Sunday, July 21, 2013

वीर योद्धाहरुप्रति

देश्कै खातिर लड्छु मर्छु सुखले चुक्दैन लुक्दैन म
जे पाक्ला घरमा निलिन्छ अरुको दैलो त ढुक्दैन म ।
यौटा योग्य र वीर सैनिक बनी रक्षार्थ यो देशको
सारा कष्ट सहन्छु घाम असिना हावा हुरी भोक त्यो ।।१।।

मेरो ज्यान फलाम बन्छ कहिले आत्मा कडा पत्थर
चाहाना पनि देशको लहरियोस् झन्डा सधैं फर्फर ।
थोपा एक हुदासमन् रगतको नेपालकै भूमिमा
सक्दो बग्न सकोस् मबाट पसिना ढल्मल् नहोस् है सिमा ।।२।।

निद्रा भोक र प्यास जित्छु सजिलै पीडा भुली हाँस्दछु
ठुलो चित्त लिएर बाँच्छु म मरे हाँसेर नै मर्दछु ।
रक्षा गर्न भनेर नै मुलुकको तैनाथ छौँ हर्पल
ठाडो माथ लिएर ज्युँछु कहिलै हुन्नन् सिपाही तल ।।३।।

आपस्मा छ मिलाप मेल बहुतै मौरीसमान् एकता
तातो जोश र होश हर्दम सधैं प्यारो छ राष्ट्रियता ।
पुर्खाको पसिना र रक्त नभए यो देश याँ हुन्नथ्यो
हामी छौँ अहिले कडा र अखडा रक्षार्थ नेपालको ।।४।।

(छन्द : शार्दूलवीक्रीडित)


नारायणहिटी, काठमाण्डौ, २०६९-साउन १५



मुक्तक


दुई मुक्तक

बाटो उही उल्टो पाइ सुझ्दासुझ्दै दिन बित्यो ।  
भेट हुँदा आँखाहरु जुद्धाजुद्धै दिन बित्यो ।
मन्को कुरा तिमीलाई भनुभने पनि यदी,
प्रतिकृया कस्तो होला बुझ्दाबुझ्दै दिन बित्यो ।
छाता पनि बिर्सिएर निस्किएछु हतारमा,
तिमी आउने प्रतिक्षामा रुझ्दारुझ्दै दिन बित्यो ।।


के देखेर लोभिएँ खै तिम्रो अधरमा ।
तिमी छौ र बसेको छु म यो शहरमा ।
गाण्डिवको तिरजस्तै अचुक अभेद्द्य,
लाग्छ मीठो प्रेमप्याला तिम्रो नजरमा ।
ब्यस्त थियो मोबाइल धेरै बेरसम्म,
तड्पिरहेँ त्यतिन्जेल तिम्रै खबरमा ।।


२०७० - ३ - १८  हाँडिगाउ काठमाण्डौ



Saturday, July 6, 2013

गजल



हस्ताक्षर बदलियो तर औठाछाप उही
अग्लोमोटो ज्यान भयो तर मन्को नाप उही ।।
समयको पछिपछि केही टाढा पुगेपनि ,
जस्तो थियौ परारसाल आवेगको राप उही ।।








बदलिदा रितुहरु बदलिन्छन् सोच पनि ,
कहाँ हुन्छ पुष् र जेठमा सूर्यजीको ताप उही ।।
मध्यरात छटपटी झस्ल्यांङ्ग भै जाग्दाखेरी ,
लाग्छ कहिले नियतीको पनि पदचाप उही ।।
उजाडिन्छन् चाहना र आकांक्षाका व्रिक्ष जब ,
एक्लै हुँदा सन्नाटामा आलापविलाप उही ।।

२०७०-असार १८, कालोपुल काठमाण्डौ