Sunday, July 12, 2015

अर्को दृष्‍टिभ्रम

अर्को दृष्‍टिभ्रम (शार्दूलवीक्रीडित) 

अौशी रात भयो तिमी जब गयौ तारा उदाए पनि ।
आशा लाग्छ अझै म लक्ष चिनुला बाटो बिराए पनि ।।
चाहाना यदि पुग्दथे  सब भने को रुन्छ होला यहाँ ?
तिम्रो तस्विर लेखिएछ मनमा जाउँ र मेटौँ कहाँ ।। १ ।।

प्यारो किन्चित कोपिला कुसुमको काँडा बन्यो के कतै ?
रश्मी रक्तिम ललिमा क्षितिजको अस्ताउदै थ्यो यतै ।।
खोला होइन प्रेम बग्न सजिलै वर्षातको भेल झै ।
पासा हो कि जुवा जित्यौ अनी उठ्यौ भो तासको खेल झै ।। २ ।।

त्यो उद्यान सुरम्य पुष्पहरुको वेली चमेली तथा ।
चम्पा मख्मलि मालती द्रुम अहा छन् पल्लवीका लता ।।
तिम्रो केश समान लाग्छ किन हो राम्रो बगैँचा पनि ।
यैं दृष्‍टिभ्रममा खुशी छु म सधैं झन्डै म पागल बनी ।। ३ ।।

फक्रेको प्रतिभा अनन्त लयमा काव्या तिमी मंजरी ।
काया लुप्त प्रदीप्त ज्योति नहुँदा छाया रह्यो मन् भरी ।।
त्यैँ छाया पनि टाढिदै छ किन हो बुझ्दैन केही पनि ।
यात्रा यो कतिसम्म चल्दछ यहाँँ एक्लो नितान्तै बनी ?? ४ ??


असार २०७२, रातोपुल काठमाण्डौ 





Saturday, April 18, 2015

अकण्टक भावना

अकण्टक भावना ( शिखरिणी )

विशेष आभार :-  [ प्रान्जल प्रेम @pranjalprem र कमल शर्मा @InnocentIdiot_ ]

झुलेका जौ जस्तै लहलह अहा केश शिरको । 
छ है ध्यानै तान्ने नभ घनघटा लेक तिरको  ।।
हर्यौ निद्रा मेरो चयन मनको शान्ति सजिलै । 
कहाँ भेट्ने होला मन अधिर भो आज अति नै ।। १ ।।
                                                                                    

म तड्पिन्छु तिम्रो खबर जब मिल्दैन दिनमा । 
डुबेँ क्या हो ज्यादै अतुल गहिरो प्रेम रिणमा ।। 
कठै सोच्दा सोच्दै टिलपिल हुदोरैछ नयन । 
म मात्रै पो हो या विचलित तिमी छौ अब भन ।। २ ।।

अहा अंगालोमा उनिरहुँ अझै लाग्छ कहिले । 
र देख्दा सारीमा बनुबनु म सप्को कि अहिले ।।
जसै झोला भिर्छौ म बनु कि फिता टाँसिन त्यहीँ ।
तिमी हिड्दा तिम्रो छम छम बनु पाउजु कहीँ ।। ३ ।।

तिमी प्रज्ञा आभा  बनिरहु सधैं यैँ वरिपरी । 
तिमी आस्था मेरी ढलमल नहोस् जीवनभरी ।। 
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  । 
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।। ४  ।।  


२०७१ बैशाख , सिन्धुली 




Saturday, January 24, 2015

बितेको जवानी

बितेको जवानी ( उपजाती छन्द )
यो लाज मात्रै किन मान्दछौ हे,
ब्यर्थै तिमी लाज नमान जैले ।
टाढा हुँदै छौ नमानी नमानी,
फर्कन्न कान्छी बितेको जवानी ।१।

संगै घुमेको वन खेतबारी,
कान्ला र बेशी नदी वारिपारी ।
सानो म थेँ थ्यौ तिमी सानिसानी,
फर्कन्न कान्छी बितेको जवानी ।२।



