Saturday, July 5, 2025

ब्रह्माण्ड मेरो घर

ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित छन्द)

सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड  मेरो घर ।१।

खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।

गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।

साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुँडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।

आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्‍यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।

सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ भवमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।

[रारा ताल मुगु, २०७३]

Wednesday, July 2, 2025

बुर्किनाफासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको प्रख्यात मन्तव्य

 BBC, CNN, France24 म तिमिहरुलाई हेरिरहेको छु। म तिमिहरुको सबै झुटहरु बताईरहेको छु। म ईब्राईहिम ट्राओरे, र म आज तिमिहरुको नकाव उतार्न लागिरहेको छु। 

हो, तिमिहरुले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमिहरुले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमिले खतरनाक तानाशाहका रुपमा ब्राण्डिङ गर्‍यौ। जसलाई तिमिहरुले  पश्चिमा जगतको बिरोधी शासकका रुपमा उभ्यायौ। 

म आज सत्य सुनाउन चाहन्छु, र यो पटक तिमिहरुले माईक बन्द गर्न सक्दैनौ। यो पटक तिमिहरुले क्यामेरा हटाउन सक्दैनौ। यो पटक तिमिहरुका सम्पादकले यो भासन काट्न सक्दैनन्।

किनभने अब त्यो संसार रहेन, जसमा तिमिहरुको एकाधिकार थियो। अब करोडौँ मानिसहरुले यो आवाज सुन्नेछन्। तिमिहरुको सम्पादनबाट गुज्रिएर होईन, तिमिहरुको झुटमा बेरिएर होइन, तिमिहरुको फोहरमा लत्पतिएर होईन। म ३४ बर्षको भएँ। मैले मेरो जिवनको हरेक दिन तिमिहरुको झुटमा बिताएको छु। बाल्यकालमा टिभिमा अफ्रिका देख्थेँ। सँधै त्यही तस्विरहरु : झिंगाले घेरिएका बच्चाहरु, खडेरिग्रस्त जमिन, हतियार, युद्ध, भोकमरी, मृत्यू। यहि अफ्रिका हो भनियो र त्यसैलाई बिस्वास गरेर बसियो। हामी लज्जित थियौँ आफैसंग, हामी आफ्नै भुमिप्रती लज्जित थियौँ, हामी आफ्नै नागरिक प्रती लज्जित थियौँ। तर म जब हुर्किएँ, पढेँ, रिसर्च गरेँ र प्रश्नहरु गर्न थालेँ तब मैले बुझेँ तिमिहरुले देखाएको अफ्रिका सत्य थिएन, तिमिहरुले कथा बनाएर सुनाएको कुरा झुट थियो। बर्षौँसम्म तिमिहरुले आफ्नै स्क्रीप्ट बनाएर अफ्रिकालाई कुरुप देखायौ। हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ। तिम्रो अफ्रिकाको शब्दकोषमा कुनै आशा छैन, कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन, कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन न त कुनै बिजयको ईतिहास नै। त्यसैले म सोध्न चाहन्छु, न्युयोर्क टाईम्स, वाशिङ्टन पोस्ट, गार्जियन तिमिहरुले कहिल्यै अफ्रिकाको सफलतालाई आफ्नो हेडलाईन बनायौ? अफ्रिकाको प्रविधिका बारे कति पटक लेख्यौ? ईथियोपियाको रिफरेस्टेशनका बारे कति पटक देखायौ?

यो शक्तिशाली भासण हो अफ्रिकी मुलुक बुर्किना फासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको । उनलाई यतिखेर सिंगो अफ्रिकी महादिपका लागि उदियमान लिडरका रुपमा चित्रीत गर्ने गरिएको छ भने पश्चिमी बिश्वले उनलाई सबैभन्दा ठूलो खतरा मानिरहेको छ। 

