलाई टन्न खुवाउन सकुँ। होइन, साथी दिपकले झैं महङ्गा जुत्ता र कपडा फेरिफेरी लगाउन सकुँ। म स्वार्थी भएँ क्यारे, आफ्नो लागि त जो पनि बाँचेकै छ म त अरुको लागि समेत बाँच्न चाहने मान्छे त्यसैले क्याम्पस खोल्न वा अस्पताल बनाउनको निम्ति सक्दो सहयोग गर्थेँ।
" न वित्तेन तर्पणियो मनुष्य: " धन सम्पतिले सधै अत्रिप्त मानव जुनीमा उद्यमहीन तरिकाले प्राप्त घरभन्दा मलाई आफ्नै कडा श्रमको साथ योग्यता अनुरुप लोकसेवामा नाम निकाल्नु नै उत्तम लाग्न थाल्यो। इज्यत पनि हुने र छाक टार्न पनि गाह्रो नहुने। देशको सेवा पनि हुने र पैसा पनि राम्रै कमिने , तर! इमान्दारीले त धेरै पैसा कमिदैन। म भ्रष्टाचार पनि गर्न जान्दिन, भ्रष्टाचार नगरी पैसा बढ्दैन। भ्रष्टाचारीलाई कडा सजाय हुने कानून बन्दैछ। "सजाय" शब्द सुन्नासाथ म तर्सन्छु। सानोमा कक्षा हापेर ऐसलु खान जाँदा गुरुले सजाय भन्दै सबैको अगाडि आठ लौरा हानेपछि सजाएले मेरो सातो लिएको छ। भो भो मलाई लोकसेवा पनि चाहिएन।
अलि बिकसित देशतिर हानिन पाए बरु मज्जा हुन्थ्यो कि ! मान्यता पनि बढी हुने र नया देश र परिवेशमा रम्न पनि पाइने, पढाइ र पैसा दुवै हुने ! हो,,,, मलाई वैदेशिक यात्राको चाहना तिव्र खहरे भेलजस्तै उर्लेर आउन थाल्यो। बढ्दो महंगी र बेरोजगारीका कारण लाखौँ युवा विदेशिन बाद्य छन् म पनि त्यै हुल भित्र पर्छु। तर विदेश जान पनि कहाँ सजिलो छ र आठ दश लाख नभै नहुने त्यसमाथि भाषागत कठिनाइहरु ~ अर्काको भाषा नसिकी नहुने । आ ,,, जे भए नि विदेशको मान्यता तिव्र छदै छ। म गाउकै जिम्माल बाका छोराहरु सम्झन्छु। रमेश अमेरिका नरेश जापान। कति सत्कार भएथ्यो पोहोर रमेश दाइ पाँच बर्षपछि नेपाल आउदा । मलाई पनि कस्तो भित्रैबाट अमेरिका जाने इच्छा जागेको थ्यो।
ममा अचानक जननी जन्मभूमिस्च,,,,, को भावना जाग्रित भो र बुवाको पनि मैले देशमै क्यै गरेको हेर्ने चाहना पनि सम्झेँ। विदेश हानिदैमा राम्रो नै हुन्छ भन्ने पनि त छैन। कति अलपत्र परेका छन्, कति अठारघन्टा काम गर्न बाद्य छन् । अन्तत: मरुभुमीको खेती भएको छ कतिका लागि विदेश। मलाई विदेशिने मन एकाएक त्यहाँ हुने पीडा र दुर्ब्यबहार सम्झिदा।
गोर्खापल्टनमा भर्ती भैयो भने जिन्दगानि बिन्दास हुन्छ। चिन्तामुक्त जिवन, रमाइलो पल्टन,,,,,, मेरो सोचाई त्यतातर्फ मोडियो। म इण्डियन आर्मी भै तीन चार बर्षमा दुई महिनाको लागि नेपाल आएको कल्पना गरेँ ~ कति मज्जा खायो बस्यो, पल्टनमै ज्यान बनायो यस्तै यस्तै,,,,,, एकाएक सोचाइको क्रममा मैले विश्वमा बढ्दै गैरहेको हत्याहिंसा, युद्ध र आतङ्क सम्झिएँ, म्रित्युलाई अंगिकार गरेर बिदेशी सेनामा भर्तीहुने आँट ममा भएन । सुन्दैमा पनि ज्यान सिरिङ्ग हुने क्रूर युद्ध तथा हिंसाहरु मैले पढेको र टिभिमा देखेको छु। खुकुरीको धारमाथि यात्रा गर्ने शाहस ममा भएन। एक दुई युद्धबन्दीको कथा सम्झनासाथ मन थर्र भो , यसभन्दा बढ्ता मैले सोच्न सकिन।
