शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता।
वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।
शिक्षण र नेतृत्वको समर्पित यात्रा
शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्यार्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।
२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।
सधैंको साथ, सहयोग र सद्भाव
यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्यो।
विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।
नयाँ यात्राको प्रारम्भ
छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।
शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।
बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात
आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।
म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।
अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।
शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !
– विकाश चन्द्र खरेल
पूर्व प्रधानाध्यापक,
श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी
हाल: श्री आदर्श मा वि, दिगाम
वि. सं. २०८२ जेठ ३१ शनिबार
No comments:
Post a Comment