Wednesday, December 14, 2011

मेरो माटोप्रति

मेरो माटोप्रति (मन्दाक्रान्ता छन्दमा)

मेरी सुस्ता विरह स्वरमा बोल्दछे आत्मग्लानी ।
पीडा पोख्दै टनकपुरले कल्कलाएछ पानी ।।
मेची-काली सबतिर दुख्यो खुम्चिँदा देश मेरो ।
नेताबाटै जब विपतको फैलियो दीर्घ फेरो ।।

कर्णालीको मुटु ग्रसित भै चर्किँदा सुन्छ कस्ले ?
माटो घट्दै विषहरु नयाँ फैलिँदा रुन्छ कस्ले ??
कालापानी अनि लिपु रुँदै हारगूहार गर्दा,
जागौँ हामी अब त अति भो शोकमा देश पर्दा ।।



चल्ला हामी विचलित सधै बाजको दृष्टि पर्छ ।
गोर्खालीले चुप हुनु हरे ! राष्ट्रको तौल घट्छ ।।
सन्धी सारा विषम रितका बन्दछन् जालझेल ।
मैले बुझ्नै सकिन कहिलै हार्नुपर्दा नि खेल ।।

पैला जानौँ लुसुलुसु छिरी बाघ बन्ने बिराला ।
काढौँ काढौँ मुखअघि गई पोषिलो हाडछाला ।।
कस्ले आँट्ला विकृत मतिले देशमा जाल रच्न ?
सक्दैनौँ के बिष नचिनिने वृक्षलाई उखल्न ??




नेपाली हो सब मिलिजुली एक भै हातमालो ।
जुट्दा आफै पछि धकलिने वाद बिस्तार कालो ।।
पुर्खाको हो रगत पसिना, वक्षमा कुल्चनेको ।
खुट्टा काटी अटल पहरा दिन्छु दम् चल्छ कस्को ??

नेपाली हौँ विचलित नभै राष्ट्रको निम्ति जागौँ ।
झण्टा बाधा अडचन कयौँसङ्ग कोही नभागौँ ।।
हाम्रो प्यारो जलथल दुवै सन्ततिको भविष्य ।
पुर्ख्यौली हो जमिन सब यो, भोलिको निम्ति सोँच ।।

माटो हाम्रो रहन नसके, हुन्न अस्तित्व हाम्रो ।
सुम्पी माटो परमुलुकमा - दासता हो नराम्रो ।।
माटो टाढा यदि हुन गए हुन्छ के पो स्वतन्त्र ?
सम्झौँ साथी ल अब "जननी जन्मभूमिश्च" मन्त्र ।।



थोपा हामी सलल जलका भेल झैँ उठ्नुपर्छ ।
हाम्रा खम्बा वरवर हुँदा एक भै जुट्नुपर्छ ।।
माटो काहीँ अतिक्रमण भै मिच्चिए जुर्मुराई ।
ढिक्का जस्तै अटल बलियो एक ह्वौँ दाजुभाइ ।।

मेरो माटो मुलुक भरको ज्यान भन्दा अमूल्य ।
उस्तै प्यारा हिमशिखर यी छन् अहा स्वर्गतुल्य ।।
टुक्रा पारी  असहमत भै टुक्रँदा हुन्न शक्ति ।
माटोलाई तनमन दिऊँ यैँ त हो देशभक्ति ।।

           
(रचना मिति :  कलङ्की, २०६६ माघ)

No comments:

Post a Comment