Tuesday, June 3, 2014

किचकन्या ( कथा)


कथा (किचकन्या)

राम्रो त म यसै पनि थिइन नै,त्यसमाथि झुस्स बढेको दारी र जिंग्रिङ्ग परेको कपालले कुनै दन्ते कथाको भुतभन्दा कम थिइन। धारामै पानी आउने भएपनि अल्छिले गर्दा ननुहाएको पनि थुप्रै दिन भैसकेको थियो, कपडाहरु नधोएको त कति भएको थियो म आफैलाई राम्रोसंग थाहा थिएन। तीनचार महिना गाँउ र छसात महिना शहरमा बस्ने मेरो स्वभावको कारण शहरको डेराका कपडाहरु वर्षको दुईतीनचोटि मात्रै धोइन्थे त्यै पनि ड्राइक्लिनर्सकोमा। म गाउँबाट शहर फर्कदा आफ्नो कोठा र कपडा सधै चिटिक्क होउन् भन्ने चाहन्थेँ,तर कहिलै त्यसो भएन। म शहर आउँदा कोठा व्यवस्थित गर्न पूरा एकदिन लाग्थ्यो र बिस्तारै घर फर्कने बेलासम्म पुन: भद्रगोल भइसक्थ्यो। कोठा व्यवस्थित गरेको दिन मलाई निकै आनन्द लाग्थ्यो आफैसंग। दिनभरको कपडा धुवाइ एवं सरसफाइले शरीर थकित हुन्थ्यो अनि सफा कोठामा मज्जाको निद्रा लाग्थ्यो - कलेजको नोट र थेसिस सार्न बाँकि नै रहन्थ्यो।

