Monday, August 20, 2018

कविता (प्यारो रारा)

प्यारो रारा (छन्द: शार्दूलवीक्रीडित)

ओडी च्यादर मेघको हिमचुली मुस्काउछन् हर्षले ।
पैलैबाट अनन्त बैँस यसको फेरिन्न खै वर्षले ।।
हेरी सुन्दर छाल स्वच्छ जलको थाक्दैन आँखा कतै ।
टुक्रा हो कि प्रफुल्ल स्वर्गपुरको प्यारो छ रारा सधै ।।

मुर्मा शैल श्वेत टम्म हिउँले मीठो छ हावा अहा ।
डाँफे कालिज कस्तुरी वरिपरी उन्मत्त प्रमत्तका ।।
यो स्वर्गीय छटा अहो घनघटा बिर्सेर बिर्सिन्न है ।
यस्तै राग उनेर बन्छ कविता प्यारो छ रारा सधै ।।

ताल्चा स्वागत गर्छ हर्षित हुँदै सम्झ्यौ मलाई भनी ।
हुर्केकी छ पुछारमा गमगढी प्रफुल्ल जैले पनि ।।
धर्तीकी नव-वेहुली छ रसिली सौन्दर्य फैलाउँदै ।
त्यैं सौर्न्दर्य टिपेर छन्द भरियो प्यारो छ रारा सधै ।।

वाशन्ती मधुमास झैं हरघडी माधूर्यमा लिप्त यो ।
धेरैपल्ट पुगेँ पुगीरहुँ सधै यैं चाह - यैं घिट्किसो ।।
छाप्री मन्दिरले सुसेल्छ मुरली ती छाल नाच्छन् जसै।
त्यो खत्याड बगेछ स्नेह झरना प्यारो छ रारा सधै ।।

रारा ताल, मुगु - २०७४