Thursday, March 15, 2012

गजल


गजल
मासु खान्छ फ्याउरोले जिल्ल पर्छ काग यहाँ,
बिरालो भो शक्तिशाली डराउछ बाघ यहाँ ।
क्रान्ति के हो वास्तविक बुझेकाको आँखा छोपी,
प्रतिगामी स्वाँठलाई भन्छन् अझै जाग यहाँ ।
स्वच्छछवी कोइला भो सुनौलो छ आडम्बर,
नक्कली सुन् ढाकिदिन्छ कोइलाको दाग यहाँ ।
सर्प नाम हानी भयो अलि भ्रमजाल रची,
नामै मात्र बदलेर पूजीइन्छन् नाग यहाँ ।
कुर्सीमा छ बुद्धिमानी, कुर्सीमै छ शक्ति पनि,
मान्ने भए साथीहरु कुर्सी ढाल्न लाग यहाँ ।
परिवेश बाद्यताले साघुरियो यथार्थ नै,
सिस्नो पनि साग भयो रायो पनि साग यहाँ ।

कलंकी, काठमाण्डौ, २०६६-०९-०२