बुर्किना फासो सन १८९६ बाट सन् १९६० सम्म फ्रान्सको उपनिबेश रह्यो। सन् १९६० मा औपचारिकता स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सले आफ्नो हस्तक्षेप कहिल्यै हटाएन। देशको अर्थतन्त्र , प्राकृतिक सम्पदा, राजनिती र सुरक्षा जस्ता बिषयमा फ्रान्सले सँधै निर्णायक भुमिका खेलिरह्यो। बुर्किना फासो सुनका लागि प्रसिद्ध छ तर देशका सुनखानिहरुमा फ्रान्सको मनोमानी चल्थ्यो। सुन उत्खनन् गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा लैजाने काम फ्रान्सेली कम्पनिहरुको थियो। बुर्किजहरु सस्तो मजदुर बाहेक अरु हैसियतमा थिएनन्। फ्रान्सले आफ्नो अनुकुलको सत्ता निर्माण गर्थ्यो। सुरक्षाका नाममा आफ्ना सैनिकहरु तैनाथ गर्थ्यो। जसले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि राज्यमा चरम गरिबी, भ्रष्टाचार, अन्याय, भोकमरी र राजनैतिक अस्थिरताको अबिराम दुस्चक्रमा फसिरहेको बुर्किना फासोको यो अवस्था सँधै टिकिरहन सम्भव थिएन। सन् २०१० तिर जनताहरु संगठित हुँदै यी सारा बेथितिका बिरुद्ध आन्दोलित हुन थाले। जसले गर्दा राजनैतिक अस्थिरता थप चुलियो। त्यही अस्थिरता निरन्तर चलिरहँदा सन् २०२२ जनवरिमा सेनाले सत्ता हातमा लियो। तर नयाँ सैन्य शासकले पनि देशको अवस्थामा आवस्यक परिवर्तन गर्न सकेनन् र सेनाभित्रै असन्तुष्टि बढ्दै गयो। फलस्वरूप फेरि सन् २०२२ को सेप्टेम्बरमा अर्को सैन्य कु भयो र यो पटक भने सैन्य क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व गर्ने जिम्मा दिईयो। यहि बिन्दुबाट बुर्किना फासोको नयाँ ईतिहास प्रारम्भ भयो।

नेतृत्व सम्हालेपछी ट्राओरेले लगातार देशका लागि आवस्यक कदम चाल्न थाले। बिश्वलाई नै तरंगित बनाउने उनको सबैभन्दा महत्वपुर्ण निर्णय थियो फ्रान्ससंगको रक्षा सम्झौता खारेज गर्ने। यहि सम्झौताका आधारमा फ्रान्सले दशकौँदेखी अप्रत्यक्ष उपनिबेश चलाईरहेको थियो। सन् २०२३ जनवरिमा यो निर्णय गर्दै उनले फ्रान्सेली सेनालाई १ महिनाभित्र देश छोडेर जान अल्टिमेटम दिए। उनको दृढताका सामु फ्रान्सको केही लागेन र उसले आफ्ना सेना फिर्ता लियो। त्यस संगै उनले चीन, रुस, टर्की जस्ता देशहरुसंग नवीन सम्झौता गर्दै सैन्य सहायता लिए, आफ्ना सेनालाई सैन्य तालिम दिलाए, हतियार ब्यबस्थापन गरे। राजनैतिक स्वतन्त्रताका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ भन्ने बुझेका ट्राओरेले देशका सुन उद्योगहरुमा देशको नियन्त्रण रहने कदमहरु उठाए। आफैले सुन उद्योगहरु संचालन गर्ने र निर्यात गर्ने बन्दोबस्त गरे। बिदेशी कम्पनिहरुको खानी अनुमती रद्ध गरे। अघिल्लो बर्षको अगष्टमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले गरेको ऋण सहायताको प्रस्तावलाई अस्विकार गरिदिए। जसले आफ्नो देशलाई बाह्य शक्तिहरुको आर्थिक जालो (Economic Trap) बाट बचाउने अभियानको शुरुवात गर्‍यो। उनले खाद्य संकटबाट बाहिर आउन निशुल्क कृषि उपकरण बितरण, उर्जा संकट टार्न चिनको सहयोगमा सौर्य उर्जा केन्द्र, रुसको सहयोगमा आणविक उर्जा केन्द्रको स्थापना  गर्ने सम्झौता गरे।

इब्राहिम ट्राउरे मुख्य रुपमा पुँजिवादी र औपनिबेसिक विश्वका बिरुद्धमा छन्। यहाँ प्रस्तुत उनको भासन अफ्रिकी मुलुकहरुमा भईरहेको प्राकृतिक स्रोतहरुको शोषण तथा नव उपनिवेशका बिरुद्ध लक्ष्यित छ। उन्को यो अभिब्यक्ती केवल राजनैतिक भासन मात्र नभएर अफ्रिकी मुलुकहरुको साझा पीडा, आक्रोस, आशा तथा अपमानहरु बिरुद्धको प्रतीक हो। पश्चिमी संचार माध्यमहरुले अफ्रिकाका बिरुद्ध अपमान पुर्ण तस्विर निर्माण गरेको, समाचारहरु तोड्मोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।

ती तिनै संचार माध्यम हुन् जसले बिश्वलाई अफ्रिकी मुलुकहरुको यस्तो तस्विर देखाए जहाँ रुग्न र फोहरी शरीर भएका केटाकेटी, नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु, भोकमरी ग्रस्त मगन्तेहरु, एक छाक खानका लागि हतियार बोकेका बालबालिकाहरु, खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्। हर कोहि सामान्य मान्छेले अफ्रिका भन्ना साथ हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद। 

ट्राओरे सोध्छन्, "यति धनी अफ्रिकालाई कसरी गरिव बनाएर राखियो?"

