Saturday, January 24, 2015

बितेको जवानी

बितेको जवानी ( उपजाती छन्द )
यो लाज मात्रै किन मान्दछौ हे,
ब्यर्थै तिमी लाज नमान जैले ।
टाढा हुँदै छौ नमानी नमानी,
फर्कन्न कान्छी बितेको जवानी ।१।

संगै घुमेको वन खेतबारी,
कान्ला र बेशी नदी वारिपारी ।
सानो म थेँ थ्यौ तिमी सानिसानी,
फर्कन्न कान्छी बितेको जवानी ।२।



हर्लक्क बढ्दा अझ सुन्दरी भै,
फक्रक्क बेली र चमेली फूल्झै ।
यो बैस राम्रो सुनौलो बिहानी,
फर्कन्न कान्छी बितेको जवानी ।३।
मन्मा लुकेको छ अत्रिप्त प्यास,
छिप्दैन फूल्मा बढेको सुबाश ।
यो ज्यान तिम्रै तिमी मन्की रानी,
फर्कन्न कान्छी बितेको जवानी ।४।
खोलेर मन्का सब तिर्सना ती,
पूरा गरौँ आज हुँदैन भोली ।
के लाज मान्छौ सबै जानिजानी,
फर्कन्न कान्छी बितेको जवानी ।५।
आँखा नशापूर्ण छ ओठ् गुलाबी,
उन्माद छिट्टै भइहाल्छ हाबी ।
त्यो काख प्यारो मजाको सिरानी,
फर्कन्न कान्छी बितेको जवानी ।६।
मन्मा कुनै धुक्चुक राख्न हुन्न,
साँच्चै सिपालु तिमी प्रेम उन्न ।
खोला बगी जान्छ फिर्दैन पानी,
फर्कन्न कान्छी बितेको जवानी ।७।
आँखा जुधाई पर बस्न खोज्दा,
नाना थरिका डर त्रास  सोच्दा ।
आधा अपूरो भयो प्रेम् कहानी,
फर्कन्न कान्छी बितेको जवानी ।८।
आजै त हो जे मन लागि गर्ने,
आउन्न भोली नयाँ रंग भर्ने ।
यो ज्यान हाम्रो हुनेहो खरानी,
फर्कन्न कान्छी बितेको जवानी ।९।

२०७० फाल्गुन १४, सिन्धुली