Wednesday, June 12, 2013

गजल



कहिलै दाउ नपरेको जुवा जिन्दगानी
खडेरिले पिल्सिएको कुवा जिन्दगानी !
बतासले जता लग्यो उतै बहकिने
लक्षहीन सिमलको भुवा जिन्दगानी !
मन्दविष तड्पाएर लत लगाउने
तिमी अनी चुरोटको धुवा जिन्दगानी !
मलजल परिश्रम सब ब्यर्थ जाने
मरुभुमी निर्झर बालुवा जिन्दगानी !
बाँच्नलाई खान नभै खान बाँचेको म
दिक्कै लाग्छ उफ्फ भतुवा जिन्दगानी !

२०६९-१०-२१, नारायणहिटि काठमाण्डौ  


Saturday, March 9, 2013

गजल



भड्खालोमा देश मेरो परेजस्तो लाग्छ ।
आत्मीयता नेपालीको मरेजस्तो लाग्छ ।
सल्बलायो अस्थिरता आफ्नोपना छैन ,
माटो रोयो अश्रुधारा झरेजस्तो लाग्छ ।
मात्रीभूमी शोकमग्न टुलुटुलु हेर्नु,
निरिह छु गल्ती यहाँ गरेजस्तो लाग्छ ।
स्वार्थी दुष्ट पिशाचले सबै भड्काएर ,
शत्रुताको बिष बिउ छरेजस्तो लाग्छ ।
जर्जरता वैरभाव कतिन्जेल टिक्ला ,
नेपालीको मन्मा भ्रम भरेजस्तो लाग्छ ।  

२०६९-जेष्ठ ७ लाजिम्पाट काठमाण्डौ


Friday, February 1, 2013

गजल


अंगालिएको जुनेली रात भुल्यौ कि साँच्चै भुले झै गरेकी ! 
प्रेम नशाको बेहोशी मात भुल्यौ कि साँच्चै भुले झै गरेकी !! 
कुरै कुरामा बिताएर रात नछुटोस भन्दै प्यारो यो साथ ,
आँशूमय साह्रै भाथ्यो प्रभात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
खस्दै गरेका तारा देखाई दुई मुटुभित्र नाम लेखाई , 
थामिरहन्छु भन्ने यो हात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
संगै भिजेथ्यौँ झरी बर्षिदामा मुटुमा छ भन्थ्यौ मेरै नाम , 
“मर्छु म राजा तिमी बिना त” भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
हैन नि काली घात गरेको, थिएँ म बाद्यतामा परेको , 
टाढा हुँदैमा बर्ष छ सात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!