अफ्रिका त्यो ठाउँ हो जहाँबाट बिश्वको ७० प्रतिशत कोवाल्ट  आउँछ। कोवाल्ट त्यो चिज हो जसको अभावमा हाम्रा कुनै पनि बिद्युतिय सामान (मोबाईल, ल्यापटप, बिजुलिबाट चल्ने गाडी) हरु बन्दैनन्। तर बिडम्बना कोवाल्ट उत्खनन् गर्ने मजदुरहरु एउटा मोबाईल खरिद गर्न सक्दैनन्। बिश्वको ९० प्रतिशत प्लाटिनम दक्षिण अफ्रिकाबाट आउँछ तर त्यहाँको मानिसहरु बेरोजगारिको सिकार छन्। बिश्वको ३० प्रतिशत सुन अफ्रीकी महादिपबाट आउँछ तर संसारलाई सुन दिने त्यो महादिप गरिबिको चपेटामा छ। संसारमा सर्वाधिक महंगो हिराको कुल खपतको ६५ प्रतिशत अफ्रिकी मुलुकहरुबाट आउँछ तर त्यहाँका मजदुरहरु दैनिक १ डलर पाउन संघर्षरत छन्। संसारका ठुला शहरहरु उज्यालो बनाउने बिजुली उत्पादनमा प्रयोग हुने युरेनियमको ३५ प्रतिशत हिस्सा अफ्रिकी मुलुकबाट आउँछ तर त्यहि अफ्रिका अँध्यारो छ।

यसरी अफ्रिकालाई सँधै पश्चिमी बिश्वको आँखाबाट हेर्दा देखिने जुन दृष्य थियो त्यो दृष्य ट्राओरेको राष्ट्रबादी कदमहरुले क्रमशः भत्काउन थालेको छ। अफ्रिका त्यो महादिप हो जो सबैभन्दा सम्पन्न बन्ने हैसियत राख्दछ तर उपनिबेशबादले आजसम्म सबैभन्दा पिछडिएका मानिसहरु बस्ने थलो बनाईदियो।

ट्राओरेको उदय भएको केवल ३ बर्ष हुन लाग्यो। उनले सिंगो अफ्रिका महादिपलाई नयाँ क्षितिज देखाईरहेका छन्। नेतृत्वमा तागत भए समय धेरै नलाग्दो रहेछ। तर डर यो छ कि ट्राओरे अर्को  क्रीस हनि नबनुन्।

समर्थकहरुले Che Guevara of South Africa उपनाम दिईएको इब्राहिमलाई राष्ट्रवादी सलाम।

सन्दर्भ सामग्रीहरु : बिश्वघट्ना, विकिपिडिया, ChatGpt


Tuesday, June 24, 2025

अकण्टक भावना (शिखरिणी छन्द)


झुलेका बाला झैँ लहलह खुला केश शिरको 
गुलाफी ज्योत्स्नामा नभ घनघटा लेक तिरको ।
हर्‍यो निद्रा मेरो चयन मनको शान्ति सजिलै 
कहाँ भेट्ने होला मन भ्रमित भो आज अति नै ।।१

म तड्पेँ त्यो तिम्रो खबर जब मिल्दैन छिनमा 
डुबायौ प्यारीले अतुल गहिरो प्रेम ऋणमा ।
यसै सोच्तासोच्तै टिलपिल भई बग्छ नयन 
म मात्रै भड्केँ या विचलित तिमी छौ अब भन ।।२

अहा अङ्गालोमा अनवरत आलिङ्गन गरी
लजाएकी हल्का सलल सरिताकी जलपरी ।
फिता भै झोलाको सहज तनमा टाँसिन सकूँ
तिमी हिँड्दा तिम्रै पदयुगलको चाल म बनूँ ।।३

तिमी प्रज्ञा आभा सुललित कला ए सहचरी 
धुरी खम्बे माया ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।।४