'राजनीति' अचानक विचार फुरिहाल्यो। थुप्रो सम्मान पनि हुने , देश विदेश घुम्न नि टन्न पाइने, धनसम्पति आफै फल्ने सर्वोत्तम उपाय नै मलाई राजनीति लाग्यो। राजनीतिमै पाइला चाल्नु पर्‍यो, भाषण गर्न त आइहाल्छ। मन्त्री भैएछ भने कुलकै उत्थान हुने नत्र पनि आफ्नो त उत्थान हुने सुनिस्चित देखेर मलाई राजनीतिज्ञ हुने इच्छा बढ्यो। हत्तेरी, सधैको अस्थिरताको कारण भोको देशको बिमारी राजनीति : देशकै यस्तो हविगत भएको छ। मलाई झुठ र षड्यन्त्रको विवेकहीन राजनीति पनि चाहिएन !! प्लेटोको आदर्श राज्य र दार्शनिक शासकको परिकल्पना म गहन रुपले सोच्न पुगेँ। अविस्वास र बदलायुक्त नया संसारमा त्यो पनि सम्भव छैन भन्ने लाग्यो। असंभव कुराबारे धेरैबेर सोच्नु पनि त फाइदायुक्त भएन। मनमा अरु कुनै नया बिचार आउन सकेन। धत् म लम्फु, आखिर गर्ने के त ?? म मानव भएर पनि केही गर्न नसक्नु त जिउदो लास बन्नु नै हो। आदिकविले त्यसै मजस्ताको लागि लेखेका होइनन् "ज्युदै मर्‍याको भनी नाउ कसको ? उद्यमबिना बित्दछ काल जस्को ।। " न विदेश जाने आँट न त देशकै माटो ख्याउन सक्ने आँट । मलाई मेरो जन्म नै ब्यर्थ र संसार खोक्रो भएजस्तो लाग्यो। के का लागि म काम गर्ने त ?? म कामको अस्तित्व खोज्न थालेँ। आखिर मेरो सजीवताको निम्ति नै केही गर्नुपर्ने बाद्यता रहेछ। नत्र त म निर्जीव भैहालेँ। म मानव हुनुमा केही अस्तित्व पक्कै छ। अस्तित्वहीन हुनका लागि मेरो जन्म पक्कै होइन। अल्बर्ट कामुको अस्तित्ववादबाट म हर्दम प्रभावित मान्छे, "मिथ अफ शिसिपस" मेरो अत्यन्तै मन परेको लेख। आत्महत्या जीवनको समाधान हुदै होइन बरु अन्य अस्तित्वको निम्ति समेत भार हो। संसारमा कति मान्छेहरु आफ्नो अस्तित्व बचाउको लागि मरिरहेका छन्, मचाही भएकै अस्तित्व पनि विनास गरी मर्न खोज्नु पक्कै पनि मेरो मुर्खताशिवाय केही होइन। अस्तित्व सबै प्राणीहरुको छ। म पनि आखिर मेरो अस्तित्वको खातिर चिन्तित भैरहेकोछु। सोचाई हुने सम्पूर्ण प्राणीहरु अस्तित्वको निम्ति चिन्तित हुदा हुन्। सबैको अस्तित्व यौटै हुन नसकेकोले नै बर्गीयता, साम्राज्यवाद रसामाजिक असमानताहरुको उत्पत्ति भएको होला ! अस्तित्व रक्षाको निम्ति के गर्ने भन्ने चाही बिमारी अवस्थामा धेरै सोच्न सकिन।

