Sunday, July 12, 2015

अर्को दृष्‍टिभ्रम

अर्को दृष्‍टिभ्रम (शार्दूलवीक्रीडित) 

अौशी रात भयो तिमी जब गयौ तारा उदाए पनि ।
आशा लाग्छ अझै म लक्ष चिनुला बाटो बिराए पनि ।।
चाहाना यदि पुग्दथे  सब भने को रुन्छ होला यहाँ ?
तिम्रो तस्विर लेखिएछ मनमा जाउँ र मेटौँ कहाँ ।। १ ।।

प्यारो किन्चित कोपिला कुसुमको काँडा बन्यो के कतै ?
रश्मी रक्तिम ललिमा क्षितिजको अस्ताउदै थ्यो यतै ।।
खोला होइन प्रेम बग्न सजिलै वर्षातको भेल झै ।
पासा हो कि जुवा जित्यौ अनी उठ्यौ भो तासको खेल झै ।। २ ।।

त्यो उद्यान सुरम्य पुष्पहरुको वेली चमेली तथा ।
चम्पा मख्मलि मालती द्रुम अहा छन् पल्लवीका लता ।।
तिम्रो केश समान लाग्छ किन हो राम्रो बगैँचा पनि ।
यैं दृष्‍टिभ्रममा खुशी छु म सधैं झन्डै म पागल बनी ।। ३ ।।

फक्रेको प्रतिभा अनन्त लयमा काव्या तिमी मंजरी ।
काया लुप्त प्रदीप्त ज्योति नहुँदा छाया रह्यो मन् भरी ।।
त्यैँ छाया पनि टाढिदै छ किन हो बुझ्दैन केही पनि ।
यात्रा यो कतिसम्म चल्दछ यहाँँ एक्लो नितान्तै बनी ?? ४ ??


असार २०७२, रातोपुल काठमाण्डौ