एकपटक सबै काम सकाएपछि डेरा नजिकैको चउरमा बसेर म चुरोट तान्दै विभिन्न तर्कना मनमा खेलाउदै थिएँ, साँझपख भएकोले बाटोमा मान्छेको चाप पटक्कै थिएन। छिटफुट एकदुई जना हिडिरहेका थिए। चुरोट तानेर आधाआधी पुराएको थिएँ,मेरो दृष्टि बाटोको पल्लोछेउबाट मतर्फ आइरहेकि अति राम्री नवयौवना स्त्रीमाथि पुग्यो। मबाट केही गजको मात्र दुरिमा ऊ आउदै थिई। उसका चम्किरहेका आँखाले  अब चुरोट सधैको लागि मिल्काइदेउ भनिरहेको आभाष पाएँ। यद्यपि मैले थप एकसर्को लामो ताने। ऊ मेरो थप नजिक आई, उसको हिडाइमा मैले त्यति सहजता देखिन। उसले दाँया खुट्टो केही खोच्याइरहेकि थिई। हल्का सेतो पहिरनमा उसको चेहेरा निकै खुलेको थियो मानौ ऊ बेहुली हो ।
खोच्याउदै ऊ मेरो नजिकै आई, मैले वास्ता नगरेझैं गरी दृष्टि अर्कैतिर मोडेँ। ऊ मेरो अगाडि उभिएर मेरो हातबाट चुरोट खोसेर भनी "म कतिचोटि भनौ चुरोट नपिनु भनेर?" उसको आँखामा आँसु छचल्किएको थियो। मैले भईतिर हेरेर जवाफ दिएँ "मैले आफ्नैलागि चुरोट पिन्छु त तिमीलाई के असर गर्यो, आफ्नो बाटो नहिडेर किन चिन्नु न जान्नुको मान्छेसङ्ग झगडा गर्न आएकि !" "चिन्नु न जान्नुको मान्छे रे !" झर्केर उसले थपी "मेरो आँखामा हेरेर भन त चिन्नु न जान्नुको मान्छे !" विवश भएर मैले उसको आँखामा हेरेँ। उसको अनुहार केही परिचित लाग्यो, जति हेर्यो त्यति नै परिचित लाग्यो तर मैले ठ्याक्कै चिन्नभने सकिन। "खै मैले त राम्ररी चिनिन" भन्न मात्रै खोजेको थिएँ उसको खुट्टाबाट रगतको भेल बग्दै गरेको अचानक देखेपछि म बेसरि झस्किएँ 'हत्तेरि के भो त्यो' जोडले उसको खुट्टो छोपिदिन लागेको अवस्थामा मेरो निद्रा खुल्यो त्यहाँ ऊ थिइन, मेरो शरीर थर्र काँपिरहेको थियो। नजिकैको बोतलबाट पानी खाइसकेपछि बल्ल शरीरको कम्पन केही कम भयो। अलि होशमा वरिपरि नियालेँ, हिजैमात्र राम्ररी सफा गरेको शहरको डेरामा म थिएँ। आज फेरिपनि त्यही सपनाले झस्कायो। त्यो अनुहार निकै परिचित भएर पनि मैले ठम्याउन सकिन। झण्डै तीनवर्ष अघि यो घरमा डेरा सरेपछि यै खाले सपना मैले धेरैचोटि देखेँ। सपनाको कुरा अरुलाई के बताइरहनु भनेर अहिलेसम्म यसबारे म चुप थिएँ।
एकाबिहानै धारामा पानी आयो भनेर घरवेटी अन्टीले ढोका ढक्ढकाइन्, त्यै बेलामा अन्टीलाई ढोकामै पर्खाएर त्यो सपना सबै सुनाएँ। मेरो कुरा पूरा नहुदै अन्टीका आँखा टिलपिलाउन थाले र तप्पै आँसु चुहाइन् । "बाबु!" अन्टीको स्वर कारुणिक भयो- "मुटुको घाउ मैले बिर्सदै थिएँ, आज फेरि तपाईले उक्काइदिनु भयो। मेरी छोरी थिई सपना, गाँउमै बा आमासङ्ग बसेर SLC सकाएपछि ऊ यही पढ्न आई र बाह्रमा पढ्दैगर्दा एकदिन गाडिले हानेर…………….. अन्टी मन थाम्न नसकेर धर्धरी रोइन्।
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!>>>>>>>>>>>>>>>>>>>!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
सपना….!  हामी एउटै कक्षामा पढ्थ्यौँ। ऊ पल्लो गाँउबाट आउथी। प्राय: अगाडिको बेन्चमा बस्ने ऊ र पुछारमा बस्ने मविच कमै मात्र बोलचाल हुन्थ्यो। स्कुलबाट फर्कदा पनि बाटो फरक दिशामा पर्थ्यो। कक्षा दशको अर्धवार्षिक परीक्षा सकिने दिन उसले मलाई भनी-"पछि पनि हामी एउटै प्लस टु पढौँ है।" "भैहाल्छ नि" मैले भनेको थिएँ "म एता पल्लो गाँउको नया खुलेको प्लस टु पढ्छु तिमी नि त्यै एडमिट गरन।" "नाइनाइ…" उसले भनी "मेरो मम्मीबाबा काठमाण्डौमै हुनुहुन्छ,हाम्रो घर नि उतै छ,शहरमा पढाइ पनि त राम्रो हुन्छ आफूले भनेकै विषय पढ्न पाइन्छ।" उसको कुरा विचैमा काटेर म बोलेँ "तिम्रो पो सबै उता हुनुहुन्छ र! मेरो त उता कोही नि हुनुहुन्न म यै पढ्छु।"
SLC को नतिजापछि पास भएका साथीहरु आफ्नो रोजाइका विषयहरु पढ्न थालिहाले। कतिपय साथी त शहरतिर पनि लागे। पल्लो गाँउमै पढ्ने हामीहरु पनि एक दर्जन बढी नै थियौँ। क्याम्पसमा थप नयाँ साथीहरुको भेटघाटले कतिपय पुराना साथीहरुको सम्झना विस्तारै कम हुदै गयो।
एक महिना जतिपछि मैले सपनाको चिठी पाएँ,चिठीभन्दा प्रेमपत्र बढी थियो त्यो। उसलेलेखेकि थिई--"संगै पढ्दा कहिलै मन खोलेर भन्न सकिन, शहर आएपछि तिम्रो याद र गाँउको सम्झनाले टोलाइरहने भएकि छु। कक्षामा पनि एक्ली हुन्छु कसैसंग पनि मिल्न सक्दिन। गाँउ फर्कौँभने नि अब त पढाइ आधाआधी भैसक्यो। म तिमीलाई कति चहान्छु- कसरि बताउँ ।। मेरो यो घरको नम्बरमा एकपटक जसरि पनि फोन गर न प्लिज………………… !!"
त्यतिबेला हातहातमा मोबाइल थिएन। गाँउको पिसिओबाट सबैले सुन्ने गरी केटीलाई फोन गर्न मलाई लाज लाग्यो। त्यो गाबिस भरिको एकमात्र पिसिओमा सधैजसो फोन गर्नेको भिडैभिड हुन्थ्यो। मैले उसको कलेजको ठेगानामा एउटा रजिष्ट्री चिठी पठाएँ। म अलि मुर्ख स्वभावको हुनाले उसको प्रेमलाई बुझ्न सकिन। म केटीहरुसंग असाध्यै लजाउथेँ, अरु कसैले हेरेको छभने बोल्दापनि निकै धक लाग्थ्यो।
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!>>>>>>>>>>>>>>>>>>>!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ओहो! आठ वर्ष बितिसकेछ, यो अवधीमा म निकै फेरिएछु। अलि बिग्रिएँ पनि साथीहरुको संगतले। जिल्ला सदरमुकामको क्याम्पसबाट ब्याचलर सकाएर डिग्री पढ्न राजधानी छिरेको पनि तीन वर्ष पुगिसकेछ। पल्लो गाँउतिरका घरबेटी भनेर म त्यो घरमा कोठा सरेको थिएँ र मलाई पूर्णत: घरकै आभाष मिल्थ्यो। त्यसैले पनि म घरमाजस्तै अल्छी थिएँ। हरेक दिनजसो अन्टीले मेरोलागि समेत तरकारी पकाएर राख्दिन्थिन्। यो तीन वर्षमा सपनाको कुनै पनि नाम निशान मैले त्यो घरमा देखिन- एउटा फोटोसम्म पनि।
"बाबु…." अन्टीको बोलिले म झस्किएँ। अन्टी आँखा पुछ्दै लटपटिएको बोलीमा ढोकाबाट बाहिरिइन् "त्यो दिन सपना पनि सेतो कुर्तासुरवाल लाएर निस्केकि थी घरबाट, पापी दैवले फर्कन दिएन घर नजिकै आएर बाटो काट्दा एक्सिडेन्ट भो। आजबाट तपाईले नयाँ कोठा खोज्नु है यो घरमा नबस्नु ।।।


