Thursday, March 15, 2012

गजल


गजल
मासु खान्छ फ्याउरोले जिल्ल पर्छ काग यहाँ,
बिरालो भो शक्तिशाली डराउछ बाघ यहाँ ।
क्रान्ति के हो वास्तविक बुझेकाको आँखा छोपी,
प्रतिगामी स्वाँठलाई भन्छन् अझै जाग यहाँ ।
स्वच्छछवी कोइला भो सुनौलो छ आडम्बर,
नक्कली सुन् ढाकिदिन्छ कोइलाको दाग यहाँ ।
सर्प नाम हानी भयो अलि भ्रमजाल रची,
नामै मात्र बदलेर पूजीइन्छन् नाग यहाँ ।
कुर्सीमा छ बुद्धिमानी, कुर्सीमै छ शक्ति पनि,
मान्ने भए साथीहरु कुर्सी ढाल्न लाग यहाँ ।
परिवेश बाद्यताले साघुरियो यथार्थ नै,
सिस्नो पनि साग भयो रायो पनि साग यहाँ ।

कलंकी, काठमाण्डौ, २०६६-०९-०२


गजल


गजल
माया गर्नु तिमीलाई प्रभातको दोष छैन
मन शुन्य भएको छ अझैसम्म होष छैन।
चार दिन भइसक्यो तिमीलाई नदेखेको,
नदेखेरै हो कि कुन्नि केही गर्ने जोश छैन ।
भेट्नै पनि जान्थे बरु घरकाको डरले हो,
नजिकै हो घर तिम्रो बाटो आधी कोश छैन ।
मनैबाट चाहिएको साथी भेट्न नपाउदा,
अधैर्य बन्छ मन सबिन सन्तोष छैन ।
तिम्रालागि एकान्तमा म एक्लै रुदा रुदै,
आँखाहरु सुख्खा भए कत्तिपनि ओश छैन ।

२०६३-०३-२३ , साँझ ६ बजे , बलेटक्सार गुल्मी


सजीव लास


सजीव लास
जीवनको अस्तित्वको प्रश्न स्पन्दनमा उर्लिदा बाँचेकोमा गर्व लाग्यो।
असमानताको वास्तविकता आत्मसाथ गरेपछि अस्तित्व नै निरर्थक अनुभुत भयो :
मलाई लागेन म बाँचेको छु , किनभने बाँच्नुको अर्थ यस्तो होइन
निरर्थक यथार्थ ।।
बाद्यताको अस्तित्वमा सजीवताको संकेत हुदैन, म आत्महत्या गर्ने शाहस नभएर
जीवित छु : निरर्थक यथार्थ ।।
सजीव लास बाँचेको होइन, नमरेको मात्र हो।
बाँच्नु र नमर्नु फरक कुरा हो।
आत्महत्याको शाहस नभएर बाँच्नुभन्दा श्रेयस्कर छ म्रित्यु :निरर्थक यथार्थ ।।

२०६६, कलंकी काठमाण्डौ


                                      

