Saturday, June 21, 2025

छन्द कविता : प्रेम

(छन्द : शार्दूलवीक्रीडित)

आँखा बन्द हुँदा तिमी हृदयमा आँखा उघार्दा तिमी ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा तिमी ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती  ।
चोखो चाह अमोघ भित्र मनको पीडा कतै छट्पटी ।। 

वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित सास धड्कनसँगै थिच्दो छ मानौँ भव ।
मायाप्रेम अचम्मको चिज बडो के गर्व के गौरव ।।

पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लेर आए ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल कुरै नखोल कहिले झर्केर आफैसित ।
"कालीको अवतारमा प्रिय सखी" प्रेमास्त्रले शोभित ।।
*****


घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
हाम्रो लक्ष नियाल्न खोज्छु नजिकै झन् दूर त्यो भाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
सानो प्यार प्रसूनतुल्य कलिलो फक्रन्छ कुन् शक्तिले ??
भै दृष्टान्त बुझाउँला जगतमा यैं प्रेमको भक्तिले ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहचरी पूरा गरौँला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द)

[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]


No comments:

Post a Comment