Tuesday, March 6, 2012

अभिलाषा


अभिलाषा

म अस्तिदेखि बिमारी परेँ। एकशयचार डिग्रीको काम ज्वरो आयो छ बर्षको अन्तरालपछि। सारै नमज्जासँग टाउको दुख्ने र घाँटि अवरुद्ध हुने पनि भयो। रगत ,भिडियो एक्सरे र पिसाब समेत जाँच गराइसकेपछि बल्ल म ढुक्क भएँ। चार हजार रुपिया ठ्याक्कै सकिएपनि नराम्रो रोग रहेनछ। सामान्य टन्सिल र रुघाखोकीको ज्वरो। तर सारै आर्थिक मन्दीको अवस्थामा काठमाण्डौजस्तो महङ्गो ठाउमा बिमारी पर्नु त बेकार नै हो। घरबाट ल्याएको दश बाह्र हजार रुपिया त कता जान्छ कता पत्तै नहुने।
कल्पना मानव मात्रको नभै प्राणी जगतकै एउटा मनोदशा हो। वास्तविकतामा अपर्याप्त वस्तुहरुको भरपुर आनन्द थुप्रै कल्पनाहरुमा लिनु नै मानव जगतको बिशेषता हो। कल्पनामा पनि आनन्द पुगेनभने सपना त छदैछ। कल्पना मानव जिवनको एक अभिन्न अङ्ग पाटो भएकोले कोहि पनि त्यसबाट अछुतो रहन सक्दैन। अत: म पनि सिरकमाथि कम्मल खापेर आँखा चिम्म गरी स्वर्णिम जगतको परिकल्पना गर्न थालेँ।
मैले स्नातक तह पढ्दै गर्दा आफ्नै जिवनप्रति वित्रिष्णा उत्पन्न हुन थालेको छ। मेरा अभिभावकको म प्रतिको आशा एवं अभिलाषाहरु पूरा गर्न म अक्षम हुने चिन्ताले गर्दा होला, बुवाको म माथिको लगानी पनि खेर जाने भयले गर्दा होला म हिजो आज अति चिन्तनशील बन्न थालेको छु। म जति जति बढी सोच्दछु त्यती नै बढी विचारशुन्यताको खाडलतर्फ उन्मुख भए झै लाग्दछ। विचार सबैका आ आफ्नै हुन सक्छन् तर अभावबाट गुज्रने प्राय नेपालीको बिचार मेरोजस्तै हुनु पनि अचम्मको विशेषेता हो।
गरिबी प्राय नेपालीको प्रयाय भएकोले म काठमाण्डौमा एउटा सर्वगुण सम्पन्न घरको परिकल्पना गर्न पुगेछु त्यो पनि सामान्य चाउचाउको चिठ्ठामा परेको, जसबाट मेरा आगामी दिनहरु उज्वल बन्न पुगुन्। म आफूले चाहेकै महङ्गो कलेज पढ्न सकुँ। वा साथी राजेश जस्तै राम्रो बाइक चढ्न सकुँ वा गोकुलले झैं कलेजको क्यान्टिनमा सबै साथीहरुलाई टन्न खुवाउन सकुँ। होइन, साथी दिपकले झैं महङ्गा जुत्ता र कपडा फेरिफेरी लगाउन सकुँ। म स्वार्थी भएँ क्यारे, आफ्नो लागि त जो पनि बाँचेकै छ म त अरुको लागि समेत बाँच्न चाहने मान्छे त्यसैले क्याम्पस खोल्न वा अस्पताल बनाउनको निम्ति सक्दो सहयोग गर्थेँ।
" न वित्तेन तर्पणियो मनुष्य: " धन सम्पतिले सधै अत्रिप्त मानव जुनीमा उद्यमहीन तरिकाले प्राप्त घरभन्दा मलाई आफ्नै कडा श्रमको साथ योग्यता अनुरुप लोकसेवामा नाम निकाल्नु नै उत्तम लाग्न थाल्यो। इज्यत पनि हुने र छाक टार्न पनि गाह्रो नहुने। देशको सेवा पनि हुने र पैसा पनि राम्रै कमिने , तर! इमान्दारीले त धेरै पैसा कमिदैन। म भ्रष्टाचार पनि गर्न जान्दिन, भ्रष्टाचार नगरी पैसा बढ्दैन। भ्रष्टाचारीलाई कडा सजाय हुने कानून बन्दैछ। "सजाय" शब्द सुन्नासाथ म तर्सन्छु। सानोमा कक्षा हापेर ऐसलु खान जाँदा गुरुले सजाय भन्दै सबैको अगाडि आठ लौरा हानेपछि सजाएले मेरो सातो लिएको छ। भो भो मलाई लोकसेवा पनि चाहिएन।
अलि बिकसित देशतिर हानिन पाए बरु मज्जा हुन्थ्यो कि ! मान्यता पनि बढी हुने र नया देश र परिवेशमा रम्न पनि पाइने, पढाइ र पैसा दुवै हुने ! हो,,,, मलाई वैदेशिक यात्राको चाहना तिव्र खहरे भेलजस्तै उर्लेर आउन थाल्यो। बढ्दो महंगी र बेरोजगारीका कारण लाखौँ युवा विदेशिन बाद्य छन् म पनि त्यै हुल भित्र पर्छु। तर विदेश जान पनि कहाँ सजिलो छ र आठ दश लाख नभै नहुने त्यसमाथि भाषागत कठिनाइहरु ~ अर्काको भाषा नसिकी नहुने । आ ,,, जे भए नि विदेशको मान्यता तिव्र छदै छ। म गाउकै जिम्माल बाका छोराहरु सम्झन्छु। रमेश अमेरिका नरेश जापान। कति सत्कार भएथ्यो पोहोर रमेश दाइ पाँच बर्षपछि नेपाल आउदा । मलाई पनि कस्तो भित्रैबाट अमेरिका जाने इच्छा जागेको थ्यो।
