Tuesday, July 1, 2025

ब्रह्माण्ड मेरो घर

ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित)

सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड  मेरो घर ।१।

खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।

गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।

साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।

आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्‍यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।

सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ जगमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।

[रारा ताल मुगु, २०७३]

Tuesday, June 24, 2025

अकण्टक भावना (शिखरिणी छन्द)


झुलेका बाला झैँ लहलह खुला केश शिरको 
गुलाफी ज्योत्स्नामा नभ घनघटा लेक तिरको ।
हर्‍यो निद्रा मेरो चयन मनको शान्ति सजिलै 
कहाँ भेट्ने होला मन भ्रमित भो आज अति नै ।।१

म तड्पेँ त्यो तिम्रो खबर जब मिल्दैन छिनमा 
डुबायौ प्यारीले अतुल गहिरो प्रेम ऋणमा ।
यसै सोच्तासोच्तै टिलपिल भई बग्छ नयन 
म मात्रै भड्केँ या विचलित तिमी छौ अब भन ।।२

अहा अङ्गालोमा अनवरत आलिङ्गन गरी
लजाएकी हल्का सलल सरिताकी जलपरी ।
फिता भै झोलाको सहज तनमा टाँसिन सकूँ
तिमी हिँड्दा तिम्रै पदयुगलको चाल म बनूँ ।।३

तिमी प्रज्ञा आभा सुललित कला ए सहचरी 
धुरी खम्बे माया ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।।४

तिमी हाँस्ता मात्रै झलमल हुने सूर्य किरण 
तिमी रुन्छ्यौ जैले जल बनिदिनन् बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भए पुष्पतरु ती 
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।५

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी 
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
दियौ ऊर्जा रातो रगत सरि बग्दैछ धमनी 
दगुर्छन् छातीमा लहर प्रियका स्पन्दन बनी।।६

तिमी सायंसन्ध्या समचर सधै शान्त प्रहर 
तिमीमै गाभिन्छन् चपल मनका तिव्र रहर ।।
म थोपा मात्रै हो अखिल जलकी सागर तिमी 
भएँ सारै अल्छी भर न मनमा जाँगर तिमी ।।७

तिमी साथी मेरी प्रणय रथकी सारथि तिमी 
तिमी पूजा मेरी शुभ समयकी आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै 
तिमी माया मीठो मधुररमणी मोज छ सधै ।।८


[ प्यारीलाई दाम्पत्य वर्षगाँठको अनन्त शुभकामना सहित 😍 ]

Saturday, June 21, 2025

प्रेम

(छन्द : शार्दूलवीक्रीडित)

आँखा बन्द हुँदा तिमी हृदयमा आँखा खुलामा पनि ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा पनि ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती  ।
चोखो प्रेम अमोघ भित्र मनमा पीडा कतै छट्पटी ?? 

वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित श्वास धड्कनसँगै चढ्दैछ नौलो रव ।
साँच्चै प्रेम अचम्मको चिज छ यो के गर्व के गौरव ।।

पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लीरहेछन् ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल मुखै नखोल कहिले बिर्सेर आफ्नोपन ।
"कालीको अवतारमा प्रिय रती" प्रेमास्त्रले शोभन ।।
*****



घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
त्यैँ यात्रा मझदारबाट अघिको चट्टान झैँ लाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
मेरा स्नायु भरेर प्रेम रसले रित्याउनू त्रास त्यो ।
भै दृष्टान्त बुझाउँला जगतमा यो प्रेम यैँ भक्ति हो ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहजमा पूरा गरौँला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द)

[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]


Saturday, June 14, 2025

गण्डकी महिमा

संसारका पवित्रतम् नदीहरूमध्ये हाम्री गण्डकी शीर्षस्थानमा पर्दछिन् । साक्षात् नारायणका गालाको पसिना स्वरूपमा निर्झरित गण्डकीले उनै सर्वेश्वर नारायणको अर्चाविग्रह भगवान् शालग्राम (चक्रशिला) लाई जन्मदिने भएकोले शालग्रामलाई गण्डकीनन्दन (गण्डकीका पुत्र) पनि भनिन्छ ।