Thursday, January 31, 2013

दाइ



 सल्लाघारीको वनमाथि मन्दिरहरु र वनभन्दा केही तल हाम्रो सानो गाँऊ ~ साँच्चै  स्वर्गजस्तो । गाँउको पुछारमा हाम्रो घर , घरमा म र मेरी आमा । दिदीको चाही पोहोरै विवाह भईसकेको थियो। अहिलेको तिजमा आउनुहुन्छ रे , आमाले भन्नुहुन्छ । शहरभ्न्दा नि,,,कै पर हाम्रो गाँउ । म पनि गाँउकै स्कुलबाट +२ पास भएँ । आमाले मलाई निकै दु:ख सहेर र मेरोलागी कती दिनसम्म भोकै बसेर कतिका मेलापात गरेर पढाउनु भएको हो ।
मैले अहिले पनि सम्झन्छु, म तीन कक्षामा पढ्दा एकपटक आमासंग सोधेको थिएँ- " हामी किन जम्मा तीनजना मात्र छौँ ,रामे साने शिवे अरु सबैकोमा त कती धेरै जना छन । तिनीहरुकोमा त दाइ र बा पनि छन , हाम्रोमा चै किन छैनन् " त्यतिबेला दिदी घाँस काट्न जानु भएकोले घरमा आमा र म मात्र थियौँ । मेरो अबोध प्रश्नले आमाले केही उदास स्वरमा भन्नु भएको थियो- "तेरो दाइ तँभन्दा दश बर्ष जेठो थ्यो , तँ दुई बर्षको  हुँदा बा र दाइ शहर पसेका थिए बाले कमाउने र दाइले उतै पढ्ने भनेर , छ बर्ष भो तिनीहरुको केही खबर आको छैन न त फर्केर नै आए । यती भन्दै आमाले एउटा पूरै  परिवारको फोटो  देखाउदै बा र दाइलाई , म आमाको काखमा थिएँ । मलाई फोटो देखाइदिदा आमाको आँखामा आँशु टल्पलाइरहेका थिए । आमाको आँखामा आँशु हेर्न  नसकी मैले अन्तैतिर हेरेथेँ ।
मैले आज फेरी त्यै दिन सम्झेँ , खै किन आँखा रसाए मन भारी भयो ।
एक हप्ताअघि मैले आमासंग अब शहर गएर काम खोज्ने  र प्रसस्त पैसा पठाउने कुराको सल्लाह गरेथेँ । आमाले मलिन स्वरमा भन्नु भएको थियो- " त तेरो भाग्यले अगाडि पढ्न पाइनस, राम्रो काम पाए त ठिकै पनि हो ।" आमाले कस्तो कामलाई राम्रो काम भन्नु भएको हो (गर्नलाई सजिलो वा पैसा बढी हुने)मलाई थाहा भएन तर शहर जाने स्विक्रिती दिनुभयो ।
केही पैसा जम्मा गरी म पर्सीपल्ट शहर जाने भएँ । आमाले मेलापात गरेर नै भएपनी मेरो लागि बाटोखर्च पुर्याइदिनुभयो ।
जानेबेलामा मैले भने-"आमा चिन्ता नगरी बस्नुहोला । मैले काम पाउनासाथ फोन गरेर खबर पठाउला । " आमाले बाटोमा नास्ताको लागि मकैको रोटी र गुन्द्रुकको अचारसंगै केही पैसा समेतको एउटा झोला दिनुभयो । मैले भने-" आमा पैसाको दु:ख परे त्यो कालो बाख्रो बेचिदिनुहोला, तपाईलाई नि सजिलो हुन्छ । " आमालाई ढोगी म गाँउघर वनपाखा सबैलाई छोडी शहरतिर लागेँ । आमाले आफू एक्लै बसेर सारा दु:ख सहेर पनि मलाई शहर पठाउनु भयो । म जिन्दगीकै पहिलोपल्ट शहर आएँ ।
अनौठो शहर , ठूला ठूला घरहरु , रमझम र गाडीहरु देखेर म साह्रै दंग भएथेँ । संयोगवश त्यसैदिन एउटा होटलमा वेटरको काम पाएँ । तलब पनि ठिकै हुने र काम पनि सजिलै थियो । मैले भोलिपल्ट नै फोनबाट गाँउमा खबर पठाएँ । त्यो होटल सामान्य नास्ताघर मात्रा नभै भट्टिपसल समेटा भएको कुरा त्यहाँ काम गर्दै जाँदा थाहा भयो । त्यो होटलमा दैनिक दश बाह्र जना जँड्याहा पनि आउने गर्दा रहेछन । तिनीहरु सबै उस्तै र उत्रै देखिन्थे । सबैको उमेर करिब पच्चिस तीस बर्षको हाराहारीमा देखिन्थ्यो । मैले जँड्याहातिर खासै ध्यान दीइन, जँड्याहातिर पनि के चासो दिइरहनु र !!
