Friday, December 30, 2016

गजल

गजल

गाग्रीभरि जवानी थ्यो कोखिल्लामै छल्यो कि त ।
चिप्लो चिप्लो बाटो थियो यात्रा कतै ढल्क्यो कि त ।।

आँखा जुध्यो लजाउदै फर्किफर्की हेरेकि हौ,
रातिपख कल्पनामा आकृति यो झल्क्यो कि त ।।

भरि गाग्री पानी बोक्दा आँखाभरि प्यास थियो,
मुस्कुराउदै गएकि हौ मनमा माया सल्क्यो कि त ।।

दुई घुट्की पानीसंग चार घुट्की मुस्कान त्यो,
तातोतातो संवादले कोमल मन भल्क्यो कि त ।।

पर्सीपल्ट फर्कदा नि त्यै धारामा पर्खुँला म,
नसोच्नु है घरिघरि आउछ मोरो पल्क्यो कि त ।।

२०७३ मंशिर

Monday, December 5, 2016

गजल

मुस्कुराउदै आऊ तिमी रात पनि दिन बन्छ ।
सबैकुरा भरिपूर्ण भएको "सविन" बन्छ ।।


जीवनका अनगिन्ती कष्टकर यात्राबिच,
खुशीयाली भरिएको प्रेमिल 'एकछिन' बन्छ ।।
अलिअलि ओठ टोक्दै अनुहार झुकाएर,
लजाउँछ्यौ तिमी जब चट्टान मिहिन बन्छ ।।
तड्पिएको मनसंगै भड्किएको अवस्थामा,
थामिदिनु हात अनि "प्रभात" शालीन बन्छ ।।

२०७३ मंशिर १९