उत्तरपूर्वी मुस्ताङको नेपाल तिब्बत सीमा स्थित ६,२६८ मिटर अग्लो न्हुबिने हिमाललाई गण्डकीको उद्गमस्थल मानिन्छ । उद्गमस्थलबाट स्थानीय भाषामा स्छौमा नामले दक्षिणतर्फ बगेपछि ल्होमान्थाङ नजिकै न्हेचुङ खोलामा मिसिएर मुस्ताङ खोलाका नामले अनि कागवेनीमा काग खोला र मुस्ताङ खोला मिसिएपछि कालीगण्डकी नामले बहने यी नदिमा संसारको सबैभन्दा अग्गो र गहिरो कालीगण्डकी गल्छी समेत प्राकृतिक रूपमा निर्मित छ । गण्डकीका मुख्य सहायक सात नदीहरूमा कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, मर्स्याँङ्दी, दरौँदी र त्रिशूली हुन् भने विभिन्न ठाउँमा अन्य सहायक नदीहरू समेत समेट्दै चितवनको देवघाट नजिक त्रिशूलीसँग मिसिएर नारायणी (सप्तगण्डकी) नामले प्रसिद्ध छन् । त्यस्तै, भारतको पटनानेर भागीरथी गंगामा मिसिएर अन्तत: गंगासागर हुँदै बंगालको खाडीमा समाहित हुन्छिन् ।
 
नेपालको लुम्बिनी, गण्डकी, नारायणी, धवलागिरी आदि क्षेत्रमा बस्ने बासिन्दाको घरघरमा नित्य शालिग्राम पूजा हुनुको साथै मृत्युुपश्चात् शवदाह लगायतका कर्म पनि कालीगण्डकीको तटमै गर्ने प्रचलन छ । यहाँ अलि ठूलो पूजाआजा भयो भने फूलपाती सेलाउन समेत गण्डकीमै जाने परम्परा छ । यहीँ गण्डकी तटबाट जडभरत, महर्षि पराशर, महर्षि वाल्मीकि, महर्षि देवदत्त, ऋष्यश्रृङ्ग्य, श्रृङ्गी ऋषि आदि अनेकौं सिद्ध सन्तहरु र हाम्रा कयौं पुस्ताहरूको ध्यान, तप एवं साधना पूर्ण तथा जीवन मुक्त (मोक्ष) भएको छ । 

नेपालका प्रमुख चार धामहरूमध्ये हरिहर क्षेत्र (देवघाट), रुरुक्षेत्र (रिडी) र मुक्तिक्षेत्र (मुक्तिनाथ) गरी ३ धाम पनि गण्डकी काखका अवयव एवं धरोहर हुन् । शिरमा दामोदर अनि मुक्तिदाता भगवान् मुक्तिनाथ सजाएर हृदयस्थलमा रुद्रवेणी र हृषिकेश हुँदै पाउमा आदिप्रयाग देवघाटसम्म पुग्दा छटाहरुमा त्रिवेणी, राम्दी, आलमदेवी, गलेश्वर, सेतीवेनी, कागवेनी आदि थुप्रै पवित्र धार्मिक, सांस्कृतिक, आध्यात्मिक, प्राकृतिक एवं पर्यावरणीय स्थानहरूमा गण्डकीको कलरव ध्वनि निसृत छ । गण्डकीतटमा तर्पण र पिण्डदानादि श्राद्धकर्म गर्दा आफ्ना चौध पुस्ता (पितादि सप्त, मातामहादि सप्त) तृप्त हुने धार्मिक मान्यता छ । असंख्य शालग्राम भगवानलाई अविरल स्नान गराउँदै निर्झरित जल आफैँमा अनुपम तीर्थमणि नै हो जसको एकै थोपा मात्र पनि मुखमा पर्यो भने निःसन्देह जीवात्मा धन्य हुन्छन् ।
गण्डकीको व्यापक महिमा हाम्रा सामान्य दुईचार टुटेफुटे लौकिक शब्दहरूबाट उजागर गर्न सकिने विषय हुँदै होइन । स्वयंसिद्ध गण्डकी महिमा विम्वात्मक रूपमा यस्तो पाइन्छ :- 