कलंकी, काठमाण्डौ २०६५ माघ २२ गते



चुरोट प्रपन्च


चुरोट प्रपन्च


मेरो जिवनको सबैभन्दा प्रिय बस्तु हो चुरोट। मेरो हर दिनको शुभारम्भ चुरोटसँगै हुन्छ र दिनको अन्त्य पनि चुरोटसँगै हुन्छ। मेरो साथमा कहिल्यै नछुट्ने बस्तु पनि चुरोट नै हो। चुरोट मेरो साथी र सलाई चुरोटको साथी यसैले चुरोटको डिब्बा र सलाईको लागि मेरो कोटको भित्री गोजामा बिशेष स्थान  छ। त्यहाँ चुरोट र सलाई कहिलै सकिदैन। यौटा सकिनासाथ अर्को नयाले विस्थापित गर्छ। दिनमा औसत एक डिब्बाले पुगेकै छ। मेरो खर्चमा सानो मात्रामा भएपनि चुरोटको हिस्सा नियमित छ। चुरोटको साथमा म कहिलै एक्लो महसुश गर्दिन, अझ भन्ने हो भने चुरोटकै कारण म थुप्रै साथीहरु बनाउन समेत सफल भएको छु।
About Cigarette Smokingthumbnail
चुरोट कहिलेदेखि मेरो प्रियपात्र बन्यो स्पष्टसाथ भन्न नसके पनि स्कुले जिवनबाटै यससँग म परिचित थिएँ। लुकिछिपी मेरो र यसको मित्रता प्रगाढ बन्यो, अहिले त कुनै समस्या नै छैन, जतिबेला मन लाग्यो त्यतिबेलै सल्काउछु। थुप्रै बाधा ब्यवधानहरु सहेर मैले चुरोटलाई अंगालेको हुँ। कतिपल्ट त बाको खल्तीसमेत खदुल्न पर्‍यो सुरुसुरुमा, आमाको गालीले समेत छुटाउन सकेन। म चुरोटप्रति अडिग रहेँ। बरु चुरोटकै कारण केही मनचिन्ते साथीहरु गुमाए पनि उनीहरुको कारण यसलाई नगुमाएकोमा मलाई गर्व छ।
एकदिन मजस्तै अन्य कति जनाले चुरोटलाई साथी बनाएका रहेछन् भनी जन्ने इच्छाले म भ्रिकुटीमण्डप अगाडि करिब एकघण्टा चनाखो भै हेरेँ। नजिकै एउटी बुढी आमा नाङ्ले पसल थापेर बसिरहेकि थिइन् ग्राहक पर्खदै। उनीबाटै शुरु भो मेरो गणना। हातमा आधी पग्लिएको चुरोट छोपेर उनी मतिर नै हेर्दै थिइन्। खल्तीमा चुरोट सकिएकोभए अवश्य नै म उनको ग्राहक हुन्थेँ तर बिहान नया डिब्बा किनेपछि सात खिल्लीमात्रै त तानेको थिएँ। आठौँ खिल्ली सल्काएर बुढीआमाको नाङ्लोमाथि नजर फ्याँकेको त्यहाँ छ सात प्रकारका चुरोटहरु थिए। नढाटी भन्नुपर्दा उनका सम्पूर्ण समानको एक तिहाई त चुरोट मात्रै थिए। केही सुर्तीले चुरोटको शोभा बढाएका थिए।
चम्केको घोडाको तालमा एक अधबैसे युवक आयो। ऊ केही उदास देखिन्थ्यो मुखबाट एक मुस्लो कालो धुवा उडाउदै। करिब बिस मिटरको मात्र दुरीमा उसले त्यसरी नै चारपल्ट मुस्लो उडायो र सकिनै लागेको चुरोटको ठुटो पुन एकपल्ट तानेर नालीतिर मिल्कायो। चुरोट बलिरहेकै थियो।
