Friday, January 13, 2012

गजल


गजल

झुक्नै पर्छ भने आखिर अल्किनु नि किन ।
भ्रम पार्न सिसा सुन झै टल्किनु नि किन ।।

तिमी जुन म हुँ माटो भेटै हुन्न भने,
झुठो आश देखाउन झल्किनु नि किन ।।

छोटो स्वार्थ हेर्दिन म आवेशमा आई ,
दाँया जानेभए बाँया ढल्किनु नि किन ।।

पानीबाट बाफ भ ई फेरि पानी बन्न,
घमण्डको रापभित्र भल्किनु नि किन ।।

बुझेकै हो सलाईले पहिला जल्छ आफै ,
आफै पहिला मर्ने जानी सल्किनु नि किन ।।


२०६८-१-१७ , लाजिम्पाट काठमाण्डौ



Wednesday, January 11, 2012

गजल


गजल

कहाँ शितल हुन्छ सानु रुखै ढालेपछि !
शान्ति हुन्न मनभित्र रिस पालेपछि !!

औँशी रात किन नहोस् मनको अध्यारोले,
उज्यालो त हुन्छ पक्कै दीप बालेपछि !!

सुस्त सुस्त सङ्गै हिड्यौँ यौटै लक्ष लिई,
छोडिएँ म तिम्ले पाइला छिटो चालेपछि !!

नफुटेको मनजस्तो बिश्वास र आँट,
हुन्न रैछ टुक्रिएको मन टालेपछि !!


२०६८-०३-१८ लाजिम्पाट काठमाण्डौ



Sunday, December 18, 2011

मुक्तक

मुक्तक

हावासङ्गै उडिजाने भुवा जस्तै जिन्दगानि !
तान्यो खोक्यो चुरोटको धुवा जस्तै जिन्दगानि !!

उजाड उराठ मरुभुमि बन्न  मात्रै नसकेको,
पानी सुक्दा  अर्थहीन कुवा जस्तै जिन्दगानि !!

हार जित दाउ अनि घात  अन्तर्घात सधै ,
तिम्ले जिते मैले हार्ने जुवा जस्तै जिन्दगानि !!


२०६८ - ०९ -०४ बालकुमारी ललितपुर


Wednesday, December 14, 2011

मेरो माटोप्रति

मेरो माटोप्रति (मन्दाक्रान्ता छन्दमा)

मेरी सुस्ता विरह स्वरमा बोल्दछे आत्मग्लानी ।
पीडा पोख्दै टनकपुरले कल्कलाएछ पानी ।।
मेची-काली सबतिर दुख्यो खुम्चिँदा देश मेरो ।
नेताबाटै जब विपतको फैलियो दीर्घ फेरो ।।

कर्णालीको मुटु ग्रसित भै चर्किँदा सुन्छ कस्ले ?
माटो घट्दै विषहरु नयाँ फैलिँदा रुन्छ कस्ले ??
कालापानी अनि लिपु रुँदै हारगूहार गर्दा,
जागौँ हामी अब त अति भो शोकमा देश पर्दा ।।



चल्ला हामी विचलित सधै बाजको दृष्टि पर्छ ।
गोर्खालीले चुप हुनु हरे ! राष्ट्रको तौल घट्छ ।।
सन्धी सारा विषम रितका बन्दछन् जालझेल ।
मैले बुझ्नै सकिन कहिलै हार्नुपर्दा नि खेल ।।

पैला जानौँ लुसुलुसु छिरी बाघ बन्ने बिराला ।
काढौँ काढौँ मुखअघि गई पोषिलो हाडछाला ।।
कस्ले आँट्ला विकृत मतिले देशमा जाल रच्न ?
सक्दैनौँ के बिष नचिनिने वृक्षलाई उखल्न ??




नेपाली हो सब मिलिजुली एक भै हातमालो ।
जुट्दा आफै पछि धकलिने वाद बिस्तार कालो ।।
पुर्खाको हो रगत पसिना, वक्षमा कुल्चनेको ।
खुट्टा काटी अटल पहरा दिन्छु दम् चल्छ कस्को ??

नेपाली हौँ विचलित नभै राष्ट्रको निम्ति जागौँ ।
झण्टा बाधा अडचन कयौँसङ्ग कोही नभागौँ ।।
हाम्रो प्यारो जलथल दुवै सन्ततिको भविष्य ।
पुर्ख्यौली हो जमिन सब यो, भोलिको निम्ति सोँच ।।

माटो हाम्रो रहन नसके, हुन्न अस्तित्व हाम्रो ।
सुम्पी माटो परमुलुकमा - दासता हो नराम्रो ।।
माटो टाढा यदि हुन गए हुन्छ के पो स्वतन्त्र ?
सम्झौँ साथी ल अब "जननी जन्मभूमिश्च" मन्त्र ।।



थोपा हामी सलल जलका भेल झैँ उठ्नुपर्छ ।
हाम्रा खम्बा वरवर हुँदा एक भै जुट्नुपर्छ ।।
माटो काहीँ अतिक्रमण भै मिच्चिए जुर्मुराई ।
ढिक्का जस्तै अटल बलियो एक ह्वौँ दाजुभाइ ।।

मेरो माटो मुलुक भरको ज्यान भन्दा अमूल्य ।
उस्तै प्यारा हिमशिखर यी छन् अहा स्वर्गतुल्य ।।
टुक्रा पारी  असहमत भै टुक्रँदा हुन्न शक्ति ।
माटोलाई तनमन दिऊँ यैँ त हो देशभक्ति ।।

           
(रचना मिति :  कलङ्की, २०६६ माघ)

Thursday, December 1, 2011

गजल


गजल

दुई चार दिन् त क्याम्पसमा दादा बनी थर्काइयो ।
रिजल्टमा आलु आयो बर्‍र आशु दर्काइयो ।


आफू बिग्र्यो अलि राम्रो पढ्ने साथीलाई पनि ,
के पढ्छस् र यार भन्दै तास खेल्न फर्काइयो ।


बेहोशीमै राजनीतिमा पाइला चाल्न पुग्दाखेरी,
चार जनाले टायर जलाई आन्दोलन चर्काइयो ।


साथीसङ्ग धाक दि ई उस्किएर लड्न जाँदा,
साथी भागे एक्लै परेँ हात दुइटै मर्काइयो ।


इङ्गिस कैलै कट्ने हैन हाउ सेक्सी गर्ल भन्दै,
सान्नानीको पछिपछी पाइलाहरु लर्काइयो ।


पछि लाग्दा सान्नानीको स्वागत गरी चप्पलले,
मुखमै लाग्न आथ्यो क्यारे बल्ल बल्ल तर्काइयो ।।




सबिन प्रभात ~~ २०६४ - ४ - ११ गुल्मी