तिमी हाँस्दैखेरी झलमल छ यो सूर्य किरण ।
तिमी रुन्छ्यौ जैले जल बनिदिने बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भइन् पुष्पतरु ती ।
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।
तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी ।
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
सधै ऊर्जादायी रगत सरि छौ स्नायुहरुमा ।
छ यो चाहा बेग्लै किनकिन मनै जान्न अरुमा ।।
तिमी रात्री जस्तै अनुभव हुने शान्त प्रहर ।
तिमीमै गाभिन्छन् सकल मनका तिव्र रहर ।।
म थोपा मात्रै पो अखिल जलको सागर तिमी ।
म सारै नै अल्छी भर न मनमा जाँगर तिमी ।।
तिमी साथी मेरी प्रणय रथको सारथि तिमी ।
तिमी पूजा मेरी शुभ समयको आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै ।
तिमी माया मीठो मधुर प्रितमा रम्दछु सधै ।।
[कविता :- अकण्टक भावना]
[छन्द :- शिखरिणी]
रचना मिति :- २०७३/१२/०५