नज्जिकै रहेको खाजाघरतर्फ मैले नजर पुर्‍याएँ, करिब पन्ध्र जनामध्ये चार जनाको हातमा चुरोट रमाएको थियो। मैले नजर त्यही स्थिर राखेँ। केहीबेरमै ती चारबाट अन्य चारमा चुरोट हस्तान्तरण भए। यसरी अन्त्यसम्ममा प्रत्येकको हातमा चुरोट पुग्यो। अरु केही खाना अर्काको जुठो नखानेहरु पनि चुरोट चाहि मज्जाले जुठो खाइरहेका हुन्छन्। अजबको छ चुरोट न त खानु पर्ने न त पिनु नै पर्ने।
आँखा मोड्दै थिएँ, विदेशी प्रयटक जोडी विदेशी चुरोटमै मस्त थिए। नेपालमा चाही युवतीहरुले चुरोट पिएको मैले त्यति भेटेको छैन। बुढी आमैहरु चाहि प्रसस्तै भेटिन्छन् शहरतिर पनि। मेरो कोठा नजिकै बस्ने शासू, बुहारी र छोरा तिनै जनाले चुरोट पिउछन्। एकपल्ट त उनिहरु घरमा नभएको मौका पारेर सोह्र सत्र बर्षको  छोराले समेत चुरोट तान्दै थियो।
हेलिकप्टरकैजस्तो आवाजका साथ आएको अस्थिपन्जर जस्तो देखिने बाइकको चालक ठिटो एक हात छोडेर मुखको चुरोट मिलाउदै अघि बढ्यो। बिस्तारै आएर टेम्पो रोकियो, ड्राइभरले पाँच रुपिया दिदै सात आठ बर्षको फुच्चे खलासीलाई बुढीआमाको पसलबाट चुरोट लिन पठायो। ओठ निचोरे दुध झर्ने जस्तो बालक केटोले निकै परिपक्वतासाथ चार स्वाँक तानेर मात्र ड्राइभरलाई दियो। ड्राइभरले प्रसन्न मुद्रामा चुरोट र टेम्पो सङ्गै अगाडि बढायो।
म उभिएको पल्लो साइडमा आफ्नी प्रेमिकालाई बाया हातले अङालेको युवकले पनि दाया हातले चुरोट छोप्न भ्याएकै थियो। त्यो प्रेमिका मौन थिई। चुरोटको खरानी युवकले झट्कारो अनि दुवैजना अघि बढे। मैले मेरी पत्नीलाई सम्झेँ मेरो श्रीमतीसँग चुरोटको विषयमा प्राय झगडा हुन्छ, कपडा धुने क्रममा सात आठपल्ट डब्बै नफ्याकिदिएकि पनि होइन यद्यपि नया किन्दा झन् बढी खर्च हुने भएकोले हिजोआज क्यै भन्दिन तथापि उसको नजिकै चुरोट पिउन मनाही गराएकि छे। मैले त्यस युवककी प्रेमिकालाई आफ्नी पत्नीसँग तुलना गर्न सकिन खासगरी चुरोट खान अनुमती दिने सन्दर्भमा।