१२ जेठ २०६९ लाजिम्पाट, काठमाण्डौ


Friday, April 25, 2014

प्रेम कहानी

BY Arun Gnawali

प्रेम कहानी ( शिखरिणी)
 

कहाँ पोखौँ मैले असफल कथा यो पिरतीको
मलाई दिन् रातै अति जलन पार्ने प्रियसीको
बनाउँला भन्थेँ शरद रितुको प्रेम अमर
तिमी बाटो मोड्यौ रहर बनिगो आज रहर ।१।

थियो कालो लामो चमक भरिलो केश शिरमा
सिधै घायल्  पार्थे नयन म्रिगकाझैँ ति दिनमा
  पागल्  हुन्थेँ  हौ जब जब तिमी चुल्बुल गरी
लगाउँथ्यौ  आँखा तिर परबाटै  घरिघरी

तिमीले हाँस्दामा जगत सबयो उज्वल भयो
तिमीले रुँदामा कुटुकुटु भयो मन् जलन भो
प्रिये मेरो आफ्नो सुख दु: भनेकै सब थियौ
पो साट्थेँ पीडा अब मकन एक्लो गरिदियौ ।३।       

तिमी जून्झैँ लाग्थ्यौ  मन शितल पार्ने गरममा
तिमी धुन्झैँ लाग्थ्यौ अति मधुर बोली बचनमा
तिमी फूल्झैँ लाग्थ्यौ  मगमग भरिन्थ्यौ पवनमा
तिमी मुल्झैँ लाग्थ्यौ बगर सरि यो जीवन महाँ ।४।

कमाउँला मैले अरब अरबौँ  सम्पति  अनी  
बनाउँला अग्लो घर शहरमा भै अति धनी 
बसौँला  दिन्  रातै हरबखत पैसा गनिगनी
सधैं केही केही अपुग रहने भो तरपनी ।५।

 कुनै दिन् भेट् हुँदा अपरिचित जस्तै बनिकन
नहिँडे है प्यारी अझ हृदय पोल्ने गरिकन
कता छौ खै काली हरबखत तिम्रै छु जपमा
परानै हौ मेरो पलपल बहन्छौ रगतमा ।६। 

चखेवाका जोडी जब समिपमा देख्दछु ता
तिनै दिन्को झल्को मनमगजमा फिर्दछ हा
सधैं पार्थ्यौ आँखा पिलपिल  जाँदा अलि पर
भएँ एक्लै भन्थ्यौ फिरफिर छिटो बेर नगर l 
( गराउँथ्यौ  फिर्ने  उहिपल  तिमी लौ   गरी कर ) ।७।

महीना माघै थ्यो समय अति ठन्डा वरपर 
पढाई सक्काई अब फिरुँ भन्दै सब घर
पुगेकाथ्यौँ हामी जब चउरमा त्यो बखतमा
तिमीलाई देखेँ उहिपल बसालेँ मगजमा ।८।

