Friday, November 11, 2011

प्रगति


प्रगति

  झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?

  "तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!


  धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।


  ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
म वाल्ल परेर कुरा सुन्दै सही थापेँ। सरकार , सबै दल र ब्यक्ति समेतलाई बाँकी नराखेर गाली गर्नुभयो।
सबैप्रति आक्रोश एवं असहमति । लोडशेडिङप्रति मम्मी पनि असन्तुष्ट हुनुहुन्छ । अध्यारोमा तरकारी चर्को भएपछि पाहुनाले खाना फालेछन् ,बाबाले समेत मम्मीलाई गिज्याउनु भो। एक घण्टा प्राधिकरण र सरकारलाई गाली गर्दै बाबा र पाहुनाको वार्ता चल्यो।
भाइले समेत सहि थाप्दै दुई चार उदाहरण सुनायो, हेर काली र चिलिमे !!

  
छ्या छ्या छ्या .....  पिच्च थुक्दै मनोज फोहोरको डङ्गुरैबाट दगुर्यो। म चाहि अलमल्लमा परेँ। बढेको प्रदुषण र न उठाएको फोहोर देख्दा।
बिष्णुमतीमा थुप्रिएको फोहरकै कारण राजेन्द्र गाडी चढेर अर्को बाटो आउछ मेरो कोठामा,मसंगका हरेक भेटमा उसले फोहोर , कोलाहल र अस्थिर राजनीतिकै कुरा गर्छ ।

   आज यो क्लासमा पढाइ नै हुन्न । बस्ने ठाउ नपाको झोकमा साथिको झोला तान्दै पार्वती चड्कीई। हरे ! सरकारी क्याम्पसको गति । सुजन, गोविन्द र शुष्माले पनि सहमति जनाए ।
बिनिता र सुरेश समेत चिच्चाउन थाले पछि सर बाद्य भएर प्रमुख सर समक्ष जानुभयो।
प्रमुख सरले कोठा र बिद्यार्थी संख्या हेरेपछि हामीलाई अर्को अलि ठूलो कोठाको ब्यवस्था गरिदिनु भयो ।
दुई घण्टी मात्र के पढ्दै थियौँ, ढोका बाहीर कोलाहल आएपछि सरले बाद्य भएर ढोका खोल्नु भयो।
प्रमुख सर र ५०-५५ जना बिद्यार्थीहरुको समुह । ठूलो कोठा हामीले हडपेपछि स्नातक दोश्रो
बर्षका साथीहरु अट्ने ठाउको ब्यवस्था गरियोस् भन्दै त्यतै हानिएका रहेछन् । कतै समायोजन हुन नसक्ने
देखेर प्रमुख सर चिन्तित हुनुन्थ्यो ।

   सन्तुष्टी कही नि छैन । जताततै रिस, झगडा अभाव र अशान्ति ब्याप्त छ।
क्याम्पसमा समेत राम्रोसंग पढ्न नपाएर म डेरातिर जाँदै थिएँ गाडिमा पनि अत्याधिक जनचाप। "कति मातै कोच्न सकेको हो, ह्याँ टेक्ने ठाउ नि  त हुनु परो नि !!"
नजिकै उभिएकि एक महिलाले एकै सासमा असन्तुष्टी पोखिन् ,"सधै यस्तै हो भन्या !!" अर्कीले समर्थन जनाइन्।
त्यही क्रममा एक जनाको मोबाइलमा घण्टी बज्यो। कोलाहल र हल्लाको कारण उनले कुरा बुझ्न सकेनन्
सात आठ पटक हेलो हेलो भन्दै रिसाएर फोन कटाइदिए। अनि चुर हुदै उभिए।

   साढे एक बजे आउछु भनेको साथी तीन बज्दासम्म पनि नआएपछि ममा रिसले उग्रता लिदै थियो।
अत्यावस्यक कामले आउने अलि समयमै आउनु पर्छ नि , कस्तो लम्फु हो । उसले विगतमा गरेका २-४ ओटा गल्ती सम्झेर 'सधैको हरामी' भन्ने शब्द उच्चाहरण गरेछु । हस्याङ फस्याङ गर्दै त्यहीबेला ऊ त्यहाँ आइपुग्यो।
'सधै ढिलो गर्चस् तैले नि' हात समेत नमिलाइकन उसको ढिलाई प्रति आक्रोषित भएँ।
"काँ एक घण्टा जाममा परेर,,, " बचाउ गर्दै उसले भन्यो। हत्या गरिएका आफन्तको खोजी र क्षतिपुर्तीको माग गर्दैक् चार घण्टासम्म सडक तताएछन् आफन्त र स्थानीयबासीहरुले।
"हैन हरेक कुरामा बाटै बन्द गर्ने , क्याम्पसै बन्द गर्ने कस्तो चाला हो यो !!" दुई हप्ताजसो अगाडिको घटना सम्झदै साथिले पनि आक्रोश पोख्यो ।
रिसलाई थाति राखेर नै भएपनि म उसका कुरामा सहमत भएँ ।।

   "हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।

   राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!