यस्सो घडी हेरेको आधा घण्टा बढी भैसकेछ म त्यहाँ अल्झिएको। चुरोट धेरैको आत्मीय मित्र बन्न सफल छ। म जता गयो कम्तीमा शयकडा तीस जनाले चुरोट तानेको देख्छु। साथीहरुसङ्ग खाजा खाने ठाउमा खाजा भन्दा पहिले चुरोट आउछ। दिनदिनै चुरोट किन्नुपर्दा चुरोट कम्पनिमै जागिर खाने मन पनि नभएको हैन तर अचम्म चुरोट कम्पनिभित्र समेत चुरोट खान नपाइने भएपछि त्यतातर्फ लागिन, सामान्य जागिरले नै चलेको छ।
यौटा ठिटो लामो लामो सासले चुरोट तानेर फाल्यो अनि क्याम्पसको गेटभित्र पस्यो। पट्याट लागेकोले मैले पनि नवौ खिल्ली चुरोट सल्काएँ। अर्को हिपहप देखिने ठिटो पनि क्याम्पसको गेटमा चुरोट फालेर क्याम्पस छिर्‍यो, यसरी खुलेआम चुरोट खादै क्याम्पसको गेटमा चुरोटका ठुटा फाल्नेहरुको कमी छैन। पचासौ चुरोटका ठुटाहरु क्याम्पसको गेटमा मैले भेटाएँ। सरकारी क्याम्पस प्रशासनको त्यतातर्फ पटक्कै ध्यान नपुगेकोले एक प्रकारको स्वतन्त्रता नै छ। मलाई याद भयो एकपल्ट मैले प्रतिबन्धित ठाउमा चुरोट सल्काउदा तीन महिना चुरोट आउने पैसा त जरिवाना नै तिर्नु परेथ्यो तर कत्ति पनि नहड्बडाई चुरोट तान्दै आएको छु अधिकारको प्रयोग भन्दै। द्वी चारपल्ट त चुरोटले लज्जित समेत बनाएको छ।
म हिच्किचाउने किसिमको मान्छे होइन, कति पटक त आफन्तहरुले घरको कोठामा चुरोट खान नदिदा छतसम्म समेत पुग्नु परेको छ। एकचोटि हतारमा चुरोट राख्न बिर्सेछु, चुरोट किन्न पसलतिर छिरेको गाडी छुटेछ पछि एकघण्टा कुरेर अर्कै गाडिमा गएँ,समय ढिला भएकोले पाउनै लागेको जागिर पनि गुमाउनु पर्‍यो।
एकजना महोदय हातमा पुस्तक लिएर हिड्दै थिए, बाटोमा दुई तिनओटा भुसाहा कुकुर उनीप्रति भुक्दै थिए। विपरिततिरबाट एउटा ठाँटिलो पट्ठो हातमा चुरोट सहित आयो, कुकुरले उसलाई तर्केर बाटो छोडिदिए। भुक्ने त कुरै छोडौँ, कुकुरले समेत चुरोटको सम्मान गर्दा रहेछन्।
हातको चुरोट घट्दै थियो। मतिरै एउटा परिचित अनुहार आउदै गरेको देखेँ। उसको हातमा पनि चुरोट थियो। एक द्रिष्टि मतिर लगाएर केही नबोली सरासर ऊ गयो।  पछि मात्र थाहा भो ऊ त मेरो बिसौ बर्ष पुरानो स्कुले सहपाठी तर स्कुलपछि आजमात्रै देखेँ, उसले सायद मलाई चिनेन होला। यसो घडी हेर्दा एक घण्टा बित्नै लागेछ। पातलिएको चुरोटको एकसर्को तानेर म पनि लागेँ त्यहाबाट बेबारिसे यात्रामा !!!!!
कलंकी काठमाण्डौ, २०६६ -११ -१९ बुधबार




