Friday, December 30, 2016

गजल

गजल

गाग्रीभरि जवानी थ्यो कोखिल्लामै छल्यो कि त ।
चिप्लो चिप्लो बाटो थियो यात्रा कतै ढल्क्यो कि त ।।

आँखा जुध्यो लजाउदै फर्किफर्की हेरेकि हौ,
रातिपख कल्पनामा आकृति यो झल्क्यो कि त ।।

भरि गाग्री पानी बोक्दा आँखाभरि प्यास थियो,
मुस्कुराउदै गएकि हौ मनमा माया सल्क्यो कि त ।।

दुई घुट्की पानीसंग चार घुट्की मुस्कान त्यो,
तातोतातो संवादले कोमल मन भल्क्यो कि त ।।

पर्सीपल्ट फर्कदा नि त्यै धारामा पर्खुँला म,
नसोच्नु है घरिघरि आउछ मोरो पल्क्यो कि त ।।

२०७३ मंशिर

Monday, December 5, 2016

गजल

मुस्कुराउदै आऊ तिमी रात पनि दिन बन्छ ।
सबैकुरा भरिपूर्ण भएको "सविन" बन्छ ।।


जीवनका अनगिन्ती कष्टकर यात्राबिच,
खुशीयाली भरिएको प्रेमिल 'एकछिन' बन्छ ।।
अलिअलि ओठ टोक्दै अनुहार झुकाएर,
लजाउँछ्यौ तिमी जब चट्टान मिहिन बन्छ ।।
तड्पिएको मनसंगै भड्किएको अवस्थामा,
थामिदिनु हात अनि "प्रभात" शालीन बन्छ ।।

२०७३ मंशिर १९

Tuesday, October 18, 2016

खाडीको क्रन्दन

खाडीको क्रन्दन (शार्दूलवीक्रीडित)

खाडीको धुपले बुझेन पिर यी घाँटी सुकाए पनि ।
हे प्यारी नचुहाउ आँसु घरमा आँखा रसाए पनि ।।
बेचिन्छन् सपना जहाँ रहरका सीमा बढाईकन ।
मान्छे मानवयन्त्र बन्छ बिचरा निर्धो र आकिञ्चन ।१।

आफ्नै ठाउँ बिरानिदैछ पसिना बेचेर भागेपछि ।
खाडीमा मन भड्कियो समयले टुंगो नलाएपछि ।।
छन् डल्ला सुनका टिपेर सजिलै फर्कन्छु झैं लाग्दथ्यो ।
छानो टाल्छु बनाउदै घर नयाँ इच्छा सधै जाग्दथ्यो ।२।

प्यारीको गहना गयो श्रम गयो गै गो जवानी पनि ।
आएनन् सुखका बहार कहिलै पीडा अचाक्ली छ नि ।।
आमाको मन रुन्छ सुक्छ गहमै शोकाश्रु रातै दिन ।
हाम्रो भाग्य यसैगरी रचिदियौ पापी विधाता किन ??

ताते हिड्न सिकाउथेँ थिरिथिरी छोरो दगुर्ने भयो ।
फड्क्यो वर्ष यसै यहाँ प्रगतिको गिन्ती पुरानै रह्यो ।।
टालेको फरिया त्यसै खुइलियो आमा र प्यारी कठै !
साँच्चै अन्त्य हुदैन हो कि घरमा यो दुर्दशाको कतै ??

ताजा याद अझै छ प्रेम रसिलो संकोच थोरै यता ।
तिम्रै तस्बिर बल्झदैछ मनमा प्यारी नरोऊ त्यता ।।
टिक्दैनन् शशि सूर्यमा ग्रहणका धर्सा अवस्यै पनि ।
कालो बादल फाट्छ हेर नभको आभा सुनौलो बनी ।५।

२०७३, राराताल मुगु
....

Monday, May 30, 2016

रुन्छ कविता

रुन्छ कविता (शिखरिणी छन्दमा)

सँगालेका सारा सुखहरु चुहिन्छन् जब जब
कसो गर्ने भन्ने मन - मगज घुम्छन् तिर तब ।
छ अौौँशीको कालो ग्रहणविचमा लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै माया खोज्दै रहरहरु बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजार्का गल्लीमा वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा माया जलन बनी दन्क्यो दनदनी
रिसाएकी हौ या मथिँगल घुमेको फनफनी ?
भएका छन् टाढा समय गतिले राम र सीता
नहाँसेरै हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी जस्तै आँसु अविरल बग्यो पृष्ठहरुमा
मुना छैनन् यौटै कुसुमकलीका शुष्क तरुमा ।
सिमा श्रेया सन्ध्या सब मलिन छन् अञ्जु अमिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………

सिन्धुली, २०७२

Sunday, May 8, 2016

गजल

गजल

राम्री लाग्यो काली हैन काली जस्तै थिई ।
कता कता पूजा गर्ने थाली जस्तै थिई ।।

नुहाएर बार्दलीमा लामो केश फिजाउँदा,
क्षितिजमा प्रभातको लाली जस्तै थिई ।।

मन्द मन्द बोलीसंग सुहाएको हाँसो सारै,
हाँस्दा लाग्थ्यो गडगडाहट ताली जस्तै थिई ।।

हेराहेर भइरह्यो लजाउँदै बारम्बार,
निस्चल आँखा, चोखो मन खाली जस्तै थिई ।।

उस्तै हुन् केटी सबै के विशेष थियो भने,
पुष्पगुच्छा भरिएको डाली जस्तै थिई ।।

२०७३ वैशाख २६, हुटु