Tuesday, March 6, 2012

अभिलाषा


अभिलाषा

म अस्तिदेखि बिमारी परेँ। एकशयचार डिग्रीको काम ज्वरो आयो छ बर्षको अन्तरालपछि। सारै नमज्जासँग टाउको दुख्ने र घाँटि अवरुद्ध हुने पनि भयो। रगत ,भिडियो एक्सरे र पिसाब समेत जाँच गराइसकेपछि बल्ल म ढुक्क भएँ। चार हजार रुपिया ठ्याक्कै सकिएपनि नराम्रो रोग रहेनछ। सामान्य टन्सिल र रुघाखोकीको ज्वरो। तर सारै आर्थिक मन्दीको अवस्थामा काठमाण्डौजस्तो महङ्गो ठाउमा बिमारी पर्नु त बेकार नै हो। घरबाट ल्याएको दश बाह्र हजार रुपिया त कता जान्छ कता पत्तै नहुने।
कल्पना मानव मात्रको नभै प्राणी जगतकै एउटा मनोदशा हो। वास्तविकतामा अपर्याप्त वस्तुहरुको भरपुर आनन्द थुप्रै कल्पनाहरुमा लिनु नै मानव जगतको बिशेषता हो। कल्पनामा पनि आनन्द पुगेनभने सपना त छदैछ। कल्पना मानव जिवनको एक अभिन्न अङ्ग पाटो भएकोले कोहि पनि त्यसबाट अछुतो रहन सक्दैन। अत: म पनि सिरकमाथि कम्मल खापेर आँखा चिम्म गरी स्वर्णिम जगतको परिकल्पना गर्न थालेँ।
मैले स्नातक तह पढ्दै गर्दा आफ्नै जिवनप्रति वित्रिष्णा उत्पन्न हुन थालेको छ। मेरा अभिभावकको म प्रतिको आशा एवं अभिलाषाहरु पूरा गर्न म अक्षम हुने चिन्ताले गर्दा होला, बुवाको म माथिको लगानी पनि खेर जाने भयले गर्दा होला म हिजो आज अति चिन्तनशील बन्न थालेको छु। म जति जति बढी सोच्दछु त्यती नै बढी विचारशुन्यताको खाडलतर्फ उन्मुख भए झै लाग्दछ। विचार सबैका आ आफ्नै हुन सक्छन् तर अभावबाट गुज्रने प्राय नेपालीको बिचार मेरोजस्तै हुनु पनि अचम्मको विशेषेता हो।
गरिबी प्राय नेपालीको प्रयाय भएकोले म काठमाण्डौमा एउटा सर्वगुण सम्पन्न घरको परिकल्पना गर्न पुगेछु त्यो पनि सामान्य चाउचाउको चिठ्ठामा परेको, जसबाट मेरा आगामी दिनहरु उज्वल बन्न पुगुन्। म आफूले चाहेकै महङ्गो कलेज पढ्न सकुँ। वा साथी राजेश जस्तै राम्रो बाइक चढ्न सकुँ वा गोकुलले झैं कलेजको क्यान्टिनमा सबै साथीहरुलाई टन्न खुवाउन सकुँ। होइन, साथी दिपकले झैं महङ्गा जुत्ता र कपडा फेरिफेरी लगाउन सकुँ। म स्वार्थी भएँ क्यारे, आफ्नो लागि त जो पनि बाँचेकै छ म त अरुको लागि समेत बाँच्न चाहने मान्छे त्यसैले क्याम्पस खोल्न वा अस्पताल बनाउनको निम्ति सक्दो सहयोग गर्थेँ।
