Wednesday, July 2, 2025

बुर्किनाफासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको प्रख्यात मन्तव्य

 BBC, CNN, France24 म तिमिहरुलाई हेरिरहेको छु। म तिमिहरुको सबै झुटहरु बताईरहेको छु। म ईब्राईहिम ट्राओरे, र म आज तिमिहरुको नकाव उतार्न लागिरहेको छु। 

हो, तिमिहरुले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमिहरुले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमिले खतरनाक तानाशाहका रुपमा ब्राण्डिङ गर्‍यौ। जसलाई तिमिहरुले  पश्चिमा जगतको बिरोधी शासकका रुपमा उभ्यायौ। 

म आज सत्य सुनाउन चाहन्छु, र यो पटक तिमिहरुले माईक बन्द गर्न सक्दैनौ। यो पटक तिमिहरुले क्यामेरा हटाउन सक्दैनौ। यो पटक तिमिहरुका सम्पादकले यो भासन काट्न सक्दैनन्।

किनभने अब त्यो संसार रहेन, जसमा तिमिहरुको एकाधिकार थियो। अब करोडौँ मानिसहरुले यो आवाज सुन्नेछन्। तिमिहरुको सम्पादनबाट गुज्रिएर होईन, तिमिहरुको झुटमा बेरिएर होइन, तिमिहरुको फोहरमा लत्पतिएर होईन। म ३४ बर्षको भएँ। मैले मेरो जिवनको हरेक दिन तिमिहरुको झुटमा बिताएको छु। बाल्यकालमा टिभिमा अफ्रिका देख्थेँ। सँधै त्यही तस्विरहरु : झिंगाले घेरिएका बच्चाहरु, खडेरिग्रस्त जमिन, हतियार, युद्ध, भोकमरी, मृत्यू। यहि अफ्रिका हो भनियो र त्यसैलाई बिस्वास गरेर बसियो। हामी लज्जित थियौँ आफैसंग, हामी आफ्नै भुमिप्रती लज्जित थियौँ, हामी आफ्नै नागरिक प्रती लज्जित थियौँ। तर म जब हुर्किएँ, पढेँ, रिसर्च गरेँ र प्रश्नहरु गर्न थालेँ तब मैले बुझेँ तिमिहरुले देखाएको अफ्रिका सत्य थिएन, तिमिहरुले कथा बनाएर सुनाएको कुरा झुट थियो। बर्षौँसम्म तिमिहरुले आफ्नै स्क्रीप्ट बनाएर अफ्रिकालाई कुरुप देखायौ। हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ। तिम्रो अफ्रिकाको शब्दकोषमा कुनै आशा छैन, कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन, कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन न त कुनै बिजयको ईतिहास नै। त्यसैले म सोध्न चाहन्छु, न्युयोर्क टाईम्स, वाशिङ्टन पोस्ट, गार्जियन तिमिहरुले कहिल्यै अफ्रिकाको सफलतालाई आफ्नो हेडलाईन बनायौ? अफ्रिकाको प्रविधिका बारे कति पटक लेख्यौ? ईथियोपियाको रिफरेस्टेशनका बारे कति पटक देखायौ?

यो शक्तिशाली भासण हो अफ्रिकी मुलुक बुर्किना फासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको । उनलाई यतिखेर सिंगो अफ्रिकी महादिपका लागि उदियमान लिडरका रुपमा चित्रीत गर्ने गरिएको छ भने पश्चिमी बिश्वले उनलाई सबैभन्दा ठूलो खतरा मानिरहेको छ। 