तिमी हाँस्ता मात्रै झलमल हुने सूर्य किरण 
तिमी रुन्छ्यौ जैले जल बनिदिनन् बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भए पुष्पतरु ती 
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।५

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी 
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
दियौ ऊर्जा रातो रगत सरि बग्दैछ धमनी 
दगुर्छन् छातीमा लहर प्रियका स्पन्दन बनी।।६

तिमी सायंसन्ध्या समचर सधै शान्त प्रहर 
तिमीमै गाभिन्छन् चपल मनका तिव्र रहर ।।
म थोपा मात्रै हो अखिल जलकी सागर तिमी 
भएँ सारै अल्छी भर न मनमा जाँगर तिमी ।।७

तिमी साथी मेरी प्रणय रथकी सारथि तिमी 
तिमी पूजा मेरी शुभ समयकी आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै 
तिमी माया मीठो मधुररमणी मोज छ सधै ।।८


[ प्यारीलाई दाम्पत्य वर्षगाँठको अनन्त शुभकामना सहित 😍 ]

Saturday, June 21, 2025

छन्द कविता : प्रेम

(छन्द : शार्दूलवीक्रीडित)

आँखा बन्द हुँदा तिमी हृदयमा आँखा उघार्दा तिमी ।
द्रष्टा दृष्टि र दृश्यमा अघि थियौ छौ चेतनामा तिमी ।।
छाती भेदन गर्न उद्यत सधै छन् यादका बाण ती  ।
चोखो चाह अमोघ भित्र मनको पीडा कतै छट्पटी ।। 

वासन्ती अनुराग राग लहरा बढ्दैछ बढ्दैछ झैँ ।
बेहोसी पनि हैन लाज नखरा के के हुने हो अझै ।।
तातो चुम्बित सास धड्कनसँगै थिच्दो छ मानौँ भव ।
मायाप्रेम अचम्मको चिज बडो के गर्व के गौरव ।।

पूजा गर्न बसेँ भने प्रणयकी आराध्य देवी बन ।
बिर्सूँ भन्छु सकिन्न हे प्रियतमा यो प्रेम कस्तो भन ।।
मीठा याद र कल्पना रस उसै उम्लेर आए ममा ।
तिम्रो कोकिलकण्ठको स्वर टिपी हालौँ कि यो छन्दमा ।।

बिस्तारै म फकाउँला मनमनै हाँस्दै रिसाऊ तिमी ।
चोखो प्रेम छँदैछ भित्र मनमा, घुर्की मिसाऊ तिमी ।।
चर्को बोल कुरै नखोल कहिले झर्केर आफैसित ।
"कालीको अवतारमा प्रिय सखी" प्रेमास्त्रले शोभित ।।
*****


घुम्तीबाट पछाडि हेर्छु जहिले बाटो कमै लाग्दछ ।
हाम्रो लक्ष नियाल्न खोज्छु नजिकै झन् दूर त्यो भाग्दछ ।।
मेरो युद्ध अनन्त मैसँग न हो - बन्नू तिमी सारथि ।
भावावेश हुँदैन जीवन सधै संघर्ष हुन्छन् कति ।।
*****
सानो प्यार प्रसूनतुल्य कलिलो फक्रन्छ कुन् शक्तिले ??
भै दृष्टान्त बुझाउँला जगतमा यैं प्रेमको भक्तिले ।।
भित्री चुल्बुल चाहना हृदयका अव्यक्त राखे पनि ।
क्यै भावार्थ बुझेँ भने सहचरी पूरा गरौँला म नि ।।
*****

(शार्दूलवीक्रीडित छन्द)

[ २०७६/०१/२८, नेपालगन्ज - बाँके ]


Saturday, June 14, 2025

मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल

शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता। 

वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।

शिक्षण र नेतृत्वको समर्पित यात्रा

शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्‍यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्या‌र्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।

२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।

सधैंको साथ, सहयोग र सद्भाव

यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्‍यो।

विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।

नयाँ यात्राको प्रारम्भ

छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।

शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।

बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात

आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।

म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।

अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।

शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !


– विकाश चन्द्र खरेल

पूर्व प्रधानाध्यापक,

श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी

हाल: श्री आदर्श मा वि, दिगाम

वि. सं. २०८२ जेठ ३१ शनिबार 



Friday, June 13, 2025

अमेरिकाले फर्काईदिएपछि सुवास शर्माको लेख: रित्तो बोरामा च्यातिएको सपना

म फर्किएको मान्छे

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।

तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।

मैले किन अमेरिका रोजेँ?