" न वित्तेन तर्पणियो मनुष्य: " धन सम्पतिले सधै अत्रिप्त मानव जुनीमा उद्यमहीन तरिकाले प्राप्त घरभन्दा मलाई आफ्नै कडा श्रमको साथ योग्यता अनुरुप लोकसेवामा नाम निकाल्नु नै उत्तम लाग्न थाल्यो। इज्यत पनि हुने र छाक टार्न पनि गाह्रो नहुने। देशको सेवा पनि हुने र पैसा पनि राम्रै कमिने , तर! इमान्दारीले त धेरै पैसा कमिदैन। म भ्रष्टाचार पनि गर्न जान्दिन, भ्रष्टाचार नगरी पैसा बढ्दैन। भ्रष्टाचारीलाई कडा सजाय हुने कानून बन्दैछ। "सजाय" शब्द सुन्नासाथ म तर्सन्छु। सानोमा कक्षा हापेर ऐसलु खान जाँदा गुरुले सजाय भन्दै सबैको अगाडि आठ लौरा हानेपछि सजाएले मेरो सातो लिएको छ। भो भो मलाई लोकसेवा पनि चाहिएन।
अलि बिकसित देशतिर हानिन पाए बरु मज्जा हुन्थ्यो कि ! मान्यता पनि बढी हुने र नया देश र परिवेशमा रम्न पनि पाइने, पढाइ र पैसा दुवै हुने ! हो,,,, मलाई वैदेशिक यात्राको चाहना तिव्र खहरे भेलजस्तै उर्लेर आउन थाल्यो। बढ्दो महंगी र बेरोजगारीका कारण लाखौँ युवा विदेशिन बाद्य छन् म पनि त्यै हुल भित्र पर्छु। तर विदेश जान पनि कहाँ सजिलो छ र आठ दश लाख नभै नहुने त्यसमाथि भाषागत कठिनाइहरु ~ अर्काको भाषा नसिकी नहुने । आ ,,, जे भए नि विदेशको मान्यता तिव्र छदै छ। म गाउकै जिम्माल बाका छोराहरु सम्झन्छु। रमेश अमेरिका नरेश जापान। कति सत्कार भएथ्यो पोहोर रमेश दाइ पाँच बर्षपछि नेपाल आउदा । मलाई पनि कस्तो भित्रैबाट अमेरिका जाने इच्छा जागेको थ्यो।
ममा अचानक जननी जन्मभूमिस्च,,,,, को भावना जाग्रित भो र बुवाको पनि मैले देशमै क्यै गरेको हेर्ने चाहना पनि सम्झेँ। विदेश हानिदैमा राम्रो नै हुन्छ भन्ने पनि त छैन। कति अलपत्र परेका छन्, कति अठारघन्टा काम गर्न बाद्य छन् । अन्तत: मरुभुमीको खेती भएको छ कतिका लागि विदेश। मलाई विदेशिने मन एकाएक त्यहाँ हुने पीडा र दुर्ब्यबहार सम्झिदा।
गोर्खापल्टनमा भर्ती भैयो भने जिन्दगानि बिन्दास हुन्छ। चिन्तामुक्त जिवन, रमाइलो पल्टन,,,,,, मेरो सोचाई त्यतातर्फ मोडियो। म इण्डियन आर्मी भै तीन चार बर्षमा दुई महिनाको लागि नेपाल आएको कल्पना गरेँ ~ कति मज्जा खायो बस्यो, पल्टनमै ज्यान बनायो यस्तै यस्तै,,,,,, एकाएक सोचाइको क्रममा मैले विश्वमा बढ्दै गैरहेको हत्याहिंसा, युद्ध र आतङ्क सम्झिएँ, म्रित्युलाई अंगिकार गरेर बिदेशी सेनामा भर्तीहुने आँट ममा भएन । सुन्दैमा पनि ज्यान सिरिङ्ग हुने क्रूर युद्ध तथा हिंसाहरु मैले पढेको र टिभिमा देखेको छु। खुकुरीको धारमाथि यात्रा गर्ने शाहस ममा भएन। एक दुई युद्धबन्दीको कथा सम्झनासाथ मन थर्र भो , यसभन्दा बढ्ता मैले सोच्न सकिन।