Tuesday, February 21, 2012

अभाव


अभाव
"अभाव हरेक सजीव बस्तुको मनको चाहना माथिको तुसारापात हो मनले चाहेजति कुनै वस्तुको परिमाण नपाउनुलाई हामी अभाव भन्छौँ संसारमा थुप्रै चिजहरुको अभाव हुनु नै संसारको बिशेषता हो।
नहेरुँ भन्दा भन्दै पनि संसारमा थुप्रै अभावहरु देखिन्छ
शुरुमा आफ्नै कुरा गरौँ - एकपल्ट आफै पनि खाना नपुगेर आमासित झगडा गरेँ।
आमा के के भन्दै भट्भटाउनु भयो मलाइ पनि रिस उठ्यो तर रिसले मेरो पेट अघाउने भए पो !!
अस्तिमात्रै पनि धारामा पानी थाप्ने मान्छे गाग्रीहरुको भिडैभिड देखेँ त्यहाँ निकै होहल्ला थियो।
हिजो एकजनालाई अरुलाई जति पानि पुगेनछ , आज उनले बढि पानी पाउनुपर्ने माग गर्दै थिए
केही अरुले पनि आफूले बढी पानी पाउनु पर्ने माग गर्दै थिए , कोही कोहि त्यसको विरोध गर्दै थिए।
त्यहाँ पानीको अभाव थियो
एउटा अभाव हुनलाई अरु तिन चार ओटा सहायक अभावले महत्वपूर्ण भुमिका खेल्दछ।
यहाँ घरमा खानाको अभाव हुनुमा पैसाको मुख्य अभाव हुन सक्छ। पैसाको अभावको मुख्य कारण राम्रो ब्यावशाय वा जागिरको अभाव त्यसको मुख्य कारण राम्रो ज्ञान , सिप वा अवसरको अभाव हो राम्रो शिक्षा वा सिप नहुनुमा घरमा शिक्षित वातावरणको अभाव त्यसको कारणमा बाबु आमामा चेतनाको अभाव आदि,,,,,,,,,,,, यसरि, अभावको मुख्य कारण अभाव नै हो
त्यस्तै, धारामा पानिको अभाव हुनुमा नजिकै जलाशयको अभाव, दक्ष इन्जिनियर वा मिस्त्रीको अभाव, भौगोलिक सुविधाको अभावजस्ता अभावहरु नै प्रमुख कारण छन्।
तिनका उपकारणहरुको चर्चा बिश्लेषण गर्न थाल्ने हो भने डायरीमा लेख्ने ठाउ कलममा मसिको अभाव हुन्छ , त्यसैले त्यतातर्फ नलागौँ
यौटा प्रश्न उठ्न सक्ला , नेपालमा शिक्षित मान्छेहरु बेरोजगार छन्, तर कतिपय मुर्ख मान्छेहरु पनि ठुलै ओहोदामा छन् घुसखोरी बाट हो या नाताबादबाट सो थाहा नभएपनि छनोटकर्ताहरुमा सुझबुझको अभाव यसको मुख्य कारण देखिन्छ।
संसारमा आभावले यस्तो विकराल रुप लिसक्यो कि अभावबिनको जिवन अधुरो लाग्न थालिसक्यो
धेरैलाई धनसम्पति, कसैलाई शिक्षा जागिर, कार कम्प्युटर, घरजग्गा ,असल साथी, पानि औषधी, सेवासुबिधा, कसैलाई मन्त्रिपद, कुर्सी पद घुस आदिको अभाव
मलाई बुद्धी ज्ञानको अभाव , घरमा पैसा सरसमानको अभाव छ। गाउमा सेवा सुविधाको अभाव छ।
