Tuesday, February 21, 2012

लज्जावती स्वप्नप्रेमिका

लज्जावती स्वप्नप्रेमिका ( शार्दूलबीक्रीडित )
हाम्रो भेट अचम्म एक पलको मात्रै थियो तैपनि  ,
बस्ने भो अमिटै बनेर मनमा मेटिन्न कैलै पनि ।
तिम्रो वर्णन गर्न शब्दहरुकै कम्ती छ संसारमा,
मात्रै भन्न म सक्छु सुन्दर सबै सर्वाङ्ग तिम्रो अहा ।१।
लज्जाले निहुरी र रक्तिम बने ती ओठ गाला सबै,
केही शब्द फुटेन बोल्न नसकी काँपीरहेकी अझै ।
उस्लाई अब अङ्कमाल म गरी चुम्दै नछोडौँ कित,
आहा एक विचित्र विश्व अलगै टुकेर पृथ्वीसित ।२।
धेरै लाज नमान हेर दुनीया कस्तो छ रङ्गीन यो,
हाम्रो जीवन द्वी दिने लहर हो बाँकी इतिहास हो ।
साँच्चै यौवनको बहार अनि लौ छोटो छ यो जिन्दगी ,
केही धुक्चुक राख्नु मनमा यो बैश फर्कन्न नि ।३।
बुढ्यौली जब लाग्छ स्याउसरिका गाला नि मुज्जा परी,
तिम्रो सुन्दरता र नम्रपन यी पाइन्न खोजी गरी ।
बेलामै उपहार चिन्नु प्रियसी चाहा र इच्छाहरु,
आकांक्षा अधुरा रहेर नमरौँ भन्दैछु लौ के गरुँ ।४।
यस्तो मान नखोज आउ नजिकै के जन्म भो भार झैँ,
तिम्रो लाज र चाल मिल्छ सहसा लज्जावती झार झैँ ।
लाजैले जब ढाक्छ खुल्न नसकी लज्जावती झारको,
व्यर्थै जान्छ लुकी-छिपी दिनसबै लज्जा छ बेकारको ।५।
चेहेरा जब चाउरिन्छ कसले चुम्ला र माया गरी ,
कालो केश फुलेर पाक्छ तन त्यो खुम्चिन्छ बेला टरी ।
त्यो बेला हुनुपूर्व सोच अहिलै बग्दो छ यो जिन्दगी,
खोला बग्दछ फर्किदैन कहिलै रोएर जिद्दी गरी ।६।
जानेकी त तिमी तथापि नबुझी यो लाज मान्छ्यौ किन ,
हाम्रो जिवन बैश जोवन खुशी घट्दै छ जो दिन्दिन ।
मैले भन्छु रमाउ फुट्छ जलको फोका न हो जिन्दगी,
रोएरै पनि पाइदैन सुख ती यो देह फाटेपछि ।७।
१६ श्लोकको कविताबाट सम्पादित , २०६४ सालमा लेखिएको