म शहर आएको पनि लगभग दुई महिना भैसकेछ । दिन कती छिटो बितेको, अब त म शहरसंग पनि राम्रै परिचित भएँ । होटलभित्र काम गर्ने केटाहरुसंग पनि राम्रो परिचय बन्यो । घरिघरि आमाको याद र घरको चिन्ताले सताउथ्यो । एकदिन गाउबाट रमेश दाइ शहर आउनुभएको देखी उहाँसंगै  आमालाई केही पैसा पठाइदिएँ, अनी गाँउका सबैलाई मेरो सम्झना पनि पठाएँ ।  कामको खासै चाप नभएको दिनमा म ढोकामा उभिएर सडकतिर हेर्दै थिएँ, अचानक मेरो आँखा एउटी बीस बाइस बर्षे युवतीमाथि परे, जो एक जना उस्कै उमेरकोजस्तो देखिने युवकसंग मस्तिसाथ हिडिरहेकी थिई । मैले कता कता त्यो युवतीलाई चिनेझै लाग्यो । निकै बेर गमेर सोचेपछि सम्झिएँ त्यो त गाउकै मैयानानी त हो जो चार पाँच बर्षअघी गाउबाट हराई भन्ने हल्ला चलेको थियो । मैले फेरी निकै पर परसम्म हेरेँ तर उशको कुनै पत्तो थिएन । आँखा वरिपरी आमाको चित्र देखेजस्तै लाग्यो र हिंड्नेबेला बा र दाइ जस्तै नहराउनु दिदी पनि पराई भै, तँ बाहेक त अब अरु को छ र भनेको पनि सम्झेँ । शायद आमा बिमारई पो हुनु भो कि !!
दिनहरु क्रमश बित्दै गए,म शहर आएको पनि आठ महिना बितिसकेछ, आउने महिना त  दशैँ छ,दशैँमा घर जानको लागि पैसा अत्यन्त जोगाएर राखेको छु । आमालाई र दिदीलाई पनि त केही कपडा लगिदिनु छ ।
एकदिन होटलको कामले म तरकारी बजार जाँदै थिएँ केही पर मान्छेहरुको भिडभाड देखेँ । निकै हल्लाखल्ला भएकोले कुरा बुझ्न भनी म पनि त्यतै लागेँ ।
ओहो हाम्रो होटलका एक जँड्याहा ग्राहकलाई सबैले लात्तीले हान्दै र थुक्दै थिए । एउटा भद्र मानिसले भने-" यस्ता चोरलाई त्यहाँ लाउनै पर्छ । " उसको खुट्टामा चोट लागेको रहेछ , रगत बग्दै थियो । कसैले अझै हान्दै थिए । मैले कुरा बुझेँ एक महाजनको पैसा चोर्न खोज्दा रंगेहात उनी पक्रिएछन ।
त्यस घटनाको लगभग एक सातापछि पुन: उक्त जँड्याहा र अन्य तीनजना उसका साथी हाम्रो होटलमा आई दुई बोतल रक्सी र तीनओटा गिलास मागी रक्सी खाँदै गफ गर्न थाले । म उनिहरुको चाला हेर्दै थिएँ । रक्सीकै तालमा उसले आफू पिटिएको र झन्डै प्रहरीखोरमा नथुनिएको कुरा दोहोर्‍यायो । अरुले पनि आ आफ्ना घटना सुनाउन थाले ।
कुरैकुरामा रक्सी थपेर एकजनाले सोध्यो- "ओ भक्ते, दशैँमा घर जान्नस कि क्या हो ?"
भक्ते भन्ने ले उत्तर दियो- "क्यार्न घर जाने हँ, बा परारै यैँ मरे , घरमा आमा बैनी र भाइ थे, तिनीहरु नि उतै मरेहोलान् । पन्ध्र बर्ष भो म घर नगएको , कस्का लागि जाने हँ ! मेरो को छ र , दशैँ न सशैँ म त राष्ट्रिय जँड्या , ठुलो चोर हा हा हा हा हा हा ,,,,,,,, उसले रक्सीकै तालमा उत्तर दियो ।
म झसंग भएँ दिदीले आफ्नो बिहेको अघिल्लो भनेको कुरा पनि सम्झेँ "आमा भक्त दाइ र बा पनि भएको भए कती जाती हुन्थ्यो होला !!"
मेरो मनमा दाइको (जँड्याहाको) कुराको ठुलो डेरा जमायो -" बा परारै यै मरे ,,,, तिनीहरु नि उतै मरे होलान् । मेरो को छ र?,,, म त राष्ट्रिय जँड्या ,,,,"
मैले एकपटक त्यो जँड्याहालाई हेरेँ । मैले एकै पटकमा आमा दिदी र जँड्याहालाई सम्झेँ र त्यही ठुलो स्वरले चिच्याउन मन लाग्यो । "आमा! मैले दाइलाई भेटाएँ ई हेर्नु त !!"
मैले आँफैलाई सम्हाल्न सकिन , मानौ म खुशीले  पागल भएछु ।

२०६३-०३-२७ बलेटक्सार गुल्मी


Saturday, January 5, 2013

गजल


गजल

सुरताल नमिलेको गीत भाछ जिन्दगी यो ।
आफ्नो हानी अरुलाई हित भाछ जिन्दगी यो ।
दुबोमाथि बिहानीमा मोती बनी शोभा दिने,
सूर्य रस्मी चर्कदाको शित भाछ जिन्दगी यो ।
सधैं हार पराजय धोकामा नै रम्न थालेँ,
अर्को एउटा हारमा नि जित भाछ जिन्दगी यो ।



मरेर नै बाँचेको म मर्न डर छैन तर,
बँचिने पो हो कि भयभीत भाछ जिन्दगी यो ।
मुटुभित्र पीडाहरु दन्किदा नि हाँसेको छु,
देखावटी संसारको रित भाछ जिन्दगी यो ।
नयाँ भन्नु छैन केही उस्तै दिन सधैंभरी,
बर्तमानभित्र नै अतीत भाछ जिन्दगी यो ।


३ कार्तिक २०६६, कलंकी काठमाण्डौ