हर्लक्क बढ्दा अझ सुन्दरी भै,
फक्रक्क बेली र चमेली फूल्झै ।
यो बैस राम्रो सुनौलो बिहानी,
फर्कन्न कान्छी बितेको जवानी ।३।
मन्मा लुकेको छ अत्रिप्त प्यास,
छिप्दैन फूल्मा बढेको सुबाश ।
यो ज्यान तिम्रै तिमी मन्की रानी,
फर्कन्न कान्छी बितेको जवानी ।४।
खोलेर मन्का सब तिर्सना ती,
पूरा गरौँ आज हुँदैन भोली ।
के लाज मान्छौ सबै जानिजानी,
फर्कन्न कान्छी बितेको जवानी ।५।
आँखा नशापूर्ण छ ओठ् गुलाबी,
उन्माद छिट्टै भइहाल्छ हाबी ।
त्यो काख प्यारो मजाको सिरानी,
फर्कन्न कान्छी बितेको जवानी ।६।
मन्मा कुनै धुक्चुक राख्न हुन्न,
साँच्चै सिपालु तिमी प्रेम उन्न ।
खोला बगी जान्छ फिर्दैन पानी,
फर्कन्न कान्छी बितेको जवानी ।७।
आँखा जुधाई पर बस्न खोज्दा,
नाना थरिका डर त्रास  सोच्दा ।
आधा अपूरो भयो प्रेम् कहानी,
फर्कन्न कान्छी बितेको जवानी ।८।
आजै त हो जे मन लागि गर्ने,
आउन्न भोली नयाँ रंग भर्ने ।
यो ज्यान हाम्रो हुनेहो खरानी,
फर्कन्न कान्छी बितेको जवानी ।९।

२०७० फाल्गुन १४, सिन्धुली  



Wednesday, January 21, 2015

Dear I Will Not See You There

Though not happy enough, I am better with what I am.
Dreams seldom match with life's actual form.
And,
Imagination usually exceeds reality ~ break-fail thoughts,
Sadly, sometimes,
Thunder strikes on the innocent buds.
Fantasy of one's heart, beyond this cosmos.
An entire size of dreams lost thus,
fret and fuss.
Elegant fairy; quite surroundings; lustful far or near.
When I get up tomorrow ~ Dear I will not see you there ..

Special Thanks :- Kamal Sharma
https://twitter.com/InnocentIdiot_

2070/05/14 Sindhuli 


Wednesday, July 30, 2014

एउटा अधुरो कथा

एउटा अधुरो कथा



 आधासरो कपाल फुलिसकेछ, उसको अनुहारको चार्मभने उस्तै लाग्यो। दृष्टि त उसको पहिलेदेखि दार्शनिकको जस्तै हो, गाढा सोचाइमा डुबेजस्तो ध्यानमा मग्न बुद्धको हेराइजस्तो सधै गहन। डि आइ जि को बर्दी उसको शरिरमा यति सुहाएको थियो कि म धेरैबेरसम्म हेरेको हेर्यै भएँ। वरिष्ठ जापानी कुटनितिज्ञ नागासुमिको बोलीले म झसंग भएँ। उनी तेस्रोचोटि स्वयम्भू डाँडा चढेको यो अनुपमताको वर्णन गरिरहेका छन्। म उनकै कुरामा सही थप्नु बाहेक बोल्नुपर्ने आवस्यकतै छैन। दुवैजनाको साटो उनी एक्लै बोलिरहेका छन्।उनले स्वयम्भूका आँखाको बर्णन गरिरहदा मेरो दृष्टिमा एकपल डि आइ जि को तारायुक्त निशान गाडि पर्यो, राम्ररी हेर्न नभ्याउदै गाडि घुम्तीबाट मोडिएर गयो।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

