Friday, December 30, 2022

प्रेमी खुशी छन् जता

तारा झिल्मिल छन् सफा गगनमा मुस्काउँछे चन्द्रमा ।
हावा सिर्सिर मन्दमन्द गतिको मस्ती भरी प्रेममा ।।
छैनन् स्वार्थ घमण्ड द्वेष मनमा आत्मीय सामीप्यता ।
साँच्चै प्रेमिल बन्छ मौसम अहा प्रेमी खुशी छन् जता ।।



फक्रिन्छन् जब पुष्प प्रेम रुपमा वासन्ती संवेग भै ।
बन्छन् भैरव-भैरवी प्रणयका संकोच बिर्साउँदै ।।
चढ्दा यौवन पत्र नालहरुमा आधार खोज्दी लता ।
मायाले वन-वाटिका बनिदिने प्रेमी खुशी छन् जता ।।


फक्रेको नवपालुवा भ्रमरले चुम्दै गरेको पल ।
हाँस्दै प्रेम भरेर पुष्प तरुले फैलाउँछिन् आँचल ।।
यो माया रसिलो छ बैँस कसिलो खोजेर पाऊँ कता ?
साँची राख्न सकून् सधै जतनले प्रेमी खुशी छन् जता ।।





रारा ताल मुगु- २०७३ मंशिर 

No comments:

Post a Comment