'राजनीति' अचानक विचार फुरिहाल्यो। थुप्रो सम्मान पनि हुने , देश विदेश घुम्न नि टन्न पाइने, धनसम्पति आफै फल्ने सर्वोत्तम उपाय नै मलाई राजनीति लाग्यो। राजनीतिमै पाइला चाल्नु पर्‍यो, भाषण गर्न त आइहाल्छ। मन्त्री भैएछ भने कुलकै उत्थान हुने नत्र पनि आफ्नो त उत्थान हुने सुनिस्चित देखेर मलाई राजनीतिज्ञ हुने इच्छा बढ्यो। हत्तेरी, सधैको अस्थिरताको कारण भोको देशको बिमारी राजनीति : देशकै यस्तो हविगत भएको छ। मलाई झुठ र षड्यन्त्रको विवेकहीन राजनीति पनि चाहिएन !! प्लेटोको आदर्श राज्य र दार्शनिक शासकको परिकल्पना म गहन रुपले सोच्न पुगेँ। अविस्वास र बदलायुक्त नया संसारमा त्यो पनि सम्भव छैन भन्ने लाग्यो। असंभव कुराबारे धेरैबेर सोच्नु पनि त फाइदायुक्त भएन। मनमा अरु कुनै नया बिचार आउन सकेन। धत् म लम्फु, आखिर गर्ने के त ?? म मानव भएर पनि केही गर्न नसक्नु त जिउदो लास बन्नु नै हो। आदिकविले त्यसै मजस्ताको लागि लेखेका होइनन् "ज्युदै मर्‍याको भनी नाउ कसको ? उद्यमबिना बित्दछ काल जस्को ।। " न विदेश जाने आँट न त देशकै माटो ख्याउन सक्ने आँट । मलाई मेरो जन्म नै ब्यर्थ र संसार खोक्रो भएजस्तो लाग्यो। के का लागि म काम गर्ने त ?? म कामको अस्तित्व खोज्न थालेँ। आखिर मेरो सजीवताको निम्ति नै केही गर्नुपर्ने बाद्यता रहेछ। नत्र त म निर्जीव भैहालेँ। म मानव हुनुमा केही अस्तित्व पक्कै छ। अस्तित्वहीन हुनका लागि मेरो जन्म पक्कै होइन। अल्बर्ट कामुको अस्तित्ववादबाट म हर्दम प्रभावित मान्छे, "मिथ अफ शिसिपस" मेरो अत्यन्तै मन परेको लेख। आत्महत्या जीवनको समाधान हुदै होइन बरु अन्य अस्तित्वको निम्ति समेत भार हो। संसारमा कति मान्छेहरु आफ्नो अस्तित्व बचाउको लागि मरिरहेका छन्, मचाही भएकै अस्तित्व पनि विनास गरी मर्न खोज्नु पक्कै पनि मेरो मुर्खताशिवाय केही होइन। अस्तित्व सबै प्राणीहरुको छ। म पनि आखिर मेरो अस्तित्वको खातिर चिन्तित भैरहेकोछु। सोचाई हुने सम्पूर्ण प्राणीहरु अस्तित्वको निम्ति चिन्तित हुदा हुन्। सबैको अस्तित्व यौटै हुन नसकेकोले नै बर्गीयता, साम्राज्यवाद रसामाजिक असमानताहरुको उत्पत्ति भएको होला ! अस्तित्व रक्षाको निम्ति के गर्ने भन्ने चाही बिमारी अवस्थामा धेरै सोच्न सकिन।