"रवीन्दुक्षये त्वं कुरुक्षेत्रधामा, 
सदा माघमासे प्रयागेणतुल्या ।
पितृश्राद्धकाले गयापुण्यदात्री, 
मृतौ काशिकामुक्तिदाsसि प्रसिद्धा ।।"

अर्थात्, सूर्य र चन्द्र ग्रहणमा स्नान गर्दा कुरुक्षेत्रमा नुहाएको फल मिल्ने, माघ महिनामा स्नान गर्दा तीर्थराज प्रयागमा स्नान गरेको फल मिल्ने, पितृश्राद्धादि कर्ममा गयाश्राद्धको फल मिल्ने र गण्डकी किनारमा देह त्याग वा शवदाहादि कर्म गर्दा काशी विश्वनाथले जस्तो मुक्ति दिन समर्थ कालीगण्डकी प्रसिद्ध छन् । 

मोक्षदायिनी कालीगण्डकी र शालग्राम शिलाको महिमा केही उपनिषद्हरु, श्रीमद्भागवत, अन्य पुराणहरु, महाभारत, आनन्दरामायण, मुक्तिक्षेत्र माहात्म्य, मुकुन्दमालास्तोत्र लगायत ग्रन्थहरुमा प्रसस्तरूपमा पाइन्छन् । 

"शालग्रामसमीपे तु क्रोशमात्रं समन्तत: ।
कीटोsपि म्रियते याति वैकुण्ठभुवनं ध्रुवम् ।। 
पशुपक्षिमृगा मर्त्या वृक्षा ग्रावास्तृणानि च ।
तज्जलस्पर्शनादेव गच्छन्ति स्वर्गमुत्तमम् ।।"
 
मुक्तिक्षेत्रमाहात्म्यबाट उद्धृत यस श्लोकमा शालिग्रामशिलाको एक कोश दुरी वरपर कुनै किरा मर्यो भने पनि वैकुण्ठलोक प्राप्त गर्दछ । पशु, पंक्षी, वन्यजन्तु, वृक्ष, पत्थर र झार समेत कालीगण्डकीको जल स्पर्श मात्रले समेत स्वर्गलोक प्राप्त गर्दछन् भनेर बताइएको छ । 
"शालग्रामशिलारूपो तव गर्भगत: सदा ।
स्थास्यामि तव पुत्रत्वे भक्तानुग्रहकारणात् ।।"

वराहपुराणमा वर्णित यस श्लोकमा विष्णु भगवान् स्वयंले आफू गण्डकी पुत्रको रूपमा शालग्राम शिला भएर भक्तहरुको अनुग्रहका निम्ति गण्डकीको गर्भमा सदा रहनेछु भन्नुभएको छ । 
गुल्मी जिल्लामा जन्मिनुभएका संस्कृतविद्वद्विभूषण पण्डित श्री उमानाथ पन्थीले कालीगण्डकीकै महिमा वर्णन गरेर गण्डकीगौरव नामक संस्कृत काव्य समेत रचना गर्नुभएको छ । 
"तव गर्भसमुद्भवा: शिला भजता चक्रिसरूपताssप्यते । 
जनयित्रि न मेsत्र संशयस्तव योगादितरा सरिद्यथा ।। "

काव्यको उदाहरणस्वरूप उद्धृत उपर्युक्त श्लोकमा पण्डित उमानाथ पन्थीले हे गण्डकी श्रद्धापूर्वक नित्य तिम्रो गर्भबाट उत्पत्ति भएका शालिग्रामशिला पूजा गर्ने मानिसहरु अन्त्यमा भगवत्सारुप्यमुक्ति प्राप्त गर्दछन् यसमा कुनै संशय छैन भनेर गण्डकीको महिमा बताउनुभएको छ । 

