Thursday, February 10, 2022

जिन्दगीको पहिलो मोबाइल

   मेरो जिन्दगीमा आफ्नै नाममा सबैभन्दा पहिले हात परेको प्रिय मोबाइल हो #MotorolaW215  (तस्बिर साभार : https://www.gsmarena.com )



मैले गुल्मी रानीबासको जनबोध उ.मा.वि. बाट कक्षा १२ को पढाइ सकाएर स्नातक पढ्न राजधानी जाने भएपछि वि. सं. २०६३ सालको अन्त्यतिरै बुवाले भारतको सुनौलीबाट त्यो मोबाइल ल्याइदिनु भएको थियो । बजारमा अधिकांश ब्लाक एण्ड ह्वाइट मोबाइल पाइने जमानामा आफ्नो पहिलो मोबाइलमै रेडियो र क्यामेरा जस्ता फिचरले म खुब दंग थिएँ, जसको मूल्य त्यो बेला नेपालमा पसल अनुसार रु. (५५००- ६०००) पर्थ्यो कि जस्तो लाग्छ ।  मोबाइलको बक्समा एउटा दाम्मी इयरफोन र चार्जर समेत सित्तैमा आउँथ्यो ।

  मैले यो पोस्ट गर्दै गरेको पाँचौ पुस्ताको सिम चल्ने अत्याधुनिक मानिने महंगो मोबाइल सेटमा इयरफोन आउनु त टाढाको कुरा एउटा सामान्य रेडियो सम्म पनि छैन 😀😃

Wednesday, December 29, 2021

‎"YOUR JUDGEMENT"


‎"YOUR JUDGEMENT"

A 24 year boy seeing out from the train window, shouted,

"Dad, look the trees are going behind!"

Dad smiled and a young couple sitting nearby, looked at the 24 year old's childish behaviour with pity.
...
Suddenly he again exclaimed

"Dad, look the clouds are running with us!"

The couple couldn't resist and said to the old man,"Why don't you take your son to a good doctor?"

Old man smiled and said"I did and we are just coming from the hospital, my son was blind from birth,

He Just Got His EYES TODAY"

Think before u speak ;)

(Copied from Facebook)





Friday, December 24, 2021

गजल



छ यो जून उस्तै, छ यो घाम उस्तै ।
यहाँ प्रेममा घाउका डाम उस्तै ।।

तिमीसंग तिम्रै शहर् फेरियो  रे,
म उस्तै छु साथी र छन् गाम उस्तै ।।

पुगेथेँ जहाँ भेट हुन्थ्यौँ तिमी म,
नयाँ पात्र देखेँ छ त्यो ठाम उस्तै ।।

बिलाएर सीता न फर्किन् अयोध्या,
कठै शून्यतामा रह्यो राम उस्तै ।।

मनैभित्र बस्थ्यौ तिमी मुस्कुराई,
जसै निस्कियौ बल्झिने नाम उस्तै ।।



रुक्न : फऊलुन् ×४
[ बहर : मुतकारिब, छन्द : भुजंगप्रयात ]

Thursday, November 11, 2021

गजल


गजल (मुतकारिब बहर)

बिरानो भयो त्यो रातको कहानी !
थियो प्रेमजस्तै घातको कहानि !!

बिरानै बिरानो भयो सम्झनामा ,
हरायो कतै प्रभातको कहानी !!

बितेका कुरामा म झस्कन्छु कैले,
अनौठो छ पैलो लातको कहानी !!

बढेको नङैले दुख्यो चस्स घोच्दा,
कि बिर्स्यौ र तिम्रै हातको कहानी !!

फिजाएर हल्ला नभाको सबैले,
घरैमा चलेको जातको कहानी !!

Sunday, November 7, 2021

I Dont Dignify Your God !!

Yes, I dont dignify your god and dont think god solely your own.
I dont respect stone, I praise soul you absorb labour ~ I admire the labours.
Watching crippled hateful squint ~ you make statue, imposing brutality ~ you expose pride.
You build temple with black money & corruption. You do evil & make Pooja .......