म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित। 

म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।

मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

यात्रा: आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने। 

नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए,  मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।

तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

समाजको निर्ममता

फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"

साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"

तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

मेरो सपना, मेरो भविष्य :

म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।

फेरि सुरु गर्न सजिलो हुँदैन:

आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।

तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?

यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।

मेरो विन्ति:

तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

अन्तिम शब्द:

म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।

यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर ।



वि. सं. २०८२ जेठ, दाङका युवा सुवास शर्माको वालबाट 


Tuesday, May 20, 2025

रोईला भजन : कोही नि छैनन् मेरा, राम जति पियारा

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…

पर, व्यूह, विभव छन् अर्चा - अन्तर्यामी ~ श्रीहरिका पाँचै स्वरुप अब बुझौं हामी ।।१।।

प्रभुको नाम, प्रभुको रुप, लीला अनि धाम ~ साक्षात् राम भन्दा ठूलो रैछ रामको नाम ।।२।।




चैत्र शुक्ल नवमीको अभिजित् मुहूर्त ~ श्रीरामको दर्शन मिल्यो अब के को सुर्ता ।।३।।

चतुर्व्यूह राम, भरत, लक्ष्मण र शत्रुघन् ~ अयोध्यामा जन्म लिँदा महोत्सव चल्छन् ।।४।।

धीर वीर गम्भीर छन् बालकैमा राम ~ लम्बबाहु मेघवर्ण सूर्यवंशी घाम ।।५।।

शिवधनु तोडी बिहे जानकीका साथ ~ हाम्लाई पनि शरण देऊ हे त्रीलोकीनाथ ।।६।।

कैकेयीको वचनले वनबास पाए ~ चौध वर्ष जंगलमा कन्दमूल खाए ।। ७।।

सीता लक्ष्मण साथै लिई वन लागे राम ~ कैकेयीको बुद्धि भुट्ने मन्थराको काम ।।८।।

प्राण गयो दशरथको रामको पिर मानी ~ श्रीरामको पितृआज्ञा पूरा गर्ने बानी ।।९।।

नियतीमा भ'को दशा लाग्न के को बेर ~ भिक्षु रुपमा रावणले सीता हर्यो हेर ।।१०।।

वानर सेना साथै लिई लंका सबै जिते, इन्द्रजीत, कुम्भकर्ण रावण आदि बिते ।।११।।

राक्षस मारी हरिदिए भार पृथिवीको ~ गौ ब्राह्मण वेद अनि सेवा अतिथिको ।।१२।।

पाउले गरून् तीर्थयात्रा, हातले गरून् दान ~ मुखमा रहोस् रामको नाम, मनमा रामकै ध्यान ।।१३।।

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…


२०८२ जेष्ठ ०३ गते आइतबार, माउन्ट हर्मन


रोइला भजन : आउ न मनमोहन

आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…


त्रीभंगीलाल मनोहर हे मुरलीधर - 
तिमी बाहेक संसारमा मेरो को नै छ र ।। १ ।। 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

चढाउँला वैजयन्ती फूलमाला गाँसेर - 
यो घरमा आइदेउ बाला एकचोटि हाँसेर ।।२।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

मयूरपंखी मुकुट छ, घुम्रिएको बाल - 
सारा संसार लठ्ठ पार्ने नटखटे चाल ।।३।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



लामालामा कालाकाला कमलपत्रे आँखा - सुनीरहूँ सधै लाग्ने मुरलीको भाका ।।४।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

कस्तुरीको टिकासंगै मुक्तावली हार - 
तिम्रो कृपा भए कृष्ण लाग्छ संसार पार ।। ५।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

गुञ्जमाला, वनमाला अर्को माला मोती - 
सारै राम्रो सुहाउने पिताम्वरको धोती ।। ६।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

बालभोग, मोहनभोग दही मखन प्यारो - 
मखनभन्दा कमलो मन् किन पार्यौ सारो ।।७।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

गोकुलमा गाई चराउने गोविन्द गोपाल - 
गोपिनीका लुगा लुकाई पारिहाल्यौ गाल ।।८।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

मुरलीको धुन सुनी आउँछिन् राधा प्यारी - 
छमछम नाचिहाल्छिन् लर्काएर सारी ।।९।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

राधाजीको निलाम्बरमा निलीमा हौ जाने - 
कार्य कारण कर्ता कर्म तिमी नै हौ माने ।।१० ।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



२०८२ जेष्ठ ०४ गते आइतबार,गोलान हाइट्स