कुरेँ बोल्ने भन्दै बिसदिन कतै भेट् गरिकन
तिमी अन्तै अन्तै हरपल कुर्दै झनझन
बिते धेरै दिन् रात् छटपट भयो हर बखतमा
अहा मौका मिल्यो उहि चउरमा एक् समयमा ।९।

अती काँपे खुट्टा ढुकढुक भयो यो मुटु पनि
कसोरी बोल्ने हो प्रथम पलमा लौ अब भनी  
भनी जे जे होला सहज सँग बोलेँ उसदिन  
बिताउँला भन्दै जनम भरि माया गरिकन ।१०।

दिई यौटा रातो अति चमकिलो फूल अनी
तिमीलाई माया हरसमय गर्नेछु भनी
मनैमा गुम्सेका भनि सब कुरा गद्गद बनी
बिदा माँगे छिट्टै शुभ खबर पाउँ भनी ।११।

कुरेँ यौटा हप्ता समय अति लामो बनिदियो
चिठी पाएँ छिट्टै खबर भनेझैँ शुभ थियो
पुगे मेरा सारा रहरहरु भन्दै अब छिटो
कतै टाढा जाऔँ बसि गफ गरौँला अति मिठो ।१२।


तिमीनै आउँथ्यौ प्रतिदिन सुत्दा सपनिमा
उठे तिम्रै मायाँ  पलपल सताउने बिपनिमा
कती बेला देखौं भनि नयन यी ब्याकुल भए
यसै गर्दागर्दै दिन अनि महीना बितिगए ।। 
यसै गर्दागर्दै कति दिन हप्ता बितिगए १३l )

थिए डाँडा पाखा सकल हरिया भैकन सफा
ता ठन्डा तातो खुशि फिरि गए जीवहरुका
बिते गर्मी बर्षा शरदरितुको आगमन भो
यता धेरै लामो समयपछि हाम्रो मिलन भो ।१४।

कतै टाढा पुग्यौँ घर शहर छाडीकन दुवै  
(पुग्यौँ ज्यादै टाढा घर शहर छाडीकन दुवै)
छुँदै एक् अर्काका करकमल रोमान्चित हुँदै
चखेवा लाम्पुच्छ्रे मयुर पनि जोडी बनिकन
डुलेका देखिन्थे बहुत खुशि लाग्थ्यो मनमन ।l १५ ll

निकै राम्री जून् झैँ अझनयनमा गाजलु भरी
हरीयो कुर्तामा सजिइकन हाँस्दै घरिघरी
कुरा गर्दागर्दै जब चुनरि तान्थ्यौ तलतल
मलाई त्यो लाग्थ्यो जनम भरिकै सुन्दर पल ।l १६ ll    


तिमी जैले हेर्थ्यौ भुइँ तिर लजाई अलिकता
निकै थोरै बोल्थ्यौ उसपल नमानी सहजता  
दुई मान्छे यौटै मन मुटु भएथ्यो उसघडी  
नहोस् लाग्थ्यो राती बरु दिन बनोस यै अलिबढी ।l १७ ll


सधैं देख्दा लाग्थ्यो चिरिबिरि गरेकी चरि तिमी
कि ता स्वर्गै छाडीकन तल झरेकी परि तिमी
नझिम्काई आँखा गगनतल देखी सुर पनि
तिमीमै हेर्दा हुन् हरपल सबै पागल बनी ।l १८ ll 

निकै बढ्यो पैलो भ्रमणपछि माया दिनदिन
हुनै पर्थ्यो हाम्रो हरकिसिमले बात् छिनछिन
हराएका हुन्थ्यौँ मधुर सपनामा थरिथरी
सधैं राती रातीतक बसि मिठा बात् गरिगरी ।l १९ ll  

खनौँला खेत् बारी मिलिजुलि दुबैले दिनभरी
बसौँला रातीमा अतिमधुर मीठा गफ गरी
मकैको आटोमा दुधदहि घरैको अलिकति
मिलाई खाऊँला खुसिसित रहौँला हरघडि ।l २० ll     

मजाको चौपारी अनि समिपमा मन्दिर थियो
जहाँ यौटा राधा अनि किसनको तस्बिर थियो
गरुँ लाग्थ्यो माया युगयुग हजारौंँ युग भरी
गरेका थे राधा अनि किसन ले प्रेम जसरी ।l २१ ll


२०७१ बैशा