बुर्किना फासो सन १८९६ बाट सन् १९६० सम्म फ्रान्सको उपनिबेश रह्यो। सन् १९६० मा औपचारिकता स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सले आफ्नो हस्तक्षेप कहिल्यै हटाएन। देशको अर्थतन्त्र , प्राकृतिक सम्पदा, राजनिती र सुरक्षा जस्ता बिषयमा फ्रान्सले सँधै निर्णायक भुमिका खेलिरह्यो। बुर्किना फासो सुनका लागि प्रसिद्ध छ तर देशका सुनखानिहरुमा फ्रान्सको मनोमानी चल्थ्यो। सुन उत्खनन् गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा लैजाने काम फ्रान्सेली कम्पनिहरुको थियो। बुर्किजहरु सस्तो मजदुर बाहेक अरु हैसियतमा थिएनन्। फ्रान्सले आफ्नो अनुकुलको सत्ता निर्माण गर्थ्यो। सुरक्षाका नाममा आफ्ना सैनिकहरु तैनाथ गर्थ्यो। जसले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि राज्यमा चरम गरिबी, भ्रष्टाचार, अन्याय, भोकमरी र राजनैतिक अस्थिरताको अबिराम दुस्चक्रमा फसिरहेको बुर्किना फासोको यो अवस्था सँधै टिकिरहन सम्भव थिएन। सन् २०१० तिर जनताहरु संगठित हुँदै यी सारा बेथितिका बिरुद्ध आन्दोलित हुन थाले। जसले गर्दा राजनैतिक अस्थिरता थप चुलियो। त्यही अस्थिरता निरन्तर चलिरहँदा सन् २०२२ जनवरिमा सेनाले सत्ता हातमा लियो। तर नयाँ सैन्य शासकले पनि देशको अवस्थामा आवस्यक परिवर्तन गर्न सकेनन् र सेनाभित्रै असन्तुष्टि बढ्दै गयो। फलस्वरूप फेरि सन् २०२२ को सेप्टेम्बरमा अर्को सैन्य कु भयो र यो पटक भने सैन्य क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व गर्ने जिम्मा दिईयो। यहि बिन्दुबाट बुर्किना फासोको नयाँ ईतिहास प्रारम्भ भयो।

नेतृत्व सम्हालेपछी ट्राओरेले लगातार देशका लागि आवस्यक कदम चाल्न थाले। बिश्वलाई नै तरंगित बनाउने उनको सबैभन्दा महत्वपुर्ण निर्णय थियो फ्रान्ससंगको रक्षा सम्झौता खारेज गर्ने। यहि सम्झौताका आधारमा फ्रान्सले दशकौँदेखी अप्रत्यक्ष उपनिबेश चलाईरहेको थियो। सन् २०२३ जनवरिमा यो निर्णय गर्दै उनले फ्रान्सेली सेनालाई १ महिनाभित्र देश छोडेर जान अल्टिमेटम दिए। उनको दृढताका सामु फ्रान्सको केही लागेन र उसले आफ्ना सेना फिर्ता लियो। त्यस संगै उनले चीन, रुस, टर्की जस्ता देशहरुसंग नवीन सम्झौता गर्दै सैन्य सहायता लिए, आफ्ना सेनालाई सैन्य तालिम दिलाए, हतियार ब्यबस्थापन गरे। राजनैतिक स्वतन्त्रताका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ भन्ने बुझेका ट्राओरेले देशका सुन उद्योगहरुमा देशको नियन्त्रण रहने कदमहरु उठाए। आफैले सुन उद्योगहरु संचालन गर्ने र निर्यात गर्ने बन्दोबस्त गरे। बिदेशी कम्पनिहरुको खानी अनुमती रद्ध गरे। अघिल्लो बर्षको अगष्टमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले गरेको ऋण सहायताको प्रस्तावलाई अस्विकार गरिदिए। जसले आफ्नो देशलाई बाह्य शक्तिहरुको आर्थिक जालो (Economic Trap) बाट बचाउने अभियानको शुरुवात गर्‍यो। उनले खाद्य संकटबाट बाहिर आउन निशुल्क कृषि उपकरण बितरण, उर्जा संकट टार्न चिनको सहयोगमा सौर्य उर्जा केन्द्र, रुसको सहयोगमा आणविक उर्जा केन्द्रको स्थापना  गर्ने सम्झौता गरे।

इब्राहिम ट्राउरे मुख्य रुपमा पुँजिवादी र औपनिबेसिक विश्वका बिरुद्धमा छन्। यहाँ प्रस्तुत उनको भासन अफ्रिकी मुलुकहरुमा भईरहेको प्राकृतिक स्रोतहरुको शोषण तथा नव उपनिवेशका बिरुद्ध लक्ष्यित छ। उन्को यो अभिब्यक्ती केवल राजनैतिक भासन मात्र नभएर अफ्रिकी मुलुकहरुको साझा पीडा, आक्रोस, आशा तथा अपमानहरु बिरुद्धको प्रतीक हो। पश्चिमी संचार माध्यमहरुले अफ्रिकाका बिरुद्ध अपमान पुर्ण तस्विर निर्माण गरेको, समाचारहरु तोड्मोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।

ती तिनै संचार माध्यम हुन् जसले बिश्वलाई अफ्रिकी मुलुकहरुको यस्तो तस्विर देखाए जहाँ रुग्न र फोहरी शरीर भएका केटाकेटी, नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु, भोकमरी ग्रस्त मगन्तेहरु, एक छाक खानका लागि हतियार बोकेका बालबालिकाहरु, खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्। हर कोहि सामान्य मान्छेले अफ्रिका भन्ना साथ हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद। 

ट्राओरे सोध्छन्, "यति धनी अफ्रिकालाई कसरी गरिव बनाएर राखियो?"