देशमा अमन चयन विकासको अभाव , अन्तर्राष्ट्रिय जगतमा शान्ती सहिष्णुता लगायत धेरै चिजको अभाव
अभावकै कारणबाट झगडा, चोरी हत्या हिंसा बढ्ने गरेको हामिले देखेसुनैकै छौँ
देशको आर्थिक सामाजिक उन्नती विकासको मुख्य बाधक पनि अभाव नै हो  ~ चाहे पुँजी प्रविधीको अभाव होस् या प्राविधिक कामदारको , कुरा अभावकै हो
अभाव मानवलाई मात्र नपरी सम्पूर्ण जन्तु वर्गलाई नै पर्दो रैछ , घाँसको अभावमा भैसी निकै कराएको छ।
आहाराको अभावमा कमिलाहरु ताँतीका ताँती हिडिरहेको देखिन्छ
उपयुक्त मलजल मौसमको अभावले धान, मकैहरु फल्न नसकेर आर्थिक एवं खाद्यान्न अभाव होला जस्तो
अभाव नै सुखमय जिवन प्रगतिको बाधक हो , सङ्घर्षको मुख्य कारण पनि अभाव नै हो ।।
धनको अभावले चोरी डकैती बुद्धीको अभावले अधोगति भै रहेको मान्छेहरुमा विश्वासको अभाव छ। सुरक्षाको अभावमा हत्याहिंसा अपराधहरु बढेका छन्
उपयुक्त औषधीको अभावमा जिवन छोटिएको , खासगरी दुर्गम क्षेत्रतिर निर्जीव वस्तुहरुमाथि पनि अभाव उत्तिकै ब्याप्त प्रकाशको अभावमा औशी रात निस्पट्ट अध्यारो डरलाग्दो छ।
सुबिधाको अभावले जिवन कष्टपूर्ण छ। बग्ने ठाउको अभावमा नदिले पहाडै भत्काइदिएको
अभावले बच्चा बुढा ,तल्लो उपल्लो , गाउले शहरिया क्यै मा पनि भेदभाव नगरी सबैलाई समाना ब्याबहार गरेको
यत्र तत्र सर्वत्र अभावै अभाव घरमा अभाव पल्लो घरमा अभाव, गाउमा अभाव शहरमा अभाव, सडकमा अभाव पेट्रोलपम्पमा अभाव , शरिरमा पनि अभाव ।।
हिमालमा अभाव तराईमा अभाव , स्वदेशमा अभाव विदेशमा अभाव, सामान्य क्याल्कुलेटर देखि कम्प्युटरसम्म अभाव !! जहाँ पनि अभाव , अभावले ब्यापक क्षेत्र ओगटेको >
अभाव आवश्यकता ठूला आपसी सत्रु हुन्। अभाव चुहिने भाँडोभित्र थुनिएको , त्यसैले जतिनै भर्न खोजेपनि यो चुहिनै रहन्छ।
अभाव कसैले रोक्न सकिने चिज होइन यो एकचोटी एक रुपमा उछ त्यसको पुर्ति हुनेबित्तिकै अर्को रुप धारण गरेर अभाव पुन: उछ
यो क्रम अनन्तसम्म निरन्तर चलिरहन्छ। अभाव अभावकै कारणबाट उत्पन्न हुने समस्या हो यहाँ अनेक वस्तुको अभाव तर अभावकै अभाव कहिले हुने होला !!!!!
हरेकको इच्छा अग्निस्थापनाको मन्त्र सापटी लिनेहो भने ~ "अभावाय स्वाहा" अत्रप्रोणितोदकस्पर्श:


बलेटक्सार गुल्मी, २०६३ साउन गते


Friday, November 11, 2011

प्रगति


प्रगति

  झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?

  "तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!


  धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।


  ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
म वाल्ल परेर कुरा सुन्दै सही थापेँ। सरकार , सबै दल र ब्यक्ति समेतलाई बाँकी नराखेर गाली गर्नुभयो।
सबैप्रति आक्रोश एवं असहमति । लोडशेडिङप्रति मम्मी पनि असन्तुष्ट हुनुहुन्छ । अध्यारोमा तरकारी चर्को भएपछि पाहुनाले खाना फालेछन् ,बाबाले समेत मम्मीलाई गिज्याउनु भो। एक घण्टा प्राधिकरण र सरकारलाई गाली गर्दै बाबा र पाहुनाको वार्ता चल्यो।
भाइले समेत सहि थाप्दै दुई चार उदाहरण सुनायो, हेर काली र चिलिमे !!

  
छ्या छ्या छ्या .....  पिच्च थुक्दै मनोज फोहोरको डङ्गुरैबाट दगुर्यो। म चाहि अलमल्लमा परेँ। बढेको प्रदुषण र न उठाएको फोहोर देख्दा।
बिष्णुमतीमा थुप्रिएको फोहरकै कारण राजेन्द्र गाडी चढेर अर्को बाटो आउछ मेरो कोठामा,मसंगका हरेक भेटमा उसले फोहोर , कोलाहल र अस्थिर राजनीतिकै कुरा गर्छ ।

   आज यो क्लासमा पढाइ नै हुन्न । बस्ने ठाउ नपाको झोकमा साथिको झोला तान्दै पार्वती चड्कीई। हरे ! सरकारी क्याम्पसको गति । सुजन, गोविन्द र शुष्माले पनि सहमति जनाए ।
बिनिता र सुरेश समेत चिच्चाउन थाले पछि सर बाद्य भएर प्रमुख सर समक्ष जानुभयो।
प्रमुख सरले कोठा र बिद्यार्थी संख्या हेरेपछि हामीलाई अर्को अलि ठूलो कोठाको ब्यवस्था गरिदिनु भयो ।
दुई घण्टी मात्र के पढ्दै थियौँ, ढोका बाहीर कोलाहल आएपछि सरले बाद्य भएर ढोका खोल्नु भयो।
प्रमुख सर र ५०-५५ जना बिद्यार्थीहरुको समुह । ठूलो कोठा हामीले हडपेपछि स्नातक दोश्रो
बर्षका साथीहरु अट्ने ठाउको ब्यवस्था गरियोस् भन्दै त्यतै हानिएका रहेछन् । कतै समायोजन हुन नसक्ने
देखेर प्रमुख सर चिन्तित हुनुन्थ्यो ।

   सन्तुष्टी कही नि छैन । जताततै रिस, झगडा अभाव र अशान्ति ब्याप्त छ।
क्याम्पसमा समेत राम्रोसंग पढ्न नपाएर म डेरातिर जाँदै थिएँ गाडिमा पनि अत्याधिक जनचाप। "कति मातै कोच्न सकेको हो, ह्याँ टेक्ने ठाउ नि  त हुनु परो नि !!"
नजिकै उभिएकि एक महिलाले एकै सासमा असन्तुष्टी पोखिन् ,"सधै यस्तै हो भन्या !!" अर्कीले समर्थन जनाइन्।
त्यही क्रममा एक जनाको मोबाइलमा घण्टी बज्यो। कोलाहल र हल्लाको कारण उनले कुरा बुझ्न सकेनन्
सात आठ पटक हेलो हेलो भन्दै रिसाएर फोन कटाइदिए। अनि चुर हुदै उभिए।

   साढे एक बजे आउछु भनेको साथी तीन बज्दासम्म पनि नआएपछि ममा रिसले उग्रता लिदै थियो।
अत्यावस्यक कामले आउने अलि समयमै आउनु पर्छ नि , कस्तो लम्फु हो । उसले विगतमा गरेका २-४ ओटा गल्ती सम्झेर 'सधैको हरामी' भन्ने शब्द उच्चाहरण गरेछु । हस्याङ फस्याङ गर्दै त्यहीबेला ऊ त्यहाँ आइपुग्यो।
'सधै ढिलो गर्चस् तैले नि' हात समेत नमिलाइकन उसको ढिलाई प्रति आक्रोषित भएँ।
"काँ एक घण्टा जाममा परेर,,, " बचाउ गर्दै उसले भन्यो। हत्या गरिएका आफन्तको खोजी र क्षतिपुर्तीको माग गर्दैक् चार घण्टासम्म सडक तताएछन् आफन्त र स्थानीयबासीहरुले।
"हैन हरेक कुरामा बाटै बन्द गर्ने , क्याम्पसै बन्द गर्ने कस्तो चाला हो यो !!" दुई हप्ताजसो अगाडिको घटना सम्झदै साथिले पनि आक्रोश पोख्यो ।
रिसलाई थाति राखेर नै भएपनि म उसका कुरामा सहमत भएँ ।।

   "हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।

   राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!



२०६५/१०/२३ काठमाण्डौ