कलंकी, काठमाण्डौ २०६५ माघ २२ गते



चुरोट प्रपन्च


चुरोट प्रपन्च


मेरो जिवनको सबैभन्दा प्रिय बस्तु हो चुरोट। मेरो हर दिनको शुभारम्भ चुरोटसँगै हुन्छ र दिनको अन्त्य पनि चुरोटसँगै हुन्छ। मेरो साथमा कहिल्यै नछुट्ने बस्तु पनि चुरोट नै हो। चुरोट मेरो साथी र सलाई चुरोटको साथी यसैले चुरोटको डिब्बा र सलाईको लागि मेरो कोटको भित्री गोजामा बिशेष स्थान  छ। त्यहाँ चुरोट र सलाई कहिलै सकिदैन। यौटा सकिनासाथ अर्को नयाले विस्थापित गर्छ। दिनमा औसत एक डिब्बाले पुगेकै छ। मेरो खर्चमा सानो मात्रामा भएपनि चुरोटको हिस्सा नियमित छ। चुरोटको साथमा म कहिलै एक्लो महसुश गर्दिन, अझ भन्ने हो भने चुरोटकै कारण म थुप्रै साथीहरु बनाउन समेत सफल भएको छु।
About Cigarette Smokingthumbnail
चुरोट कहिलेदेखि मेरो प्रियपात्र बन्यो स्पष्टसाथ भन्न नसके पनि स्कुले जिवनबाटै यससँग म परिचित थिएँ। लुकिछिपी मेरो र यसको मित्रता प्रगाढ बन्यो, अहिले त कुनै समस्या नै छैन, जतिबेला मन लाग्यो त्यतिबेलै सल्काउछु। थुप्रै बाधा ब्यवधानहरु सहेर मैले चुरोटलाई अंगालेको हुँ। कतिपल्ट त बाको खल्तीसमेत खदुल्न पर्‍यो सुरुसुरुमा, आमाको गालीले समेत छुटाउन सकेन। म चुरोटप्रति अडिग रहेँ। बरु चुरोटकै कारण केही मनचिन्ते साथीहरु गुमाए पनि उनीहरुको कारण यसलाई नगुमाएकोमा मलाई गर्व छ।
एकदिन मजस्तै अन्य कति जनाले चुरोटलाई साथी बनाएका रहेछन् भनी जन्ने इच्छाले म भ्रिकुटीमण्डप अगाडि करिब एकघण्टा चनाखो भै हेरेँ। नजिकै एउटी बुढी आमा नाङ्ले पसल थापेर बसिरहेकि थिइन् ग्राहक पर्खदै। उनीबाटै शुरु भो मेरो गणना। हातमा आधी पग्लिएको चुरोट छोपेर उनी मतिर नै हेर्दै थिइन्। खल्तीमा चुरोट सकिएकोभए अवश्य नै म उनको ग्राहक हुन्थेँ तर बिहान नया डिब्बा किनेपछि सात खिल्लीमात्रै त तानेको थिएँ। आठौँ खिल्ली सल्काएर बुढीआमाको नाङ्लोमाथि नजर फ्याँकेको त्यहाँ छ सात प्रकारका चुरोटहरु थिए। नढाटी भन्नुपर्दा उनका सम्पूर्ण समानको एक तिहाई त चुरोट मात्रै थिए। केही सुर्तीले चुरोटको शोभा बढाएका थिए।
चम्केको घोडाको तालमा एक अधबैसे युवक आयो। ऊ केही उदास देखिन्थ्यो मुखबाट एक मुस्लो कालो धुवा उडाउदै। करिब बिस मिटरको मात्र दुरीमा उसले त्यसरी नै चारपल्ट मुस्लो उडायो र सकिनै लागेको चुरोटको ठुटो पुन एकपल्ट तानेर नालीतिर मिल्कायो। चुरोट बलिरहेकै थियो।
नज्जिकै रहेको खाजाघरतर्फ मैले नजर पुर्‍याएँ, करिब पन्ध्र जनामध्ये चार जनाको हातमा चुरोट रमाएको थियो। मैले नजर त्यही स्थिर राखेँ। केहीबेरमै ती चारबाट अन्य चारमा चुरोट हस्तान्तरण भए। यसरी अन्त्यसम्ममा प्रत्येकको हातमा चुरोट पुग्यो। अरु केही खाना अर्काको जुठो नखानेहरु पनि चुरोट चाहि मज्जाले जुठो खाइरहेका हुन्छन्। अजबको छ चुरोट न त खानु पर्ने न त पिनु नै पर्ने।
आँखा मोड्दै थिएँ, विदेशी प्रयटक जोडी विदेशी चुरोटमै मस्त थिए। नेपालमा चाही युवतीहरुले चुरोट पिएको मैले त्यति भेटेको छैन। बुढी आमैहरु चाहि प्रसस्तै भेटिन्छन् शहरतिर पनि। मेरो कोठा नजिकै बस्ने शासू, बुहारी र छोरा तिनै जनाले चुरोट पिउछन्। एकपल्ट त उनिहरु घरमा नभएको मौका पारेर सोह्र सत्र बर्षको  छोराले समेत चुरोट तान्दै थियो।