अफ्रिका त्यो ठाउँ हो जहाँबाट बिश्वको ७० प्रतिशत कोवाल्ट  आउँछ। कोवाल्ट त्यो चिज हो जसको अभावमा हाम्रा कुनै पनि बिद्युतिय सामान (मोबाईल, ल्यापटप, बिजुलिबाट चल्ने गाडी) हरु बन्दैनन्। तर बिडम्बना कोवाल्ट उत्खनन् गर्ने मजदुरहरु एउटा मोबाईल खरिद गर्न सक्दैनन्। बिश्वको ९० प्रतिशत प्लाटिनम दक्षिण अफ्रिकाबाट आउँछ तर त्यहाँको मानिसहरु बेरोजगारिको सिकार छन्। बिश्वको ३० प्रतिशत सुन अफ्रीकी महादिपबाट आउँछ तर संसारलाई सुन दिने त्यो महादिप गरिबिको चपेटामा छ। संसारमा सर्वाधिक महंगो हिराको कुल खपतको ६५ प्रतिशत अफ्रिकी मुलुकहरुबाट आउँछ तर त्यहाँका मजदुरहरु दैनिक १ डलर पाउन संघर्षरत छन्। संसारका ठुला शहरहरु उज्यालो बनाउने बिजुली उत्पादनमा प्रयोग हुने युरेनियमको ३५ प्रतिशत हिस्सा अफ्रिकी मुलुकबाट आउँछ तर त्यहि अफ्रिका अँध्यारो छ।

यसरी अफ्रिकालाई सँधै पश्चिमी बिश्वको आँखाबाट हेर्दा देखिने जुन दृष्य थियो त्यो दृष्य ट्राओरेको राष्ट्रबादी कदमहरुले क्रमशः भत्काउन थालेको छ। अफ्रिका त्यो महादिप हो जो सबैभन्दा सम्पन्न बन्ने हैसियत राख्दछ तर उपनिबेशबादले आजसम्म सबैभन्दा पिछडिएका मानिसहरु बस्ने थलो बनाईदियो।

ट्राओरेको उदय भएको केवल ३ बर्ष हुन लाग्यो। उनले सिंगो अफ्रिका महादिपलाई नयाँ क्षितिज देखाईरहेका छन्। नेतृत्वमा तागत भए समय धेरै नलाग्दो रहेछ। तर डर यो छ कि ट्राओरे अर्को  क्रीस हनि नबनुन्।

समर्थकहरुले Che Guevara of South Africa उपनाम दिईएको इब्राहिमलाई राष्ट्रवादी सलाम।

सन्दर्भ सामग्रीहरु : बिश्वघट्ना, विकिपिडिया, ChatGpt


Tuesday, July 1, 2025

ब्रह्माण्ड मेरो घर

ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित)

सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड  मेरो घर ।१।

खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।

गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।

साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।

आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्‍यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।

सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ जगमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।

[रारा ताल मुगु, २०७३]

Tuesday, June 24, 2025

अकण्टक भावना (शिखरिणी छन्द)


झुलेका बाला झैँ लहलह खुला केश शिरको 
गुलाफी ज्योत्स्नामा नभ घनघटा लेक तिरको ।
हर्‍यो निद्रा मेरो चयन मनको शान्ति सजिलै 
कहाँ भेट्ने होला मन भ्रमित भो आज अति नै ।।१

म तड्पेँ त्यो तिम्रो खबर जब मिल्दैन छिनमा 
डुबायौ प्यारीले अतुल गहिरो प्रेम ऋणमा ।
यसै सोच्तासोच्तै टिलपिल भई बग्छ नयन 
म मात्रै भड्केँ या विचलित तिमी छौ अब भन ।।२

अहा अङ्गालोमा अनवरत आलिङ्गन गरी
लजाएकी हल्का सलल सरिताकी जलपरी ।
फिता भै झोलाको सहज तनमा टाँसिन सकूँ
तिमी हिँड्दा तिम्रै पदयुगलको चाल म बनूँ ।।३

तिमी प्रज्ञा आभा सुललित कला ए सहचरी 
धुरी खम्बे माया ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।।४