नवित्तेन तर्पणियो मनुष्य:

म तिम्रो भगवान मान्दिन


हो, म तिम्रो भगवान मान्दिन र भगवान तिम्रो निजी पनि ठान्दिन ।
म ढुङ्गा पूज्दिन, मनलाई पूजा गर्छु ।
तिमि श्रम चुसिलिन्छौ , म श्रमिकको आराधना गर्छु ।
अशक्तहरुलाई हेय द्रिष्टिले हेरेर मुर्ति बनाउछौ । निरंकुशता लादेर अभिमान देखाउछौ
भ्रष्टाचार र कालोधनले मन्दीर बनाउछौ । तिमी पाप गर्छौ ~ पूजा लगाउछौ ।
भिखारीलाई थुकेर मुर्तिमा पैसा चढाउछौ । छ दिन पाप गरेर एक दिन ब्रत गर्‍छौ ।
आत्मामा भगवान नदेखेर ढुङ्गामा खोजी हिड्छौ ।
अपवित्र मनले द्यौता खुशी बनाउने कुउद्यत गर्छौ तिमी ।
म तिम्रो भगवानको उपहास त गर्दिन तर तिम्रो भगवान मान्दिन ।।
शोषकको खुट्टा घसेर गरिबको खिल्ली उडाउछौ।
मान्छेलाई लात हानेर मुर्तिअगाडि झुक्छौ ।
निर्दोष पशुको वलि दिएर कलंकित बर माग्छौ , पसिना चुसेर भोज लगाउछौ तिमी ।।
अरुलाई मारेर आफू बाँच्छौ , अरुलाई लडाएर अघि बढ्छौ ।
म नास्तिक होइन तर तिम्रो भगवान मान्दिन !!

Wednesday, May 6, 2020

प्रश्न : नयाँ नेपालको

            (छन्द : शार्दूलवीक्रीडित)

हज्जारौं बलिदानबाट जनले यो देश बन्ला भने
भोका बाँदरका बगाल दलले सत्ता र कुर्सी गने ।
खोक्रा भाषण छन् दुवै सदनमा के नीति चल्छन् यहाँ ?
भ्रष्टैभ्रष्ट मिलेर बन्छ कि छिटै नेपाल हाम्रो नयाँ ??

मेरो देश छ मौन आज विचरा भोको र विक्षिप्त भै
पुर्खाको बलिदानसिंचित धरा घट्दैछ हाम्रो सधै ।
खाडीमा अलपत्र छन् कतिजना संघर्षका नाममा 
टुङ्गो छैन युवा पलायन नभै नेपाल कस्तो नयाँ ??

बाढी दुर्घटना प्रकम्प पहिरो रोगी विसञ्चो हुँदा,
लुट्दैछन् किन राज्यकोष यसरी मेची र काली रुँदा ।
राजा मात्र हटे हजार अझ छन् ब्वाँसे रजौटा यहाँ
मन्त्री रम्दछ भ्रष्टको भजनमा नेपाल चम्क्यो नयाँ ??


खै पानी ? जलशक्ति विश्वभरमा सम्पन्न भन्ने भन । 
खेती छैन सिँचाइ छैन मलमा जारी छ आन्दोलन ।  
बारी खेत उदाङ्ग देख्छु कसरी खाद्यान्न फल्ला यहाँ ?
भाषा संस्कृति सभ्यता भुलिसक्यौँ नेपाल यैं हो नयाँ ??

बिक्रीमा अब स्वाभिमान छ कि झैँ नेतृत्वमा दासता ।
भ्रष्टाचार यसै गरी चलिरहे यो देश सप्रोस् कता ??
भट्टामा जिउँदै जलाउनसके निर्दोष छन् सज्जन ।
मान्नैपर्दछ न्यायमूर्ति सरिका झोलेहरूको मन ।।

के का निम्ति तिरो तिरेर जनता के को लिनन् आश्रय ?
मान्छे तस्कर गर्न व्यस्त छ अरे मन्त्री र मन्त्रालय ।।
बढ्दैछन् अपराध रातदिनमा अन्याय उस्तै जहाँ
रित्याए ढुकुटी विकास नगरी नेपाल यो के नयाँ ??

राम्रो शासन छैन किन्तु अहिले सम्भ्रान्त सत्ता पनि
नेता चंगुलमा फसी अरबकै काट्टो हसुर्दै छ नि ?
खिर्‍राको विषवृक्षबाट गुलियो अम्बा कहाँ फल्छ र ??
को देला किन देश रुन्छ यसरी यो प्रश्नको उत्तर ?