२०६५/१०/२३ काठमाण्डौ







Thursday, November 10, 2011

गजल


गजल
उच्च शिर सगरमाथा झुक्नुपर्ने नहोस् यहाँ !
हिमाल हाँस्दा तराई रुँदै थुक्नुपर्ने नहोस् यहाँ !!


अशान्ति यो  मौलाएर हिंसा  त्रास नरोकिदा,
रगत बग्छ भन्दै काली सुक्नुपर्ने नहोस् यहाँ !


बिखण्डता, पहाडी  म  तराईमा झर्दाखेरी,
मधेसीले धम्क्याएर लुक्नुपर्ने नहोस् यहाँ !


बदनामले जेलिएर चारैतिर  संसारमा,
नेपाली हुँ भन्नपनि चुक्नुपर्ने नहोस् यहाँ !


आन्दोलन र चक्काजामले सबैतिर बन्द भई,
पढ्न क्याम्पस जाँदापनि रुक्नुपर्ने नहोस् यहाँ !

सबिन प्रभात
लाजिम्पाट ~ काठमाण्डौ

Tuesday, November 8, 2011

Gazal

Ever sad  declining deer  is my life.
Blowing from each eye tear is my life.
Frustration, in-frolic, unwilling birth,
Misery , melancholy and fear is my life.
Absurd and meaningless existence vain,
Cultivated  in desert  pear is  my life.
All fastest of evils, good spreads slow,
Unredressed & humorous jeer is my life.
If I know life : precious and felicitous,
Abstruse but beautiful cheer is my life.

Monday, November 7, 2011

I Dont Dignify Your God !!

Yes, I dont dignify your god and dont think god solely your own.
I dont respect stone, I praise soul you absorb labour ~ I admire the labours.
Watching crippled hateful squint ~ you make statue, imposing brutality ~ you expose pride.
You build temple with black money & corruption. You do evil & make Pooja .......







नवित्तेन तर्पणियो मनुष्य:

म तिम्रो भगवान मान्दिन


हो, म तिम्रो भगवान मान्दिन र भगवान तिम्रो निजी पनि ठान्दिन ।
म ढुङ्गा पूज्दिन, मनलाई पूजा गर्छु ।
तिमि श्रम चुसिलिन्छौ , म श्रमिकको आराधना गर्छु ।
अशक्तहरुलाई हेय द्रिष्टिले हेरेर मुर्ति बनाउछौ । निरंकुशता लादेर अभिमान देखाउछौ
भ्रष्टाचार र कालोधनले मन्दीर बनाउछौ । तिमी पाप गर्छौ ~ पूजा लगाउछौ ।
भिखारीलाई थुकेर मुर्तिमा पैसा चढाउछौ । छ दिन पाप गरेर एक दिन ब्रत गर्‍छौ ।
आत्मामा भगवान नदेखेर ढुङ्गामा खोजी हिड्छौ ।
अपवित्र मनले द्यौता खुशी बनाउने कुउद्यत गर्छौ तिमी ।
म तिम्रो भगवानको उपहास त गर्दिन तर तिम्रो भगवान मान्दिन ।।
शोषकको खुट्टा घसेर गरिबको खिल्ली उडाउछौ।
मान्छेलाई लात हानेर मुर्तिअगाडि झुक्छौ ।
निर्दोष पशुको वलि दिएर कलंकित बर माग्छौ , पसिना चुसेर भोज लगाउछौ तिमी ।।
अरुलाई मारेर आफू बाँच्छौ , अरुलाई लडाएर अघि बढ्छौ ।
म नास्तिक होइन तर तिम्रो भगवान मान्दिन !!

Sunday, November 6, 2011

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

आफ्नै भुमी र माटो प्यारो भयो म फर्केँ !
त्यै बारी खेत पाटो प्यारो भयो म फर्केँ !!


ठूलो शहर् विदेशी ठाँउ अचम्म देख्दा ,
ताते हिडेको बाटो प्यारो भयो म फर्केँ !!

आमा बुझेँ म व्हिस्की स्याण्डविच खानुभन्दा ,
सिन्की र बासी आटो प्यारो भयो म फर्केँ !!


बिस्तारवाद बाठो साम्राज्यवाद टाठो ,
नेपाल देश लाटो प्यारो भयो म फर्केँ !!

मंगा र नग्न छोटा उल्टा नढाक्नु भन्दा,
थोत्रा लुगा र फाटो प्यारो भयो म फर्केँ !!