ममा अचानक जननी जन्मभूमिस्च,,,,, को भावना जाग्रित भो र बुवाको पनि मैले देशमै क्यै गरेको हेर्ने चाहना पनि सम्झेँ। विदेश हानिदैमा राम्रो नै हुन्छ भन्ने पनि त छैन। कति अलपत्र परेका छन्, कति अठारघन्टा काम गर्न बाद्य छन् । अन्तत: मरुभुमीको खेती भएको छ कतिका लागि विदेश। मलाई विदेशिने मन एकाएक त्यहाँ हुने पीडा र दुर्ब्यबहार सम्झिदा।
गोर्खापल्टनमा भर्ती भैयो भने जिन्दगानि बिन्दास हुन्छ। चिन्तामुक्त जिवन, रमाइलो पल्टन,,,,,, मेरो सोचाई त्यतातर्फ मोडियो। म इण्डियन आर्मी भै तीन चार बर्षमा दुई महिनाको लागि नेपाल आएको कल्पना गरेँ ~ कति मज्जा खायो बस्यो, पल्टनमै ज्यान बनायो यस्तै यस्तै,,,,,, एकाएक सोचाइको क्रममा मैले विश्वमा बढ्दै गैरहेको हत्याहिंसा, युद्ध र आतङ्क सम्झिएँ, म्रित्युलाई अंगिकार गरेर बिदेशी सेनामा भर्तीहुने आँट ममा भएन । सुन्दैमा पनि ज्यान सिरिङ्ग हुने क्रूर युद्ध तथा हिंसाहरु मैले पढेको र टिभिमा देखेको छु। खुकुरीको धारमाथि यात्रा गर्ने शाहस ममा भएन। एक दुई युद्धबन्दीको कथा सम्झनासाथ मन थर्र भो , यसभन्दा बढ्ता मैले सोच्न सकिन।
'राजनीति' अचानक विचार फुरिहाल्यो। थुप्रो सम्मान पनि हुने , देश विदेश घुम्न नि टन्न पाइने, धनसम्पति आफै फल्ने सर्वोत्तम उपाय नै मलाई राजनीति लाग्यो। राजनीतिमै पाइला चाल्नु पर्‍यो, भाषण गर्न त आइहाल्छ। मन्त्री भैएछ भने कुलकै उत्थान हुने नत्र पनि आफ्नो त उत्थान हुने सुनिस्चित देखेर मलाई राजनीतिज्ञ हुने इच्छा बढ्यो। हत्तेरी, सधैको अस्थिरताको कारण भोको देशको बिमारी राजनीति : देशकै यस्तो हविगत भएको छ। मलाई झुठ र षड्यन्त्रको विवेकहीन राजनीति पनि चाहिएन !! प्लेटोको आदर्श राज्य र दार्शनिक शासकको परिकल्पना म गहन रुपले सोच्न पुगेँ। अविस्वास र बदलायुक्त नया संसारमा त्यो पनि सम्भव छैन भन्ने लाग्यो। असंभव कुराबारे धेरैबेर सोच्नु पनि त फाइदायुक्त भएन। मनमा अरु कुनै नया बिचार आउन सकेन। धत् म लम्फु, आखिर गर्ने के त ?? म मानव भएर पनि केही गर्न नसक्नु त जिउदो लास बन्नु नै हो। आदिकविले त्यसै मजस्ताको लागि लेखेका होइनन् "ज्युदै मर्‍याको भनी नाउ कसको ? उद्यमबिना बित्दछ काल जस्को ।। " न विदेश जाने आँट न त देशकै माटो ख्याउन सक्ने आँट । मलाई मेरो जन्म नै ब्यर्थ र संसार खोक्रो भएजस्तो लाग्यो। के का लागि म काम गर्ने त ?? म कामको अस्तित्व खोज्न थालेँ। आखिर मेरो सजीवताको निम्ति नै केही गर्नुपर्ने बाद्यता रहेछ। नत्र त म निर्जीव भैहालेँ। म मानव हुनुमा केही अस्तित्व पक्कै छ। अस्तित्वहीन हुनका लागि मेरो जन्म पक्कै होइन। अल्बर्ट कामुको अस्तित्ववादबाट म हर्दम प्रभावित मान्छे, "मिथ अफ शिसिपस" मेरो अत्यन्तै मन परेको लेख। आत्महत्या जीवनको समाधान हुदै होइन बरु अन्य अस्तित्वको निम्ति समेत भार हो। संसारमा कति मान्छेहरु आफ्नो अस्तित्व बचाउको लागि मरिरहेका छन्, मचाही भएकै अस्तित्व पनि विनास गरी मर्न खोज्नु पक्कै पनि मेरो मुर्खताशिवाय केही होइन। अस्तित्व सबै प्राणीहरुको छ। म पनि आखिर मेरो अस्तित्वको खातिर चिन्तित भैरहेकोछु। सोचाई हुने सम्पूर्ण प्राणीहरु अस्तित्वको निम्ति चिन्तित हुदा हुन्। सबैको अस्तित्व यौटै हुन नसकेकोले नै बर्गीयता, साम्राज्यवाद रसामाजिक असमानताहरुको उत्पत्ति भएको होला ! अस्तित्व रक्षाको निम्ति के गर्ने भन्ने चाही बिमारी अवस्थामा धेरै सोच्न सकिन।

कलंकी, काठमाण्डौ २०६५ माघ २२ गते