Monday, May 4, 2020

अनुभुति शहरमा

( छन्द : शिखरिणी)

भुली प्यारो माटो शहर बिचमै अल्मल परेँ,
सधै खोक्रो आडम्बर रिस र पापी मन गरेँ !!
उछिन्ने धन्धामा झन - झन पछाडी परिरहेँ,
सके खुट्टा तान्ने प्रवृतिहरुमा चै अघि भएँ !!

जता हेर्‍यो पैसा नजर नजिकै नाच्दछ सधै,
समात्ने चाहाले हृदयहिन हुँदैछु म अझै !
म फोहोरी खाल्डो छिचलन नसक्ने अब भएँ
अरे आफ्ना छाडी परपर म एक्लै हुन गएँ !!



हरे बिग्र्यो भन्दै दुख पिर र चिन्ता लिई कठै,
म जन्मेको माटो हरदिन सराप्दै छ कि कतै !!
सबै बिर्सेँ संस्कार चलन थिए कर्म कुलका,
पिछा गर्दै हिंड्दा विकृत विष विभ्रान्त हुलका !!

अध्यारोमा बज्रेँ शहर झलमल्लै त छ तर ,
न सन्तुष्टी पाएँ अनुभव कहाँ सुन्दर छ र !!
म बाटो बिर्सेको पथिकसरि दिग्भ्रमित भएँ ,
निकै टाढा लम्क्यो समय म सधै अन्तिम रहेँ !!

मलाई त्यो गाउँ  रुख चउर पाखा वनहरु,
सधै सम्झिदा हुन् वरपर चिनेका जनहरु !!
कसो गर्ने निद्रा पनि सहज लाग्दैन किन हो ,
म तड्पेको तड्प्यै हरपल खुशी भो शहर यो !!


टि. यु. जङ्गल, किर्तिपुर २०६७