Wednesday, April 23, 2014

मन गयो त्यता

मन गयो त्यता (वंसस्थ)

मुसक्क हास्दै कहिले लजाउदै
टलक्क पायल् छमछम् बजाउदै ।
छ स्वर्ण कान्ति अनुरागको घटा
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।१।।
विशिष्ट देख्दा सब अंग अंग ती
पछाडि फर्केर उभिरहूँ कति
भुलेर बाटो डुलियो यता उता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।२।।

बताससंगै फरफर् छ केश त्यो
टमक्क मिल्ने जिउसंग भेष त्यो
गुलाफ रातो लहरै रह्यो लता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।३।।
हिडाइ उस्को मृगचाल र्बिसने
मुस्कान मात्रै पनि पुर्णिमा हूने
जुधेर आंखा बढिराछ उष्णता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।४।।

छ सृृृष्टि संसार अचम्म बेसरी
विक्षिप्त हुन्छन् सब स्वर्गका परी
भरिन्छ माया मनमा कता कता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।५।।
बिहानमा घाम जसै उदाउछ
तरंग झै रस्मि खुला फिजाउछ
स्वतन्त्र डुल्छे मनले भन्यो जता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।६।।

कपाल साँच्चै भमरा झुलेसरि
उडाइ  लग्दैछ  हवा घरिघरि
मिठो छ बोली छ सबै विनम्रता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।७।।


अहो अहो यौवनमत्त सुन्दरी
प्रभाव उस्कै छ यहाँ वरिपरि
बढेछ सामिप्य तथापि  मौनता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।८।।
बतासैसंग बहदैछ  बासना
लिएर उस्कै रसपूर्ण चाहना
हराइहाले मनका उदाशता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।९।।


२०७० रानीबास सिन्धुली