काला काण्ड र माफिया दल मिली हत्या बलात्कारमा
भोका व्याकुल चित्तमा नुन छरे संयन्त्रका आडमा ।
यी गद्दार विषाक्त चोर जति छन् फाँसी चढाई सब
फेँदैबाट उखेल्नुपर्छ रुखका हाँगा नछाँटौँ अब ।



कलङ्की , काठमण्डौ ~ २०६६



Monday, May 4, 2020

लकडाउन

लकडाउन खुलेकै दिन मोबाइलमा आउनेछ , 
फोनको घन्टी,
नयाँ सम्बन्ध बन्दै गरेकाहरुको डेटिङ जाने प्लान बन्छ ,
हाम्रो पनि साथीभाई भेट्ने प्लान बन्छ ।

साच्चै...
कस्तो भयो होला है हाम्ले खाजा खाने गरेको त्यो बर्गर हाउस 
र,
कस्तो भए होला त्यो कट्टी रोल, 
चटपटे तथा पानीपुरी पसल, 
अनि कता गए होलान् चोकको चोपिलो चटपटेवाला खड्का जी ? 


त्यो भेज मम पसल अनि  
नयाँ पोखरीको मुखैमा झुन्डिएको 
चाट पसलकि चस्मिस साउनी 
चारजना अल्लारे च्वाँक केटी वेट्रेस राखेर
सधैं मिठो मम ख्वाउथिन् ।
खानेहरुले खाइरहेका हुन्थे त कोहि मोबाइल चलाईरहेका, 
कोही सरकार ढाल्ने र सत्ता परिवर्तन गर्नेदेखि 
युरोप र अमेरिकाका नवीनतम् प्रविधि सम्मका 
कुरा गर्नेहरु पनि । 

कस्तो भयो होला..
चक्रपथको वारपार गर्ने त्यो जेब्राक्रसिङ ?
कति कलेज स्टुडेन्टका क्रसहरु भेटिदा हुन् 
अनि 
कतिका साथिभाइ र आफन्त नै, 
के त्यो रिङरोड 
हाम्रो आगमनको प्रतीक्षामा पर्खीरहेको होला ?


साँच्चै अहिले खाली होला नि है "नेपाल यातायातको" पुरानो बस ?
कहाँ पुगे होलान् साझा यातायात अनि नगर बसहरु !
राम्रो ड्रेस लगाएर स्कुल जाने उमेरमा 
सल्लाघारी - ठिमी- कोटेश्वर -बानेश्वर - सुन्धारा -रत्नपार्क…
ठमेल - सोह्रखुट्टे - बसुन्धरा - नयाँबसपार्क भन्दै यात्रु बोलाउने  ती कलिला ओठले आजकल के भन्छन् होला ? 

कस्तो भयो होला 
हामीले अभ्यास गर्ने खेल मैदान 
अनि भुइचालोले भत्किएको त्यो मिनी स्टेडियम !

बिचरा… तिनकुनेको रोड
कौशलटारदेखि कोटेश्वर सम्म पट्यार लाग्दो 
जामको लाइनमा बस्ने सवारी साधनका मानिसहरु अनि 
अचम्म मान्दै होला अहिले, 
"हैन यी मानिसहरु कता गए ? 
मदेखि वाक्क भएर 
अर्कै बाटो रोजे कि क्या हो ?"
जसरी एउटा स्वार्थ पूरा भएपछि मान्छेले अर्को साथ रोज्छ ? 
उसै गरी अन्तै त गएनन्……!



वर्षौंपछि 
आफ्नो धुलाम्य अनुहार धोएको 
काठमाडौको आकाशले के सोचिरहेको होला ?
"आपविपत र खुशीमा मलाई सम्झने भक्तजनहरु कता गए ?" 
भन्ने प्रश्नचिह्नले कति पिर गर्दै होलान् हाम्रा पशुपतिनाथ ।

चोभार र कीर्तिपुरका ती डेटिङ स्पटहरु 
के सोच्दै होलान् ?
"कता गए युगल जोडिहरु ? जो हरेक साझ यहाँ आएर यौवनका क्षणिक मदहोशीमा सँगै जिउने र सँगै मर्ने झुटा कसम खान्थे…"

के सोच्दै होला..
गल्ली भित्रको लिक्वर पसले दाइ !
हरेक दिन यावत् पीडाहरु भुलाउन, 
यहाँ आउने त्यो अङ्ग्रेजी बोल्ने दाइ 
आजकल कता गए होला ?


