लकडाउन खुलेकै दिन मोबाइलमा आउनेछ ,
फोनको घन्टी,
नयाँ सम्बन्ध बन्दै गरेकाहरुको डेटिङ जाने प्लान बन्छ ,
हाम्रो पनि साथीभाई भेट्ने प्लान बन्छ ।
साच्चै...
कस्तो भयो होला है हाम्ले खाजा खाने गरेको त्यो बर्गर हाउस
र,
कस्तो भए होला त्यो कट्टी रोल,
चटपटे तथा पानीपुरी पसल,
अनि कता गए होलान् चोकको चोपिलो चटपटेवाला खड्का जी ?
त्यो भेज मम पसल अनि
नयाँ पोखरीको मुखैमा झुन्डिएको
चाट पसलकि चस्मिस साउनी
चारजना अल्लारे च्वाँक केटी वेट्रेस राखेर
सधैं मिठो मम ख्वाउथिन् ।
खानेहरुले खाइरहेका हुन्थे त कोहि मोबाइल चलाईरहेका,
कोही सरकार ढाल्ने र सत्ता परिवर्तन गर्नेदेखि
युरोप र अमेरिकाका नवीनतम् प्रविधि सम्मका
कुरा गर्नेहरु पनि ।
कस्तो भयो होला..
चक्रपथको वारपार गर्ने त्यो जेब्राक्रसिङ ?
कति कलेज स्टुडेन्टका क्रसहरु भेटिदा हुन्
अनि
कतिका साथिभाइ र आफन्त नै,
के त्यो रिङरोड
हाम्रो आगमनको प्रतीक्षामा पर्खीरहेको होला ?
साँच्चै अहिले खाली होला नि है "नेपाल यातायातको" पुरानो बस ?
कहाँ पुगे होलान् साझा यातायात अनि नगर बसहरु !
राम्रो ड्रेस लगाएर स्कुल जाने उमेरमा
सल्लाघारी - ठिमी- कोटेश्वर -बानेश्वर - सुन्धारा -रत्नपार्क…
ठमेल - सोह्रखुट्टे - बसुन्धरा - नयाँबसपार्क भन्दै यात्रु बोलाउने ती कलिला ओठले आजकल के भन्छन् होला ?
कस्तो भयो होला
हामीले अभ्यास गर्ने खेल मैदान
अनि भुइचालोले भत्किएको त्यो मिनी स्टेडियम !
बिचरा… तिनकुनेको रोड
कौशलटारदेखि कोटेश्वर सम्म पट्यार लाग्दो
जामको लाइनमा बस्ने सवारी साधनका मानिसहरु अनि
अचम्म मान्दै होला अहिले,
"हैन यी मानिसहरु कता गए ?
मदेखि वाक्क भएर
अर्कै बाटो रोजे कि क्या हो ?"
जसरी एउटा स्वार्थ पूरा भएपछि मान्छेले अर्को साथ रोज्छ ?
उसै गरी अन्तै त गएनन्……!
वर्षौंपछि
आफ्नो धुलाम्य अनुहार धोएको
काठमाडौको आकाशले के सोचिरहेको होला ?
"आपविपत र खुशीमा मलाई सम्झने भक्तजनहरु कता गए ?"
भन्ने प्रश्नचिह्नले कति पिर गर्दै होलान् हाम्रा पशुपतिनाथ ।
चोभार र कीर्तिपुरका ती डेटिङ स्पटहरु
के सोच्दै होलान् ?
"कता गए युगल जोडिहरु ? जो हरेक साझ यहाँ आएर यौवनका क्षणिक मदहोशीमा सँगै जिउने र सँगै मर्ने झुटा कसम खान्थे…"
के सोच्दै होला..
गल्ली भित्रको लिक्वर पसले दाइ !
हरेक दिन यावत् पीडाहरु भुलाउन,
यहाँ आउने त्यो अङ्ग्रेजी बोल्ने दाइ
आजकल कता गए होला ?
लकडाउन त केही समयको लागि न हो,
यी सबैकुराहरु पुनः दोहोरिदै जानेछन्,
फेरि साथीभाइ भेटिनेछन् ।
फेरि पनि जिब्रो पट्काएर मम खान पाइने छ,
फेरि मीठो बर्गर खान पाइने छ ।
आफ्नी प्रेमिकालाई बाइकको पछाडी राख्ने अल्लारे केटाहरु चोकहरुमा जाम खुल्नासाथ साठीको स्पिड नघाउने छन् ।
फेरि उसै गरी टिप्परहरु..
मुटु नै थर्काउने गरि दौडिने छन्,
फेरि पनि नेपाल यातायातको गल्लीमा
खुट्टा टेक्ने ठाउँसम्म हुने छैन,
काठमाडौको आकाश धमिलिने छ,
छिटै जडिबुटीको फराकिलो सडक पनि
भार बोक्न नसक्ने गरी लत्रने छ,
फेरि मन्दिरमा घन्टी बज्ने छ,
अनि ट्राफिक दाइहरु सिठ्ठी फुक्दै
जाम खुलाउन व्यस्त हुनेछन् ।।
फेरि.. पुरानै
१०-५ को ड्युटी दोहोरिने छ,
पहिले झैं
हरेक दिन, हरेक बार अनि गतेहरु
याद हुने छन् ।
फेरि वातावरण कैद अनि
मानिसहरु स्वतन्त्र हुनेछन् !
अनि चल्नेछ उसैगरी
तेरो-मेरो भन्ने लुछाचुडी भावना…
फेरि चल्नेछ चाकडी, नोकरी, बिजनेस र
जागिरमा अडिएको
अनवरत मानवीय जीजीविषा अनन्त कालसम्म ।।।
[साथी दिपेन्द्र ढकालको संस्मरणात्मक भावनाबाट बनेको कविता, यो कविताको सबै फोटोमा दिपेन्द्र ढकाल र म ]
मिति : २०७७/०१/२२
राँझा, नेपालगन्ज - बाँके