तिमी हाँस्ता मात्रै झलमल हुने सूर्य किरण 
तिमी रुन्छ्यौ जैले जल बनिदिनन् बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भए पुष्पतरु ती 
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।५

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी 
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
दियौ ऊर्जा रातो रगत सरि बग्दैछ धमनी 
दगुर्छन् छातीमा लहर प्रियका स्पन्दन बनी।।६

तिमी सायंसन्ध्या समचर सधै शान्त प्रहर 
तिमीमै गाभिन्छन् चपल मनका तिव्र रहर ।।
म थोपा मात्रै हो अखिल जलकी सागर तिमी 
भएँ सारै अल्छी भर न मनमा जाँगर तिमी ।।७

तिमी साथी मेरी प्रणय रथकी सारथि तिमी 
तिमी पूजा मेरी शुभ समयकी आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै 
तिमी माया मीठो मधुररमणी मोज छ सधै ।।८


[ प्यारीलाई दाम्पत्य वर्षगाँठको अनन्त शुभकामना सहित 😍 ]

Saturday, June 21, 2025

प्रेम

(छन्द : शार्दूलवीक्रीडित)

आँखा बन्द हुँदा तिमी हृदयमा आँखा खुलामा पनि ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा पनि ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती  ।
चोखो प्रेम अमोघ भित्र मनमा पीडा कतै छट्पटी ?? 

वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित श्वास धड्कनसँगै चढ्दैछ नौलो रव ।
साँच्चै प्रेम अचम्मको चिज छ यो के गर्व के गौरव ।।

पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लीरहेछन् ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल मुखै नखोल कहिले बिर्सेर आफ्नोपन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****



घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउँला जगतमा यो प्रेम यैँ भक्ति हो ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहजमा पूरा गरौँला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द)

[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]


Saturday, June 14, 2025

गण्डकी महिमा

संसारका पवित्रतम् नदीहरूमध्ये हाम्री गण्डकी शीर्षस्थानमा पर्दछिन् । साक्षात् नारायणका गालाको पसिना स्वरूपमा निर्झरित गण्डकीले उनै सर्वेश्वर नारायणको अर्चाविग्रह भगवान् शालग्राम (चक्रशिला) लाई जन्मदिने भएकोले शालग्रामलाई गण्डकीनन्दन (गण्डकीका पुत्र) पनि भनिन्छ ।

उत्तरपूर्वी मुस्ताङको नेपाल तिब्बत सीमा स्थित ६,२६८ मिटर अग्लो न्हुबिने हिमाललाई गण्डकीको उद्गमस्थल मानिन्छ । उद्गमस्थलबाट स्थानीय भाषामा स्छौमा नामले दक्षिणतर्फ बगेपछि ल्होमान्थाङ नजिकै न्हेचुङ खोलामा मिसिएर मुस्ताङ खोलाका नामले अनि कागवेनीमा काग खोला र मुस्ताङ खोला मिसिएपछि कालीगण्डकी नामले बहने यी नदिमा संसारको सबैभन्दा अग्गो र गहिरो कालीगण्डकी गल्छी समेत प्राकृतिक रूपमा निर्मित छ । गण्डकीका मुख्य सहायक सात नदीहरूमा कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, मर्स्याँङ्दी, दरौँदी र त्रिशूली हुन् भने विभिन्न ठाउँमा अन्य सहायक नदीहरू समेत समेट्दै चितवनको देवघाट नजिक त्रिशूलीसँग मिसिएर नारायणी (सप्तगण्डकी) नामले प्रसिद्ध छन् । त्यस्तै, भारतको पटनानेर भागीरथी गंगामा मिसिएर अन्तत: गंगासागर हुँदै बंगालको खाडीमा समाहित हुन्छिन् ।
 
नेपालको लुम्बिनी, गण्डकी, नारायणी, धवलागिरी आदि क्षेत्रमा बस्ने बासिन्दाको घरघरमा नित्य शालिग्राम पूजा हुनुको साथै मृत्युुपश्चात् शवदाह लगायतका कर्म पनि कालीगण्डकीको तटमै गर्ने प्रचलन छ । यहाँ अलि ठूलो पूजाआजा भयो भने फूलपाती सेलाउन समेत गण्डकीमै जाने परम्परा छ । यहीँ गण्डकी तटबाट जडभरत, महर्षि पराशर, महर्षि वाल्मीकि, महर्षि देवदत्त, ऋष्यश्रृङ्ग्य, श्रृङ्गी ऋषि आदि अनेकौं सिद्ध सन्तहरु र हाम्रा कयौं पुस्ताहरूको ध्यान, तप एवं साधना पूर्ण तथा जीवन मुक्त (मोक्ष) भएको छ । 