त्यस्तै, भविष्योत्तर पुराणमा भगवान् श्रीकृष्ण र युधिष्ठिरको संवादमा गण्डकी माहात्म्य अन्तर्गत निम्नानुसार अनुष्टुप छन्दक‍ो ३२ श्लोकमा रहेको शालग्राम (शालिग्राम) स्तोत्र समेत लोक प्रसिद्ध रहेको छ । जसमा शालग्राम शिलाको रूप, लक्षण, प्रतीक चिन्ह, महत्व, विधि, निषेध आदि सबै कुराको निरुपण भगवान् श्रीकृष्ण स्वयंले गर्नुभएको छ  :-

अस्य श्रीशालग्रामस्तोत्रमन्त्रस्य श्रीभगवान् ऋषिः नारायणो देवता, अनुष्टुप् छन्दः श्रीशालग्रामस्तोत्रमन्त्रजपे विनियोगः 

युधिष्ठिर उवाच :-
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥

श्रीभगवानुवाच :-
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामो भवेद्देवो देवी द्वारावती भवेत् ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥३॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥

अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥

नैवेद्ययुक्तां तुलसीं च मिश्रितां विशेषतः पादजलेन विष्णोः ।
योऽश्नाति नित्यं पुरतो मुरारेः प्राप्नोति यज्ञायुतकोटिपुण्यम् ॥१०॥

खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥


कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥

शङ्खचक्रगदाकूर्माः शङ्खो यत्र प्रदृश्यते ।
शङ्खवर्णस्य देवानां वामे देवस्य लक्षणम् ॥२०॥
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥

छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥

कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥

हरिहर- रूरूक्षेत्र - मुक्तिक्षेत्र, जाउँला - 
कालीगंगा नुहाएर पवित्र भै आउँला ।२। 
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

दामोदर कुण्डदेखि - देवघाटसम्म । 
शालीग्राम उब्जाउँछ्यौ थरिथरि टम्म ।३। 
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…




सूर्य चन्द्र ग्रहणमा कुरुक्षेत्र जस्ती, 
तिम्रो जलको कोशौँ सम्म पावन गाउँबस्ती ।४।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


कागवेनी, रुद्रवेणी त्रीवेणीधाम सुस्ता ।
श्राद्ध गर्दा तृप्त हुन्छन् आफ्ना चौध पुस्ता ।५।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

जड भरतले यहीँबाट मोक्ष प्राप्त गरे । 
एकैपल्ट जस्ले न्वाए, भवसागर तरे ।६।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


श्रीहरिको पसिना भै - बग्दै आइन् काली । 
भक्तिभाव टक्राउछौँ - मनको बत्ती बाली ।७।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवघाट पाउमा छन्, शिरमा मुक्तिनाथ ।
कल् कल् बग्ने कालीगंगा, भुक्तिमुक्ति साथ ।८।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवदत्त, पराशर - वाल्मीकिको भूमि ।
ध्यान ज्ञानको सिद्धि दियौ - बग्दै घुमिघुमी ।९।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

 पूज्य डा. चक्रपाणि आचार्य गुरूको प्रेरणा एवं आचार्य सन्तोष सुवेदीको सहयोगमा 


वि. सं. २०८२ जेष्ठ ८ गते, माउन्ट हर्मन 



मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल

शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता। 

वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।

शिक्षण र नेतृत्वको समर्पित यात्रा

शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्‍यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्या‌र्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।

२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।

सधैंको साथ, सहयोग र सद्भाव

यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्‍यो।

विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।

नयाँ यात्राको प्रारम्भ

छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।

शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।

बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात

आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।

म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।

अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।

शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !


– विकाश चन्द्र खरेल

पूर्व प्रधानाध्यापक,

श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी

हाल: श्री आदर्श मा वि, दिगाम

वि. सं. २०८२ जेठ ३१ शनिबार