हेलिकप्टरकैजस्तो आवाजका साथ आएको अस्थिपन्जर जस्तो देखिने बाइकको चालक ठिटो एक हात छोडेर मुखको चुरोट मिलाउदै अघि बढ्यो। बिस्तारै आएर टेम्पो रोकियो, ड्राइभरले पाँच रुपिया दिदै सात आठ बर्षको फुच्चे खलासीलाई बुढीआमाको पसलबाट चुरोट लिन पठायो। ओठ निचोरे दुध झर्ने जस्तो बालक केटोले निकै परिपक्वतासाथ चार स्वाँक तानेर मात्र ड्राइभरलाई दियो। ड्राइभरले प्रसन्न मुद्रामा चुरोट र टेम्पो सङ्गै अगाडि बढायो।
म उभिएको पल्लो साइडमा आफ्नी प्रेमिकालाई बाया हातले अङालेको युवकले पनि दाया हातले चुरोट छोप्न भ्याएकै थियो। त्यो प्रेमिका मौन थिई। चुरोटको खरानी युवकले झट्कारो अनि दुवैजना अघि बढे। मैले मेरी पत्नीलाई सम्झेँ मेरो श्रीमतीसँग चुरोटको विषयमा प्राय झगडा हुन्छ, कपडा धुने क्रममा सात आठपल्ट डब्बै नफ्याकिदिएकि पनि होइन यद्यपि नया किन्दा झन् बढी खर्च हुने भएकोले हिजोआज क्यै भन्दिन तथापि उसको नजिकै चुरोट पिउन मनाही गराएकि छे। मैले त्यस युवककी प्रेमिकालाई आफ्नी पत्नीसँग तुलना गर्न सकिन खासगरी चुरोट खान अनुमती दिने सन्दर्भमा।
यस्सो घडी हेरेको आधा घण्टा बढी भैसकेछ म त्यहाँ अल्झिएको। चुरोट धेरैको आत्मीय मित्र बन्न सफल छ। म जता गयो कम्तीमा शयकडा तीस जनाले चुरोट तानेको देख्छु। साथीहरुसङ्ग खाजा खाने ठाउमा खाजा भन्दा पहिले चुरोट आउछ। दिनदिनै चुरोट किन्नुपर्दा चुरोट कम्पनिमै जागिर खाने मन पनि नभएको हैन तर अचम्म चुरोट कम्पनिभित्र समेत चुरोट खान नपाइने भएपछि त्यतातर्फ लागिन, सामान्य जागिरले नै चलेको छ।
यौटा ठिटो लामो लामो सासले चुरोट तानेर फाल्यो अनि क्याम्पसको गेटभित्र पस्यो। पट्याट लागेकोले मैले पनि नवौ खिल्ली चुरोट सल्काएँ। अर्को हिपहप देखिने ठिटो पनि क्याम्पसको गेटमा चुरोट फालेर क्याम्पस छिर्‍यो, यसरी खुलेआम चुरोट खादै क्याम्पसको गेटमा चुरोटका ठुटा फाल्नेहरुको कमी छैन। पचासौ चुरोटका ठुटाहरु क्याम्पसको गेटमा मैले भेटाएँ। सरकारी क्याम्पस प्रशासनको त्यतातर्फ पटक्कै ध्यान नपुगेकोले एक प्रकारको स्वतन्त्रता नै छ। मलाई याद भयो एकपल्ट मैले प्रतिबन्धित ठाउमा चुरोट सल्काउदा तीन महिना चुरोट आउने पैसा त जरिवाना नै तिर्नु परेथ्यो तर कत्ति पनि नहड्बडाई चुरोट तान्दै आएको छु अधिकारको प्रयोग भन्दै। द्वी चारपल्ट त चुरोटले लज्जित समेत बनाएको छ।
म हिच्किचाउने किसिमको मान्छे होइन, कति पटक त आफन्तहरुले घरको कोठामा चुरोट खान नदिदा छतसम्म समेत पुग्नु परेको छ। एकचोटि हतारमा चुरोट राख्न बिर्सेछु, चुरोट किन्न पसलतिर छिरेको गाडी छुटेछ पछि एकघण्टा कुरेर अर्कै गाडिमा गएँ,समय ढिला भएकोले पाउनै लागेको जागिर पनि गुमाउनु पर्‍यो।
एकजना महोदय हातमा पुस्तक लिएर हिड्दै थिए, बाटोमा दुई तिनओटा भुसाहा कुकुर उनीप्रति भुक्दै थिए। विपरिततिरबाट एउटा ठाँटिलो पट्ठो हातमा चुरोट सहित आयो, कुकुरले उसलाई तर्केर बाटो छोडिदिए। भुक्ने त कुरै छोडौँ, कुकुरले समेत चुरोटको सम्मान गर्दा रहेछन्।
हातको चुरोट घट्दै थियो। मतिरै एउटा परिचित अनुहार आउदै गरेको देखेँ। उसको हातमा पनि चुरोट थियो। एक द्रिष्टि मतिर लगाएर केही नबोली सरासर ऊ गयो।  पछि मात्र थाहा भो ऊ त मेरो बिसौ बर्ष पुरानो स्कुले सहपाठी तर स्कुलपछि आजमात्रै देखेँ, उसले सायद मलाई चिनेन होला। यसो घडी हेर्दा एक घण्टा बित्नै लागेछ। पातलिएको चुरोटको एकसर्को तानेर म पनि लागेँ त्यहाबाट बेबारिसे यात्रामा !!!!!
कलंकी काठमाण्डौ, २०६६ -११ -१९ बुधबार