नेपालका प्रमुख चार धामहरूमध्ये हरिहर क्षेत्र (देवघाट), रुरुक्षेत्र (रिडी) र मुक्तिक्षेत्र (मुक्तिनाथ) गरी ३ धाम पनि गण्डकी काखका अवयव एवं धरोहर हुन् । शिरमा दामोदर अनि मुक्तिदाता भगवान् मुक्तिनाथ सजाएर हृदयस्थलमा रुद्रवेणी र हृषिकेश हुँदै पाउमा आदिप्रयाग देवघाटसम्म पुग्दा छटाहरुमा त्रिवेणी, राम्दी, आलमदेवी, गलेश्वर, सेतीवेनी, कागवेनी आदि थुप्रै पवित्र धार्मिक, सांस्कृतिक, आध्यात्मिक, प्राकृतिक एवं पर्यावरणीय स्थानहरूमा गण्डकीको कलरव ध्वनि निसृत छ । गण्डकीतटमा तर्पण र पिण्डदानादि श्राद्धकर्म गर्दा आफ्ना चौध पुस्ता (पितादि सप्त, मातामहादि सप्त) तृप्त हुने धार्मिक मान्यता छ । असंख्य शालग्राम भगवानलाई अविरल स्नान गराउँदै निर्झरित जल आफैँमा अनुपम तीर्थमणि नै हो जसको एकै थोपा मात्र पनि मुखमा पर्यो भने निःसन्देह जीवात्मा धन्य हुन्छन् ।
गण्डकीको व्यापक महिमा हाम्रा सामान्य दुईचार टुटेफुटे लौकिक शब्दहरूबाट उजागर गर्न सकिने विषय हुँदै होइन । स्वयंसिद्ध गण्डकी महिमा विम्वात्मक रूपमा यस्तो पाइन्छ :- 

"रवीन्दुक्षये त्वं कुरुक्षेत्रधामा, 
सदा माघमासे प्रयागेणतुल्या ।
पितृश्राद्धकाले गयापुण्यदात्री, 
मृतौ काशिकामुक्तिदाsसि प्रसिद्धा ।।"

अर्थात्, सूर्य र चन्द्र ग्रहणमा स्नान गर्दा कुरुक्षेत्रमा नुहाएको फल मिल्ने, माघ महिनामा स्नान गर्दा तीर्थराज प्रयागमा स्नान गरेको फल मिल्ने, पितृश्राद्धादि कर्ममा गयाश्राद्धको फल मिल्ने र गण्डकी किनारमा देह त्याग वा शवदाहादि कर्म गर्दा काशी विश्वनाथले जस्तो मुक्ति दिन समर्थ कालीगण्डकी प्रसिद्ध छन् । 

मोक्षदायिनी कालीगण्डकी र शालग्राम शिलाको महिमा केही उपनिषद्हरु, श्रीमद्भागवत, अन्य पुराणहरु, महाभारत, आनन्दरामायण, मुक्तिक्षेत्र माहात्म्य, मुकुन्दमालास्तोत्र लगायत ग्रन्थहरुमा प्रसस्तरूपमा पाइन्छन् । 

"शालग्रामसमीपे तु क्रोशमात्रं समन्तत: ।
कीटोsपि म्रियते याति वैकुण्ठभुवनं ध्रुवम् ।। 
पशुपक्षिमृगा मर्त्या वृक्षा ग्रावास्तृणानि च ।
तज्जलस्पर्शनादेव गच्छन्ति स्वर्गमुत्तमम् ।।"
 
मुक्तिक्षेत्रमाहात्म्यबाट उद्धृत यस श्लोकमा शालिग्रामशिलाको एक कोश दुरी वरपर कुनै किरा मर्यो भने पनि वैकुण्ठलोक प्राप्त गर्दछ । पशु, पंक्षी, वन्यजन्तु, वृक्ष, पत्थर र झार समेत कालीगण्डकीको जल स्पर्श मात्रले समेत स्वर्गलोक प्राप्त गर्दछन् भनेर बताइएको छ । 
"शालग्रामशिलारूपो तव गर्भगत: सदा ।
स्थास्यामि तव पुत्रत्वे भक्तानुग्रहकारणात् ।।"

