Monday, April 9, 2012

नया बर्षको शुभकामना


नया बर्षको शुभकामना (शार्दूलवीक्रीडित)

आयो फेरि नयाँ वशन्त ऋतुले नौलो लिई साल यो
आकांक्षाहरु तिव्र छन् मनभरी पुग्ला कहाँ सम्मको ।
यो बैशाख नया बनेर ठडिई बर्षै बितोस् हर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

पात्रो मात्र नया छ जिर्ण घरको भित्तो पुरानै भयो
ताजै छन् मनभित्र घाउ कतिका के हुन्छ उल्लास त्यो ।
शान्तीसंग विकासले गति लिई नेपाल उत्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

 

पैलाको रिसराग स्वार्थ नभुले खुल्दैन बाटो अब
साँच्चै देश बनाउने प्रण गरी बाटो खुलाऔँ सब ।
माटोको अनि न्यायकै विजय होस् सम्पूर्ण संघर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

यो पाली शुभकामना छ अधुरो आधा मनै चिन्तित
शान्ती स्थापित भै विकास पथमा लम्के सबैको जित ।
चाडै पुग्न सकोस् सबै दल मिली यो शान्ती निस्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६