लकडाउन त केही समयको लागि न हो,
यी सबैकुराहरु पुनः दोहोरिदै जानेछन्,
फेरि साथीभाइ भेटिनेछन् ।
फेरि पनि जिब्रो पट्काएर मम खान पाइने छ,
फेरि मीठो बर्गर खान पाइने छ ।
आफ्नी प्रेमिकालाई बाइकको पछाडी राख्ने अल्लारे केटाहरु चोकहरुमा जाम खुल्नासाथ साठीको स्पिड नघाउने छन्  ।

फेरि उसै गरी टिप्परहरु..
मुटु नै थर्काउने गरि दौडिने छन्,
फेरि पनि नेपाल यातायातको गल्लीमा 
खुट्टा टेक्ने ठाउँसम्म हुने छैन,
काठमाडौको आकाश धमिलिने छ,
छिटै जडिबुटीको फराकिलो सडक पनि
भार बोक्न नसक्ने गरी लत्रने छ,
फेरि मन्दिरमा घन्टी बज्ने छ,
अनि ट्राफिक दाइहरु सिठ्ठी फुक्दै 
जाम खुलाउन व्यस्त हुनेछन्  ।।



फेरि.. पुरानै
१०-५ को ड्युटी दोहोरिने छ,
पहिले झैं  
हरेक दिन, हरेक बार अनि गतेहरु 
याद हुने छन् ।

फेरि वातावरण कैद अनि 
मानिसहरु स्वतन्त्र हुनेछन् ! 
अनि चल्नेछ उसैगरी 
तेरो-मेरो भन्ने लुछाचुडी भावना…
फेरि चल्नेछ चाकडी, नोकरी, बिजनेस र 
जागिरमा अडिएको 
अनवरत मानवीय जीजीविषा अनन्त कालसम्म ।।।



[साथी दिपेन्द्र ढकालको संस्मरणात्मक भावनाबाट बनेको कविता, यो कविताको सबै फोटोमा दिपेन्द्र ढकाल र म ]


मिति : २०७७/०१/२२ 
राँझा, नेपालगन्ज - बाँके 

Friday, May 1, 2020

अस्तित्व

(स्रग्धरा छन्द)

डोको नाम्लो हलोमै तरुणवय गयो जिन्दगी आजसम्म
डाँडाँपाखा उकाली वनचउर सधै लेकबेशी टम्म ।।
चिर्दै पुर्दै धर्ती दशथरि लहरा बिज्छ काँडा चसक्क
कर्मै खोटी भन्दै धुरुधुरु निमुखो रुन्छ हाँस्छ फुसुक्क ।। ।।

कैले हावा हूरी गढबढ असिना ठीक्क पर्दैन पानी
अन्यायी बन्छ साहू गरीब श्रमको ख्याल केही नमानी ।।
पुछ्दापुछ्दै बगेका खलखल पसिना पुछ्दा बढ्दोछ सास
भाडाको खेतबारी मजदुर विचरा माटोमै हुन्छ बास ।। ।।

भुण्टे रोगी चमेली पनि परिछ थला, छैन कौडी फुटेको 
अर्काको खेत जोती जुनिभर यसरी बस्न खानै पुगे पो ।।
ठाडो आदेशसंगै हुकुम अति कडा साहु आएर बस्दो
यस्तो पीडा चिन्ता दु: मन भरिको उफ् यो भाग्य कस्तो ।। ।।




हाम्रो अस्तित्व पापी पलपल नमरी ज्युनु जीवन हैन ?
हेर्दा ऐजेरु जस्तो भर कति नहुने श्वासमा प्राण छैन ।।
यस्तो अस्तित्व देख्दा मजदुर भरीया सर्वहारा सबैको
को फेर्ला शक्तिसत्ता मुलुक बुझिलिए हैन पेवा कसैको ।। ४।।



 
काठमाण्डौ , २०६५