आखिरी जेठको उखर्माउलो गर्मीमा तलब बुझेको सबै पैसा सकिनै लागेको थियो। नेपालको सामान्य सरकारी जागिरको तलबले शहरमा जेनतेन छाक टार्नसम्म पुग्थ्यो। अलि धक फुकाएर खान र लाउन पनि कतै न कतैबाट खर्च कटौती गर्नैपर्ने। तर एक्लो ज्यान भएको बेलामा नि मस्ती नगरे कहिले गर्ने त ! त्यसमाथि पनि "Carpe deium Theory - Seize the day, Grab the time" बाट प्रभावित हुँदा जागिरप्रति अलि वितृष्णा बढेको थियो। न त भनेको बेला बिदा पाइने न त आफूले चाहेको ठाँउमा निर्धक्क घुम्न पाइने। तैपनि नया ठाउमा पोस्टिङ परेकोले एक दुई वर्ष जागिरकै निहुले नया ठाउ घुम्न पाइने भएपछि म जागिरमा थामिइरहेको थिएँ। नया ठाउमा जानुअघि आफ्नो सर्वाधिक निकटका दुई साथीसंग एकरात बिताउने कार्यक्रम मैले तय गरिसकेको थिएँ। अर्को एकदम मिल्ने साथी गोविन्दे विदेशमा रहेकोले हामी थ्री इडियट्स नै काफी थियौँ रमाइलो गर्नको लागि । दुईचार हजार खल्तिमै भएको अवस्थामा मैले मनेलाई फोन गरेँ- शुक्रबारको अपरान्ह। सेटिङ त हाम्रो पुरानै लोकेशन हो बालेको कोठा। बालेको कोठा र गैरीगाँउको हटलेमनमा मलाई विछट्टै खालको आनन्द आउँछ। त्यसमाथि कलेज सर्कलका हामी थ्री इडियट्स (म, मने र बाले) नभेटेको पनि डेढ महिनाजति भैसकेको रहेछ। ब्याचलर लेभलको कलेज जिवनपछि गधेपच्चिसीका सबैजना आआफ्नै धुनमा मस्त, आआफ्नै भविष्य र सोचाइले आआफ्नै काममा व्यस्त। शनिबार सबैलाई बिदा मिल्ने हुदा शुक्रबारको रातलाई Happy Friday Night बनाउने सल्लाह गरेर दुवै इडियट्सलाई फोन गरेर म इडियट पनि हिड्दै रत्नपार्कतिर लागेँ। म पुगिसक्दा मने पनि आइसकेको रैछ। केहीबेर पुस्तकपसलतिर चाहारेर यात्रालाई गन्तव्यतर्फ मोडियो।
जेठ अन्तिमका लामा दिनहरुमा दिउसको सवा चार बजेतिर पनि सूर्य जोडजोडले ताप दिइरहेको थियो- लिकति हिड्दापनि ज्यान पसिनाले भिजेर निथ्रक्कै हुने। परिक्षा  तयारीमा लागेको हुदा मनेले किताव किन्न भन्दै अद्वैत मार्ग देखि रामशाह पथसम्म सबै पूस्तक पसलमा उसले खोजेको कितावहरु सोध्दै हिंड्नु परेको थियो । अन्ततः उसले भनेको  किताव पाएपछि उमंगसाथ भन्यो ल अव म तलाई चिसो खुवाउछु l नजिकैको पसलमा चिसो र चुरो तानेपछि शरिरले पनि केहि राहत अनुभव गर्यो । पसिना अलिअलि ओवाउन पाए, सन्ध्याकालको सुर्य पनि अलि नरम हुदै थियो l 75 रुपैया जम्माजम्मी पसलमा बुझाएर बालेकोमा जाने गाडि चढ्न हामीले बाटो काट्यौँ
उफ् ..... नजिकै ट्राफिक रहेन । कमेसकम माईतिर नपूगि गाडि रोक्न पाउने सम्भावना देखिएन । उहिबा बस नचढेर तेरो बुद्धी मनेलाई कटाक्ष हान्दै हिंड्नुको अर्को कूनै विकल्प थिएन । माईतिरमा पनि ट्राफिक । हत्तेरी बबरमहल नै पूग्नू पर्ने भो गाडी चढ्न ! कहिले काही हिंड्नु पनि स्वास्थ्यको लागि राम्रो हो । आफ्नो दोषको बचाउ गर्दै मनेले भन्यो कुर्रै कुरामा ववरमहल पुगियो रुमालले पशिना पुच्दै गाडी कुर्नुको विकल्प थिएन  l

क्रमश ..