Tuesday, February 16, 2016

प्रेम :- हिजो र आज

( शार्दूलवीक्रीडित छन्दमा )

छोटो थ्यो अवधी तथापि मन यो बन्दैन छोटो तर ।
कस्तो स्वार्थ रहेछ पृष्ठभूमिमा बस्दै गरेको घर ।।
कालो कल्मष तिक्तता हृदयमा पर्खाइ धेरै थियो ।
टाढाको ममता प्रगाढ गहिरो पासा कहा पल्टियो ।। १ ।।

ढाँटी ढाँट्न सकिन्न आत्म कहिलै संसार ढाँटे पनि ।
मायामा धनको महत्व कति हो देख्यौ त स्वार्थी बनी ।।
मैले त्याग्न तयार थेँ सबकुरा यैँ प्राण आफ्नै पनि ।
तिम्रो साथ नछोडियोस् कहिं कतै के भन्न सक्थेँ त नि ।। २ ।।

बाँकी छैन मसंग आँशु अहिले सुख्खा छ आँखा यता ।
अर्कै आड लियौ उतै लहरियौ स्वार्थी बनेकी लता ।।
आशा राख्नु हुँदैन रैछ अरुको विश्वास मानीकन ।
साटी जोवन भावना कशम ती यो घात कस्तो भन ।। ३ ।।

मेरो श्वास प्रश्वास गिन्ति कहिलै सम्झन्न बिर्सन्न म ।
आफ्नै ढुक्ढुकी सम्झदैन मुटुको यी चाल हुन्नन् कम ।।
सम्झेको नभए कतैतिर कठै बिर्सेंर बिर्सन्न यो ।
कायाबाट अलग्गिएर कसरी छाया पराई भयो ?? ४ ??

टाढा छौ तर लाग्छ किन्तु नजिकै हेर्छ्यौ लजाई लुकी ।
मैले के अब बिर्सुँला र रिसमा मेरो तिमी ढुक्ढुकी ।।
वर्षा बादलसंग छुट्छ र कतै ? या बोट धर्तीसँग ?
तिम्रो साथ मसंग छुट्नु पनि हो यो देह आत्मासँग ।। ५ ।।


रातोपुल, काठमाण्डौ ~ २०७२ फागुन
 



Tuesday, February 9, 2016

नजुधी समस्या समाधान हुदैन

नजुधी समस्या समाधान हुदैन 
प्रेमको लागि प्रेमिका गुमाउने  प्रेमीहरुमा समर्पित  

वञ्जर खेत नजोतिए धान हुदैन, अध्यारो रात नबिते बिहान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्,
नजुधी समस्या समाधान हुदैन ।।

झर्छन् आँसु, चिप्लन्छन् खुट्टा,
कतै धर्ती भासिन्छ पनि ~
आवेशमा नआई अडिग बनी सम्हालिनै पर्छ शिष्ट बनी ।
जिन्दगीको निखार समस्याभित्रै छ,
ननिखारिएको मान्छे महान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।

त्यागभित्रको प्राप्ति होस् या प्राप्ति भित्रको त्याग ~ 
महत्त्व आफ्नै, अस्तित्व फरक छ ~ 
केही न केही त गुमाउनै पर्छ,
नगुमाएको बलिदान हुदैन ।
जस्तै ठूलो पीडा किन नहोस्, नजुधी समस्या समाधान हुदैन ।।


२०७२ माघ २६ रातोपुल काठमाण्डौ