वराहपुराणमा वर्णित यस श्लोकमा विष्णु भगवान् स्वयंले आफू गण्डकी पुत्रको रूपमा शालग्राम शिला भएर भक्तहरुको अनुग्रहका निम्ति गण्डकीको गर्भमा सदा रहनेछु भन्नुभएको छ । 
गुल्मी जिल्लामा जन्मिनुभएका संस्कृतविद्वद्विभूषण पण्डित श्री उमानाथ पन्थीले कालीगण्डकीकै महिमा वर्णन गरेर गण्डकीगौरव नामक संस्कृत काव्य समेत रचना गर्नुभएको छ । 
"तव गर्भसमुद्भवा: शिला भजता चक्रिसरूपताssप्यते । 
जनयित्रि न मेsत्र संशयस्तव योगादितरा सरिद्यथा ।। "

काव्यको उदाहरणस्वरूप उद्धृत उपर्युक्त श्लोकमा पण्डित उमानाथ पन्थीले हे गण्डकी श्रद्धापूर्वक नित्य तिम्रो गर्भबाट उत्पत्ति भएका शालिग्रामशिला पूजा गर्ने मानिसहरु अन्त्यमा भगवत्सारुप्यमुक्ति प्राप्त गर्दछन् यसमा कुनै संशय छैन भनेर गण्डकीको महिमा बताउनुभएको छ । 

त्यस्तै, भविष्योत्तर पुराणमा भगवान् श्रीकृष्ण र युधिष्ठिरको संवादमा गण्डकी माहात्म्य अन्तर्गत निम्नानुसार अनुष्टुप छन्दक‍ो ३२ श्लोकमा रहेको शालग्राम (शालिग्राम) स्तोत्र समेत लोक प्रसिद्ध रहेको छ । जसमा शालग्राम शिलाको रूप, लक्षण, प्रतीक चिन्ह, महत्व, विधि, निषेध आदि सबै कुराको निरुपण भगवान् श्रीकृष्ण स्वयंले गर्नुभएको छ  :-

अस्य श्रीशालग्रामस्तोत्रमन्त्रस्य श्रीभगवान् ऋषिः नारायणो देवता, अनुष्टुप् छन्दः श्रीशालग्रामस्तोत्रमन्त्रजपे विनियोगः 

युधिष्ठिर उवाच :-
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥

श्रीभगवानुवाच :-
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामो भवेद्देवो देवी द्वारावती भवेत् ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥३॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥

अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥

नैवेद्ययुक्तां तुलसीं च मिश्रितां विशेषतः पादजलेन विष्णोः ।
योऽश्नाति नित्यं पुरतो मुरारेः प्राप्नोति यज्ञायुतकोटिपुण्यम् ॥१०॥

खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥


कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥

शङ्खचक्रगदाकूर्माः शङ्खो यत्र प्रदृश्यते ।
शङ्खवर्णस्य देवानां वामे देवस्य लक्षणम् ॥२०॥
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥

छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥

कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥

हरिहर- रूरूक्षेत्र - मुक्तिक्षेत्र, जाउँला - 
कालीगंगा नुहाएर पवित्र भै आउँला ।२। 
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

दामोदर कुण्डदेखि - देवघाटसम्म । 
शालीग्राम उब्जाउँछ्यौ थरिथरि टम्म ।३। 
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…




सूर्य चन्द्र ग्रहणमा कुरुक्षेत्र जस्ती, 
तिम्रो जलको कोशौँ सम्म पावन गाउँबस्ती ।४।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


कागवेनी, रुद्रवेणी त्रीवेणीधाम सुस्ता ।
श्राद्ध गर्दा तृप्त हुन्छन् आफ्ना चौध पुस्ता ।५।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

जड भरतले यहीँबाट मोक्ष प्राप्त गरे । 
एकैपल्ट जस्ले न्वाए, भवसागर तरे ।६।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


श्रीहरिको पसिना भै - बग्दै आइन् काली । 
भक्तिभाव टक्राउछौँ - मनको बत्ती बाली ।७।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवघाट पाउमा छन्, शिरमा मुक्तिनाथ ।
कल् कल् बग्ने कालीगंगा, भुक्तिमुक्ति साथ ।८।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवदत्त, पराशर - वाल्मीकिको भूमि ।
ध्यान ज्ञानको सिद्धि दियौ - बग्दै घुमिघुमी ।९।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

 पूज्य डा. चक्रपाणि आचार्य गुरूको प्रेरणा एवं आचार्य सन्तोष सुवेदीको सहयोगमा 


वि. सं. २०८२ जेष्ठ ८ गते, माउन्ट हर्मन